+
+
विचार :

नेपालको दलित र सामाजिक आन्दोलनमा सिद्धान्तको प्रश्न

नेपालको दलित आन्दोलनले प्राज्ञिक स्वरूप प्राप्त गर्न सकेको छैन । हाम्रो मूल लडाइँ समानता, सम्मान र सामाजिक न्यायका लागि हो तर यसलाई प्राप्त गर्ने के सिद्धान्त हो ?

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० भदौ १२ गते ९:१५

कुरा आजभन्दा केही वर्ष अगाडिको हो । कामको सिलसिलामा दक्षिण भारतको हैदरावाद जाने मौका मिलेको थियो, यात्राको अन्तिम दिन त्यहाँका दर्शनीय ठाउँहरूको अवलोकन नगरिकन भ्रमण पूरा हुने कुरा थिएन । अतः त्यहाँका विभिन्न दर्शनीय स्थानहरू हेर्ने क्रममा पूर्वप्रधानमन्त्री पी.भी. नरसिं रावको निवास लगायत हिन्दुहरूका आराध्यदेव विष्णुरूप जगन्नाथ मन्दिर पनि हेरियो । मूर्तिको स्वरुप दक्षिण भारतको अर्को प्रसिद्ध मन्दिर तिरुपतिको जस्तो रहेछ जसको एउटा फ्रेममा सजाइएको प्रतिरूप मैले पनि किनेर ल्याएँ ।

मूर्तिको फ्रेम किन्ने क्रममा मनुस्मृतिको हिन्दी अनुवादको पुस्तक पनि त्यहाँ रहेछ । मूलतः तेलगु बोलिने हैदरावादको मन्दिरमा हिन्दीमा लेखिएको मनुस्मृतिको पुस्तक पाउँदा अचम्म र खुशी दुइटै लाग्यो ।

रामायण, महाभारत काल ५ देखि ७ हजार वर्ष पुरानो मानिए तापनि मनुस्मृति काल बुद्धकाल भन्दा पछि अर्थात् आजभन्दा २२ सय वर्ष पहिले मानिंदो रहेछ । मेरो बुझाइमा मनुस्मृति भनेको मनुऋषिले लेखेको भन्ने थियो तर त्यसो नभएर विभिन्न कालखण्डमा त्यसलाई विभिन्न ऋषिमुनिहरूले लेख्दै परिमार्जन गर्दै गरेका रहेछन् ।

मनुस्मृति मूलतः एउटा धार्मिक कानुन वा राज्यले लागु नगरेको अवस्थामा हिन्दु धर्म मान्नेहरूका लागि आचारसंहिता जस्तो रहेछ । जसरी बुद्ध दर्शनको आधारभूत ज्ञान त्रिपिटकमा पाइन्छ, हिन्दु धर्म भित्रमा चार जातको विभाजन र त्यसभित्र परेका विभिन्न जातहरूका लागि गर्न हुने र नहुने विभिन्न नियमको संग्रह नै मनुस्मृति हो भन्दा फरक पर्दैन ।

सिद्धान्तको कसी भित्र राख्दा यो चार जातमध्ये सबैभन्दा उच्च जातमा रहेको ब्राह्मण जातले अरूलाई शासन गर्न वा कज्याउन तथा उनीहरूको श्रेष्ठता कायम राख्न अपनाइने सिद्धान्त हो । यो सिद्धान्त तथा यसलाई संग्रह गरिएको किताबलाई डा. भीमराव अम्बेडकरले ‘मनुस्मृतिको होली क्यूं ?’ भन्ने पुस्तिकामा सविस्तार व्याख्या र खण्डन गरेका छन् ।

रजनीकान्त शास्त्रीले पनि यसको खण्डन र विरोध गर्दै ‘हिन्दु जातिका उत्थान और पतन’ भन्ने किताब लेखेका छन् । यी दुवै किताबलाई तत्कालीन कट्टर हिन्दु समाजले जलाएका थिए । तर भारतका मन्दिर तथा पुस्तक पसलहरूमा यो पुस्तक उपलब्ध मात्रै नभई धेरै बिक्ने पुस्तकहरू मध्ये पर्दोरहेछ ।

यसको मतलब अहिले पनि त्यसलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिने समुदाय धेरै छ भन्ने हो ।

मनुस्मृतिको कुरा गर्दा नेपालको प्रथम न्याय शास्त्रको जन्मदाता मानिने जयस्थिति मल्लले काठमाडौं उपत्यकाको नेवार समाजलाई ६४ जातमा विभाजन गर्दा भारतबाट ५ जना ब्राह्मणहरू झिकाएर मनुस्मृतिकै आधारमा न्याय शास्त्र बनाइएको देखिन्छ । जंगबहादुर राणाले पुनः भारतबाटै ब्राह्मणहरू झिकाएर १९१० सालको मुलुकी ऐन लेखाउन लगाएका थिए ।

अहिले पनि आधुनिक नेपालमा त्यही जयस्थिति मल्लले बसालेको रीतिथिति नेवारी समाजमा तथा आम समुदायमा जंगबहादुरकै मुलुकी ऐनले बाँधेको नियमहरू यथावत् छ भन्दा फरक नपर्ला । त्यसको पराकाष्ठा हो जाजरकोटका नवराज विक र उनका पाँच जना साथीहरूको सामूहिक हत्याकाण्ड ।

यसरी धार्मिक, कानुनी तथा सामाजिक रूपमा जरा गाडेको यो मनुस्मृतिको सिद्धान्तलाई तोड्ने आन्दोलन त हामीले विगत सात दशकदेखि गर्दै आएका छौं तर त्यसलाई सैद्धान्तिक रूप दिने काम त परको कुरा कोसिस पनि गरेका छैनौं । त्यसैले नेपालको दलित आन्दोलनले प्राज्ञिक स्वरूप प्राप्त नगरेको हो कि भन्ने लाग्छ ।

हाम्रो मूल लडाइँ समानता, सम्मान र सामाजिक न्यायका लागि हो तर यसलाई प्राप्त गर्ने के सिद्धान्त हो ? कार्ल माक्र्सको वर्गीय मुक्ति, गान्धीको अहिंसा, अम्बेडकरको उदार लोकतन्त्र सहितको प्रतिनिधित्व र आरक्षण वा अन्य केही ?

यो परिप्रेक्ष्यमा जात र रंगभेदलाई अवलोकन र केही हदसम्म अध्ययन गरेका मेरा एक जना पुराना सहकर्मीले मलाई केही प्रश्न सोधे । मैले त्यसको चित्तबुझ्दो उत्तर दिन सकिनँ ।

छलफलको क्रममा उनले एउटी अफ्रिकी अमेरिकी पत्रकार महिला इसावेल विल्कर्सनले लेखेको ‘कास्ट ओरिजिन अफ डिसकन्टेन्ट’ (जात, असन्तुष्टिको उत्पत्ति) भन्ने किताबको उल्लेख गर्दै त्यसले उल्लेख गरेका जातका आयामहरूको बारेमा बताए । त्यसलाई जातीय विभेद विरुद्धको आन्दोलनमा मात्रै नभइकन जुनसुकै विभेदको विरुद्धको आन्दोलनमा प्रयोग गर्न सकिने मलाई लाग्यो । अब ती आयामहरूको केही चर्चा गरौं ।

ईश्वरीय आदेश (डिभाइन ल)

कुनै व्यक्ति वा समुदायको सर्वोच्चता स्थापित गर्नको लागि लिइने सबैभन्दा ठूलो आधार ईश्वरीय आदेश मानिन्छ । पुनर्जागरण कालभन्दा अगाडि युरोपमा पनि राजा तथा पादरीहरूले आफूलाई ईश्वरका दूत तथा अवतार मान्थे र जनतामाथि शासन मात्रै नभई अन्याय र अत्याचार लाद्थे ।

उनीहरू ईश्वरका नाउँमा कसैप्रति उत्तरदायी हुन्नथे भने हिन्दु धर्ममा ऋग्वेदको पुरुष सूक्तमा पनि ईश्रको शरीरबाट चार जात उत्पत्ति भएको भनिएको छ जस अनुसार ब्राह्मण मुख, क्षेत्री बाहु, वैश्य पेट र शूद्र पैताला । यही सर्वोच्चतालाई कायम गर्दै मनुस्मृतिले त्यसलाई संस्थागत गरेको छ । अतः जातको आधारमा गरिने उत्पीडनको पहिलो स्रोत ईश्वरीय आदेश हो भन्दा फरक पर्दैन ।

वंशानुगत (हेरिडिटरी)

जात व्यवस्थाको अर्को आधार हो एउटा पुस्ताबाट अर्को पुस्तामा निरन्तरता पाउनु, जन्मको आधारमा । मेरो एक जना बाहुन मित्रलाई राति सुत्ने बेलामा सोमरस नभई हुन्नथ्यो । अहिले उनी दिवंगत भइसकेका छन् । बाहुनले त जनै धारण गरेर यस्तो सोमरस लिन नहुने शास्त्रीय मान्यता छ भन्दा उनले बाहुनको हड्डी नै चोखो हुन्छ, हामी जन्मेदेखि नै चोखो जात भएकोले यस्तो तर्कको कुनै अर्थ नहुने भन्थे ।

उनी बिहानै उठेर जनै कानमा लगेर फेरि गायत्री मन्त्र जप्थे । उनकै धर्मले वर्जित गरेको नीतिलाई अंगीकार गर्दा पनि जातका हिसाबले कुनै पनि अवस्थामा अपहेलित नहुने यो कस्तो परम्परा हो ?

सजातीय विवाह (इन्डोग्यामी)

अहिले पनि हिन्दु समुदायभित्र रहने कुनै पनि जात समुदायले विवाह गर्दा सजातीय विवाह नै गर्नुपर्ने मान्यता बलियो छ । यसले पनि जात व्यवस्थालाई चट्टान जस्तै कायम राख्नमा ठूलो भूमिका खेलेको छ भने अन्तरजातीय विवाह अहिलेको अवस्थामा पनि स्वीकार्य नहुँदा दिनहुँ जस्तो अप्रिय घटना भइरहेको समाचार आइरहन्छ ।

मधेशमा त एउटा उखानै रहेछ, ‘भोट और बेटी अपनेको ही देनी चाहिए’, अर्थात् भोट र छोरी आफ्नै जातभित्र दिनुपर्छ ।

शुद्ध र अशुद्धको अवधारणा (प्युरिटी एण्ड पोलुशन)

मैले सुने अनुसार ब्राह्मणहरूको श्राद्ध कर्ममा जाँड–रक्सी वर्जित छ तर क्षेत्रीहरूमा खासगरी राजा–महाराजाहरूमा त्यस्तो छैन । त्यहाँ श्राद्धको वेलामा पनि ती सबै चल्छन् । उपाध्याय र जैसीको बीचमा भात चल्दैन । यो पनि शुद्ध, अशुद्ध कायम गर्ने आधार हो ।

१९१० सालको मुलुकी ऐनले कानुनबाट नै अछूतहरूलाई आफूभन्दा ठूला जातहरूको जुठोपुरोमा बाँच्ने बनाइदिएको थियो । पोडेहरूलाई त लास बेरेका लुगा लगाउने आदेश थियो । शूद्र तथा मतवालीहरूले खाने सुँगुर तागाधारीहरूले नखाने अवधारणा पनि यसैको निरन्तरता हो । अछूत त्यसमा पनि सार्कीहरूलाई मरेका सिनो खान बाध्य बनाइएको थियो ।

तहगत संरचना (हाईरार्की)

शुद्धता र श्रेष्ठता कायम राख्नको लागि नै जातको सिर्जना गरिएको त घाम जत्तिकै छर्लङ्ग छ । यो तहगत संरचना त जात व्यवस्थाको मूलआधार नै हो र यसलाई पितृसत्ताको रूपमा कायम गरेर महिलाहरू माथि पनि त्यत्तिकै उत्पीडन कायम गरिएको छ ।

अमानवीयकरण (डिह्युमनाईजेशन)

मान्छे मान्छे बीचमा शुद्धता र अशुद्धता कायम राख्नु जात व्यवस्थाको मूल आधार त छँदैछ, त्यसलाई अमानवीयकरण गर्ने अर्को आयाम हो । काठमाडौं लगायत देशका विभिन्न शहर जहाँ शिक्षित मान्छेहरू बस्छन्, त्यहाँ पनि दलितलाई हत्तपत्त डेरा दिइँदैन । यसरी डेरा नदिनुमा अमानवीय व्यवहारलाई निरन्तरता दिइएको सन्दर्भमा बुझ्न सकिन्छ । यसको पहिलेको स्वरूप त भनिसाध्य छैन ।

जयस्थिति मल्लले त अछूतहरूले बाहुला भएको लुगा लगाउन नपाउने अनि रात परेपछि शहरमा बस्नै नपाउने लगायत नियमहरू बाँधिदिएका थिए । त्यसकै परिणाम स्वरूप काठमाडौैंका मध्य शहरहरूमा कुनै पनि दलितको बस्ती छैन ।

आतंक (टेरर)

जातीय व्यवस्थालाई कायम गर्न र एउटा जात, सम्प्रदायको सर्वोच्चता कायम गर्नको लागि आतंक सिर्जना गरिन्छ । नेपालको आधुनिक इतिहासमा जातीय आतंक सिर्जना गरिएको उदाहरण त नवराज विक र उनका साथीहरूको हत्या हो ।

अहिले खड्का थरकी केटी एउटा कामी केटासँग भागी विवाह गरेर प्रहरीमा पुगिन् । उनलाई खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन भनी प्रहरी प्रमुखले हप्काएको घटना सार्वजनिक भएको छ ।

भारतमा अहिले भीम आर्मीको सिर्जना दलितले गरेका छन् भने अतिवादीहरूले विहारमा रणवीर सेना, शिवसेना, बजरंग दल जस्ता संगठनहरू मार्फत आतंक सिर्जना गरेका समाचारहरू हजारौंको संख्यामा छन् । भारतमा कतिसम्म भने कुनै दलित वा मुस्लिमले कुनै ट्रकमा गाईगोरुहरू लगिरहेको छ भने उनीहरूलाई कुटी–कुटी मारिन्छ र प्रहरी त्यसको मौन दर्शक बन्छ ।

सर्वाेच्चता (सुपरियोरिटी)

महाभारत कालमा कर्मले क्षेत्रीय भए तापनि जातका हिसाबले एकलव्य शूद्र मानिन्थे, यही कारण द्रोणाचार्यले अर्जुनको बराबरी गर्न नसकोस् भनी आंैंला गुरुदक्षिणाको रूपमा लिएका थिए ।

मनुस्मृतिले त आदेश नै गरेको छ– शूद्रले सम्पत्ति आर्जन ग¥यो र उसकी स्त्री राम्री छ भने यी दुवैको हरण गर्ने अधिकार ब्राह्मणलाई हुन्छ । अहिलेको सन्दर्भमा निजामती सेवा भित्र खुला प्रतिस्पर्धा र आरक्षण कोटाबाट जाने बीचमा उच र नीचको भावना व्याप्त छ । सर्वोत्कृष्टता वा मेरिटोक्रेसी एउटा सापेक्षित कुरा हो ।

कुनै नदीमा ब्राह्मण र माझीबीचको संवाद र आँधी आउँदा डुङ्गा डुब्ने वेलामा पौडी खेल्ने सीप नभएको ब्राह्मण आफू जतिसुकै ठूलो विद्वान् भए पनि ज्यान जोगाउन नसकेको प्रसंगबाट थाहा हुन्छ ।

इसावेल वेल्कर्सनले यो जातका आयामहरूलाई बडो सूक्ष्म र मार्मिक शैलीमा अमेरिकामा भएको रंगभेदसँग दाँजेकी छन् । उनको भनाइमा जात अस्थिपञ्जर हो भने रंग छाला हो । यी दुवैमा धेरै कुरा समान छन् र अफ्रिकी अमेरिकीहरूलाई गोराहरूको सर्वोच्चता कायम गर्ने सिलसिलामा यहाँ उल्लेखित सबै आयामको उच्चतम प्रयोग गरिएको थियो र अहिले पनि यहाँ उल्लेखित आयामहरू कुनै न कुनै रूपमा निरन्तर कायम छन् ।

यो सन्दर्भ दलित, महिला तथा अन्य सीमान्तकृत समुदायहरूका लागि पनि त्यत्तिकै सान्दर्भिक छ र यस्तो उत्पीडन, अन्याय र अत्याचारहरूबाट मुक्ति पाउने हो भने यिनीहरूलाई आन्दोलन, अभियान तथा सुधारका कामहरूबाट मात्रै गर्न सकिन्छ ।

मलाई लाग्छ– इसावेल वेल्कर्सनले सुझाएका यी कुराहरू सर्वव्यापी छन् र बलियो सैद्धान्तिक हतियारको रूपमा उपयोगी पनि ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?