+
+

एसिया कपमा नेपालको फराकिलो हार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते २१:४२

१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानको मुल्तानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले खेलमा राम्रो सुरुवात गरेको थियो । फिल्डिङमा केही चुके पनि नेपालका बलरले सुरुवातमा  कसिलो बलिङ गरेका थिए र पाकिस्तानी ब्याटरलाई खुलेर खेल्न दिएका थिएनन् ।

५.३ ओभरमा करण केसीले फखर जमानलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराउँदै नेपालका लागि पहिलो विकेट लिए ।

त्यसको ४ बलअघि जीवन दान पाएका अर्का ओपनर इमाम उल हक ६.१ ओभरमा रन आउट भए । रोहित पौडलको थ्रो सिधै स्टम्पमा लागेको थियो ।

नेपालले तेस्रो विकेट पनि रन आउटकै रुपमा लिएको थियो । २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीको थ्रो पनि डाइरेक्ट हिट भएपछि ४४ रन बनाएका मोहमद रिजवान पभेलिएन फर्केका थिए । त्यसपछि आएका अघा सलमान ५ रन जोड्दै सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । स्कोरबोर्डमा १२४ रन हुँदा पाकिस्तानको यो चौथो विकेट थियो ।

त्यतिबेला बाबर आजाम ४९ रनको स्थितिमा थिए भने नयाँ ब्याट्सम्यानका रुपमा इफ्तिखार अहमद आए । त्यसपछि यी दुईले पाकिस्तानले इनिङ्स अघि बढाए ।

तर पनि ३३ ओभर सकिँदासम्म पाकिस्तानलाई नेपालले दबाबमा राखेको थियो । त्यतिबेला पाकिस्तानले ४ विकेट गुमाएर १५७ रन बनाएको थियो । बाबर आजम त क्रिजमा जमिसकेका थिए । ७१ रन बनाएका उनलाई इफ्तिखार अहमदले ११ रन बनाएर साथ दिएका थिए ।

३४ औं ओभरमा कुशल भुर्तेल बलिङमा आए । उनको त्यो ओभरमा २ चौकासहित १० रन दिए । त्यो ओभरमा ५–५ रन जोडेका बाबर र इफ्तिखारले त्यसपछि खुलेर खेले । ३५ औं ओभरको पहिलो बलमा सोमपाल कामीलाई इफ्तिखारले छक्का हाने भने । तेस्रो बलमा बाबरले चौका । यो ओभरमा पाकिस्तानले १३ रन दियो ।

३३ ओभरको खेल सकिँदा ४.७५ रहेको पाकिस्तानको रनरेट २ ओभरपछि नै ५.१४ पुग्यो ।

४५ औं ओभरमा सोमपाललाई नै यी दुई ब्याटरले २० रन हाने ।

४६ औं ओभर सन्दीप लामिछानेको अन्तिम ओभर थियो । जसमा उनले १९ रन दिए । तेस्रो र चौथो बलमा बाबरले लगातार २ छक्का हाने । यसअघि पहिलो बलमा नै इफ्तिखारले चौका हानिसकेका थिए ।

४७ औं ओभरमा करण केसीले कसिलो बलिङ गर्दै ७ रन मात्र दिए पनि त्यतिबेला निक्कै ढिलो भइसकेको थियो । तर उनले ४९ औं ओभरमा १८ रन दिएपछि पाकिस्तान ४ विकेटको क्षतिमा ३३१ रनको स्थितिमा पुगेको थियो । इफ्तिखारले शतक पूरा गरे ।

अन्तिम ओभरको चौथो बलमा सोमपालले बाबरलाई १५१ र अन्तिम बलमा शदाब खानलाई ४ रनमा आउट गरेर १ विकेट आफ्नो नाममा लेखाए । पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनायो । इफ्तिखार १०९ रनमा नट आउट रहे ।

मुल्तानमा घरेलु दर्शकको सामुन्ने घरेलु टिम पाकिस्तानलाई हराउन ३४३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात नै राम्रो हुन सकेन ।

ओपनर कुशल भुर्तेल पहिलो ओभरकै ५ औं बलमा सहिन शाह अफ्रिदीको बलमा विकेट किपर मोहमद रिजवानको हातबाट क्याच आउट भने भने छैटौं बलमा कप्तान रोहितकुमार पौडेल गोल्डेन डक भए । पहिलो र दोस्रो बलमा लगातार दुई चौका हानेका कुशलको नाममा ८ रन मात्र जोडियो ।

त्यसपछिको चौथो बलमा नै अर्का ओपनर आसिफ शेख ५ रनमा आउट भए । त्यसपछि आरिफ शेख र सोमपाल कामीले नेपालको इनिङस उकास्ने प्रयास गरेका थिए । उनीहरुले ७८ बलमा ५९ रनको साझेदारी गरे । आरिफ २६ रन बनाएर तथा सोमपाल २८ रन बनाएर आउट भए ।

आरिफ आउट भएपछि आएका गुल्सन झाले १३ रन बनाए भने अरु ब्याट्सम्यानले दोहोर अंकमा नै रन बनाउन सकेनन् ।

दीपेन्द्र सिंह ऐरी ३, कुशल मल्ल ६, रनमा आउट भए भने सन्दीप लामिछाने र ललित राजवंशीले खाता नै खोल्न सकेनन् । ८ रन बनाएका करण केसी नट आउट रहे ।

बलिङतर्फ पाकिस्तानका शदाब खानले ६.४ ओभरमा ४ विकेट लिए । हरिश रउफ र सहिन शाह अफ्रिदीले २–२ तथा नसिम शाह र मोहमद नवाजको नाममा १–१ विकेट रह्यो ।

पाकिस्तानसँग २३८ रनको हार बेहोरको नेपालले आउँदो सोमबार भारतसँग खेल्ने छ । नेपाल र भारतबीचको खेल श्रीलंकामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?