 
																			४ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को कात्तिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले टोखाको एक पानी उद्योगको अनुगमन गर्यो । फोहोर र अव्यवस्थित उद्योगमा जमिनमुनिबाट तानेको पानी जारमा जस्ताको त्यस्तै भरेर बजार पठाउने गरेको प्रयोगशाला परीक्षणमा देखियो ।
मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै विभागले उक्त पानी फ्याक्ट्रीलाई सिल गर्यो । करिब ४० लाख रुपैयाँ लगानी गरिएको फ्याक्ट्री हेलचेक्रयाइँ र बदमासीका कारण झण्डै तीन महिनाभन्दा बढी बन्द भयो ।
विदेशबाट फर्केर आएका युवाले सानो लगानीमा सुरु गरेको यो उद्योगले असावधानीका कारण गल्ती गरेको र अब सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि विभागले उक्त उद्योगको विवरण पनि सार्वजनिक नगरी जरिवाना तिरायो । र, पुनः गुणस्तरीय काम गर्न भन्दै सञ्चालन अनुमति दियो । तर, गत वर्ष सोही उद्योगको पानी गुणस्तरहीन भएको भन्दै विभागमा उजुरी पर्यो र पुनः गुणस्तर परीक्षण गर्दा सो कुरा पुष्टि भयो ।
विभागको अनुगमन टोलीले सो उद्योगलाई दूषित पानी बजारमा बिक्री गरेको कसुरमा गत वर्ष भने मुद्दा नै दायर गर्यो । ‘अनुगमन सांकेतिक होस् र उत्पादकले गुणस्तरमा पनि बदमासी नगरोस् भन्ने विभागको उद्देश्य हुन्छ,’ उक्त पानी उद्योगको अनुगमन गरेका एक अधिकृत भन्छन, ‘तर, यहाँ त नियत नै खराब देखियो । अनुगमनले देखेन भने जे गरे पनि हुने जस्तो । त्यसैका कारण सानो पुँजी र लगानी गरेकाहरु पनि ठूलो क्षतिसँगै उद्योगमा तालासमेत भोग्न बाध्य भइरहेका छन् ।’
****
बजार अनुगमन गर्ने अर्को सरकारी निकाय वाणिज्य विभागले विभिन्न समयमा खानेपानीको बजार अनुगमन गर्छ । केही समय पहिले भएको एक अनुगमनमा शंकास्पद लेबल टाँसेको देखियो । विभागको टोलीले थप अनुसन्धान गर्दै जाँदा एउटा पानी कम्पनीले अर्को कम्पनीको जारमा पानी भरेको तर वितरकले ती दुईभन्दा बेग्लै कम्पनीको प्लास्टिकको लेबल जारमा टाँसेर ग्राहकको घरमा पुर्याएको भेटियो ।
यी केही उदाहरण मात्रै हुन् । लेउ भरिएका, पुराना र थोत्रा जारको प्रयोग, ब्राण्डमा डुप्लीकेसशनजस्ता बदमासीमा पानी उत्पादक र वितरक एकदमै धेरे संलग्न हुने गरेको बाणिज्य विभागका अनुगमन शाखा प्रमुख एवम् निर्देशक होमनाथ भट्टराई बताउँछन् ।
‘नजानेर गल्ती गरे कि भनेर पटकपटक तालिम दियौं, र छलफल पनि गर्यौं,’ भट्टराई भन्छन, ‘तर, तिनै कम्पनी पुनः अखाद्य वस्तु मिसिएको, लेबल नभएको, मनपरी मूल्य राखेकोजस्ता अविश्वसनीय काम गरेर पानी बजारमा पुगी हाल्छन् ।’
पछिल्ला केही वर्ष विभागले गरेको अनुगमन, जरिवाना र थप अनुसन्धानका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परेको सिफारिसहरुले पानी उद्योगहरु नसुध्रिने बाटोतिर गएको देखिने उनी बताउँछन् ।
गुणस्तर र मूल्यमै बदमासी
वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको विभिन्न अनुगमनमा पानी उद्योगले उत्पादन, वस्तुको गुणस्तर, वितरण र मूल्यमा धेरै बदमासी गर्ने गरेको पाइएको छ । खाद्य प्रविधिले गरेको अनुगमन र गुण परीक्षणमा आधारभूत मापदण्ड नै पूरा नभएकोदेखि मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने हैजाको जिवाणुको अवशेष पनि पिउने पानीमा फेला परेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजन बताउँछन् । सूक्ष्म जीवाणुहरु ‘ई-कोलाइ’ र ‘कोलिर्फम’ पनि पिउने पानीमा भेटिएको महर्जन बताउँछन् ।
खानेपानीमा ढल वा जनावरको फोहोर मिसियो भने ई-कोलाइ जीवाणु फेला पर्छ । यसले मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गर्छ । कोलिफर्मले झाडा पखलालगायत रोग लाग्ने गर्छ ।
उनका अनुसार बोतलको पानीमा भन्दा जारका पानीमा धेरै समस्या छ । ‘पानीको गुणस्तरका लागि सरकारले तोकेका आधारभूत मापदण्ड पालना नगर्नेदेखि हानीकारण जिवाणुसमेत पानीमा पाइएको छ,’ महर्जन भन्छन्, ‘यस्तो पाउनेबित्तिकै कारबाही भइहाल्छ ।’ यसका अलावा पानीमा हुनु पर्ने भन्दा धेरै ‘पीएच’ मा पानीको एसीडिटी, मिनरलहरुको मात्रा तलमाथि जस्ता समस्या पनि पानीमा देखिने गरेको छ ।
यता वाणिज्य विभागले गरेको अनुगमनमा भने पानीको लेबलिङ र प्याकेजिङ, ढुवानी र मूल्यमा धेरै समस्या देखिएको छ । पुरानो र बिगि्रएको जारमा पानी ढुवानी गर्नु, मनपरी मूल्य तोक्नु, पानीको उत्पादन र उपभोग्य मिति किटान नहुनुजस्ता समस्या धेरै देखिएका निर्देशक भट्टराई बताउँछन् ।
कारबाही र मुद्दाको चाङ तर पनि सुधि्रएनन् पानी उत्पादक
आर्थिक वर्ष २०७७/७८ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १६५ वटा खानेपानी उद्योगमा अनुगमन गरेको थियो, जसमध्ये जटिल प्रकृतिको दूषित पानी उत्पादन गरेको भेटिएपछि १६ वटा उद्योगलाई विभागले मुद्दा दर्ता गरेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा १२९ पानी उद्योगको नमूना संकलन गरेर अध्ययन गर्दा विभागले १७ वटा नमूनामा कैफियत पाएको थियो ।
त्यसमध्ये ९ वटालाई विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दूषित पानी उत्पादन र बिक्री वितरणको मुद्दा दायर गरिएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा पनि १५५ वटा पानी उद्योगको नमूना जाँच गर्दा पानीका ५५ वटा नमुनामा कैफियत पाएको थियो । त्यसमध्ये २१ वटा उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको थियो ।
सरकारी तथ्याङ्कअनुसार नेपालभर अहिले बोतल र जारको पानी बिक्री गर्न भन्दै ६ सय उद्योग सञ्चालनमा छन् । जसमध्ये काठमाडौं उपत्याकामा मात्रै पानी उद्योगको संख्या २ सय छ ।
के हो पिउने पानीको मापदण्ड ?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानेपानी गुणस्तर मापदण्ड २०७९ थप परिस्कृत गरेर सार्वजनिक गरेको छ । जोखिम तथा सान्दर्भिकताका आधारमा थप परीक्षण गर्नुपर्ने पारामिटर विभागले तय गरेको छ । त्यसअन्र्तगत पिउने पानीमा २८ वटा रासायनिक पारामिटरहरु उद्योगले पूरा गर्न पर्छ । ती मापदण्डमा भौतिक, रासायनिक र सूक्ष्म जैविक समूहमा छन् । मापदण्डअनुसार १९ वटा पारामिटर अनिवार्य परीक्षण गर्नुपर्नेछ भने ९ वटा आवश्यक र जोखिमको आधारमा गर्न सकिने उल्लेख छ । यस्ता पानीको स्रोत, अनिवार्य लेबल जस्ता प्रावधान पनि मापदण्डमा पर्दछन् । सफा बोटल र जारमा पानीको प्याकेजिङ, उत्पादन र उपभोग्य मिति अनिवार्य, पानीमा रहेको तत्वहरुको ब्याख्या र उक्त पानीको गुणस्तरयोग्य रहेको प्रमाण उत्पादकले उपभोगकर्तालाई निश्चित गर्नुपर्ने हुन्छ ।
व्यापारीको आरोपः हामीलाई निशाना बनाइयो
प्रशोधित पिउने पानी बिक्री गर्ने व्यापारीहरुले भने आफूहरुमाथि नियोजित निसाना साँधिएको दाबी गरेको छन् । नेपाल बोतल वाटर उद्योग संघले आफूहरुको पानीको गुणस्तरमा दोष नभएको दाबी गरेको छ । उत्पादकको पानी गुणस्तरीय भए पनि वाणिज्य र खाद्य विभागले परीक्षणका लागि उद्योगको पानी नभई बजारबाट संकलन गर्ने हुँदा अरुले बदमासी गर्दा पनि उद्योग फस्ने गरेको संघका अध्यक्ष ध्रुव गौतमले दाबी गरे ।
‘गुणस्तरीय पानी बेच्न उद्योगीहरु सक्षम छन्, तर हामीमाथि निशाना साँधिएको छ,’ अध्यक्ष गौतमले भने, ‘हामीलाई अनुगमन गरेर स्वार्थ पूरा हुने भएकाले पनि बदनाम गर्न खोजिएको छ ।’
हरेक वर्ष पानीमा कोलिर्फमलगायतका जिवाणु भेटिएको भन्ने हल्ला सत्य नभएको उनको दाबी छ । उद्योगबाट बिक्री भइसकेर ढुवानीका क्रममा भएका कमजोरी पनि उद्योगमाथि साधिएको उनले दाबी गरे ।
जार र बोतलको पानी खानुअघि उपभोक्ताले के ख्याल गर्ने ?
वाणिज्य र खाद्य प्रविधि विभागले उपभोक्तालाई बोतलबन्द पानीको प्रयोग गर्दा गुणस्तरको आधारभूत मान्यता ख्याल गर्न भनेको छ । पानीमा रहेको जैविक गुणस्तरका कुरा प्रयोगशाला परीक्षणबाट मात्रै खुल्ने भए उपभोक्ताले आधारभूत गुणस्तर भने आफैं ख्याल गर्न सक्ने खाद्य प्रविधि तथा गुण यिन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत महर्जन बताउँछन् ।
पानीको जार तथा बोतलको सरसफाई, सिलप्याक भए नभएको, पानीको उत्पादन र उपभोग्य मिति तथा पानी उत्पादन र बिक्रीका लागि अनुमति लिए नलिएको विवरण ख्याल गर्न सकिने विभागले जनाएको छ । पानीमा ब्राण्ड नामको डुप्लिकेसन गरिएको छ कि छैन भन्नेजस्ता कुराहरु पनि ख्याल गर्नुपर्ने उनी बताउँछन् । साथै, सरकारी निकायबाट गुणस्तर प्रमाणित भए नभएको अनिवार्य ख्याल गर्नु पर्ने विभागले जनाएको छ ।

(सच्च्याइएको : विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण श्रेष्ठको भनाइ उदृत गर्नेक्रममा ‘मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने हैजाको जीवाणुको अवशेष पानीमा फेला परेको’ र सूक्ष्म जीवाणुहरु ई–कोलाइ र कोलिफर्म पनि पिउने पानीमा भेटिएको’ भन्ने उल्लेख हुन गएकोमा असावधानीवश ‘हैजाको जीवाणु भेटिएको’ जस्ता शब्दहरु उल्लेख हुन गएकोमा सच्याइएको छ ।)-प्रधान सम्पादक
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4