+
+

काठमाडौंमा ७० प्रतिशत खुला दूध बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १४:११

११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र ७० प्रतिशत दूध खुला रुपमा बेचिने गरेको पाइएको छ । महानगरले गरेको बजार अनुगमनको क्रममा यस्तो तथ्यांक फेला परेको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए । उनका अनुसार महानगरले बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिलाई महानगरले यस्तो तथ्यांक उपलब्ध गराएको हो ।

रबरले बाँधेर प्लास्टिकको पोकामा डेरीबाट बेचिने खुला दूधमा हुने चिल्लो पदार्थको मात्रा वा अन्य आवश्यक गुणस्तर कति छ भन्ने थाहा नहुने भएकोले कडाइ सुरु गरिएको महानगरले जनाएको छ ।

खुला दूधको उत्पादन एवम् उपभोग्य मितिको ठेगान नहुने झाले बताए । तर, खुला दूधको बिक्री भने व्यवस्थित रहेको उनको भनाइ छ । खुला दूध बाहेक अन्य प्याकेजिङ गरेर लेभल राखिएको दूधहरु पनि सडक किनारामा अव्यवस्थित ढंगले बेच्ने गरेको उनले बताए । गुणस्तर यकिन नभएका वस्तुको बिक्री स्थल व्यवस्थित छ तर गुणस्तर भएका दूधको बिक्री स्थल व्यवस्थित नभएको झाले बताए ।

तत्काल काम गर्न निर्देशन

खुला र अनौपचारिक रुपमा बिक्री गरिने दूध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल काम गर्न समितिले निर्देशन दिएको छ ।

समिति संयोजक रहेकी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दूध र खानेपानीलाई कडाइ गर्न निर्देशन दिएकी हुन् । उनले बजारबाट संकलन गरिएका नमुना परीक्षणका लागि महानगरले आफ्नै प्रयोगशाला स्थापना र सञ्चालनका लागि तत्काल काम थालनी गर्न समेत निर्देशन दिएकी छिन् ।

समितिको छलफलमा उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘हाम्रो चाहना भनेको स्वच्छ खानेकुराको उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री प्रणाली मात्र हो । यस प्रणालीमा किसानदेखि व्यापार गर्नेहरु सबैको लाभ हुने व्यवस्था मिलाउनु पर्छ । तर, प्रणाली मिलाउँदा मिलाउँदै बजारलाई अस्वच्छ र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँ कतैबाट गल्ती गर्न पाइँदैन ।’

दूध बिक्रीको विषयमा कुरा गर्दै वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले भने, ‘प्याकेजिङ गरिएका दूध किराना पसलहरुबाट बिक्री गरिन्छ । बिहान उज्यालो नहुँदै सडकमा बेचिन्छ । यसरी दूध बेच्नेहरु करको दायरामा छन् कि छैनन् । यिनीहरुको उचित व्यवस्थापन कसरी हुन्छ, थाहा हुँदैन ।’

पानीको जारमा समस्या

समितिमा भएको छलफलले काठमाडौंको पानीको जारमा भने समस्या देखिएको छ । चालु आर्थिक वर्षको १० भदौसम्म गरिएको ९ वटा अनुगमनका क्रममा चुहिने, कोत्रिएका २८ वटा र पानी भरिएको एउटा जार जफत भएको छ । परीक्षणका लागि पानी भरिएका ६ वटा जार संकलन गरिएको छ ।

झाका अनुसार ६५ वटा कम्पनीले जारमा खानेपानीको व्यापार गरेको प्रारम्भिक तथ्याङ्क छ । यसमा महानगरभित्र दर्ता भएका ४ वटा मात्र देखिएको छ ।

‘पानी बिक्रेतामध्ये केहीसँग आफ्नै जार छैनन् । केही यस्ता बिक्रेता पनि छन् । जसले पानी बेच्दैनन् । जार मात्र बेच्छन् । यसरी बेचिने जारहरु एकमाथि अर्कोको स्टिकर टाँसिएका हुन्छन्,’ झाले भने, ‘जार र बोतलको पानीसँगै सहरमा ट्याङ्‍करबाट पनि पानी बेचिने गरेको छ । यो पानी कहाँबाट उत्पादन हुन्छ ? डिप बोरिङ् गर्नेहरुले पानीको शुद्धीकरण कसरी गर्छन् ? यस्ता विषयमा अनुगमनबाट यथार्थ अभिलेखन गर्नुपर्छ । सुधारको मौका दिन सकिने र नसकिने अवस्था छुट्याएर काम गर्नुपर्छ’ समितिका सदस्यहरुले छलफल भनेका थिए ।

अनुमगन समितिको बैठकमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, अनधिकृत व्यक्तिले औषधि पसल सञ्चालन गरेको, अनावश्यक र डाक्टरले नलेखेको औषधि बेच्ने गरेको अवस्था रहेको बताएका थिए । विज्ञहरुको रोष्टर तयारभएको भन्दै अनुगमनलाई नतिजामूलक बनाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?