+

रक्सी पिएपछि किन खुट्टा लर्बराउँछ, आँखा रातो हुन्छ ? 

२०८० भदौ  १० गते १३:१३ २०८० भदौ १० गते १३:१३
रक्सी पिएपछि किन खुट्टा लर्बराउँछ, आँखा रातो हुन्छ ? 

काठमाडौं । रक्सी पिउनुअघि र पिइसकेपछि एउटै मान्छे दुईखाले बन्छन् । रक्सी पिउनुअघि मान्छे अक्सर शान्त, सचेत र सुबानी हुन्छन् । रक्सी पिइसकेपछि मान्छे अलि रसिक बन्छन्, उत्तेजित पनि ।

रक्सीको मात्रा थपिंदै जाँदा मान्छेको बोली, हाउभाउ मात्र होइन अनुहारको रुपरंग पनि बदलिन थाल्छ । जब मान्छेलाई रक्सीको मात चढ्न थाल्छ, जिब्रोले राम्ररी काम गर्दैन । बोली लर्बराउन थाल्छ । खुट्टाले राम्ररी साथ दिंदैन । खुट्टा लर्खराउन थाल्छ । आँखा रातो हुन्छ, टाउको दुख्छ ।

त्यसपछि पनि उसले अरु रक्सीको डोज थप्न थाल्यो भने शरीर नै उसको नियन्त्रणबाहिर जान्छ । आफैंले बोलेको कुरा पत्तो पाउँदैनन् । आफूले गरेको कुरा थाहा पाउँदैनन् । रक्सी पिइसकेपछि मान्छे त्यस्तै हुँदैनन्, जस्तो सामान्य अवस्थामा हुन्छन् । तर भात, तरकारी, सागसब्जी, फलफूल, चिया, दही वा अरु कुनै पनि खानेकुरा खाएपछि तुरुन्तै मान्छेको शरीरमा यस्तो असर देखिंदैन । आखिर रक्सी पिएपछि किन यस्तो हुन्छ ?

नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटरले भनेका छन्, ‘धेरै रक्सी पिएपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले शरीरमा धेरै खराबी नगरोस् । त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अलमलिएको जस्तो देखिन्छन् ।’

रक्सी खाएपछि एउटा तत्कालीन र अर्को दीर्घकालीन साइड इफेक्ट देखिने न्युरोलोजिस्ट सुनिलराम कोइराला बताउँछन् ।

उनी भन्छन्, ‘रक्सी यस्तो पदार्थ हो, जुन खाने बित्तिकै पेटमा पुगेसँगै रगतमा मिसिइहाल्छ । १० मिनेटदेखि एक-दुई घण्टासम्म यसको पूरै असर देखिन थाल्छ ।  हाम्रो दिमागमा स्नायु प्रणालीले सूचना दिइराख्नुपर्छ । त्यहाँ विभिन्न रसायन उत्पादन भइरहेका हुन्छन् । रक्सीले तिनीहरूलाई अवरुद्ध गरेर मस्तिष्कको सूचना प्रणालीलाई नै फरक पारिदिन्छ ।’

त्यसैले रक्सी खाएको मान्छेले सोच्न नसक्ने, निर्णय गर्न नसक्ने, बोली लर्बराउने, सम्झिन नसक्ने जस्ता समस्याहरू देखिन थाल्ने कोइराला बताउँछन् । उनी भन्छन्, ‘रक्सीले हाम्रो स्नायु प्रणालीलाई र मस्तिष्कलाई धेरै उत्तेजित बनाएर सोचविचार नै ठप्प जस्तै बनाइदिन्छ ।’

यसैगरी अर्का वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा भन्छन्, ‘रक्सी रगतको माध्यमबाट शरीरको विभिन्न अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । अनि मस्तिष्कसँग सम्बन्धित समस्या देखा पर्न थाल्छ ।’

रक्सी पिउने मान्छेको तार्किक, सोच्ने क्षमता कमजोर हुन्छ । यसैले उनीहरू सही ढंगले काम-व्यवहार गर्न नसक्ने डा. झा बताउँछन् ।

रक्सीको मात्रा बढ्दै गएपछि त्यसको साइड इफेक्ट पनि बढेर जान्छ । मात्रा धेरै भयो भने बान्ता हुने, मान्छे अचेत हुने जस्ता साइड इफेक्ट समेत देखिन सक्ने न्युरोलोजिस्ट डा. कोइराला बताउँछन् ।

मस्तिष्कको पछाडिको भागले हात, खुट्टा, बोलीको चाललाई संयोजन गर्छ । कसरी हिंड्ने, कसरी बोल्ने भन्ने निर्देशित गर्छ । रक्सीले तिनलाई प्रभावित पारेर काम गर्न दिंदैन । जसले गर्दा रक्सी खाएको मान्छे लर्बडाउँदै हिंड्ने, खुट्टा टेक्न नसक्ने, बोली पनि लर्बराउने जस्ता साइड इफेक्ट देखिने उनी बताउँछन् ।

कोइराला भन्छन्, ‘रक्सीले मस्तिष्कको ‘फ्रन्टल लोब’को भागमा असर पार्छ र सोच्न नसक्ने बनाउँछ । कसैले त रक्सी पिएपछि जे पायो त्यही बोल्ने, गाली गर्ने वा नचाहिने कुरा गरेको देखिन्छ ।’

रक्सीको व्यक्तिपिच्छे फरक-फरक असर देखिन्छ । रक्सीको सेवनले मस्तिष्कमा न्युरोट्रान्समिटरहरूबीच सञ्चारको गति सुस्त हुन्छ । यसले मस्तिष्क र आँखामा सन्देशहरू प्राप्त गर्न ढिलाइ हुन सक्छ, यसले आँखाको मांसपेशीको समन्वयलाई कमजोर बनाउँछ । जसले गर्दा मदिराको अत्यधिक सेवनले आँखा सुख्खा हुने र रातो हुने जस्ता समस्या पनि देखिने कोइराला बताउँछन् ।

रक्सी स्वास्थ्य
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?