काठमाडौं । सामान्यतया दमको समस्या वयस्क वा वृद्ध-वृद्धालाई हुन्छ भन्ने धेरैको बुझाइ हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ दम । संसारका विभिन्न मुलुकमा गरिएको अध्ययनअनुसार सन् १९८० देखि नै पाँचदेखि ६ प्रतिशत बालबालिकामा दमको समस्या देखिएको छ । हालसालै भएका अध्ययनअनुसार १० प्रतिशत बालबालिकामा दमको समस्या देखिएको छ ।
बच्चामा दम हुने कारण के हो ? यसको उपचार के छ ? लगायत विषयमा बाल छाती तथा एलर्जीरोग विशेषज्ञ डा. जगतजीवन घिमिरेसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :
पहिले बालबालिकामा दमको समस्या खासै थिएन अहिले बढेको हो ?
यो जिज्ञासा धेरै अभिभावकलाई हुन सक्छ । तर पहिले पनि बालबालिकालाई बेलाबेलामा खोकी लाग्ने, स्याँस्याँ हुने ज्वरो आउने समस्या देखिन्थ्यो । यस्तो समस्यालाई निमोनिया भनेर अभिभावकले पटकपटक अस्पताल लगेर आईसीयूमा भर्ना गर्थे, एन्टिबायोटिक खान दिइन्थ्यो । तर त्यो समस्या बारम्बार दोहोरी रहेको थियो भने त्यो दमको कारण भनेर दमको पहिचान नभएको हुन सक्छ । साथै अहिले धुलो, धुवाँ, प्रदूषणको कारण पनि बच्चामा दमको समस्या बढेको हुन सक्छ ।
बच्चालाई दम भए कस्तो लक्षण देखिन्छ ?
दमको लक्षण बच्चामा उमेरअनुसार फरक पर्छ । पाँच वर्षभन्दा कम उमेरका बच्चामा रुघा लाग्नेबित्तिकै सास छिटोछिटो फेर्ने, कोखा हान्ने, स्याँस्याँ हुने र निमोनिया जस्तो लक्षण देखिने हुन्छ । पाँच वर्षमाथिका बच्चामा स्याँस्याँ भइरहने, दौडिंदा खेल्दा सास फेर्न गाह्रो हुने, खोकी लाग्ने समस्या हुन्छ ।
१० वर्षभन्दा माथिका बच्चामा हिंड्दा दौडिंदा खोकी लाग्ने, स्याँस्याँ हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ । यो समस्या सधैंभरि देखिंदैन, कहिले लक्षण देखिने र कहिले नदेखिने हुन्छ ।
यी समस्या चाँडै निको हुने र बल्झिने भइरहन्छ । कुनै बच्चालाई एक महिनामा बल्झिने हुन्छ भने केहीलाई दुई महिनादेखि एक वर्षसम्ममा पनि बल्झिन्छ ।
बच्चामा दमको समस्या देखिनुको खास कारण के हो ?
बच्चामा दम कुनै एउटा मात्र कारणले भन्दा पनि विभिन्न कारणले हुने गर्छ । विभिन्न कारणमध्ये वंशाणुगत कारण परिवारका सदस्यमा दमको समस्या छ भने बच्चामा वंशाणुगत रूपमा यो समस्या देखिने भयो ।
अर्को वातावरणीय प्रदूषण, धुवाँ धुलो, फूलको परागको कणबाट हुने एलर्जीले पनि बच्चामा दमको समस्या देखिन्छ । अहिले जंकफुड, प्याकेट फुड जस्तो खराब खानपान र शारीरिक रूपमा निष्क्रिय बच्चामा पनि दमको जोखिम बढ्न सक्छ ।
दम र निमोनियामा अभिभावकहरू झुक्किन सक्छन्, कसरी छुट्याउने ?
कतिपय अभिभावक मेरो बच्चालाई महिनामा दुई-तीन पटक निमोनिया भयो भन्दै आउँछन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको, एचआईभी एड्स वा जन्मजात फोक्सोको समस्या भएको बच्चाबाहेक सामान्य खेलिरहेको, खाइरहेको बच्चालाई पटकपटक निमोनिया नै हुँदैन ।
बेलाबेलामा धेरै खोकी लाग्ने, स्वाँस्वाँ हुने, सास फेर्न गाह्रो हुने लक्षण निमोनिया नभएर दम हो । बच्चालाई सास फेर्न गाह्रो भएर अस्पताल लगेर बाफ लगाउने बित्तिकै ठीक हुन्छ भने त्यो दम हो ।
निमोनिया हुँदा बच्चालाई धेरै ज्वरो आउने, कमजोर हुने जस्ता लक्षण देखिन्छ । निमोनियाको उपचारमा समय पनि लाग्छ ।
दम भएको बालबालिकाले खाना बार्नुपर्छ कि पर्दैन ?
धेरै चिसो खानेकुरा, गुलियो खानेकुरा, जंकफुड, एउटै तेल धेरै पटक प्रयोग गरेर पकाएको खानेकुराले असर गर्न सक्छ । त्यसैले यस्ता खानाबाट टाढा रहनुपर्छ । कुनै खानेकुरा खाने बित्तिकै बच्चालाई एलर्जी हुन्छ भने त्यसबाट पनि उनीहरूलाई टाढा राख्नुपर्छ ।
कतिपय अवस्थामा केरा सुन्तला जस्तो फलफूल खानु हुँदैन भनेको पनि सुनिन्छ । तर फलफूल त बच्चाको स्वास्थ्यका लागि राम्रो हो । यदि केरा वा सुन्तला कुनै एउटा फलफूल खाने बित्तिकै बच्चालाई गाह्रो हुन्छ भने दिनु हुँदैन । नत्र फलफूल बार्नु पर्दैन ।
दूध तथा दूधबाट बनेका परिकार पनि बार्नुपर्छ भनेको सुनिन्छ । तर दूध तथा दूधबाट बनेका परिकार बच्चाको शारीरिक मानसिक विकासको लागि महत्त्वपूर्ण हुन्छ । दूध खाने बित्तिकै एलर्जी हुन्छ भने बार्नुपर्यो, नत्र यस्ता दुग्धजन्य पदार्थ पनि बार्नु पर्दैन ।
वयस्कहरु जस्तो प्रदूषणको सम्पर्कमा बच्चा त आएका हुँदैनन् । यस्तोमा बच्चामा प्रदूषणकै कारण दमको समस्या देखा पर्ने त हुँदैन होला ?
प्रदूषण मुख्यतया दुई प्रकारको हुन्छ । एउटा बाहिरी वायु प्रदूषण र अर्को भित्री वायु प्रदूषण । गाउँघरमा खाना पकाउँदा दाउराबाट निस्किएको धुवाँ, खाना पकाउँदा प्रयोग हुने तेलको धुवाँ, लामखुट्टे भगाउने धूप र भान्साबाट निस्किने अन्य धुवाँ आदि भित्री वायु प्रदूषण हो । साना बच्चा घरमा नै बस्ने भएकाले उनीहरू यसको सम्पर्कमा आउँछन्, जसले गर्दा बच्चामा दमको जोखिम बढ्छ । साथै केही आमा बाहिरको काम गर्छन् भने बाहिरको धुवाँ-धुलोको सम्पर्कमा पनि बच्चा आउने भए यसले पनि जोखिम बढाउँछ ।
बच्चाहरू छिटोछिटो सास फेर्छन्, जसले गर्दा प्रदूषण पनि छिटोछिटो भित्र छिर्ने भयो । साथै उनीहरू मुखले धेरै सास फेर्छन् । नाकले सास फेर्ने भएको भए धुवाँधुलो फिल्टर हुन्थ्यो, तर मुखले सास फेर्ने भएकाले प्रदूषण सिधै भित्र छिर्ने भयो ।
बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बच्चाको फोक्सोको विकास राम्ररी भएको हुँदैन जसले गर्दा प्रदूषणले उनीहरूको फोक्सोको विकास क्रमलाई नै असर समेत गर्छ । त्यसैले बालबालिकालाई प्रदूषणबाट बचाउनुपर्छ ।
दमको कारण के कस्ता जटिलता निम्तिन सक्छ ?
दमका कारण तत्कालीन दीर्घकालीन दुई प्रकारको जटिलता निम्तिन सक्छ । पहिलो त बच्चाको दैनिकीमा असर पर्छ । आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था समेत आउन सक्छ । लामो समयसम्म दमको उपचार भएन भने श्वासनली बिग्रिंदै जाने, फोक्सोका भागहरू खुम्चिने, फोक्सोको संक्रमण जस्ता जटिलता निम्तिन सक्छ ।
उपचार के छ ?
दम कति बल्झिन्छ र कति गम्भीर रूपमा देखा पर्छ त्यसको आधारमा उपचार हुन्छ । दमको उपचारमा खाने औषधि प्रयोग गरिंदैन । खाने औषधिको धेरै साइड इफेक्ट हुने भएकाले सिधै श्वासनलीमा औषधि दिइन्छ । सिधै श्वास लिने औषधिमा एउटा नेबुलाइजर र अर्को इनहेलर हो । यस्ता औषधिको साइड इफेक्ट हुँदैन ।
दमको समस्यामा एउटा तुरुन्त आराम दिने र अर्को नियन्त्रण गर्ने । औषधि कति समय प्रयोग गर्ने भन्ने कुरा बच्चाको लक्षणमा भर पर्छ । बच्चालाई वर्षमा एक पटक गाह्रो हुन्छ भने गाह्रो भएको बेलामा औषधि लगाउनुपर्यो । बच्चा छिटोछिटो बिरामी हुन्छ भने दैनिक औषधि लगाउनुपर्छ ।
दम दीर्घरोग भए पनि उच्च रक्तचाप, मधुमेह जस्तो औषधि जीवनभरि प्रयोग गर्नु नपर्ने हुन सक्छ । दुई तीन महिना राम्ररी नियन्त्रण भयो भने औषधि छुट्न सक्छ । तर कतिपय अवस्थामा यो फेरि बल्झिन पनि सक्छ ।
बच्चालाई दम हुनबाट कसरी बचाउने ?
बच्चालाई दमको जोखिमबाट बचाउन बच्चा आमाको पेटमा भएदेखि नै हेरचाह गर्नुपर्छ । गर्भवती महिलाले धुम्रपान नगर्ने, प्रदूषणको सम्पर्कमा नआउने, सन्तुलित खाना खाने गर्यो भन्ने बच्चामा दमको जोखिम कम हुन्छ ।
प्राकृतिक रूपमा जन्मिएको बच्चामा भन्दा शल्यक्रियामार्फत जन्मिएको बच्चामा दमको जोखिम बढी हुन्छ । त्यसैले सम्भव भएसम्म प्राकृतिक रूपमा नै बच्चा जन्माउनुपर्छ । बच्चा जन्मिएपछिको खानपानले पनि दमको जोखिम बढ्छ । आमाको दूध खाएका बच्चामा दमको जोखिम बम हुन्छ ।
बच्चालाई प्रदूषणको सम्पर्कबाट टाढा राख्न सक्यो र जंकफुडको सेवन कम गर्यो भने पनि जोखिम कम हुन्छ ।
यी माथिका सबै कुरामा ध्यान दिंदा दम हुने सम्भावना कम हुन्छ । तर दम हुँदै नहुने भन्ने हुँदैन । त्यसैले समयमै पत्ता लगाएर उपचार गरियो भने यसको जोखिम कम हुन्छ ।
तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4