
काठमाडौं । विश्वकै सर्वाधिक मूल्यवान ब्राण्ड मध्येको एक एप्पल आफ्ना महंगा तथा उत्कृष्ट प्रडक्टहरुका लागि परिचित छ ।
एप्पलका १० वर्ष पूराना सामानहरु समेत करोडौं मूल्यमा लिलामी हुन्छन् । केहीदिन पहिले एप्पलको एउटा पूरानो आइफोन २ करोड रुपैयाँ भन्दा धेरै रकममा लिलामी भएको थियो । त्यही क्रमलाई पछ्याउँदै एप्पलको एउटा विज्ञापन सवा २ करोड रुपैयाँ बराबरमा लिलाम भएको छ ।
एप्पल संस्थापक स्टिभ जब्सले कम्पनीको पहिलो कम्प्युटर एप्पल १ का लागि आफ्नै हातले लेखेर तयार पारेको विज्ञापन महंगो मूल्यमा बिक्री भएको हो ।
आरआर अक्सनले हालै आयोजना गरेको लिलामीमा स्टिभ जब्सले कम्पनीको पहिलो कम्प्युटरको रुपमा रहेको एप्पल वानका लागि तयार पारेको हस्तलिखित विज्ञापन १ लाख ७५ हजार ७५९ डलर अर्थात् २ करोड ३२ लाख नेपाली रुपैयाँमा बिक्री भएको हो ।
अक्सन कम्पनी आर आरका अनुसार सो विज्ञापन सन् १९७६ मा लेखिएको थियो । स्टिभ जब्स आफैंले लेखेर तयार पारेका केही हस्तलिखित विज्ञापन मध्ये यो एउटा हो । सो विज्ञापनमा पृष्ठको तलपट्टि सम्पर्क जानकारी खण्डमा जब्सले आफ्ना पूरा हस्ताक्षर पनि गरेका छन् ।
सो विज्ञापन ८.५ गुणा ११ बाइन्डर सिटमा कालो मसीले लेखिएको छ । सो विज्ञापनमा एप्पल वानमा ६८००, ६५०१ र ६५०२ माइक्रोप्रोसेसरको प्रयोग गरिएको जानकारी दिइएको छ । विज्ञापनमा कम्प्युटरका फिचर्स, र्याम तथा स्टोरेजका विषयमा पनि उल्लेख छ ।
लिलामी कम्पनीले दिएको विवरण अनुसार सो विज्ञापन सन् १९७६ मा स्टिभ जब्सको ग्यारेजको यात्राका क्रममा ग्राहकलाई दिइएको थियो ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4