+
+

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीद्वारा औपचारिक घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३१ गते १३:२४

३१ साउन, काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको छ ।

प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरे ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज मात्र त्यसको औपचारिक घोषणा गरिएको हो ।

अनौपचारिक क्षेत्रका श्रमिक भन्नाले रोजगारदाता निश्चित नभएका कृषि क्षेत्र, निर्माण क्षेत्रलगायतका श्रमिक तथा मजदुर पर्छन् ।यसअघि औपचारिक क्षेत्रमात्र सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि अनौपचारिक क्षेत्र र स्वरोजगार व्यक्ति समेटिएका थिएनन् ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा समेट्न स्थानीय तहमार्फत् सम्झौता गर्न सकिने व्यवस्था कार्यविधिमा छ । सो व्यवस्था अनुसार पहिलोपटक स्याङ्जाको फेँदीखोला र त्यसपछि मकवानपुरको भिमफेँदी गाउँपालिकासँग सम्झौता भएको छ । अन्य पालिकाका श्रमिक तथा स्वरोजगार व्यक्ति पनि क्रमशः कोषमा समेटिने क्रममा छन् ।

कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गरिने छ ।

योगदानको सो रकमलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रति परिवार सुरक्षा योजनाका लागि १०.३७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि १० प्रतिशत रकम बाँडफाँट हुने छ ।

स्वरोजगारमा रहेका व्यक्तिले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम यसको तीन गुणासम्मको रकमको ३१ प्रतिशत रकम योगदान गर्नुपर्ने छ । त्यो रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४० प्रतिशत, आश्रति परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत बाँडफाँट हुने छ ।

कार्यविधि अनुसार सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको बाह्र महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?