+
+

हाम्रो सांस्कृतिक राष्ट्रवाद यति कमजोर किन ?

सांस्कृतिक राष्ट्रवादले देशप्रति गौरवबोधका साथै कर्तव्यपालनमा पनि उत्प्रेरणा दिन्छ । यसको मूल स्रोत अहिलेको युगमा संचार जगत हो, जुन समस्याको पहाड मात्र देखाएर समाधानका कुरा फिटिक्कै नगर्ने हुनुहुँदैन ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० साउन ३० गते १३:२९

देश भन्नु नै के रै’छ र चार किल्लाको माटो, त्यै माटो नै उसको मात्रै, जो छन् टाठो-बाठो ! प्रकाश सपूतको पीर भिडियोमा देखाइएको यस गीतले धेरै अर्थ बोक्छ । यसले हाम्रो सांस्कृतिक राष्ट्रवादलाई कमजोर बनाउन अत्यन्त ठूलो भूमिका निर्वाह गरिरहेको ठहर छ ।

एउटा सर्जकले यस्तो सिर्जना आफैंले सिर्जना गरेता पनि त्यो सिर्जना गराउने भूमिका उसको परिवेश, समाज तथा समग्रमा देशले नै गरेको हुन्छ । यस्तो भनाइ प्रकाश सपूतले मात्रै राखेका छैनन्, यो त अहिलेका युवाहरूको आम बुझाइ हो । त्यसैले त दिनको दुई हजारको हाराहारीमा खाडी मुलुक, मलेशिया तथा युरोप-अमेरिका तथा अष्ट्रेलियामा उडिरहेका छन् ।

एक वर्ष अगाडिको एउटा समाचारमा पर्यटनबाट ११ अर्ब देशमा भित्रिंदा युरोप, अमेरिका र अष्ट्रेलियामा अध्ययनरत नेपालीले २५ अर्ब लगेका थिए । यो क्रम घट्नुको साटो अझ बढिरहेको छ । यो विषयमा धेरैले चिन्ता र चासो व्यक्त गरिरहँदा पनि यसमा कमी नआउनुको कारण खासै कसैले खोजेको जस्तो लाग्दैन ।

सरकारका प्रायः सबै सदस्यहरूले आफ्ना छोराछोरीलाई विदेश पठाइसकेका हुनाले उनीहरूलाई त हाइसञ्चो हुने नै भयो । हाम्रो सांस्कृतिक राष्ट्रवाद पनि अत्यन्त कमजोर वा क्षयीकरण भइसकेकोले यस्तो भएको हो भन्नलाई कुनै रकेट विज्ञान बुझ्नुपर्छ जस्तो लाग्दैन ।

सांस्कृतिक राष्ट्रवाद आखिर आउँछ कसरी ? हाम्रो छिमेकी मुलुक भारतको सांस्कृतिक अतिक्रमणमा हामी धेरै परेका छौं भन्दा अत्युक्ति हुँदैन ।

करिब ७५ वर्षदेखि हामी भारतीय चलचित्रहरूको राम्रो उपभोक्ता हौं भने अहिले त्यहाँबाट प्रसारण हुने सयौं टेलिभिजन च्यानलका पनि । सिनेमा घरमा हेर्न नचाहने वा नसक्नेलाई पनि चौबिसै घण्टा विभिन्न फिल्म उपलब्ध छँदैछन् । त्यसमा टेलिसिरियल त हाम्रो साँझको जीवनको अभिन्न अंग नै भइसक्यो ।

अहिले हाम्रोमा पनि अनगिन्ती टेलिभिजन च्यानल रहेका छन् तर उनीहरूको कार्यक्रम भनेको खालि टक शो र समाचार मात्रै छैन, मनोरञ्जनका स्तरीय कार्यक्रमहरू छैनन् नै भन्दा पनि हुन्छ । भइहाले पनि भारतीय च्यानलहरूले प्रस्तुत गर्ने कार्यक्रमहरूसँग कुनै पनि क्षेत्रमा तुलना गर्न नमिल्ने ।

नेपाल टेलिभिजनको एकलौटी प्रसारण हुँदा भारतीय दूरदर्शन त्यो पनि एन्टेना मार्फत झ्यार झ्यार गरिआउँथ्यो । नेपाल टेलिभिजनले जे प्रसारण गर्दा पनि हाम्रा लागि मनोरञ्जन तथा सूचनाका लागि उच्चतम स्रोत त्यही हुन्थ्यो ।

तर अहिले परिस्थिति धेरै फेरिएको छ । यसको सीधा असर हाम्रो सांस्कृतिक राष्ट्रवादमा परेको छ । अर्थात् हामीलाई देशप्रति माया तथा कर्तव्यबोध होइन कि च्यूत हुन समेत प्रेरित गरेको छ ।

सांस्कृतिक राष्ट्रवाद कसले र कसरी निर्माण गर्ने हो, त्यो बहसको विषय हुनसक्छ । तर अहिले त्यसको प्रमुख स्रोत भनेको टेलिभिजन र यसका कार्यक्रम हुन्, त्यसपछि दिवस तथा पर्वहरू ।

अहिले नेपालको परिवेशलाई हेर्दा हाम्रा स्थायी तथा खुंखार शत्रु पनि नहुँदा यस्तो भएको हो कि जस्तो लाग्न थालेको छ । हामी भारतीय टेलिभिजन कार्यक्रमका उपभोक्ता हौं, उनीहरूका सबै कार्यक्रमले उनीहरूको राष्ट्रवाद मात्रै नभई सांस्कृतिक राष्ट्रवादलाई पनि जबरजस्त रूपमा प्रस्तुत गरिरहेको हुन्छ ।

हाम्रा जे-जति संस्थाहरू छन्, उनीहरूप्रति गौरवबोध हुने तथा उनीहरूले पनि देश र जनताको मात्रै हित हुने काम गर्न सकेमा यो सांस्कृतिक राष्ट्रवादको प्रवर्द्धन हुनेथियो अनि समृद्धि पनि

भारतको स्थायी तथा खुंखार शत्रु पाकिस्तान हो । अहिले कुनै मात्रामा चीन पनि थपिएको छ । भारतीय सेनाले आफ्नो सिमानाको रक्षा गर्दा भोगेको कठिनाइ तथा बलिदानीका कथाहरू भारतीय सञ्चारमाध्यमका राम्रा विषय मात्र नभई मसला पनि बनेका छन् ।

अब १५ अगस्त उनीहरूले मनाउँदै छन् । सरकारले गर्ने औपचारिक कार्यक्रमहरू त छँदैछ, टेलिभिजन च्यानलहरूले पनि बढाइँचढाइ त्यसलाई देखाउँछन् । हामी नेपाली दर्शक हौं । भारत हाम्रो देश होइन भन्ने थाहा हुँदाहुँदै जब चाहे त्यो गीत गाउने होस्, नाच्ने होस् वा अरू कुनै शो होस्, सबैमा स्वतन्त्रता प्राप्त गर्दा भएका बलिदानी, हालको सीमा रक्षा गर्दा भएका बलिदानी तथा देशको गौरव बढाउने खालका कर्तव्यहरू देखाउँदा हामीलाई समेत यति भावुक बनाउँछ कि हाम्रो आँखामा आँसु रसाएको पनि पत्तो हुँदैन ।

हामीलाई थाहा छ पाकिस्तानसँग हाम्रो कुनै दुश्मनी छैन, बरु सौहार्द मित्रता छ, चीन त हाम्रो छिमेकी भयो, कतिपय अर्थमा हाम्रो सुख-दुःखको साथी । तर भारतीय च्यानलहरूले उनीहरू विरुद्ध भएको सीमाको लडाइँको कथा र बलिदानीमा हाम्रो आँखा द्रवीभूत हुनुपर्ने कारण किन ?

त्यतिवेला मलाई लाग्छ, हामीले हाम्रो देशको विषयमा विभिन्न कार्यक्रम तथा चलचित्रहरू हेर्दा हामीलाई त्यसरी भावुक र द्रवीभूत बनाउँदै हाम्रो राष्ट्रवादलाई आत्मसात् गराउन किन सक्दैनन् ? यसमा सोच, विचारको अभाव हो वा हामी कुनै बाहृय हस्तक्षेप विनाको खतरामुक्त जीवन जिउन पाएर हो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेक इन इण्डियाको नारा अघि सारेपछि अहिले भारतको आर्थिक वृद्धिदर लोभलाग्दो किसिमले अगाडि बढेको मात्र छैन, आगामी एक दशकभित्र विश्वको पाँचौं ठूलो अर्थतन्त्र हुने प्रक्षेपण भइसकेको छ । यो राष्ट्रवादलाई पनि टेलिभिजन च्यानलले कसरी प्रवर्द्धन गरिरहेका छन् भन्ने एउटा प्रसंग उल्लेख गर्न चाहन्छु ।

सोनी सव-च्यानलमा राति पौने ११ बजे देखाइने एउटा सिरियल छ- ‘म्याडम सर, एक्सनका रिप्ले’ भन्ने । यसको मूल कथा एउटा महिला थाना जसको नेतृत्व पनि महिलाले नै गरेकी हुन्छिन्, को वरिपरि घुम्छ । त्यसमा हल्का कमेडी, एक्सन, ड्रामा तथा सबैभन्दा ठूलो कुरा सामाजिक सन्देश हुन्छ ।

यसको कार्यशैली पनि आम प्रहरीहरूको भन्दा फरक मनोवैज्ञानिक तथा पारिवारिक मेलमिलापमा जोड दिने खालको छ । यसले प्रहरी भनेको चोर-डाँकाहरूलाई तह लगाउने संस्था भएको हुँदा, उनीहरूका व्यवहार पनि त्यस्तै हुन्छ भन्ने जुन भाष्य निर्माण भएको छ, त्यस्तो विल्कुलै छैन । उनीहरूको काम हेर्दै जाँदा प्रहरीप्रति जुन सम्मान जागृत हुन्छ त्यो भनिसाध्य छैन । त्यति मात्र नभई ती प्रहरी पात्रहरू हाम्रै परिवारका हिस्सा हुन् भन्ने अनुभूति हुन्छ र उनीहरू हाँस्दा हाँस्ने, रुँदा रुने पनि हुन्छ ।

अनि मलाई लाग्छ- हामीकहाँ पनि प्रहरी छ, तर उनीहरूप्रति राम्रो सामाजिक धारणा बनाउन मद्दत पुग्ने हाम्रा कार्यक्रमहरू किन हुँदैनन् ? हाम्रा जे-जति संरचना र संस्थाहरू छन्, खासगरी नेपाली सेना र प्रहरी वा त्यस्तै संस्थाहरूप्रति हामीलाई गर्वको अनुभूति किन हुँदैन ?

मैले यहाँ उल्लेख गरेको सिरियलमा भारतीय स्वतन्त्रता दिवस १५ अगस्तकै दिनमा दिने गरी प्रहरीले २ लाख जुत्ताको टेण्डर निकालेको हुन्छ । त्यसमा राम्रो नाम कमाएको विदेशी ब्राण्डलाई पहिले जस्तै टेण्डर दिइन्छ, पछि थाहा हुन्छ उसले त स्थानीय कालिगडहरूले नै उत्पादन गरेको जुत्तामा आफ्नो लेवल लगाई सस्तोमा किनेको जुत्तालाई महँगोमा बेचिएको हुन्छ ।

एउटा उत्पादक कालिगडले सो कुराको गुनासो गरेपछि त्यो टेण्डर स्थानीय कालिगडलाई दिने पहल गर्दा फिल्मी शैलीको घटनाहरू भएतापनि अन्त्यमा स्वदेशी कालिगडकै जुत्ता लिइन्छ । त्यहाँ भनिन्छ- विदेशीहरूले हामीलाई कसरी बेवकुफ बनाउँदै हामीलाई लुटिरहेका छन् । असली देशभक्ति त आफ्नो देशको उत्पादनलाई खपत गर्दै आत्मनिर्भर बनाउनुमा छ ।

हाम्रोमा पनि सेना, प्रहरी, निजामती सेवा सबैतिर अहिले अनिवार्य पोशाकको व्यवस्था गरेको छ, ती सबैको संख्या करिब ६ लाखको हाराहारीमा हुन्छ । ती अत्यावश्यक सामान हाम्रा सरकारी निकायहरूले विभिन्न तरिकाले खरिद गर्छन् र उपभोग पनि ।

सरकारले १० प्रतिशतसम्म महँगो परे पनि स्वदेशी वस्तु खरिद गर्ने नीति ल्याएको छ तर त्यसको खासै पालना भएको खबर सुनिंदैन, स्वदेशी उत्पादन उपभोग गर्दा ती संयन्त्रहरूलाई मोटो कमिशन आउँदैन त्यो नभएपछि नेपाली उद्योगका उत्पादनहरूको खपत ती निकायहरूमा हुने कुरै भएन ।

अनि उत्पादनसँग जोडिएको पूँजी, प्रविधि, रोजगारीको कसरी विकास हुन्छ अनि देश आत्मनिर्भर हुन्छ ? देश आत्मनिर्भर नभएपछि खान-लगाउनलाई कमाउनुपर्‍यो, कमाउनका लागि विदेश जानुपर्‍यो ।

अहिले सांस्कृतिक राष्ट्रवादले देशप्रति गौरवबोधका साथै कर्तव्यपालनमा पनि उत्प्रेरणा दिन्छ भन्ने मेरो ठहर छ । यसको मूल स्रोत अहिलेको युगमा संचार जगत हो, त्यो केवल समस्याको पहाड देखाउने समाधानका कुरा फिटिक्कै नगर्ने हुनुहुँदैन । केवल बकम्फुसे कुरा गर्नेहरूलाई मात्र अगाडि ल्याउँदा यस्तो भएको हो ।

अतः हाम्रा जे-जति संस्थाहरू छन्, उनीहरूप्रति गौरवबोध हुने तथा उनीहरूले पनि देश र जनताको मात्रै हित हुने काम गर्न सकेमा यो सांस्कृतिक राष्ट्रवादको प्रवर्द्धन हुनेथियो अनि समृद्धि पनि ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?