+
+

अन्तरिक्ष महाशक्ति रुस ४७ वर्षपछि चन्द्रमामा फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १२:५४

अन्तरिक्षमा पुग्ने विश्वको पहिलो मुलुक हो रुस । तत्कालीन सोभियत संघले सन् १९५७ को अक्टोबरमा स्पुतनिक १ मिसनमार्फत विश्वमै पहिलोपटक अन्तरिक्षयान प्रक्षेपण गरेको थियो ।

पृथ्वीको कक्षमा सबैभन्दा पहिले अन्तरिक्षयान पठाउने मुलुक मात्र होइन अन्तरिक्षमा सबैभन्दा पहिले मानिस पठाउने मुलुक पनि रुस नै हो । सन् १९६१ मा तत्कालीन सोभियत संघका युरी गागरिन पहिलोपटक अन्तरिक्षमा पुगेर इतिहास रचेका थिए ।

अन्तरिक्षस्थित पृथ्वीको कक्षमा मात्र होइन चन्द्रमाको सतहमा पहिलोपटक पुग्ने देश पनि सोभियत संघ नै हो । सोभियत संघको अन्तरिक्षयान लुना २ सन् १९५९ सेप्टेम्बर १४ मा चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।

चन्द्रमामा अन्तरिक्षयान अवतरण गराए पनि मान्छे नै पठाउने काममा भने सोभियत संघ पहिलो हुन सकेन । चन्द्रमामा पहिलोपटक मानव अन्तरिक्षयात्री पठाउनमा अमेरिकाले बाजी मार्‍यो । सन् १९६९ को जुलाई २१ मा एपोलो ११ मार्फत अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रंग चन्द्रमामा पाइला टेक्ने पहिलो मानव बन्न सफल भए ।

उता रुसले चन्द्रमामा पटक पटक अन्तरिक्षयान पठाएको भए पनि हालसम्म कुनै पनि अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउन सकेको छैन । जबकि अमेरिकी अन्तरिक्ष संस्था नासाले भने ५ पटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गराइसकेको छ ।

तत्कालीन सोभियत संघले अन्तिम पटक सन् १९७६ मा चन्द्रमामा अन्तरिक्षयान पठाएयता रुसले चन्द्रमामा कुनै पनि यान पठाएको छैन । अन्ततः ४७ वर्ष लामो पर्खाइलाई तोड्दै रुसले शनिबार अगष्ट १० का दिन चन्द्रमामा आफ्नो अन्तरिक्षयान प्रक्षेपण गर्ने भएको छ ।

लूना २५ मिसन अन्तर्गत रुसले मस्कोबाट ५५५० किलोमिटर पूर्वमा रहेको भोस्तोक्नीबाट चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गर्न लागेको हो । यसका लागि सोयुज २.१ बी फ्रेगेट रकेटको प्रयोग गरिनेछ । प्रक्षेपणका बेला त्यहाँस्थित एउटा पूरै गाउँ खाली गराइनेछ र त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा लगिनेछ ।

भारतले चन्द्रयान ३ प्रक्षेपण गरेको चार हप्तापछि रुसले पनि आफ्नो चन्द्रमिसन पठाउन लागेको हो । उक्त रुसी यान आगामी अगष्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा जटिल भौगोलिक अवस्थाका कारण यानको अवतरण कठिन हुने भए पनि त्यहाँ भविष्यमा मानव बस्ती बसाउन पुग्नेगरी पर्याप्त बरफ रहेको विश्वास वैज्ञानिकहरुको छ । त्यहाँबाट इन्धन, अक्सिजन तथा खानेपानी समेत निकाल्न सकिने विश्वास गरिएको छ ।

रुसी अन्तरिक्ष एजेन्सी रस्कोमसका अनुसार लुना २५ यान चन्द्रमासम्म पुग्नका लागि ५ दिनको समय लाग्नेछ । त्यसपछि सो यानले चन्द्रमाको कक्षमा ५ देखि ७ दिनसम्म घुम्नेछ र त्यसपछि दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । लुना २५ चन्द्रमामा अवतरण गर्ने समय भारतीय चन्द्रयान ३ सँगै वा एकदुई दिन अगाडि पनि हुनसक्ने बताइएको छ ।

एकै समयमा चन्द्रसतहमा अवतरण गर्दा भारतीय यानसँग ठक्कर खानसक्ने चर्चाका विषयमा प्रष्ट पार्दै रुसी अन्तरिक्ष एजेन्सीले भनेको छः यिनीहरुले एक अर्कालाई हस्तक्षेप गर्ने वा ठक्कर खाने कुनै खतरा छैन । चन्द्रमामा सबैका लागि पर्याप्त ठाउँ छ ।

चन्द्रयान ३ ले चन्द्रमामा केवल २ हप्तासम्म मात्रै विभिन्न प्रयोगहरु गर्ने भएतापनि लुना २५ ले भने चन्द्रमामा एक वर्षसम्म काम गर्नेछ ।

लुना २५ कुल १.८ टनको हुनेछ भने यसमा ३१ किलोग्राम वजनका वैज्ञानिक उपकरणहरु हुनेछन् । यसमा एउटा विशेष यन्त्र छ जसले चन्द्रसतहको १५ सेन्टिमिटर भित्रबाट चट्टान तथा माटोको नमूना संकलन गरी बरफ भए नभएको जाँच गर्नेछ ।

लुना २५ यसअघि सन् २०२१ को अक्टोबरमा प्रक्षेपण गर्ने योजना बनाइएकोमा अन्तिम समयमा स्थगित भएको थियो ।

जापान र भारतले अस्वीकार गरेका थिए सहकार्यको प्रस्ताव

यसअघि रुसले जापानी अन्तरिक्ष एजेन्सीसँग साझेदारी गर्ने प्रयास गरेको थियो । तर, जापानले त्यस्तो प्रस्ताव स्वीकार गरेन ।

त्यसपछि रुसी स्पेस एजेन्सीले भारतीय स्पेस एजेन्सी इसरोसँग आफ्नो चन्द्रमा मिसनमा सहयोग गर्न अपिल गरेको थियो ।

तर भारतसँग पनि सहकार्यमा कुरा मिलेन । त्यसपछि रुसले आफै नै रोबोटिक ल्याण्डर बनाउने तयारी थालेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?