
२६ साउन, काठमाडौं । शुक्रबार दिउँसो १ बजे एयर इन्डिगोको उडान नम्बर ६ई११५३ मार्फत रोहन अडुकिया काठमाडौं ओर्लिए । दिल्लीबाट आएका उनी अध्यागमन जाँचका क्रममा नियन्त्रणमा परे ।
‘ब्रेक शु’भित्र लुकाएर तस्करी भएको भनिएको एक क्वीन्टल सुनमा कनेक्सन देखिएको भन्दै राजश्व अनुसन्धान विभागले उनीसहित उनका बुबा व्यवसायी राकेश अडुकियालाई समेत कालोसूचीमा राख्न पत्राचार गरेको थियो । त्यही आधारमा शुक्रबार अध्यागमन विभागले उनलाई पक्राउ गरेको थियो ।
विभागले पक्राउ परेलगत्तै अध्यागमन विभागले अडुकियालाई राजश्व अनुसन्धान विभाग पठाउन पत्र तयार गर्यो । विभागका आगमन अधिकृत विकास डंगोलले हस्ताक्षर गरेको पत्रमा ‘विभागको नेपाली पोर्टमा ब्ल्याकलिस्टमा देखिएकाले सक्कल राहादानी र मोबाइलसहित आवश्यक कारबाहीका लागि पठाइएको’ भनिएको थियो ।
तर, विभागले उनलाई बुझ्न मानेन । विभागका महानिर्देशक नवराज ढुंगानाले ‘त्योसँग सरोकार राख्ने विषय सबै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तिर गएपछि आफूहरुको सरोकारको विषय नभएको’ प्रतिक्रिया दिए ।
उनले अध्यागमनले अडुकियालाई राजश्व अनुसन्धानमा समेत नबुझाएको दाबी गरे । पत्रको सन्दर्भमा प्रश्न सोध्दा उनले भने, ‘पत्र लेख्यो होला, तर के भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा अध्यागमन विभागतिरै बुझ्नु होला ।’
अहिले सीआईबीको अनुसन्धानलाई सहयोग गर्नेबाहेक अरु आफूहरुको सरोकार नभएको उनले अनलाइनखबरसँग बताए । सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले आफूहरुको अनुसन्धानबाट हालसम्म अडुकियाको नेक्सस नखुलेको बताइन् ।
‘कुनै तथ्यविना नियन्त्रणमा लिएर राख्ने कुरा भएन । भोलि अदालतबाट म्याद थप गर्न सकिने आधार हुनुपर्छ’, उनले भनिन्, ‘त्यसैले नियन्त्रणमा नलिएका हौं ।’
सीआईबीले पनि अडुकियालाई लिन नमानेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनलाई फिर्ता लगेको छ । उनको विषयमा अब के गर्ने भन्ने स्पष्ट भइनसकेको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले बताए ।
विभागले ३ साउनमा सुन लुकाइएको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । १९ दिनपछि प्रकरणमा संगठित अपराध आकर्षित हुने भन्दै सीआईबीलाई थप अनुसन्धानको जिम्मा लगाइएको थियो ।
विभागले यो प्रकरणमा मुछिएका भनिएका रोहनका बाबु राकेशको घरमा १० साउनमा छापा मारेको थियो ।
प्रतिक्रिया 4