+
+

मोरङमा बेपत्ता शिशुको उद्धार, बिक्री गरेको आरोपमा डाक्टर पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०८० भदौ ५ गते १९:३३

५ भदौ, विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ ।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण र अर्का एक युवकलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीको दाबी छ ।

आफ्नो सन्तानलाई बेपत्ता पारेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्ण र गोविन्द राई नामका युवकलाई पक्राउ गरेको छ ।

उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा शिशु मोरङ कटहरी गाउँपालिका– २ की दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले भने, ‘बच्चा लैजाने क्रममा ५० हजार रुपैयाँ दिएको भनेका छन्’ उनले भने, ‘रकम अलिक बढी दिएजस्तो देखिन्छ अनुसन्धान गर्दैछौं ।’

शिशु किनबेचका लागि अस्पतालकै कर्मचारीले डिल गरेको देखिएको उनले बताए । बच्चा बिक्रीमा सहयोग गरेको आरोपमा प्रहरीले अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकका कर्मचारी निर्मला यादवलाई पनि पक्राउ गरेको छ । शिशु लिएर जाने परिवारलाई पनि प्रहरी कार्यालय ल्याएको छ । उनीहरुलाई थुनामा राख्ने कि नराख्ने भन्ने निर्णय भइनसकेको डीएसपी दाहालले बताए ।

पक्राउ परेलगत्तै डा. कर्ण अस्पताल भर्ना भएका थिए । तर प्रहरीले अस्पतालबाट प्रहरी कार्यालयमा लगेको छ ।

के हो बच्चा बेपत्ताको घटना ?

प्रहरीका अनुसार हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई नाताभित्रकै युवतीसँग प्रेममा थिए ।

युवतीलाई स्वास्थ्यमा समस्या देखिएपछि गत असार १३ गते गोबिन्दले विराटनगर लिएर आए । त्यसबेला उनी नौं महिनाकी गर्भवती थिइन् । विराटनगर अस्पताल चोकबाट पश्चिमतर्फ ग्रिनक्रस अस्पताल नजिकै रहेको दिपेश क्लिनिकमा लगे ।

क्लनिकमा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरे । यो क्लिनिकका सञ्चालक विराटनगरकै नाम चलेका चिकित्सक डा. कर्णकै हो ।

कोशी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट पनि भइसकेका उनी अवकाशपछि क्लिनिक सञ्चालन गर्दै आएका छन् । क्लिनिक सञ्चालनसँगै उनले ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् । आफ्नो क्लिनिकमा युवतीको स्वास्थ्य परीक्षणपछि नले प्रसूतिको समय भएको भन्दै ग्रिनक्रस अस्पताल भर्ना गराए ।

भोलिपल्ट अस्पतालमा नर्मल डेलिभरीमार्फत युवतीले छोरी जन्माइन् । तर शिशुलाई नर्सले लिएर गए, सोही दिन अस्पतालले युवतीलाई डिस्चार्ज पनि गरिदियो । प्रेमी गोविन्दले इटहरी लगेर होटलमा राखे । बच्चाबारे सोध्दा गोविन्दले अस्पतालमा उपचार हुँदैछ भन्ने जवाफ दिए ।

होटलमा पुगेको २ दिनपछि अस्पताल जान्छु भन्दै हिडेका गोविन्द फर्किएनन् । होटलमा अलपत्र परेकी सुत्केरी युवतीलाई आफन्तले सुनसरीकै सोनापुरमा डेरा खोजेर राखिदिए ।

आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनले घद्द साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजृुरी दिइन् । प्रहरीले गोविन्द र डा. कर्णलाई पक्राउ ग¥यो । गोविन्दले बच्चा अस्पतालबाट घर नलगेको बताए भने डा. कर्णले परिवारकै जिम्मा लगाएको दाबी गरे ।

प्रहरीका अनुसार गोविन्दले बच्चा लैजान नचाहेपछि डा. कर्णले कर्मचारी मार्फत बच्चा लैजाने मान्छे खोजेका थिए । त्यसपछि अस्पतालकी कर्मचारी सुधा राजवंशीले बच्चाको खोजी गरिरहेकी महिला दिलमाया राजवंशीलाई डा. कर्णसँग सम्पर्क गराइदिइन् । अस्पताल आएर उनले असार १४ गते नै बच्चा लिएर गइन् । बच्चा लैजादा सुरुमा ५० हजार रुपैयाँ डाक्टरलाई दिएको देखिएको प्रहरीले बताएको छ ।

बच्चा घरमा लगेको १–२ दिनपछि जण्डिसको लक्षण देखिएपछि राजवंशी परिवारले विराट मेडिकल कलेजमा जाँच गराए । अस्पतालमा एक साताको उपचारपछि उनीहरुले डिस्चार्ज गरेर घर लगे । मंगलबार प्रहरीले बच्चालाई उद्दार गर्दा उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

‘बच्चा लैजाने क्रममा ५० हजार रुपैयाँ दिएको भनेका छन्, रकम अलिक बढी दिएजस्तो देखिन्छ अनुसन्धान गर्दैछौंं’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले भने, ‘घरमा लगेपछि शिशु बिरामी भएछन्, त्यसपछि विराट मेडिकल कलेजमा लगेर उपचार गरेको देखियो ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?