+

‘तपाईंको क्यान्सर कुन स्टेजको हो ?’

२०८० साउन  ३० गते १६:५५ २०८० साउन ३० गते १६:५५
‘तपाईंको क्यान्सर कुन स्टेजको हो ?’

तपाईंको क्यान्सर कुन स्टेजको हो ? रगत वर्ष–वर्षमा फेर्नुपर्छ, हो ? अनि बोनम्यारो दिनेलाई केही हुँदैन ? केमुले पोल्दैन ? ब्लड क्यान्सर के कारणले हुँदोरहेछ ? अक्सर धेरैले मलाई सोध्ने प्रश्न हुन् यी । आफू यो क्षेत्रको विज्ञ नभए पनि आफैंले भोगेको भएर यसबारे जाने–बुझेका कुरा प्रष्ट पार्दैछु ।

रक्त क्यान्सर विभिन्न प्रकारका हुन्छन्– एएलएल, सीएमएल, एएमएल, बीसीसएल, टीसीएल, लिम्फोमा, मल्टिपल मायलोमा इत्यादि …। बच्चाहरूमा हुने एएलएल ब्लड क्यान्सर अर्थात् एक्युट लिम्फोप्लास्टिक लुक्यिमिया हो । युवा–युवतीमा सीएलएल ब्लड क्यान्सर अर्थात् क्रोनिक लुक्यिमिया हुने गर्दछ । त्यसैगरी, बूढाबूढी भएका मानिसलाई लिम्फोमा, क्रोनिक लुक्यिमिया हुने गर्दछ ।

यी सबै प्राणघातक नै हुन्छन् । मेरो रोग एक्युट माइलोइड लुक्यिमिया (एएमएल) हो । एएमएल कडा खाले प्राणघातक रक्त क्यान्सर हो । यो यति खतरनाक हुन्छ कि यसले धेरैजसोको ज्यानै लिन्छ । यसले केटाकेटी, तन्नेरी, बूढाबूढी केही भन्दैन । ब्लड क्यान्सर लाखौंमा एक जनामा देखिने हो ।

त्यो एक जनामा पर्ने ‘दुर्भाग्यवाला’ (चिकित्सकको भाषामा) म नै थिएँ । यसले मलाई झण्डै मृत्युको संघारमा पुर्‍यायो । तर लगिहालेन, गलायो मात्रै । धेरै पटक बेहोस बनायो । धेरै चोटि लडायो । कहिले बेहोस भएर बाथरुममा ढलायो । कहिले बसेकै ठाउँमा लडायो । धेरै पटक लडेर पनि उठें । उठेर दौडिन सक्ने भएको छु । नेपालमै चिकित्सकको राम्रो उपचार पाएर बाँचें ।

पीडाको पहाड

पहिलो उपचारको नौ महिनामै रोग दोहोरियो । रोग दोहोरिएपछि पीडा दोब्बरले बढ्यो । पीडाको पराकाष्ठा । पीडा यति भयो कि शब्दमा वर्णन गर्न मुस्किल हुन्छ । दाँतमा आक्रमण भो । खप्नै नसक्ने गरी दाँत दुख्यो । दुखाइ कम गर्ने पेनकिलरहरू खान नमिल्ने । सिटामोलले दुखाइ घटेन । दुखाइले रोएरै दिन बित्थ्यो । गिजा सुन्निए । जिब्रो र मुखमा घाउ आयो । खान, चपाउन र निल्न समेत समस्या भयो । रोग दोहोरिएपछि एक मात्र विकल्प थियो – बोनम्यारो प्रत्यारोपण । नेपालका एक मात्र रक्त रोग एवं बोनम्यारो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. विशेष पौडेलसँग भेट भएपछि बोनम्यारो प्रत्यारोपण गर्ने कुरा भयो । म सुरुवाती चरणदेखि नै उहाँकै निगरानीमा थिएँ र छु ।

घाउ निको हुन्छ तर खटिरा निस्किएको ठाउँमा दुख्न छोड्दैन । कुनै पनि औषधिले दुखाइ घटाउँदैन । मैले अहिलेसम्म त्यो दुखाइ झेलिरहेको छु । त्यसबाट उम्कन हर प्रयास गरिसकें तर सकिरहेको छैन । यो हाइडोजको किमोकै असर हो । किमोले पोल्न चैं पोल्दैन । तर शरीरलाई तागतहीन बनाएर छोडिदिन्छ ।

भगवानरूपी डाक्टर

मुटुका धेरै बिरामीले डाक्टर भगवान कोइरालालाई र दृष्टिविहीनहरूले सन्दुक रुइतलाई भगवानकै रूपमा मान्छन् । त्यस्तै प्रा. डा. विशेष पौडेल पनि रक्त रोगीका लागि भगवान नै हो । मैले पनि उहाँलाई भगवानकै अवतार मानेको छु । नेपालमा धेरै भएको छैन बोनम्यारो प्रत्यारोपण सुरु भएको । दशकअघि मात्र बोनम्यारो प्रत्यारोपण गर्न बिरामीले भारत पुग्नुपर्थ्यो ।

सन् २०१२ मा नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु भयो । यसअघि स्वदेशी अस्पतालमा यो सुविधा थिएन । डा. विशेष पौडेल नै हो पढाइ सकेर फर्किएपछि नेपालमा सुरु गर्ने । उहाँ विदेशतिर भिजिटिङ प्रोफेसरको रूपमा गइरहनुहुन्छ । उहाँको विदेशतिर पनि उत्तिकै माग छ । तर कोभिड पछि उहाँ विदेशतिर जान कम गरेर स्वदेशमै बिरामीको सेवामा लाग्नुभएको छ । डा. पौडेलले म जस्ता सयौंको ज्यान बचाउनुभएको छ ।

महंगो उपचार

सबैखाले क्यान्सरको उपचार महंगो नै हुने गर्छ । ब्लड क्यान्सर त्यसमा पनि एएमएलको झनै खर्चिलो छ । लाखौंले पनि पुग्दैन । सर्वसाधारणको उपचारमा पहुँच नै पुग्दैन । घर–खेत बेच्दा पनि पुग्दैन । नेपाल सरकारले दिएको एक लाखले त छेउ–टुम्पो भ्याउँदैन । तर अरू देशको तुलनामा रक्त क्यान्सरको उपचार नेपालमा सस्तो छ । छिमेकी देश भारतमा बोनम्यारो प्रत्यारोपणको मात्र २० लाख भारु जति खर्च हुन्छ । नेपालमा भने नेरु १०-१५ लाखसम्ममा नै हुन्छ । अमेरिकामा नेपाली पाँच करोडसम्म खर्च हुन्छ भनिन्छ ।

रगत फेर्ने कि बोनम्यारो ?

धेरैलाई भ्रम के छ भने शरीरको सम्पूर्ण रगत फेर्नुपर्ने होला । तर रगत फेर्ने होइन । बोनम्यारो फेर्ने हो । रगत त बोनम्यारोले उत्पादन गर्ने हो । रगतको स्रोत नै बोनम्यारो हो । यो एक पटक फेर्ने । त्यसपछि फेरिरहनु पर्दैन । बोनम्यारो फेरेर पनि फेरि दोहोरियो भने कसै–कसैलाई दुई पटकसम्म फेरिन्छ । तर दोहोरिएको केसमा पहिलेको भन्दा सफल प्रतिशत झनै न्यून हुन्छ । त्यसैले चिकित्सकहरूले दुर्लभ केसमा मात्र दोस्रो चोटि बोनम्यारो फेर्ने सल्लाह दिन्छन् ।

बोनम्यारोलाई चिकित्सकीय भाषामा ‘होमाटोपोएटिक स्टेम सेल’ भनिन्छ । प्रा. डा. विशेष पौडेलका अनुसार स्टेम सेलले रगतको सम्पूर्ण कोष निर्माण गर्छ । उहाँ भन्नुहुन्छ– होमाटोपोएटिक स्टेम सेल बोनम्यारोमा हुन्छ । एकदमै थोरै मात्रामा रगतमा पनि हुन्छ । पहिले–पहिले स्टेम सेल बोनम्यारोबाट मात्र झिकिने हुनाले यसलाई बोनम्यारो प्रत्यारोपण भनियो, तर अहिले सेल सेपरेटर मेसिनको सहयोग र एक विशेष किसिमको औषधिको प्रयोग गरी रगतबाट नै स्टेम सेल निकालिन्छ । त्यसको सुविधा निजामती कर्मचारी अस्पतालमा छ । त्यो निकालेको २५ हजार शुल्क लिइन्छ ।

बोनम्यारो दिनेलाई के हुन्छ ?

दाताको बोनम्यारो निकाल्नलाई ५-६ घण्टा लाग्छ । बोनम्यारो दातालाई केही पनि हुँदैन । बोनम्यारोबाट स्टेम सेल झिक्न मानिसलाई बेहोश बनाउनुपर्छ भने मेसिनबाट झिक्न बेहोश बनाइरहनु पर्दैन । रोगको प्रकृति हेरी कसैलाई बोनम्यारोबाट झिकिएको स्टेम सेल दिइन्छ भने कसैलाई रगतबाट झिकिएको छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि बिरामीले धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

संक्रमणको उच्च जोखिम

प्रत्यारोपणपछि धेरै समयसम्म संक्रमणको उच्च जोखिम रहन्छ । जुनसुकै भाइरल होस् आक्रमण गरिहाल्छ । केमोले क्यान्सरका सेलसँगै शरीरलाई चाहिने सम्पूर्ण तत्व नष्ट गरिदिन्छ । रोगसँग लड्न सक्ने क्षमता कमजोर पारिदिन्छ । सानोतिनो संक्रमणले पनि आक्रमण गरिहाल्छ । कसै कसैलाई जनैखटिरा महाकाल बनेर आउँछ । शरीर कमजोर भएको बेला मलाई यसले आक्रमण गर्‍यो ।

घाउ निको हुन्छ तर खटिरा निस्किएको ठाउँमा दुख्न छोड्दैन । कुनै पनि औषधिले दुखाइ घटाउँदैन । मैले अहिलेसम्म त्यो दुखाइ झेलिरहेको छु । त्यसबाट उम्कन हर प्रयास गरिसकें तर सकिरहेको छैन । यो हाइडोजको किमोकै असर हो । किमोले पोल्न चैं पोल्दैन । तर शरीरलाई तागतहीन बनाएर छोडिदिन्छ ।

बोनम्यारो प्रत्यारोपण जरूरी छ ?

धेरैजसो रोगमा बोनम्यारो प्रत्यारोपण आवश्यक पर्दैन । तर किमोथेरापीबाट उपचार गराइसकेपछि फेरि रोग दोहोरिएमा, (जस्तो मलाई) एप्लास्टिक एनिमिया, थालासेमिया र अन्य केही रगतका रोगमा अवस्था हेरी प्रत्यारोपण आवश्यक पर्छ । कोभिडको महामारीका कारण प्रत्यारोपणकै दौरानमा कोभिडबाट बिरामीको मृत्यु भएपछि केही समय प्रत्यारोपण नै रोकियो । मैले त्यो बेलासम्म प्रत्यारोपणका लागि पालो कुर्नुपर्‍यो । ओरल किमो र भ्याक्सिनको सहयोगमा बाँच्नुपर्‍यो ।

धेरै रोगमा प्रत्यारोपण गर्नुअघि रोगलाई औषधिद्वारा नियन्त्रणमा राख्नुपर्छ । यसरी नियन्त्रणमा राखिसकेपछि एकदमै ‘हाई डोज’ केमोथेरापी दिइन्छ । जसले बिरामीको क्यान्सर कोष र रक्त मासिकालाई नष्ट गरिदिन्छ । त्यसपछि मात्र आफ्नै स्टेम सेल वा दाताबाट झिकिएको स्टेम सेल प्रत्यारोपण गरिन्छ । मल्टिपल मायलोमा लगायतको क्यान्सरमा आफ्नो स्टेम सेल निकालेर आफैंमा प्रत्यारोपण गर्न पनि मिल्छ ।

ब्लड क्यान्सरमा स्टेज हुन्छ ?

प्रायः हरेक किसिमका क्यान्सरमा स्टेज मापन गरिन्छ । फर्स्ट, सेकेण्ड, थर्ड, फोर्थ अर्थात् लास्ट स्टेज । मैले पनि यसको बारेमा डा. विशेष पौडेललाई सुरुमै सोधेको थिएँ । तर उहाँले रक्त क्यान्सरमा खासै स्टेज नहुने जानकारी दिनुभयो । यसमा हाई रिस्क, स्टेण्डर्ड रिस्क र लो रिस्क भन्ने चैं हुन्छ । मेरो स्टेण्डर्ड रिस्कवाला क्यान्सर हो । यसमा जुनसुकै रिस्क फ्याक्टर भए पनि शरीर अनुसार हुन्छ । हाइरिस्कवाला पनि धेरै समय बाँचेका छन् । लो रिस्कवाला पनि चाँडै गएका छन् । त्यसैले यसलाई स्टेजमा पापन गर्न गाह्रो छ । उपचारको दौरानमा शरीरले कस्तो प्रतिक्रिया जनाउँछ त्यसमा भर पर्छ ।

कसरी लाग्छ त रोग ?

रक्त क्यान्सर के कारणले हुन्छ त ? ब्लड क्यान्सरको निश्चित कारण पत्ता लागेको छैन । विशेषज्ञ चिकित्सकहरूसँग पनि यसको ठोस उत्तर छैन । तर यस्ता केही कारण छन् जसले ब्लड क्यान्सर हुने जोखिम भने बढाउँछ । वंशाणुगत कारण अर्थात् आनुवंशिक हुनसक्छ । दशौं पुस्ताअघि रहेछ भने अहिलेको पुस्तामा देखिन सक्छ । यद्यपि अस्वस्थ खानपान, अत्यधिक मद्यपान र धूम्रपान, हेपाटाइटिस बी, सी र एचआईभी संक्रमण, विकिरण आदिलाई कारक तत्व मानेको पाइन्छ ।

तर चिकित्सकहरूले यसलाई भाग्य-दुर्भाग्यसँग जोडेर पनि हेर्ने गर्छन् । यो केही हैन ‘तपाईंको दुर्भाग्य’ हो । चिकित्सकको जवाफ प्रायः यस्तो आउने गरेको छ । तर वैज्ञानिकहरूले पनि कारण यही नै हो भनेर यकिन गर्न सकेका छैनन् । विस्तारै क्यान्सर निको पार्ने औषधि त बन्ला तर कारण भने पत्ता लगाउन मुस्किल छ ।

ग्राफ्ट भर्सेस् होस्ट डिजिज् (जीवीएचडी)

प्रत्यारोपणपछि बिरामीलाई प्रत्यक्ष असर पार्ने संक्रमण ग्राफ्ट भर्सेस होस्ट डिजिज (जीवीएचडी) नै हो । शरीरमा बिमिरा एवं डाबरहरू आउने, अनुहार कालो हुने लगायत लक्षण नै जीवीएचडी हो । प्रा. डा. पौडेल भन्नुहुन्छ– अत्यधिक जीवीएचडी भए बिरामीको मृत्यु हुन्छ । तर सबै जीवीएचडी आउँदा नराम्रै हुन्छ भन्न मिल्दैन । केही केहीले राम्रो पनि गर्ने रहेछ । मलाई पनि जीवीएचडी भएको हो । शरीरमा बिमिरा आएको थियो । तर औषधि चलाएपछि दुई-तीन दिनमै बिमिरा ठीक भयो । मेरो केसमा चैं जीवीएचडीले राम्रो गर्‍यो ।

के हो ब्लाष्ट ?

रक्त रोग लागेपछि बोनम्यारोको जाँचमा ब्लाष्ट देखाउँछ । अनुभवी चिकित्सकहरूले कम्मरमुनिको ज्वाइन्टभित्रबाट हड्डी छेडेर बोनम्यारो निकाल्छन् । यसको जाँचबाट शरीरमा कति मात्रामा क्यान्सरका सेल फैलिएका छन् भन्ने मापन गरिन्छ । मेरो सुरुवाती चरणमा ९२ प्रतिशतसम्म ब्लाष्ट पुगेको थियो । त्यस्तै ११ हजारसम्म हुनुपर्ने डब्लुवीसी (सेतो रगत) ९० हजार माथि थियो । लिम्फोसाइट ह्वात्तै बढेको थियो । न्यूट्रोफिल न्यून थियो । यस्तो भएपछि रोगसँग लड्ने क्षमतै हुँदैन । हालत यति खराब हुन्छ कि चिकित्सकले एक महिनामा जे पनि हुन्छ त्यसै भनेका कहाँ हुन् र ! मेरो चार साइकलको किमोथेरापी पछि ब्लाष्ट घटेर शून्यमा आयो । क्यान्सररहित हुनका लागि ब्लाष्ट शून्यमा झर्नुपर्छ । यदि बोनम्यारोमा ब्लाष्ट देखिएन भने चारदेखि पाँच महिना पूरा भएपछि अस्पतालले घर पठाउँछ ।

रेडिएसन थेरापी जरूरी छ ?

कतिपयलाई रोगको प्रकृति हेरेर बोनम्यारो प्रत्यारोपण अघि रेडिएसन पनि दिइन्छ । मलाई पनि दिइयो । त्यसले शरीर यति सुकाउँछ कि थुक समेत निस्किंदैन । पिसाब सुकाउँछ । पिसाब गर्न बस्यो थोपा–थोपा चुहिन्छ मात्रै । ट्रान्सप्लान्ट अघि र पछि दिइने हाई डोजको किमोले यति गलाउँछ कि कल्पना पनि गर्न सकिंदैन । शौचालयको ढोका ठेल्न पनि सकिंदैन । बोनम्यारोबाट निस्कँदा हाडछाला मात्र बाँकी रहन्छ । त्यसपछि महिनौंसम्म कडा पावरका २० औं प्रकारका औषधि खानुपर्ने हुन्छ । त्यसले शरीर झनै गलाउँछ । औषधिको असरले केही खान मन लाग्दैन । खान पनि सकिंदैन । दाँतले चपाउन सक्दैन । जिब्रोले स्वाद थाहा पाउँदैन । वाकवाकी लाग्ने, बान्ता हुने क्रम प्रत्यारोपणको करिब ६ महिनासम्म पनि चलिरहन्छ । ६ महिनासम्म खोले, झोलिलो खानेकुरा मात्र खायो । बाँच्नका लागि खायो । सुरुमा, हप्तामा दुई पटक, एक पटक हुँदै, महिना दिन अनि तीन-तीन महिनामा फलोअपमा गइरहनुपर्छ । चिकित्सकले औषधिको मात्रा पनि विस्तारै घटाउँदै जान्छन् ।

(पौडेल ब्लड क्यान्सर सर्भाइभर हुन् ।)

क्यान्सर स्वास्थ्य
लेखक
कमल पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मान्छे किन दु:खी हुन्छ ?

मान्छे किन दु:खी हुन्छ ?

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?