+
+

स्कोर गर्दागर्दै प्रचण्डले फिर्ता बोलाएका मोदी

अमृत चिमरिया अमृत चिमरिया
२०८० साउन २८ गते २१:३५

२८ साउन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका युवा नेता अमनलाल मोदीलाई नियुक्त गरेका थिए ।

मन्त्रालयभित्र केही सुधारका काम गरिरहेका मोदीलाई प्रधानमन्त्री प्रचण्ड स्वयम्ले फिर्ता बोलाए र उनको ठाउँमा जनमत पार्टीकी अनिता देवीलाई ल्याउने तयारी गरेका छन् । अनिताको शपथ सोमबार विहान १० बजेलाई तोकिएको छ ।

करिब सात महिना मन्त्रालय सम्हालेका मोदीले मुख्य रुपमा तीनवटा काम गर्ने प्रयास गरे । ऐन–कानुन निर्माणको काम, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने र कर्मचारी अनुगमन । तर, तीनवटै कामको प्रभावकारी कार्यान्वयन हुन नपाउँदै उनी क्याबिनेटबाट आउट भए । अर्थात् काम सुरु गरे तर रिजल्ट आउनै पाएन ।

मोदीले मन्त्री बनेलगत्तैदेखि संघीय निजामती विधेयक संसद्मा पेस गर्ने विषयलाई प्राथमिकतामा राखेका थिए । पछिल्लोपटक राष्ट्रिय सभाको २८ असारमा बसेको वैठकमा संघीय निजामती सेवा ऐन छिट्टै आउने उनले बताएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयक तयार गरी सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको थियो । मोदीले यो कानूनका विषयमा संघीय मामिला र प्रशासनसम्बन्धी काम गर्ने मन्त्रालयका पूर्वमन्त्री, पूर्वसचिव, पूर्वप्रशासक, कर्मचारी संगठन र राजनीतिक दलका नेताहरूसँग पटक–पटक छलफल गरेका थिए ।

मन्त्रालयले तयारी गरेको मस्यौदा बाहिरिएपछि मोदीविरुद्ध नायब सुब्बाहरूले आन्दोलन समेत गरेका थिए । राजपत्र अनंकित कर्मचारीहरूलाई विभेद गर्ने गरी मस्यौदा तयार भएको आरोप लगाउँदै आन्दोलन भएको थियो ।

२०७२ सालमा नयाँ संविधान बनेपछि मुलुक औपचारिक रुपमा संघीयता गयो तर संघीय निजामती सेवा ऐन अहिलेसम्म पनि परिमार्जन हुन सकेको छैन । त्यसो हुँदा खासगरी प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको ठुलो समस्या छ । त्यही भएर गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले निजामती ऐन छिट्टै ल्याउनुपर्ने भनेर दबाब दिँदै आएका छन् ।

यसअघि अघिल्लो संसद्मा गए पनि पारित हुन नसकेको कानून संशोधनलाई मोदीले उच्च प्राथमिकता दिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘पहिलेभन्दा मोदी मन्त्री आएपछि ऐनको लागि धेरै काम भएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने ।

निजामती सेवा ऐन तथा फोहोरमैला व्यवस्थापन ऐनको मस्यौदा तयार गर्नु, स्थानीय तहका लागि तीनवटा नमुना कानुन तयार गर्नु, निर्माणजन्य सामाग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक मन्त्रिपरिषद्मा पेश गर्नु उनका महत्वपूर्ण उपलब्धि भएको ती अधिकारीले बताए ।

सिंहदरबारमा जरा गाडेका कर्मचारीलाई दुर्गममा सरुवा

पहुँचको आधारमा संघीय मामिला मन्त्रालयसहित सिंहदरबार र उपत्यकाका अन्य कार्यालयमा लामो समयदेखि बसेका कर्मचारीहरूलाई मोदीले धमाधम दुर्गमका स्थानीय तहमा पठाइरहेका थिए । मोदी आउँदा २ सय ५० भन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त थिए । उनले तीमध्ये १ सय ६६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएका थिए । उनी निस्कँदै गर्दा ८५ स्थानीय तहमा मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् ।

मोदीले २९ जेठमा सहसचिव बलराम रिजाल संयोजकत्वमा कर्मचारी व्यवस्थापनको अध्ययनका लागि समिति गठन गरेका थिए । समितिमा सहसचिव हेमराज तामाङ, उपसचिवहरू महेन्द्रप्रसाद साँखी, खिलराज राई र कमानसिं थापामगर सदस्य थिए । उक्त समितिले १० साउनमा मोदीलाई प्रतिवेदन बुझाएको थियो ।

समितिको सुझावअनुसार मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन भन्दै निवेदन माग गरेको थियो । यस्तो निवेदन दिने म्याद ९ दिन तोकेर निवेदन मागिएकोमा ४५२ जना कर्मचारीले सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिएका थिए । त्यसमध्ये उपसचिव २, शाखा अधिकृत १२, नायब सुब्बा ६५, खरिदार ७५ र कम्प्युटर अपरेटर ४९ जना छन् । प्राप्त ४५२ निवेदनमध्ये २१२ जनाको निवेदन मन्त्रालयको कार्यक्षेत्रबाहिरको परेको थियो ।

निवेदनका आधारमा दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेका कर्मचारीहरूले रोजेअनुसारका पहिलो चरणमा नायब सुब्बाहरूको सुगम क्षेत्रमा सरुवा पनि भइसकेको थियो ।

सचिवकै हाजिरीमा रेजा, कर्मचारीसँग किचलो

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सचिवसहित अन्य कर्मचारीको हाजिरी किताबमा ‘रातो’ लगाइदिएपछि कर्मचारीसँगको सम्बन्ध भने चिसिँदै आएको थियो ।

मन्त्री मोदीले २९ असारमा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी किताबमा रातो लगाइदिएका थिए । प्रशासनिक कामकारबाहीमा समयमा कार्यालयमा उपस्थित नभएको भन्दै मोदीले पुष्करको हाजिरी किताबमा रातो लगाइदिएका थिए । तर, सचिव पुष्करले आफू मुख्यसचिवसँग कुराकानी गर्न गएको बखत मन्त्रीले हाजिर काटिदिएको गुनासो गरेका थिए ।

मुख्यसचिव वैकुण्ठ अर्यालसम्म यो विषय पुगेपछि उनकै पहलमा समस्या समाधान भएको थियो । त्यस अगाडि पनि मोदीले मन्त्रालयकै शाखाहरूमा छड्के गर्दै रेजा लगाउने गरेका थिए ।

थिति बसाउन खोजेको थिएँ : मोदी

मन्त्रीबाट फिर्ता बोलाउने पार्टीको निर्णय पछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री मोदीले आफुले कर्मचारी प्रशासनमा थिति बनाउने प्रयास गरेको बताए ।

आफूले पहिले नै राजीनामा दिइसकेको भन्दै सरकारलाई सजिलो बनाउनको लागि मन्त्री पद छोडेको उनको भनाइ छ । ‘मन्त्री पद भोलि नै हस्तान्तरण गरेको बिदा हुन्छु,’ मोदीले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?