+
+

एकीकृत समाजवादीको बैठक : माधव नेपालको क्षमता र कार्यशैलीमा प्रश्न

केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्यशैली र कार्यक्षमतामाथिको पनि प्रश्न उठाएका छन् ।

दिपेश शाही दिपेश शाही
२०८० भदौ ७ गते २३:०२

७ भदौ, काठमाडौं । पार्टी गठनको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा आशाभन्दा निराशाले बढी स्थान पायो ।

मंगलबार बैठकको सुरुवातमै पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले राखेका धारणाले सिंगो बैठकलाई तीन दिनसम्म डोर्‍यायो । अब यो क्रम कम्तीमा केन्द्रीय कमिटी बैठकले तय गरेको आगामी १४ माघमा सुरु हुने पार्टीको महाधिवेशनसम्म पुग्ने निश्चित छ ।

किनभने, अधिकांश केन्द्रीय सदस्य मात्रै होइन, पार्टीका पदाधिकारीदेखि सम्मानित नेता खनालसम्म बैठकको निष्कर्षसँग सन्तुष्ट छैनन् ।

‘बैठक बस्यो, छलफल भयो । तर नयाँ केही पनि भएन, पहिलेजस्तै घिसिपिटी भएर सकियो’, नेता खनालको प्रतिक्रिया छ । खनाल यसले दिने परिणाम पनि भिन्न हुन्छ भन्नेमा आशावादी छैनन् ।

सुरुदेखि नै अध्यक्ष नेपाल र नेता खनालबीच पार्टी सञ्चालन र अन्य राजनीतिक दलसँग गठबन्धन निर्माणका विषयमा निरन्तर मतभिन्नता रहँदै आएको छ । यसको प्रभाव पार्टीका आन्तरिक जिम्मेवारीमा पनि देखिइरहेको छ ।

तर लामो समयदेखि देखिएको पार्टीभित्रका निराशालाई यो बैठकले पूर्ण रूपमा चिर्न नसके पनि महाधिवेशनसम्मका लागि अल्मल्याउने प्रयत्न भने अवश्य गरेको छ । बैठकमा नेतृत्वप्रति केही प्रश्न उठे पनि पार्टी निर्माणको लक्ष्यमा भने सबैको एकमत देखिएको र त्यो उत्साहलाई सम्बोधन गर्न सकिने पार्टी महासचिव घनश्याम भूसालले बताए ।

‘हामी संकटमा छौँ, तर संकट समाधान गरिन्छ भन्ने विश्वासका साथ बैठकबाट निस्केका छौं’, उनले भने, ‘त्यसका लागि आगामी महाधिवेशनसम्म जाँदा आन्तरिक समस्यालाई समाधान गर्दै हाम्रा मुद्दा लिएर हामी स्वतन्त्र पहिचानका साथ उभिने छौँ ।’

एमालेबाट छुट्टिएर पार्टी निर्माण भएको दुई वर्ष पुगिसक्दा पनि एकीकृत समाजवादीले संसदमा १० सिट जिते पनि राष्ट्रिय पार्टीको हैसियत बनाउन सकेन । स्थानीय तह र प्रदेशसभामा कांग्रेस र माओवादीसँग गठबन्धन गर्दा पनि अपेक्षित नतिजा आउन नसकेको विषय केन्द्रीय कमिटी बैठकमा उठेको छ ।

जनवर्गीय संगठन र पार्टीका तल्ला तहका कमिटीहरूले अहिलेसम्म पूर्णता पाउन सकेका छैनन् । भएका कमिटीमा पनि चौतर्फी अन्तरविरोध त छ नै नयाँ पार्टीभित्र देखिएको खिचातानी व्यवस्थापनमा नेतृत्वको ध्यान नपुग्दा पुरानै पार्टी एमालेमा फर्किने नेता कार्यकर्ताको संख्या बढ्दो क्रममा छ ।

सुरुदेखि नै अध्यक्ष नेपाल र नेता खनालबीच पार्टी सञ्चालन र अन्य राजनीतिक दलसँग गठबन्धन निर्माणका विषयमा निरन्तर मतभिन्नता रहँदै आएको छ । यसको प्रभाव पार्टीका आन्तरिक जिम्मेवारीमा पनि देखिइरहेको छ ।

केन्द्रीय कमिटी बैठकअघि बसेको पार्टीको स्थायी कमिटीमा त खनालले फरक दस्तावेज नै पेस गरेका थिए । तर त्यसलाई एक बनाएर लैजानुपर्ने भनेर रोक्नका पार्टी महासचिव भूसालले भूमिका खेले । परिणामतः केन्द्रीय कमिटीमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक र सांगठिनक प्रतिवेदन लेखेका भूसालले अलिकति नेपाल र अलिकति खनाललाई मिसाएर बनाएको नेताहरू बताउँछन् । भूसालले तयार पारेको प्रतिवेदनमा अध्यक्ष नेपाल आफैंले कुनै प्रतिक्रिया नजनाए पनि पनि सम्मानित नेता खनालले भने आफ्नो फरक मत राखि छाडे ।

स्रोतका अनुसार प्रतिवेदनमा कांग्रेस माओवादी केन्द्रसँगको अहिलेको गठबन्धनलाई सही भन्नुमा अध्यक्ष नेपालको चाहना र जनताको बहुदलीय जनवाद (जबज) मार्गनिर्देशक सिद्धान्त होइन, यसको ह्याङबाट बाहिरिएर समाजवादी कार्यक्रम मुख्य बनाउनुपर्छ भन्नुमा खनालको चाहनाले काम गरेको देखिन्छ । यसमा भूसाल स्वयंको धारणाले पनि बढी काम गरेको देखिन्छ । किनभने, उनी एमालेमा हुँदैदेखि जबजको पक्षमा फरक ढंगले बहस गर्दै आइरहेका थिए ।

भूसाल एकीकृत समाजवादीको महासचिव बनेर आएपछि पार्टी पंक्तिमा नयाँ आशा देखिन्छ । नेताहरुलाई मिलाएर लैजाने प्रयत्नमा लागेका उनले केन्द्रीय कमिटी बैठकलाई जसोतसो टारेका छन् ।

तर उत्साहका साथ एमालेबाट छुट्टिएर दुई वर्षअघि गठन भएको पार्टीले अहिलेसम्म पनि भर्न नसकेको उर्जा भूसाल एक्लैले भर्न सक्छन् वा पुरानै लयमा हिँड्छन् हेर्न बाँकी नै छ ।

केन्द्रीय कमिटी बैठकले माघमा तय भएको महाधिवेशनसम्मका लागि मेची महाकाली अभियानदेखि संगठन विस्तार गर्नेसम्मका निर्णय गरेको छ ।

यसले धेरै केन्द्रीय सदस्यलाई पार्टीभित्र बहसको वातावरण बनेको र सुस्ताएको बेला केही सक्रिय बनाउने प्रयत्न गरेको भन्ने महसुस पक्कै भएको छ । तर, आगामी दिनमा यो साच्चिकै अगाडि बढ्छ वा फेरि सुत्छ भन्न सकिन्न ।

प्रश्नको घेरामा अध्यक्ष नेपाल

बैठकमा केन्द्रीय सदस्य बाहेक पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीलाई बोल्ने समय छुट्याइएको थिएन । तर आफूमाथि केही प्रश्न उठेपछि पार्टी सचिव रामकुमारी झाँक्रीले समय मागेरै स्पष्टिकरण दिइन्, अध्यक्ष नेपालमाथि तमाम प्रश्न तेर्स्याइन् ।

‘कार्यकर्ताहरू गतिशील छन् र अझै तेज गतिमा हिँड्न चाहन्छन् । तर संस्थाका रूपमा पार्टीले त्यसलाई पकड्न सकेको छैन । सैद्धान्तिक, वैचारिक पाटोमा स्पष्ट नभएकै कारण यो संकट देखिएको छ’, उनले भनिन्, ‘राजनीतिक हिसाबले कहाँ उभिने भन्ने स्पष्ट छैन । नेता र कार्यकर्तालाई जिम्मेवारी दिइँदैन । नेतृत्वको दृष्टिकोण स्पष्ट छैन । यस्तै हो भने कमरेडहरू पार्टीको अस्तित्व रक्षामै चुनौती हुनसक्छ ।’

झाँक्रीले बैठकमा आफूले काम गर्न चाहेको, तर जिम्मेवारी नै नपाएको कुरा स्पष्टै राखिन् । ‘अहिले आएर यो वातावरण बनेको छ । अब जिम्मेवारी पाउने हो भने काम गर्न सकिन्छ’, उनले भनिन्, ‘मैले यो पार्टीमा काम नै गर्न पाइन । तिमीले किन काम गरिनौं भनेर पनि कसैले सोधेन । मैले जसरी सोच्छु त्यसरी पार्टी हिँड्दै हिँडेन ।’

राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले सुरुदेखि नै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए ।

राजनीतिक पार्टीको बैठकमा विचारमाथि छलफल हुनु नकारात्मक कुरा होइन । अझ एउटै लक्ष्यका लागि फरक विचार र कार्यक्रमको प्रस्ताव हुनु त राजनीतिक पार्टीका लागि झनै सकरात्मक विषय हो । तर त्यसको छलफल कति स्वस्थ भयो र निर्णय प्रक्रिया कस्तो रह्यो भन्ने कुराले नै परिणाममा पुग्ने हो । त्यसैले खनालले बैठकमा राखेको फरक विचार ठूलो विषय होइन ।

‘तर उनले मात्रै होइन केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पनि पार्टी अध्यक्ष नेपाल र उनको कार्यशैलीलाई लिएर प्रश्न उठाए भने उनको कार्य क्षमतामाथि पनि प्रश्न उठेको छ’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले सुरुदेखि नै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । नेता खनालले पहिलो दिनै अध्यक्षको प्रतिवेदनमाथि गम्भीर वैचारिक र कार्यनीतिक प्रश्नहरू उठाइ दिए । जसले गर्दा उनी बैठकमा प्रश्नको जवाफ दिनुपर्ने दायित्वबाट मुक्त भए ।

तर अन्तिम दिनसम्म आइपुग्दा खनालले आफ्ना विचारलाई फरक मतका रूपमा भन्दा पनि पार्टीको सुधार र निर्माणका लागि भएकाले त्यही रूपमा बुझ्न अनुरोध गरे ।

गठन भएको दुई वर्ष बितिसक्दा सम्म पनि पार्टीले आकार लिन नसक्नु, चुनावको बहानामा पार्टीको सक्रियता रोकिनु, तर परिणाममा एकीकृत समाजवादी संसदको राष्ट्रिय दल पनि बन्न नसक्नु, एमालेबाट विभाजनपछि आएका नेता कार्यकर्ता फर्किने क्रम बढ्नु आदिको दोष केन्द्रीय समिति बैठकपछि अध्यक्ष नेपालमाथि थुप्रिएको छ ।

बैठकको अन्तिमसम्म आइपुग्दा अहिलेकै अवस्थाबाट उठ्नसक्दा पनि केही हुन्छ कि भन्ने आशामा देखिन्छन् । स्थानीय चुनाव र पछिल्लो आम चुनावपछि एकीकृत समाजवादीभित्र एक प्रकारको हतासा नै थियो । सचिवालयमार्फत जिम्मेवारी बाँडफाँट हुने र सबै कमिटीलाई सक्रिय बनाउने निर्णयले त्यसलाई अलिकति भए पनि चिर्ने कोशिस गरेको छ ।

तर बाँकी रहेको त्यो उत्साह तल्ला कमिटीमा प्रसार हुन्छ कि हुँदैन र निर्णय कति कार्यान्वयन हुन्छ भन्ने अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र महासचिव भुसालसहित समग्र केन्द्रीय नेतृत्वको परीक्षा हुनेछ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?