+
+
अग्रपथ :

विदेशिएका फर्किनुपर्ने किन ? ‘झोले’ हुन ?

जुन देशको औसत ज्याला २० हजारभन्दा कम छ, त्यहाँ ७.७४ प्रतिशतको मुद्रास्फीति भएबाट हामी सजिलै अनुमान गर्न सक्दछौं कि सर्वसाधारणको आर्थिक जीवन कति कष्टसाध्य, दुःखद र अल्प-आयमा आधारित छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० भदौ ३ गते १०:३२

हाम्रो अर्थ-राजनीतिक सोचमा बडो विचित्रको विरोधाभास क्रियाशील छ । एकातिर राज्य र अर्थतन्त्रका सञ्चालक तथा नीतिनिर्माता विप्रेषण आप्रवाह, वैदेशिक मुद्राको सञ्चिति, अनुकूल भुक्तानी सन्तुलन र शोधनान्तर बचतलाई अर्थतन्त्र जीवन्त, सक्रिय, गतिशील र सकारात्मक भएको सूचकांकको रूपमा प्रस्तुत गर्दछन् भने अर्कोतिर तिनै नेता तथा प्रशासक सार्वजनिक धारणा व्यक्त गर्दा विदेशिएका नागरिकहरूलाई देश फर्किन आहृवान गर्दैछन् । देशभित्रै पर्याप्त संभावना भएको, नेपालमा बसेर गर्दा नहुने केही नभएको बताइरहेका छन् । वैदेशिक रोजगार वा विदेशमा रहेकाहरूको मनमा एक प्रकारको हीनभावना र सकस सिर्जना गरिरहेका हुन्छन् । यस्तो प्रवृत्ति अनुचित र पाखण्डपूर्ण हो ।

भर्खरै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ, यही पाखण्ड र विरोधाभासका साथ ।

प्रतिवेदनले विप्रेषण आप्रवाह ऐतिहासिक तबरले उच्च विन्दुमा देखाउँछ । अर्थात् गत आर्थिक वर्षमा रेमिट्यान्स प्राप्ति १२ खर्ब, २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो करिब १० खर्ब ७ अर्ब थियो । वैदेशिक मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब पुगेको छ । भुक्तानी सन्तुलन अनुकूल छ । शोधनान्तर बचत २ खर्ब ९० अर्ब ५२ करोड छ । अघिल्लो वर्ष २ खर्ब ५५ अर्ब ऋणात्मक थियो ।

यी तथ्यांक एकअर्कासँग प्रत्यक्ष सम्बन्धित र समानुपातिक छन् । रेमिट्यान्स मात्र वैदेशिक मुद्रा सञ्चितिको आधार हैन । तर, अन्य कारण निर्यात, पर्यटन र वैदेशिक ऋण अनुदान खासै प्रभावकारी देखिन्न । विदेशी पर्यटकको संख्या केही बढेको छ तर कोभिड-१९ अघिको अवस्थामा अझै पुगेको छैन । निर्यात २१.४ प्रतिशतले घटेेको छ भने वैदेशिक अनुदानको परिचालन सन्तोषजक छैन भनेेर स्वयं सरकारले स्वीकार गरेको छ, आर्थिक सर्वेक्षण र बजेट मार्फत ।

यसको सीधा अर्थ हो- वैदेशिक मुद्रा सञ्चिति, अनुुकूल भुक्तानी सन्तुलन र शोधनान्तर बचतको मुख्य कारण रेमिट्यान्स नै हो । विदेशमा गएर धेरथोर कमाइरहेका नेपालीकै कारण देश टिकेको हो ।

रेमिट्यान्स किन बढ्छ ? यसका दुई कारण हुन्छन् । कि त गुणात्मक परिवर्तन आएको हुनुपर्दछ, कि मात्रात्मक वृद्धि भएको हुनुपर्दछ । गुणात्मक परिवर्तनको अर्थ विदेशमा भएका, नेपालमा रेमिट्यान्स पठाउने नेपालीको त्यहाँ आय वृद्धि हुनु हो । मात्रात्मक वृद्धिको अर्थ विदेशिने वा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढ्नु हो ।

तथ्यांकले प्रष्ट भनिरहेका छन् कि रेमिट्यान्स बढ्नुको कारण पहिलो अर्थात् गुणात्मक परिवर्तन हैन, मात्रात्मक वृद्धि हो । बितेको आर्थिक वर्षमा ४ लाख ९७ हजार ७०४ जना नयाँ कामदारले वैदेशिक रोजगारका लागि श्रम अनुमति लिएका छन् । पुराना थप २ लाख ७७ हजार २७२ जना गरी ७ लाख ७४ हजार ९७६ जना वैदेशिक रोजगारमा श्रम अनुमति लिएर गएका छन् । अघिल्ला आर्थिक वर्षहरूमा यस्तो संख्या ४ देखि ५ लाखको बीचमा थियो ।

अर्थात् बितेको आर्थिक वर्षमा रेमिट्यान्स मात्र ऐतिहासिक तबरले उच्च भएको छैन, विदेशिनेहरूको संख्या पनि उत्तिकै उच्च भएको छ । करिब दोब्बरै भएको छ । विदेशिनेको संख्या करिब दोब्बरले वृद्धि हुँदा रेमिट्यान्समा करिब २ खर्बको वृद्धि हुनु कुनै अनौठो आर्थिक प्रगति हैन । यो तथ्यांकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने प्रति दिनको यात्रु संख्याले समेत समर्थन गर्दछ । अघिल्ला आर्थिक वर्षमा प्रति दिन १८०० देखि २२०० जना बाहिरिने गर्दथे । बितेको आर्थिक वर्षमा २८०० देखि ३२०० पुगेको थियो ।

जहाँ उच्च आय र उन्नत जीवनस्तरको सम्भावना हुन्छ, मान्छे त्यतै जान्छन् । यो प्रक्रियालाई कुनै राजनीतिक स्टन्ट त के कठोर राष्ट्रवाद वा देशभक्तिको भावनाले पनि रोक्न सक्दैन । सस्तो, खोक्रो र फुस्रो राजनीतिक स्टन्ट र अपील गर्नुअघि अलिकति सामान्य अर्थशास्त्रको नियम पनि बुझ्ने कष्ट गरौं न !

यो त श्रम अनुमति लिएर वैदेशिक रोजगारमा जानेहरूको मात्र तथ्यांक हो । जसमा अन्य तरिकाले विदेश जानेहरूको संख्या आउँदैन । विदेश पढ्न जाने विद्यार्थीको कारण नेपालका क्याम्पसमा विद्यार्थी अभाव भएका कतिपय प्राविधिक क्याम्पस समेत बन्द गर्नुपनर्ेे स्थितिमा पुगेको समाचार आइरहेकै छन् । अर्को वैदेशिक आप्रवासन वा गैरकानुनी मानव तस्करीको पाटो पनि छ । जसको कुनै भरपर्दो तथ्यांक हुन सम्भव छैन ।

अर्को पक्ष- विशेषतः कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट भारततिर जानेको संख्या हो । यो संख्या झनै ठूलो हुन्छ । कम्तीमा प्रति वर्ष १० लाखभन्दा बढी हुन्छ । यी मानिस वर्षमा ८ महिना पुसदेखि साउनसम्म भारतका विभिन्न शहरमा हुन्छन् ।

असोजतिर चाडपर्व मान्ने गरी देश आउँछन् र मंसिरमा बाली भित्र्याएर पुनः भारत फर्किन्छन् । तराईका जिल्लाहरूबाट भारतका विभिन्न गाउँ-शहरमा काम गर्न कृषि श्रमिकका रूपमा जानेहरूको संख्या निकै ठूलो, कम्तीमा पनि ५ लाख बढी हुनुपर्दछ ।

यी सबै तथ्यांकलाई एकठाउँमा ल्याउने हो भने नेपाल एक प्रकारले रोजगार र उत्पादन शून्य वा नगन्य भएको ‘आयात र उपभोग केन्द्र’ मात्र हो । अब यसो भन्न कुनै अप्ठ्यारो नमान्दा हुन्छ कि नेपालको अर्थतन्त्रको मेरुदण्ड नै औपचारिक, अनौपचारिक रूपमा वैदेशिक रोजगार भइसक्यो । यिनै मान्छेले देशको अस्तित्व बचाउने, राज्य पाल्ने र नेपाललाई श्रीलंका र पाकिस्तान जस्तो हुनबाट जोगाएका छन्, यसका लागि विदेशिनेहरूले चुक्ता गर्नु परेको भावनात्मक तथा मानवीय मूल्य जति नै धेरै किन नहोस् ।

रेमिट्यान्स, वैदेशिक मुद्राको सञ्चिति, अनुकूल भुक्तानी सन्तुलन तथा शोधनान्तर बचत कुनै राज्य वा देशका बाहृयमुखी आर्थिक सूचक हुन् । तिनले आन्तरिक आर्थिक सबलताको पुष्टि गर्दैनन् । आन्तरिक सूचकतिर हेर्दा आर्थिक वर्ष २०७९/८० मा १.८६ प्रतिशतको मात्र वृद्धि देखिन्छ, जबकि देशको अपेक्षित आर्थिक वृद्धिदर न्यूनतम ८ प्रतिशत हुन आवश्यक छ । छिमेकी देश भारतले नै यसबीच करिब ८ प्रतिशतको वृद्धिदर हासिल गरेको छ ।

दैनिक १.५ डलरलाई मानवीय जीवन निर्वाहका लागि न्यूनतम आयस्तर मान्ने हो भने प्रति नेपाली मासिक न्यूनतम आय ५० हजारभन्दा माथि हुुनुपर्दछ । भर्खरै सरकार आफैंले न्यूनतम ज्याला करिब साढे सत्र हजार तोकेको छ । तर, निजी क्षेत्र भन्दै छ कि यति ज्याला दिने क्षमता पनि उद्यमी, व्यवसायीहरूसँग छैन । सरकारले तोकेको न्यूनतम ज्याला निजी क्षेत्रले दिन सक्दैन ।

यस्तो बेला केही राजनीतिक दल र नेतृत्वले विदेशिएकालाई देश फर्किन गरेको आहृवानको अर्थ के हो ? अर्थमन्त्रीले जस्तो देशभित्र पर्याप्त अवसर छ भनेर दाबी गर्ने आधार के हो ? देशभित्रै केही गर्न सकिन्छ भन्ने मनोविज्ञान बनाउनुपर्ने भन्ने आग्रहको कारण के हो ? के मासिक २० हजार मुनिको जागिर खान आऊ, त्यो पनि नपाए बेरोजगार बस र पार्टी र नेताहरूको ‘झोले’ बन भन्या हो ? जति सोचे पनि अरू अर्थ त निस्किन्न ?

जुन देशको औसत ज्याला २० हजार भन्दा कम छ, त्यहाँ ७.७४ प्रतिशतको मुद्रास्फीति भएबाट हामी सजिलै अनुमान गर्न सक्दछौं कि सर्वसाधारणको आर्थिक जीवन कति कष्टसाध्य, दुःखद र अल्प-आयमा आधारित छ ।

मानौं कि ‘स्वदेेश फिर्ती’ को तथाकथित अभियान चलाउने वा राजनीतिक अपील गर्नेहरूको कुरा मानेर विदेशिएका नेपाली फिर्ता आए, त्यसपछि देशको अर्थतन्त्रमा के-कस्तो प्रभाव पर्छ, स्वयं ती मान्छेको जीवन र परिवारमा के कस्तो प्रभाव पर्छ भनेर तिनले सोचेका होलान् ? यदि सोच्थेे त यस्ता हावादारी गफ गर्ने नै थिएनन् । ठीक यतिखेर जसले गरेको होस्, नेपाल फिर्तीको आहृनान एक प्रकारको अर्थशास्त्रीय ज्ञानशून्यता र मूर्खता मात्रै हो, जसको कुनै प्रभाव नै हुँदैन । प्रभाव भए प्रत्युत्पादक वा नकारात्मक हुन्छ ।

यहाँनेर एक प्रश्न उब्जिएला जागिर, पैसा र आम्दानी मात्रै मान्छेको जीवनको सबैथोक हैन, मानवीय जीवनका अन्य पक्ष पनि छन् । ठीक हो- मानवीय जीवनका अन्य पक्ष पनि हुन्छन् । पारिवारिक तथा सामाजिक उत्तरदायित्व पनि हुन्छन् । यहाँनेर सबैले के बुझ्न आवश्यक छ भने आर्थिक संघर्ष र पारिवारिक उत्तरदायित्व मानव जीवनको अनिवार्य पाटो हो । सामाजिक, राजनीतिक उत्तरदायित्व स्वेच्छिक हो । जे अनिवार्य हो, त्यो सबैले गर्ने हो । जे स्वेच्छिक हो, त्यो काम रुचि र क्षमता भएकाले गर्ने हो ।

अर्को तर्क हुन सक्दछ- सबै चिजलाई जागिरसँग किन तुुलना गर्ने, उद्यमशीलताको पाटोबाट पनि त हेर्न सकिन्छ ? देशमै फर्किएर केही गर्नुपर्‍यो, उद्यमशील हुनुपर्‍यो !

हो, साना तथा मझौला आकारको उद्यमशीलता कुनै पनि देशको आर्थिक मेरुदण्ड हो । तर, त्यससँग पूँजी निर्माण र संरचनाको प्रश्न जोडिएर आउँछ । के यस्तो प्रकारको उद्यमशीलताका लागि देशमा पर्याप्त पूँजी वा उपयुक्त पूँजी संरचना छ ? सोही अनुरूपको बजार गत्यात्मकता र तेजी छ ?

आज देशभित्र जेजति मानिस बाँकी छन्, पहिले यिनको अवस्था सुधारौं, त्यसपछि विदेशिएका आफैं आउँछन् । उनीहरूलाई विशेष राजनीतिक अपील नै गरिरहनुपर्दैन । देशभित्रको आर्थिक हालत झन्-झन् बिग्रिंदै जाने र राजनीतिक स्टन्टका लागि विदेशिएकालाई स्वदेश फर्क अभियान चलाउने वा सस्तो राजनीतिक अपील गर्ने काम जसले गरे पनि वाहियात् वा निरर्थक हो

उद्योग वाणिज्य संघको एक तथ्यांकले भन्छ कि विगत आर्थिक वर्षमा मात्र देशभरि ३५ प्रतिशत व्यावसायिक सटर, पसल, स्टल बन्द गएका छन् । ६० प्रतिशत साना तथा मझौला व्यवसायीहरू घाटामा छन् ।

वित्तीय अल्पतन्त्र देशको अर्को असाध्यै ठूलो आर्थिक समस्या हो । करिब साढे ४ करोड खातावालबाट संकलन भएको निक्षेप करिब ३ दर्जन व्यापारिक घरानाका कम्पनीहरूले प्रयोग गर्दछन् । उनीहरूको ब्याजदर ४ देखि ६ प्रतिशतको बीचमा २० वर्षभन्दा लामो अवधिका लागि हुन्छ । बाँकी करिब ५० लाख ऋणीले १२-१८ प्रतिशतको ब्याज तिर्नुपर्दछ ।

त्योे पनि अल्पअवधिको हुन्छ, ठीक समयमा तिर्न नसके जरिवाना थपिन्छ । ऋणी र बैंक तथा वित्तीय संस्थाहरूबीच अन्तरविरोध बढ्दै जानुको एउटा मुख्य कारण यही हो । यस्तो देशमा उद्यमशीलता कसरी सम्भव छ । कि त राजनीतिक शक्तिकेन्द्रको आशीर्वाद र संरक्षण प्राप्त कहलिएको व्यापारिक घराना हुनुपर्‍यो, सर्वसाधारणले त्यस्तो पहुँच कसरी निर्माण गर्लान् ?

देशको औद्योगिकीकरण र उद्यमशीलतामा थप समस्या भनेको पूँजी संरचना हो । कुल पूँजीमा परिवर्तनीय पूँजीभन्दा स्थिर पूँजी अनुपात असाध्यै धेरै भएको देशमा उद्यमशीलता प्रबर्धन हुँदैन । किनकि भूमि, भवन, मेसिन र अन्य पूर्वाधारमै पूँजीको ठूलो हिस्सा सकिन्छ । संचालन लागत धान्नका लागि उद्यमीसँग आफ्नै पूँजी बाँकी रहँदैन । ऋण पूँजीको ब्याजभन्दा बढी मुनाफाको दर हुनुपर्ने हुन्छ । यो सम्भव नै हुँदैन । किनकि स्थिर पूँजी अनुपातले लागतस्तरलाई बढाउँछ र त्यो बजारमा प्रतिस्पर्धी बन्न सक्दैन ।

दुर्भाग्यको कुरा के छ भने आज देशमा न मजदुर छन् न किसान । मजदुर र किसानको कुरा गर्ने गफ छाँट्ने गफाडी नेता र दल मात्र छन् । मजदुर जति विदेशिएका छन्, देशभित्र किसान हुन्थे त जग्गा-जमिन बाँझो बसेको भन्ने यति ठूलो गुनासो आउने थिएन । कृषि उपजमा देश यतिविघ्न धेरै परनिर्भर हुने थिएन । आज देशमा जे-जति जनशक्ति टिकेको छ, त्यो उद्योग वा कृषिको कारणले हैन, सेवा क्षेत्रको कारणले टिकेको छ ।

उद्योगले बुर्जुवा र सर्वहारा, कृषिले किसान र सेवागत क्षेत्रले आधुनिक शहरिया मध्यम वर्गको विकास गर्ने हो । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत, औद्योगिक क्षेत्रको योगदान १३.४५ प्रतिशत हुँदा सेवा क्षेत्रको योगदान ६२.४३ प्रतिशत देखिएको छ ।

मध्यम वर्गको विकास आधुनिक, लोकतान्त्रिक तथा मर्यादित खुला समाजका लागि अनिवार्य शर्त हो । जहाँ ‘बुर्जुवा’ तथा ‘सर्वहारा’ अनुपात ठूलो हुन्छ, त्यहाँ सधैं ‘वर्ग-संघर्ष’ को राजनीतिक मनोभावना अधिक हुन्छ, फलत समाज स्थिर, शान्त, सन्तुलित, मर्यादित, सभ्य र लोकतान्त्रिक रहिरहन सक्दैन । मध्यम वर्गको विकास लोकतन्त्रको विकास, विस्तार र सामाजिक तथा आर्थिक सन्तुलनको आधार हो । मध्यम वर्गको आकार वृद्धि हुनु समाज निरपेक्ष गरिबीबाट मुक्त हुँदै गएको बलियो सूचक पनि हो ।

हामीकहाँ यद्यापि मध्यम वर्गको पर्याप्त विकास र विस्तार हुनसकेको छैन । अधिकांश युरोपेली मुलुकमा मध्यम वर्गको आकार ६०-९० प्रतिशतसम्म छ । भारत र चीनले समेत यस बीच मध्यम वर्गको वृद्धिमा उल्लेखनीय योगदान गरेका छन् । भारतमा मध्यम वर्गको आकार सन् २००५ मा १४ प्रतिशत थियो । सन् २०१९ मा २८.५ प्रतिशत थियो भने सन् २०२१ मा ३१ प्रतिशत पुग्यो । सन् २०३० मा ५४ प्रतिशत र २०४७ मा ६३ प्रतिशत पुग्ने अनुमान छ । सन् २०२२ मा चीनको मध्यम वर्ग अनुपात ४० प्रतिशत थियो सन् २०३० सम्म यो ७० प्रतिशत पुग्ने अनुमान छ ।

नेपालमा पछिल्लो वर्ग-संरचनाको वस्तुगत, निष्पक्ष, तटस्थ तथा उपयुक्त अध्ययन नै भएको छैन । निरपेक्ष गरिबी १८ प्रतिशमा घटेको भनिंदैछ, त्यसो हो भने के ८२ प्रतिशत जनसंख्या मध्यम वर्ग वा त्यसभन्दा माथि छ त ? यदि यो तथ्यांक विश्वसामु भन्ने हो भने संसार हाँस्नेछ । यति ठूलो अनुपातको मध्यम वर्ग त अमेरिकामा पनि छैन । सन् १९७१ यता अमेरिकामा निरन्तर ५० प्रतिशतभन्दा माथि मध्यम वर्ग छ । तर, यो विभिन्न आर्थिक वर्षमा ५०-८० प्रतिशतका बीचमा तल-माथि हुने गरेको छ । सन् २००८ को वित्तीय संकटका बेला ६३ प्रतिशतमा झरेको थियो ।

हामी यो यथार्थलाई बिर्सन सक्दैनौं कि देशमा मध्यम वर्गको वृद्धिमा सेवागत क्षेत्रको योगदानपछि अर्को मुख्य आधार वैदेशिक रोजगार नै हो । आज देशको आवास, शहरीकरण, शिक्षा, स्वास्थ्य र अन्य आधुनिक सेवा-सुविधास्तरमा जुन सुधार आएको छ, त्यो वैदेशिक रोजगार विना सम्भव नै थिए । सबै नेपाली तत्काल नेपाल फर्किन हो भने बेरोजगारी, गरिबी, राजनीतिक तनाव र अर्को गृहयृद्धको तयारी बाहेक केही हुनेछैन ।

वैदेशिक रोजगारलाई नकारात्मक रूपमा मात्र चित्रण गर्नुपर्ने आर्थिक सक्षमताको स्थितिमा देश अहिले पनि छैन । उपयुक्त पूँजी संरचना, लागतस्तर, रोजगारी र उद्यमशीलता नभएको देशमा भावनात्मक कुरा गरेर मात्र कोही देश फर्किंदैन । यदि तीतो सत्य बोल्ने साहस गर्ने हो भने देशमा जे-जति जनशक्ति बाँकी छ, त्यो देशभक्ति र राष्ट्रवादलेे ओतप्रोत भएर देशमा बसेको हैन । यसभित्र पनि विदेशिने उपयुक्त अवसर नपाएको र पहुँच नभएको जनसंख्या हिस्सा छ ।

एकपटक यसरी पनि कल्पना गरौं कि संसारका सबै विकसित मुुलुकले नेपालीका लागि सहज भिसा र आप्रवासनको अधिकार दिने हो भने कति नेपाली अहिलेको स्थितिमा नेपाल बस्लान् ?

थाहा छ कि यो तर्क प्रणाली धेरैलाई मन पर्ने छैन । निकै कठोर र तीतो लाग्नेछ । तर, हामीले यो कुरा पनि बुझ्न जरूरी छ कि सबै भावनात्मक गौरवहरू सत्य हुुँदैनन् । आज देशभित्र जेजति मानिस बाँकी छन्, पहिले यिनको अवस्था सुधारौं, त्यसपछि विदेशिएका आफैं आउँछन् । उनीहरूलाई विशेष राजनीतिक अपील नै गरिरहनुपर्दैन । देशभित्रको आर्थिक हालत झन्-झन् बिग्रिदै जाने र राजनीतिक स्टन्टका लागि विदेशिएकालाई स्वदेश फर्क अभियान चलाउने वा सस्तो राजनीतिक अपील गर्ने काम जसले गरे पनि वाहियात् वा निरर्थक हो ।

अर्थशास्त्रकोे सामान्य सिद्धान्तमा जहाँ पूँजी र प्रविधिको प्रवाह हुन्छ, श्रम स्वतः त्यतै जान्छ । जहाँ उच्च आय र उन्नत जीवनस्तरको सम्भावना हुन्छ, मान्छे त्यतै जान्छन् । यो प्रक्रियालाई कुनै राजनीतिक स्टन्ट त के कठोर राष्ट्रवाद वा देशभक्तिको भावनाले पनि रोक्न सक्दैन । सस्तो, खोक्रो र फुस्रो राजनीतिक स्टन्ट र अपील गर्नुअघि अलिकति सामान्य अर्थशास्त्रको नियम पनि बुझ्ने कष्ट गरौं न ! अहिलेका नेताका अपीलले उनीहरूको ‘झोले’ हुन कोही पनि फर्किंदैन, जबसम्म देशभित्र स्तरीय र सम्मानित जीवनस्तरको प्रत्याभूति हुँदैन ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?