
६ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा कोशी प्रदेशको नामकरण किरात प्रस्ताव गर्नुपर्ने विषय उठेको छ ।
केन्द्रीय सदस्य दामोदर अर्याल र जीवन राईले जारी केन्द्रीय कमिटी बैठकबाटै पार्टीले किरात नामकरणको पक्षमा निर्णय गर्नुपर्ने माग गरेका हुन् ।
केन्द्रीय सदस्य राईले पहिचानको एजेण्डा गाउँगाउँसम्म पुगिरहेको रिर्पोटिङ गरेका थिए । ‘हामीले देखेजस्तो परिस्थिति छैन, अहिले गाउँघरसम्मै पहिचानको विषय पुगेको छ’, राईले भनेका थिए ।
अर्का केन्द्रीय सदस्य अर्यालले जारी बैठकबाटै किरात प्रदेशको पक्षमा निर्णय गर्न माग गरे । लिखित प्रस्ताव नै नेतृत्वलाई बुझाएका अर्यालले कम्युनिष्ट पार्टीले मान्छेको सभ्यतालाई अस्वीकार गर्न नहुने तर्क गरेका थिए ।
‘सभ्यता भनेको मान्छेको हुन्छ । उसको इतिहास, संस्कृति र सभ्यता हुन्छ, कम्युनिष्ट पार्टीले त्यसको सम्मान गर्न सक्नुपर्छ’, अर्यालले भनेका थिए । पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा सामाजिक सद्भाव खल्बलिने तर्क गलत भएको उनले बताएका थिए ।
‘मधेश नाम राखिसक्यौं । मधेशमा केही भएको देख्नुभएको छ ?’ उनले भने, ‘मधेश त बरु अहिले पो शान्त छ ।’
कोशी प्रदेशको नामकरणको विपक्षमा एकीकृत समाजवादीले मत दिएको थियो । पार्टीका तर्फबाट प्रदेश संसदीय दलका नेता एवम् पुर्वमुख्यमन्त्री राजेन्द्र राईले ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रस्ताव गरेका थिए ।
तर पार्टीले गरेको प्रस्तावकै पक्षमा अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसहित नेतृत्व सहमत देखिएका छैनन् । आफ्नो प्रस्तावमा नेपाल र खनाल सहमत नभएपछि पार्टीका सचिवसमेत रहेका राजेन्द्र राई पार्टी बैठकहरुमा अनुपस्थित हुँदै आएका छन् ।
प्रतिक्रिया 4