+
+

कानुन निर्माणमा स्वार्थ समूहको प्रभाव रोक्ने पाँच उपाय

विधेयक उठान हुने मन्त्रालय, कानुन मन्त्रालय, मन्त्रिपरिषद् र उसको विधेयक समिति अनि संसद यति पाँच निकाय मात्रै गम्भीर हुने हो भने कानुन निर्माण प्रक्रियामा स्वार्थ समूहको प्रभाव सहजै रोक्न सकिन्छ । यसमा प्रमुख भूमिका प्रधानमन्त्रीको हुन्छ ।

राधेश्याम अधिकारी, पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता
२०८० साउन २६ गते ८:५७

नेपालमा कानुन निर्माण प्रक्रियाको थालनी जंगबहादुर राणाको पालाबाट भएको हो । १९१० मा मुलुकी ऐन ल्याइयो । उनले विज्ञहरू भारतबाट बोलाएर उनीहरूको सहयोग लिएर, धर्मशास्त्रका पण्डितहरूलाई राखेर नेपाल अनुसारको व्यवस्थित कानुन बनाए । यो हाम्रो संहिताकरणको सबैभन्दा महत्वपूर्ण डकुमेन्ट हो । त्यसपछि विभिन्न चरणमा ऐनहरू आए ।

२००७ सालयता कानुन निर्माणले तीव्रतf लियो । संवैधानिक दृष्टिकोणबाट पद्मशमशेरले बनाएको नेपालको संविधान (२००४) को पनि कुरा हुनसक्छ । त्यो कार्यका निम्ति पनि भारतबाट ३ जना सल्लाहकार झिकाएर संविधानको मस्यौदा तयार पारिएको रहेछ ।

ऐतिहासिक दृष्टिकोणबाट नेपाल आधुनिक कालखण्डमा प्रवेश गरेको २००७ सालबाटै हो । २००७ सालमा अन्तरिम संविधान बन्यो । अन्तरिम संविधान कुनै सभाबाट आएको होइन । २०१५ सालमा व्यवस्थापिका संसदको चुनाव भयो र संसदले नै कानुन बनाउन थाल्यो । त्यसपछि कहिले राष्ट्रिय पञ्चायत भयो, कहिले के भयो जे भए पनि व्यवस्थापिकाले निरन्तर कानुनहरू बनाउने क्रम चल्यो, अहिले पनि त्यही चालु छ । त्यसबेलाका कैयन् कानुन अहिले पनि उत्तिकै प्रभावकारी छन् । जस्तो कि कानुन व्याख्या सम्बन्धी ऐन २०१० ।

त्यो कानुनको व्याख्या कसरी गर्ने भन्ने सिद्धान्त हो, जो आज पनि एकदम जीवन्त छ । कोरोना महामारी नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० सालको कानुन नै प्रयोग भएको हो । त्यसकारण कानुनहरू पुरानो र नयाँ भन्दा त्यसको सन्दर्भसँग जोडिन्छन् ।

भारतबाट बेलायतीहरू गएको धेरै भइसक्यो भयो तर फौजदारी कार्यविधि, फौजदारी संहिता त्यही बेलायतले बनाएकैलाई चलाइरहेका छन् । त्यसलाई परिष्कृत गरेका होलान्, समय सुहाउँदो बनाएका छन् तर कानुन त्यही नै हो ।

२००७ सालको कानुन आज किन ? २००८ सालको कानुन किन ? २०१० सालको कानुन किन ? भन्नु भन्दा त्यसको सान्दर्भिकता आज पनि छ भने जीवन्त छ । कानुनको सन्दर्भ सकिएको छ भने त्यो निष्प्रभावी छ ।

जस्तो कि २०२१ सालमा भूमिसुधार आयो । त्यो जीवन्त छ । २०१६ सालमा बिर्ता उन्मूलन आयो त्यो पनि अस्तित्वमा छ । देवानी संहिता २०७४ नआउँदासम्म मुलुकी ऐन नै हो हाम्रो । अर्को रूपमा आउँदै गयो, त्यसमा संशोधन हुँदै आयो त्यो छुट्टै कुरा हो । तर मुलुकी ऐनलाई फ्याक्न सकेको होइन ।

त्यही मुलुकी ऐनकै कैयन् कुरा अहिले पनि देवानी संहितामा छन् । नामै मुलुकी हटाउन सकेनौं । मुलुकी देवानी संहिता र मुलुकी फौजदारी संहिता राखेका छौं । मानिसले यसरी प्रोटेक्ट गरे यसको संरक्षण गर्नुपर्छ भनेर कि नेपाल राज्यसँगै जोडियो त्यो शब्द- मुलुकी । मुलुकी भनेको मुलुकको ऐन हो भनेर । अर्थात्, सन्दर्भ सकिएको रहेनछ ।

कानुन निर्माण प्रक्रियामा बाहृय प्रभाव

संसदबाट कुनै पनि कानुन बन्दा बहुमतले पास गरिदिन्छ । जायज कुराहरू पनि सुनिंदैन । समस्या यहाँनेर पनि छ । यसकारण पनि समाधान राजनीतिक तहबाटै हुनुपर्छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री मियो हो । प्रधानमन्त्रीको कार्यालयबाट यस्ता विषयहरूमा ध्यान पुर्‍याउनुपर्छ

कानुन निर्माण प्रक्रियामा बाहृय प्रभाव सुरुवाती चरणमा पनि थियो कि भन्ने जस्तो लाग्छ । जस्तै नागरिकता ऐनको विषय । २००९ सालमा पहिलो कानुन आयो । उक्त कानुनमा विदेशबाट बिहे गरेर आएको महिलालाई उनले चाहेको अवस्थामा नागरिकता दिने व्यवस्था छ ।

तर २०१५ सालको संविधानमा त्यो कुरा आउँदै आएन । २०१९ सालको संविधानमा फेरि त्यही कुरालाई क्यारी गरियो । २०२३ सालमा संशोधन भयो । त्यो बेलामा पनि केही फरक भएन, त्यही चिज रहृयो ।

तर, २०३२ सालमा दोस्रो संशोधन हुँदा फरक गरिएको छ । नेपालमा विवाह गरेर आएको महिलाले पाँच वर्ष बसेपछि मात्रै उसलाई नागरिकता दिने भनियो । तर, जनमतसंग्रहपछि २०३७ सालमा तेस्रो संशोधन र फेरि त्यो ब्याक भयो । २००९ सालकै जस्तो व्यवस्था राखियो ।

किन २०३२ सालमा ल्याएको कुरा टिकेन ? आज समान हकको रूपमा हुनुपर्छ भन्ने भनाइ छ । २०३२ सालमा गरेको एउटा व्यवस्था २०७७ सालयता किन भएन ? यो हेर्दा यस्ता खासखास विषयमा विदेशी स्वार्थ हुनसक्छ भन्ने लाग्छ ।

त्यतिबेला राज्यको केन्द्रीय शक्ति राजदरबारमा थियो । त्यसबेला २०१७ सालदेखि २०४६ सालसम्मको समयमा जुनसुकै ऐनहरूको, विधेयकहरूको राम्रोसँग जाँचपरख भएको देखिन्छ । विधेयकहरू हतपतमा पारित भएको म देख्दिनँ । हरेक विधेयकहरूलाई गम्भीरताका साथ लिएको देखिन्छ ।

तर, २०४६ सालयता आएर अगाडि भएका कैयन् राम्रा कुरा हामीले छोड्यौं । नयाँ गर्ने नाममा हामीले विधि प्रक्रिया सबै मिचेर पनि अगाडि बढ्यौं । यस्ता पर्याप्त उदाहरण छन् ।

कानुन भनेको खालि संसदले पास गर्ने ऐन र संविधान मात्रै होइनन् । ऐन अन्तर्गत बनेका नियम, विनियमहरू हुन्छन्, निर्देशिका, कार्यविधि हुन्छन् । यी सबै नै कानुन हुन् । कानुन व्याख्या सम्बन्धी ऐनले यही भन्छ ।

२०४६ साल अगाडि कानुन बनाउँदा प्रष्टसँग लेखिएको हुन्थ्यो- ऐनमा जुन कुरामा नियमावली बनाउनुपर्छ भन्ने हुन्थ्यो त्यहाँ देहाएको विषयमा नियमावलीहरू बनाइनेछ भनेर लेखिन्थ्यो । विषयहरू क, ख, ग, घ भनेर राखिन्थ्यो । २०४६ साल पछाडिका पनि एक-दुइटा ऐनहरूमा त्यो ‘ट्रेन्ड’ देखिन्छ । विद्युत् ऐनमा यस्तो छ ।

तर, २०४६ पछिका अरू सबैजसो कानुनमा ‘यो ऐनको सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी नियम बनाउन सकिनेछ’ भनेर पूरै छाडिदिएको छ । यसरी जुनसुकै विषयमा पनि नियम बनाउन सक्ने गरी प्रत्यायोजन गरिएको छ । र यसको घोर दुरुपयोग भइरहेको छ ।

प्रत्यायोजनतर्फ नियममा, विनियममा, निर्देशिकामा, कार्यविधिमा नाम दिएर, नाम नदिएर, ऐन उल्लेख गरेर, उल्लेख नगरेर प्रत्यायोजित विधायन बनाइएको छ । संसदले एकदम खुकुलो गरेर ऐन बनाइदिने गरेपछि खुकुलो ठाउँमा भर्ने काम कार्यपालिकाले गर्छ ।

अब कार्यपालिकामा को हावी हुन्छ भन्दा ब्युरोक्रेसी । कर्मचारीतन्त्र हावी हुन्छ र उनीहरूलाई जे सुविधा हुन्छ त्यो किसिमले नियमावलीहरू बनाएको देखिन्छ । अहिलेको ऐन बनाउने संसदीय प्रक्रियामा के के कुरा प्रत्यायोजित गर्ने, के के कुरामा नगर्ने भनेर हेक्का राखेको देखिन्न । सारभूत कानुनमा पर्नुपर्ने विषय पनि प्रत्यायोजित गरेको देखिन्छ ।

उदाहरणका लागि कुनै ऐन बन्छ । त्यसलाई चलाउने कुनै संस्था (संरचना) बनाउनुपर्ने हुन्छ । ऐनमा ‘एउटा संरचना बन्ने छ, त्यो तोकिएबमोजिम हुनेछ’ भनेर लेखिदिएको हुन्छ । कस्तो खालको संरचना बन्छ भन्ने नै थाहा छैन ।

गज्जबको विषय- ऐन पास गर्दा ‘यो ऐन अन्तर्गत बनेका नियम, विनियम, निर्देशिका, कार्यविधिको उल्लंघन गरे यति दण्ड सजाय हुनेछ’ भनेर लेखिन्छ । नियम, निर्देशिका केही थाहा हुन्न ऐन बन्दा । जुन चिज नै बनेको छैन त्यसमा संसदले फराकिलो अधिकार कार्यपालिकालाई छोडिदिइराखेको छ ।

सहकारी र बैंक : अनुभव र भोगाइ

अर्को कुरा कानुन बनाइन्छ केको लागि ? कानुन कार्यान्वयन गर्ने नियामक पक्ष हुन्छ एउटा । भनेको सरकार र सरकारका निकायहरू हुन्छन् । विद्युत् ऐन नै हेरौं । एकथरी नियामक भनेर बसेका हुन्छन् । अर्कोथरी नियमन अन्तर्गत बसेर काम गर्ने हुन्छन् ।

अब काम गर्नेहरू उपभोक्ता भए । नियमन गर्नेहरू उपभोक्ताले गडबड नगरुन् भनेर हेर्ने भए । नियमन गर्नेहरूको अधिकार ‘सक्नेछ’ भनेर बढाइएको छ । विद्युत् सर्वेक्षण अनुमति सुरु गरेको मितिले पाँच वर्षभित्र गरिसक्नुपर्छ भनिएको छ । त्यसमा पाँच वर्षसम्म भनेर लेखिदिएको छ । ‘सम्म’को दुरुपयोग हुने सम्भावना रहन्छ ।

तर, उपभोक्ताका लागि ‘पर्नेछ’ भनेर बाध्यकारी बनाइएको छ । यति गर यति शुल्क तिर्नुपर्ने, यस्तो गल्ती गरे यति दण्ड हुनेछ भनेर । यसरी नियामकको अधिकार ‘सक्नेछ’ उपभोक्ताको अधिकार ‘पर्नेछ’ भनेर बाध्यकारी बनाइएको छ । यस दृष्टिले हेर्दा कानुन निर्माणको व्यवस्थापन अहिले भन्दा पहिले गतिलो थियो ।

अदालतमा एउटा अभ्यास छ- फिराद लिएर गइयो भने त्यो फिराद बेरितको छ भने लेखेर दिइहाल्नुपर्छ । फिरादमा यी-यी कुरा त्रुटि भए । सच्याएर तीन दिनभित्र ल्याउनुस् भनिन्छ । जसलाई हामी दरपिठ भन्छौं । त्यो दरपिठ गर्ने चलन किन प्रशासनमा लागू हुँदैन ? यो गर्न सकिन्छ ।

यो कुरा मिलाएर ल्याएर तीन दिन, सात दिन, १५ दिन कति भन्ने हो भनेर आवश्यक कुरा पुर्‍याउन भन्न सकिन्छ । यो हुँदा जवाफदेही सुरु हुन्छ । त्यो ऐनहरूमा देखिएन । यसलाई ऐनमै लेख्नुपर्ने हुन्छ । ऐनमै लेखियो भने ती कागज पूरा भएको छ भने पूरा भएन भन्न पाइएन ।

कानुन मन्त्रालयले पनि स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ । विधेयकका सम्बन्धमा कानुन मन्त्रालयले नो भनेपछि हुँदैन भन्ने हुनुपर्छ । कानुन बिग्रिएर, कसैबाट प्रभावित भएर आउँछ भने कानुन मन्त्री नै दोषी हुन्छ भन्ने पार्नुपर्छ । यी कार्य एकसाथ गर्न सकियो भने यसले स्वार्थ समूहको प्रभाव निस्तेज पार्छ

कागज पुर्‍याएर लगिए पनि राखिदिने, अध्ययन गर्छु भनेर एक हप्ता थन्क्याउने, अध्ययन गर्न भ्याएको छैन भनेर अर्को हप्ता लम्ब्याउने, अध्ययन गरिसकेपछि कागज पुगेको रहेनछ वा मिलेको रहेनछ भनिदिने ।

तर, के मिलेको छैन लेखेर दिनुस् भन्दा लेखेर दिने होइन तर मिलेको छैन मिलाएर ल्याउनुस् भन्ने प्रवृत्ति छ । के भयो भने पुग्छ के भयो भने पुग्दैन भन्ने विषय लेखेर दिनुपर्ने हो । यसलाई बाध्यकारी बनाउन ऐनमै समय तोकेर यति दिनभित्र यसो गर्ने भनेर लेख्न सकिन्छ ।

समय तोक्ने केही ऐनमा कोसिस भएको छ, यति दिनभित्र कागजपत्र पूरा भए दिने भनेर लेखिएको छ । फेरि पनि के कागज लगे पुग्छ के कागज लगे पुग्दैन भन्ने प्रष्ट छैन । नियमावलीमा के के कागज चाहिन्छ भनेर क, ख, ग, घ भनेर लेखिन्छ । तर, ङ मा गएर ‘अन्य आवश्यक कागजहरू’ भनेर लेखिएको हुन्छ । अन्य आवश्यक कागजहरू भनेपछि त्यहाँ फेरि नियामक निकायले खेल्ने ठाउँ हुन्छ । यसकारण कानुनको प्रयोगमा धेरै नै स्वेच्छाचारिता बढेको छ । जिम्मेवारीपना भएन । यो पाटोमा सच्याइयो भने नकारात्मक स्वार्थ समूह हावी हुने प्रवृत्ति स्वतः घटेर जानेछ ।

२०७२ सालमा हामीले संविधान ल्यायौं । उक्त संविधानले निर्णायक फड्को मारेको छ । तीन तहको सरकारका बीचमा अधिकार बाँडफाँट गरिएको छ । तीनै तहको एकल अधिकार छ । एकल अधिकारहरू जसको छ त्यसको सहायक हुने गरी संघले कानुन बनाउने कि नबनाउने ? संघले प्रदेश र स्थानीय तहको एकल अधिकारमा सहयोग हुने गरी कानुन बनाउने कि बाधा पुर्‍याउने गरी कानुन बनाउने ? यो विकल्पमा संघले आफ्नो शक्तिलाई संचय गर्ने गरी कानुन ल्याएको छ ।

सबै विधेयकहरू केन्द्रीयकरण गर्ने गरी आइराखेका छन् । जुन संविधानको भावना भन्दा ठीक विपरित हो । संघीय संसदले अधिकार दिने र नदिने होइन नि, संविधानले अधिकार दिइसकेको छ । फेरि संघीय संसदले बनाएको कानुन बाहिर गएर प्रदेश र स्थानीय तहले कानुन बनाए त्यो बदर हुने भनेर संविधानमै लेखिएको छ । यसरी हेर्दा प्रदेश र स्थानीय तहको एकल अधिकारमाथि संघीय संसदबाट ठाडो हस्तक्षेप भइराखेको छ ।

यो घटाउने सुरुवात राजनीतिक वृत्तबाट हुनुपर्छ । त्यो प्रधानमन्त्री, मन्त्रीहरूब्ााट सुरु हुनुपर्छ । उनीहरूले भन्नुपर्छ- संविधानको स्पिरिट अनुसार काम गर्छौं । त्यस अनुकूल कानुन बनाउँछौं । कानुन निर्माणको सुरुवात नै म संविधानलाई मिचेर गर्छु भन्नुभएन । उदाहरणका लागि वन ऐन । पूरै प्रदेशको एकल अधिकारभित्रको विषयवस्तु संघमा राखिएको छ ।

संविधानले विकासका एजेन्सीहरू, सर्भिस दिने, डेलिभरी गर्ने प्रदेश र स्थानीय तहलाई मान्यो । विकास त्यसबाट लिने भनेर लेखियो । तर, कानुनहरू सबै संघले कन्ट्रोल गर्ने दृष्टिकोणबाट बनिराखेका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीले त संसदको रोष्ट्रमबाटै प्रदेश र स्थानीय तह संघीय सरकार मातहतका हुन्, इकाइ हो भन्नुभयो ।

संघीयतामा गएपछि इकाइ त होइन नि ! संविधानले संघलाई बढी अधिकार दिएको छ । बढी अधिकार प्रयोग गरोस् । तर, प्रदेश र स्थानीय तहले पाउने अधिकार खुम्च्याउनुभएन । यो विषय प्रधानमन्त्रीको निगाहामा हुनुभएन ।

संसदबाट कुनै पनि कानुन बन्दा बहुमतले पास गरिदिन्छ । जायज कुराहरू पनि सुनिंदैन । समस्या यहाँनेर पनि छ । यसकारण पनि समाधान राजनीतिक तहबाटै हुनुपर्छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री मियो हो । प्रधानमन्त्रीको कार्यालयबाट यस्ता विषयहरूमा ध्यान पुर्‍याउनुपर्छ ।

हिजो शासनको केन्द्रविन्दु दरबार थियो । राजाका सचिवहरूले ध्यान पुर्‍याएर हेर्थे । मन्त्रीहरूलाई सोध्थे । विधेयक पास हुनु अगाडि, पास भएपछि पनि केही समस्या छन् कि भनेर होशियारीपूर्वक हेर्दथे । अहिले यस्तो हेर्ने काम प्रधानमन्त्रीको कार्यालयबाट भएकै छैन ।

कानुन मन्त्रालयबाट हेर्नुपर्ने हो त्यहाँबाट पनि भएको छैन । मन्त्रिपरिषद्मा विधेयक समिति भन्ने छ । जसको अध्यक्षता कानुन मन्त्रीले गर्छन् । त्यसले हेर्नुपर्ने हो, त्यहाँ पनि समस्या छ । जुन मन्त्रालयले विधेयक लगेको हो त्यो मन्त्री बस्छ र यो पास गर्नुस् भनेपछि कानुनमन्त्रीले नाइँनास्ति गर्नै सक्दैनन् ।

तर गलत छ भने कानुनमन्त्रीले जमेर संविधानको प्रतिकूल यी-यी कुरा हटाउनुपर्छ भन्न सक्नुपर्छ । तर, हाम्रोमा सबैभन्दा कमजोर जो हुन्छ उसलाई कानुन मन्त्रीको जिम्मेवारी दिइँदोरहेछ । यस्ता समस्याहरूमा स्वार्थ समूह सजिलै घुस्न सक्छन् ।

एउटा उदाहरण, यसअघि सहकारी ऐन बनाउँदा स्वार्थ समूह हावी थियो । आज सहकारी ठूलो समस्या भएर आएको छ । यो समस्याको जरो सहकारी ऐनभित्र छ ।

सहकारी ऐन आउँदा भरतमोहन अधिकारी अर्थमन्त्री हुनुहुन्थ्यो । त्यो बेलामा हामी छलफलमा थियौं । त्यसबेला मैले भनेको थिएँ- सहकारी भनेको राम्रो दृष्टिकोण हो । यसले समाजलाई माथि उठाउन मद्दत गर्दछ । तर जसरी सहकारी ऐन बनाउँदैछौं त्यसले ध्वस्त पार्छ । मेरो भनाइमा उहाँले ‘ठीकै भन्नुभयो’ भन्ने जवाफ दिनुभएको थियो । तर ऐन प्रस्ताव गरेकै स्पिरिटमा पास भयो ।

संसदमा पनि कानुन निर्माण प्रक्रियामा छलफल अझ व्यापक रूपमा हुनुपर्छ । कानुन मन्त्रालयका एक-दुई कर्मचारी बसेर हुँदैन । विधेयक ल्याउँदा आर्थिक टिप्पणी, व्याख्यात्मक टिप्पणी चाहिन्छ भन्ने छ । ऐनको उद्देश्यका लागि व्याख्यात्मक टिप्पणी हुन्छ र हुनुपर्छ ।

सहकारी भनेको १०/२० जना मिलेर समूह बनाएर एउटालाई परेको बेलामा अर्कोले, अर्कोलाई परेको बेलामा अर्कोले सहयोग गरेर चलाउने व्यवस्था हो । पुरानो पर्माको व्यवस्था हो । त्यो भनेको एउटाको खेतीको काम हुँदा अर्कोले गएर गरिदिने । त्यसको सट्टा फेरि अर्को पटक कामै गरेर सहयोग गरिदिने व्यवस्था हो ।

यस दृष्टिकोणका आधारमा सहकारी अगाडि बढेको हो । सानो-सानो पूँजीलाई पनि एकीकृत गरेर समूहभित्र रहेका व्यक्तिहरूले प्रयोग गर्ने अवधारणा सहकारीको हो । तर, हामीले यस अवधारणा अनुसार कानुन बनाएनौं । अहिलेको सहकारी ऐन हेरियो भने- बैंकिङ सिस्टममा जस्तो अधिकार पायो । जुन बैंकले अधिकार पाएको छ त्यही अधिकार सहकारीले पनि लियो । तर जवाफदेही कहीं पनि छैन । सहकारी विभागले नियमन नै गर्न सकेन । राष्ट्र बैंकले छुँदै छोएको छैन ।

अब जनताको खर्बाैं रुपैैयाँ निक्षेप छ वा ऋण लगाइराखेको छ । त्यो कहाँ कसरी खर्च भइराखेको छ भन्ने अनियन्त्रित रूपमा गएको हुनाले अहिले मुलुक नै प्यारालल इकोनोमीमा जाला जस्तो भइसक्यो । यस विषयको चेतावनी कानुन बनाउने बेलामै दिइएको थियो ।

किन यस्तो भयो त ? नियमन गर्ने निकायलाई बलियो नबनाई सियोदेखि हवाईजहाज बनाउनेसम्मको छुट सहकारीले पाउने गरी कानुन बनायौं । यसले समस्या भएको हो । यसको फ्याक्टर- सहकारीको एउटा महासंघ छ ।

महासंघ भनेको एक किसिमको एनजिओ हो । एनजिओलाई कानुनले यसरी अधिकार दिएको छ कि महासंघको सिफारिस बेगर सहकारीको ऐन नै अगाडि चल्दैन । उसको सिफारिस बेगर डेग चल्न नसक्ने गरी कानुन बनाइएको छ ।

अनि जसले महासंघ कब्जा गर्छ त्यसले सहकारीको खर्बाैं रुपैयाँमाथि शासन गर्ने भयो । र त्यो महासंघ राजनीतिक छ, व्यावसायिक छैन । व्यावसायिक नभएको महासंघले आफ्नो वर्गीय हित (सहकारी संचालकहरूको हित) को लागि लड्यो । अहिले पनि सहकारीको विषय उठाउने वित्तिकै महासंघ लौरो लिएर आउँछ ।

आज पनि सहकारी महासंघलाई कसैले पनि प्रश्न गरिराखेको छैन । यस्तो किन भयो भन्दा राजनीतिक ब्याकअप (राजनीतिक संरक्षण) का कारणले भयो । कानुन बनाउँदा बिगि्रएको परिणाम अहिले देखा परेका छन् भकाभक । मान्छेहरू रुवावासी भइराखेको छ । यसको कारण कानुन बनाउँदा स्वार्थ समूह घुस्यो ।

यसैगरी, बैंकिङ क्षेत्रमा पनि यो घुसेको छ । राष्ट्र बैंकले जुन प्रस्ताव लिएर आउँछ त्यो विधेयकमा, हुँदैन भन्ने मान्छेहरूको संख्या बढी हुन्छ । अर्को उदाहरण- सरकारले नेपालको हवाई क्षेत्रमा हवाई सेवा र नियमन गर्ने निकाय एकठाउँमा राख्नुभएन ।

नागरिक उड्डयन प्राधिकरणलाई फुटाएर हवाई सेवा र नियमन गर्ने निकाय फरक-फरक बनाएर नेपाली हवाई क्षेत्रलाई व्यवस्थित बनाउन खोज्दा होहल्ला गरियो, राजनीतिमा कर्मचारी युनियन हावी भयो । परिणाममा आजसम्म कामै हुन दिएन ।

अहिले पर्यटनमा सबैभन्दा ‘बोटलनेक’ यही भएको छ । किनभने, युरोपियन युनियनले पनि जहाज पठाउँदैन, कुनै पनि देशले नेपालमा सुरक्षा नै छैन भन्छ । सुरक्षा नहुने कारण तिमीहरूको ऐनले संस्थागत रूपमा नै दुइटा निकाय नबनाइहुन्न, एउटाले कम्प्रोमाइज गरेर हिंड्यो भने अर्काले जाँच्नुपर्छ । एउटै अफिसले नियामक पनि हुने, प्लेयर पनि हुने कसरी हुन्छ ? भनेर उसले प्रश्न गरिरहेको छ ।

यही नमान्दा युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राख्दै आएको छ । त्यसको परिणाम नेपालले हवाई माध्यमबाट जति छिटो प्रगति हुनसक्थ्यो नहुनुको कारण कानुन हो । यो पनि स्वार्थकै प्रभ्ाावका कारण भएको हो ।

अर्को- विद्युत् ऐन । विद्युत् उत्पादन, वितरण र बिक्री छुट्टै हुनुपर्छ । अहिले यी सबै एउटै कानुन अन्तर्गत छन् । यो पनि स्वार्थको घेराभित्र पर्दा एउटै विद्युत् ऐन बनाउने, एउटै संस्थालाई सबै दिने काम भइराखेको छ । हामीलाई अब एउटा कुलमानले पुग्दैन । तीन वटा कुलमान चाहिसक्यो विद्युत् ऐनमा । एउटा कुलमानले धान्दैन । आज ट्रान्समिसनमा हेर्छ, भोलि वितरणमा हेर्छ, यता बत्तीमा समस्या भइसक्यो ।

‘तोकिए बमोजिम हुने’ भनेर थुप्रै ठाउँमा लेखिए पनि तोकेर नियमावली नआउँदा ऐन नै मरेर गए । त्यसकारण सक्दा ऐन सँगसँगै नियमावली ल्याउनुपर्छ । नसक्दा ऐन आएको ६० दिनभित्र, ९० दिनभित्र कति दिन चाहिन्छ त्यति दिनपछि लागू हुने व्यवस्था गर्नुपर्छ ।

विद्युत् विधेयक पनि प्रचलित कानुन भन्दा प्रोग्रेसिभ थियो । राष्ट्रिय सभाबाट पास गरिसकेका थियौं । साथसाथै, नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई उड्डयन प्राधिकरण विधेयक पनि राष्ट्रिय सभाबाट पास गरिसकेका थियौं । तर यी विधेयकहरू अलपत्र पारिदिए । कानुन निर्माणका यस्ता समस्या छन् ।

यसको समाधान भनेको संसदीय व्यवस्थाको मियो प्रधानमन्त्री हो । प्रधानमन्त्रीले संविधान विरोधी कानुन बनाउँदैनौं भन्नैपर्छ । यो भने भने सबै मन्त्रालयले यो मान्नुपर्छ र समस्या समाधानको बाटोमा अगाडि बढ्छ । त्यसपछि मन्त्रिपरिषद्को विधेयक समितिलाई बलियो बनाउनुपर्छ ।

कानुन मन्त्रालयले पनि स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ । विधेयकका सम्बन्धमा कानुन मन्त्रालयले नो भनेपछि हुँदैन भन्ने हुनुपर्छ । कानुन बिग्रिएर, कसैबाट प्रभावित भएर आउँछ भने कानुन मन्त्री नै दोषी हुन्छ भन्ने पार्नुपर्छ । यी कार्य एकसाथ गर्न सकियो भने यसले स्वार्थ समूहको प्रभाव निस्तेज पार्छ ।

अर्कोतर्फ संसदमा पनि कानुन निर्माण प्रक्रियामा छलफल अझ व्यापक रूपमा हुनुपर्छ । कानुन मन्त्रालयका एक-दुई कर्मचारी बसेर हुँदैन । विधेयक ल्याउँदा आर्थिक टिप्पणी, व्याख्यात्मक टिप्पणी चाहिन्छ भन्ने छ । ऐनको उद्देश्यका लागि व्याख्यात्मक टिप्पणी हुन्छ र हुनुपर्छ ।

तर हाम्रोका अभ्यास छ- कुनै दफा लेख्यो । किन ? भन्दा आवश्यक परेकोले । यो पनि कारण हुनसक्छ ? दफा किन चाहियो भन्ने कारण पो चाहियो । आर्थिक टिप्पणीमा कति खर्च गर्छ वा के गर्छ भन्ने प्रष्ट आउनुपर्छ । नियमावली कहिले बन्ने भन्ने नै हुँदैन ऐन पास भएर गइसकेको हुन्छ । यसमा स्वयं संसद र सांसदहरू चनाखो हुनुपर्छ ।

नियमावली कति दिनमा ल्याउने र नियमावली ल्याइसकेपछि मात्रै ऐन लागू गर्ने हो कि ? कतिपय ऐनहरू यसरी पनि खारेज वा निष्प्रभावी भएका छन् । किनकि ऐन आयो त्यसलाई कार्यान्वयन गर्ने नियमावली आएन ।

‘तोकिए बमोजिम हुने’ भनेर थुप्रै ठाउँमा लेखिए पनि तोकेर नियमावली नआउँदा ऐन नै मरेर गए । त्यसकारण सक्दा ऐन सँगसँगै नियमावली ल्याउनुपर्छ । नसक्दा ऐन आएको ६० दिनभित्र, ९० दिनभित्र कति दिन चाहिन्छ त्यति दिनपछि लागू हुने व्यवस्था गर्नुपर्छ ।

सुधारका पाँच उपाय

यसलाई समेत मध्यनजर गरेर प्रतिनिधिसभा नियमावलीमा ऐन कार्यान्वयन मापन गर्ने भनेर लेखिएको छ । यो विषयमा राष्ट्रिय सभाको विधायन समितिमा समेत छलफल भएको थियो । केही कानुनको मापनको कार्य पनि भएको थियो । त्यसकारण यो व्यवस्था कार्यान्वयनका लागि समेत पाँच ठाउँमा सच्चिनु जरूरी छ ।

एक : जहाँबाट विधेयक उठान हुन्छ त्यहाँ संविधान विपरित र कुनै स्वार्थबाट प्रभावित भएर काम गर्दिनँ भनेर कसम खानुपर्छ । त्यो मन्त्रालय वा अन्यत्र पनि हुनसक्छ ।

दुई : कानुन मन्त्रालय । जसले सैद्धान्तिक सहमति नदिई विधेयक अगाडि बढ्दैन । कानुन मन्त्रालय विधेयक अगाडि बढाउने सन्दर्भमा स्वतन्त्र हुनुपर्छ । कानुन मन्त्रालयको राय निष्पक्ष हुनुपर्छ र कानुन मन्त्रालय हरेक विधेयकमा जिम्मेवार हुन सक्नुपर्छ ।

तीन : मन्त्रिपरिषद्को कार्यालयको विधेयक समिति प्रभावकारी हुन आवश्यक छ । विधेयक ल्याउने मन्त्रालयले संविधान अनुकूल छ, ठीक छ भन्ला । कानुन मन्त्रालयले ठीक छैन भन्न सक्छ । त्यस विषयको सर्ट आउट गर्ने विधेयक समिति हो ।

चार : मन्त्रिपरिषद् । हरेक विधेयक अगाडि बढाउन, संसदमा दर्ता गर्न सैद्धान्तिक सहमति दिने मन्त्रिपरिषद् हो । त्यहाँ पनि कानुन बुझेका र निष्पक्ष मान्छेहरू चाहियो ।

पाँच : संसद । संसदमा स्वतन्त्र कानुनी इकाइ चाहियो । रिसर्च पनि गर्न सक्ने किसिमको । अदालतका फैसलाहरू के छन्, त्यस अनुसार विधेयक आएको छ कि छैन ? सर्वोच्च अदालतको फैसला कुन लाइनमा गइराखेको छ र कानुन निर्माण प्रक्रिया कुन लाइनमा भइराखेको छ ? यो केलाउन सक्नुपर्छ । माथि उल्लिखित पाँच ठाउँमै चेक एण्ड ब्यालेन्स हुनुपर्छ ।

(वरिष्ठ अधिवक्ता एवं पूर्व सांसद अधिकारीसँग अनलाइनखबरका लागि रघुनाथ बजगाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?