
काठमाडौं । आगामी असोज ६ गते गणेश रसिक एकल साँझ हुने भएको छ । मौलिक लोक कला र साहित्यको प्रवर्द्धन गर्ने उदेश्यले सांगीतिक कार्यक्रम हुने भएको हो । कार्यक्रम काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।
त्यससँगै गाउँका युवालाई पर्यटन व्यवसायसँग सम्बन्धित सीपमूलक तालिम दिलाउन आवश्यक कोष स्थापना गर्ने लक्ष्य पनि रहेको आयोजक छिनामखु समाज काठमाडौंले जनाएको छ ।
‘ग्रामीण क्षेत्रका बालबालिका, किशोर, युवालाई पर्यटन उद्यमबाट कसरी आयआर्जन लिन सकिन्छ भनेर तालिम दिलाउने योजना हो । तालिमका लागि जरुरी कोष स्थापना गर्न पनि यो कार्यक्रमले सघाउँछ भन्ने लक्ष्य हो,’ आयोजकको भनाइ छ ।
संगीत र साहित्यमा गर्विलो चिनारी बनाएका छन्, गणेश रसिकले । भोजपुरको छिनामखुमा जन्मेका रसिकको संगीत तथा स्वरमा दर्जनौं गीत रुचाइएका छन् । त्यस्तै कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् ।
दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ । कार्यक्रममा किरण प्रधान, सूर्य थुलुङ, शम्भु राई, ठूले राई, सुनिता सुब्बा, सत्यकला राई, झुमा लिम्बू, साजन रार्य, रुपक चौधरी, सञ्जय तुम्रोक, दुर्गा परियार, श्रेयसी चेम्जोङ लगायतले पनि आ-आफ्नो प्रस्तुति दिनेछन् ।
एकल साँझको एनटीभी प्लस र उज्यालो ९० नेटवर्कबाट प्रत्यक्ष प्रसारण समेत गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4