 
																			१० भदौ, पोखरा । पोखरा महानगरपालिका–५ पस्र्याङकी गोमा चापागाईंले ओमानबाट कमाएको रकम नयाँ बजारस्थित मित्रमिलन सहकारी संस्थामा ३ वर्षे मुद्दती खातामा राखेकी थिइन् ।
सहकारीबाट आउने ब्याजले तीन छोराछोरीको लालनपालन र शिक्षादीक्षालाई सजिलो हुने ठानेकी थिइन् । तर एक वर्षदेखि उनी बरु साँवामात्रै भए पनि फिर्ता गरिदेऊ भन्दै सहकारीको कार्यालयमा धाइरहेकी छन् । उनले सहकारीबाट १२ लाख रुपैयाँ फिर्ता पाउनुछ ।
गत वर्ष कात्तिकमै परिपक्व भएको मुद्दती खाताको रकम लिन धाउन थालेको पनि १० महिना भइसक्यो । ‘फिक्स डिपोजिट गरेर त्यही पैसाले छोराछोरी पाल्ने सोचेकी थिएँ, त्यही पैसा पनि अड्कियो, बुढाले हेर्दैनन्’, गोमा भन्छिन्, ‘यही पिरले मलाई कता जाम्, के गरम् बनाइसक्यो ।’
सहकारी कार्यालय धाउँदा १० महिनादेखि उनले एउटै जवाफ पाइरहेकी छन्, ‘चिन्ता नगर्नुस्, हामीले मिलाइराखेका छौं । अब धेरै मिलिसक्यो । चिन्ता लिनुपर्दैन ।’
पोखराका एक निजी विद्यालयका शिक्षक मानबहादुर क्षेत्रीले पनि यही सहकारीमा वचत गर्दै आएका थिए । गत मंसिरमा परिपक्व भएको मुद्दती खाताको रकम उनले अहिलेसम्म पाउन सकेका छैनन् । ‘धाउँदाधाउँदा हत्तु भइसकें । पख्नुस्, पख्नुस् भन्छन्, दिँदै दिँदैनन्’, उनले गुनासो गरे, ‘कहिले २ महिनामा आउनुस् भन्छन्, कहिले ४ महिनामा ।’

आमाको उपचार गर्न आफूले मुद्दतीमा जम्मा गरेको रकम फिर्ता माग्न आउँदासमेत फिर्ता नपाएको पोखरा–२३ कि कालिका भण्डारीले बताइन् । ०७६ मा जम्मा गरेको उनको मुद्दती खाता गत माघमा परिपक्व भएको थियो । तर, माघदेखि नै दिनहुँ सहकारी धाउँदासमेत आफूले बचत फिर्ता नपाएको उनको भनाइ थियो ।
‘आमा बिरामी भएर पैसाको जरुरी परेर माग्न आउँदा पनि पाइएन । सञ्चालक समिति सदस्यसँग त झन् हाम्रो भेट नै हुँदैन’, कालिकाले अनलाइनखबरसँग भनिन्, ‘सधैं विस्तारै ठीक हुन्छ, हुन्छ भनिराख्छन् ।’
मित्रमिलन सहकारी पीडितका अनुसार सञ्चालक समितिसँग उनीहरुको सम्पर्क हुनै पाएको छैन । सहकारीको अध्यक्ष रमण पौडेल हुन् । पौडेलले सहकारीमा उठाएको रकम आफूखुसी व्यक्तिगत सम्पत्ति जोडेकाले सहकारी संकटमा परेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।
‘बैंकले लिलामी गरेको घर पनि किन्नुभएको छ । त्यत्रो महंगो पर्ने घर किन्ने स्रोत के हो ? यसको जवाफ हामीलाई चाहिँदैन ?’ वचत रकम फिर्ता लिन आएकी एक महिलाले भनिन्, ‘सञ्चालक समिति सबैको मिलेमतोमा यो सहकारी डुबाउने काम भएको छ ।’
सहकारीको बदमासीबारे सञ्चार माध्यमहरुले पनि धेरै महत्व नदिएको पीडित वचतकर्ताको छ । लामो समयदेखि सहकारीको लेखा शाखा बन्द छ । सहकारीका अनुुसार करिब २२ सय जनाको २० करोड रुपैयाँ फिर्ता दिन बाँकी छ ।
६/७ महिनामा सबैलाई फिर्ता गर्छौं : सहकारी
सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले आफूहरुले बचतकर्ताको बचत क्रमवद्ध रुपमा फिर्ता गर्दै आइरहेको दाबी गरे । ३६ करोड रुपैयाँसम्म दायित्व रहेकामा हालसम्म २० करोड रुपैयाँमा झारेको उनको भनाइ छ ।
‘करिब ५० प्रतिशत सेटलमेन्ट गरिसकेका छौं । हामी कहीं भागेका छैनौं, यहीं छौं । अध्यक्षज्यू बिरामी भएर अस्पतालमा भर्ना हुनुहुन्छ’, अधिकारीले भने, ‘बाँकी पनि ६÷७ महिनाको बीचमा सबै सेटलमेन्ट गरिसक्छौं ।’
अधिकारीले सञ्चालक समितिका व्यक्तिले व्यक्तिगत घरजग्गा भने नजोडेको दाबी गरे । उनले सञ्चालक समिति सबैको विवरण सुरक्षित राखिएकाले बचतकर्ताले चाहेको खण्डमा सार्वजनिक गरिने सुनाए ।
‘पोखरासहित चितवनका विभिन्न ठाउँमा हाम्रो लगानी भएको छ । त्यहाँ जग्गामा भएको लगानी फिर्ता ल्याउन सकियो भने सबै बचतकर्ताको बचत फिर्ता गर्न सक्ने स्थिति छ’, अधिकारीले भने, ‘अहिले दैनिक कारोबार बन्द गरिएको र तत्काल सबैलाई पूर्ण रुपमा फिर्ता गर्न नसकिएको पक्का हो । तर, विस्तारै सेटलमेन्ट गर्दैछौं ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4