+
+
गफ स्टेसनमा गायिका देविका वन्दना :

‘क्यान्सरलाई जितेपछिको मेरो जीवन सधैं संगीतका लागि’

क्यान्सरलाई जितेपछि देविकाको आत्मविश्वास अरु मजबुत भएको छ । आफूले मनले खोजेको र श्रोता-दर्शकले रोजेको सांगीतिक कोसेली ल्याइरहने उनको अठोट छ । भन्छिन्, ‘क्यान्सरलाई जितेपछिको जीवन अझ स्तरीय संगीतका लागि दिनेछु ।’

खेम रिसाल खेम रिसाल
२०८० भदौ १५ गते १८:३०

काठमाडौं । जीवनमा कुनै ठूलो आपत् आइलाग्दा कस्तो हुन्छ ? पक्कै पनि चलिरहेको समय नै टक्क रोकिए झैं लाग्छ । गायिका देविका बन्दनाको जीवनमा पनि यस्तै भयो, सुरमा बगिरहेको संगीत अनायासै बेसुर भइदिए झैं । सबै ठीकठाक अवस्थामा चलिरहेको बेला देविकालाई स्वास्थ्यले अलि साथ दिएन, उनलाई स्तन क्यान्सर भयो ।

देश कोरोना महामारीका कारण लकडाउनमा थियो । अत्यन्तै ‘हेल्थ कन्सियस’ देविकाले सोचेकी पनि थिइनन् आफूलाई क्यान्सरजस्तो डरलाग्दो रोगले सताउला भनेर । दुई वर्षअघि उनी बुटवलस्थित घरमै थिइन्, स्तनमा सानो गाँठो देखियो । सामान्य नै होला भनेर उनले त्यहीं स्थानीय अस्पतालमा जाँच गराइन् र केही बिसेक भए झैं पनि लाग्यो । देश कोरोना महामारीले ठप्प भएका बेला उनले पनि डिजिटल माध्यमको प्रयोग गरी सांगीतिक कन्सर्टसमेत गरेकी थिइन् र त्यो निकै रुचाइयो पनि ।

अनलाइनखबरको गफ स्टेसनमा यो साता अन्तर्वार्ताका लागि आइपुगेकी उनले आफूलाई भएको क्यान्सर र त्यसलाई जितेपछिको अनुभव सबिस्तार सुनाइन् । ‘त्यसपछि चाहिं मलाई अलि गाह्रो भयो, दुखाइ धेरै भयो । अनि परिवार र डाक्टरको सल्लाहमा काठमाडौं आएर हरिसिद्दिस्थित नेपाल क्यान्सर अस्पतालमा डा. कपेन्द्र अमात्यलाई जाँच गराएँ,’ उनी सुनाउँछिन्, ‘त्यसपछि पुष्टि भयो मलाई ब्रेस्ट क्यान्सर भएको रहेछ ।’

डाक्टरले आफूलाई क्यान्सर भएको सुनाउँदा उनलाई समय नै टक्क रोकिए झैं भयो । त्यसपछि उनले सोचिन् अरु क्यान्सर पीडितलेजस्तै मैले पनि मृत्युवरण नै त गर्नुपर्ने हो कि भनेर । तर डा. अमात्यले उनलाई ढाडस दिए, ‘दिल्ली वा अरु देश कतै जानुपर्दैन यहीं म तपाईंको राम्रोसँग उपचार गर्छु, स्तन नकाटीकन उपचार गर्न सकिन्छ, आत्तिनु पर्दैन ।’

त्यसपछि दुई वर्ष उनी क्यान्सरको उपचार यात्रामा रहिन् । सुरुमा किमो चढाउँदा निकै गाह्रो भयो, बिस्तारै बानी पर्दै गएपछि सहज मान्दै गइन् । अब भने उनलाई जीवनप्रतिको आशा अरु जागृत भयो अनि जीवनलाई हेर्ने दृष्टिकोण पनि अझ फराकिलो भयो ।

‘त्यसपछि उपचारकै पिरियडमा ११ वटा गीत रेकर्ड गरें । त्यसबेला गिनिज बुक वर्ल्ड रेकर्ड्समा पनि नाम दर्ज गर्ने सफल भएँ,’ देविका भन्छिन्, ‘उपचार गर्ने क्रममा त मेरो संगीत र जीवनलाई हेर्ने दृष्टिकोण अरु फराकिलो भयो । क्यान्सरसँगको संघर्षपूर्ण जितको बारेमा अरुलाई पनि जानकारी दिन जित्नेको हाँसो शीर्षकमा किताब समेत लेखें ।’

आफ्नै गीत ‘यस्तै रहेछ यहाँको चलन’को एक अंश ‘जित्नेको हाँसो’लाई उनले पुस्तकको नाम दिइन् । किताब बिक्रीबाट आएको रकम क्यान्सर पीडितको सहयोगमा खर्च गर्ने उनको सोच छ ।

देविकाले अहिले क्यान्सरलाई जितिसकेकी छन् । तर आफूलाई क्यान्सर भएको कुरा उनले परिवारबाहेक अरुलाई सुनाइनन् । कारण थियो, अरुलाई सुनाउँदा धेरै सोधिने हालखबरले आफूलाई कमजोर महसुस पो गराउँछ कि भन्ने लाग्यो उनलाई । त्यसैले चुपचाप उपचार गरेर पुस्तक विमोचन गर्नेबेलामा मात्रै ‘सरप्राइज’ दिइन् ।

आफ्नो सफल उपचार हुनुमा बलियो आत्मबलका साथै उपचार खर्च व्यहोर्न सक्ने आर्थिक हैसियत पनि अर्को कारण हुन सक्ने उनी बताउँछिन् । सायद उनको ठाउँमा अरु कोही विपन्न परिवारको व्यक्ति भएको भए सम्भव नहुन पनि सक्थ्यो । त्यसैले सरकारले क्यान्सरका बिरामीका लागि यथेष्ट सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको ठम्याइ छ ।

‘जित्नेको हाँसो’ भने झैं अब देविका खुलेर हाँस्न थालेकी छन् । अनि निष्फिक्री आफ्नो संगीत कर्ममा लागेकी छन् । केही समयअघि ‘बुद्ध सादर वन्दना’ बोलको भजन उनले सार्वजनिक गरिन्, त्यसलाई निकै रुचाइएको छ । जीवन दर्शनका शब्दहरु भएका गीतमा उनको रुचि बढेको छ ।

गफ स्टेसनमा देविकाले वर्तमान नेपाली संगीत र पहिलेको संगीतका विषयमा पनि कुरा गरिन् । वर्तमान नेपाली संगीत निकै उन्नत लाग्छ, उनलाई अनि नयाँ पुस्ताका कलाकारहरु पनि सुझबुझ भएका र खारिएका पनि ।

‘अहिले पनि मूलधारका गीत र फिल्मका गीत सुन्दा फेरि गाऔं गाऔं जस्तो लाग्छ । गीत अहिले बढी हिट हुन्छ, भाइरल हुन्छ । तरोताजा नै लाग्छ,’ उनी भन्छिन्, ‘पहिलेका गीतको पनि आफ्नै खालको गुणस्तर थियो । प्राय: मुम्बईमा धेरै रेकर्डिङ गर्नुपर्ने बाध्यता थियो । अहिले त नेपालमा राम्रो राम्रो रेकर्डिङ स्टुडियोहरु छन् सुविधा बढेको छ ।’

रियालिटी शोबाट आएका गायक-गायिका निकै खारिएको लाग्छ देविकालाई । उनीहरुको गाउने शैली, सांगीतिक अध्ययन प्रशंसायोग्य लाग्छ । ‘तर एकपछि अर्को गीत आइरहने र अगाडिका गीत ओझेल परिहाल्ने अवस्था चाहिं मन परिरहेको छैन मलाई,’ उनी भन्छिन्, ‘गीत हिट हुने माध्यम अहिले टिकटक बनेको छ । तर चाँडो चाँडो रिलिज भइरहँदा हराइहाल्ने अवस्था चाहिं छ । प्रविधिको कारण पनि हो, तर यसको सही सदुपयोग चाहिं गर्नुपर्छ ।’

देविका वन्दनाको कुरा आउँदा संगीतकार शम्भुजीत बास्कोटाको नाम छुट्दैन । किनकि उनीहरु दुईको सहकार्यलाई श्रोताले निकै रुचाए । विशेषगरी फिल्मका गीतहरु शम्भुजीतको संगीतमा उनले धेरै गाएकी छन्, सँगै गाएकी पनि छन् । ए संगीता, अच्छा लेकिन लण्डनको चिसोले, सुन सुन सनम, तलतल बेंसीमा मैच्याङ देविका र शम्भुजीतले गाएका निकै रुचाइएका गीत हुन् ।

देविकाले सबैभन्दा पहिले परिचित गराउने गीत ‘यस्तै रहेछ यहाँको चलन’ हो । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । एउटा परदेशी आई सोध्यो मेरो नाम, मलाई नेपाली माया चाहिन्छ, भरे आउँछु सपनीमा, यो माया के हो, अर्को जुनी चाहिंदैन मलाई उनका चर्चित गीतहरु हुन् ।

उनले भारतीय गायक कुमार सानुसँग समेत कन्सर्ट गरिसकेकी छन् । शम्भुजीत बास्कोटासँगको सहकार्यमा चाँडै नयाँ गीत ल्याउने तयारीमा छन् । भारतका अन्य गायकसँग पनि सहकार्य गर्ने तयारीमा उनी छिन् । ‘कुमार सानुबाट सांगीतिक संस्कार, गायकी र टेक्निकका कुरा धेरै सिकें मैले, शम्भुजीत सरसँग पनि नयाँ गीतमा सहकार्य गर्ने तयारी छ,’ उनी सुनाउँछिन् ।

देविकालाई खाना पकाउने कुरामा पनि सौख छ । उनी आफ्नो फुड भ्लग ‘यम्मी नेपाली किचन’मा आफ्नो पाककला देखाउँछिन् । ‘बीचमा यो पनि अलि रोकिएको थियो । अब यसलाई पनि निरन्तरता दिन्छु,’ उनी भन्छिन् ।

गफ स्टेसनको बिट मार्नेबेला देविकाले क्यान्सरका बिरामीका लागि सरकारले खास सहयोग गर्नुपर्ने बताइन् । ‘सरकारले दिने एक लाखले त सामान्य औषधि पनि आउँदैन । उपचार खर्च धेरै महंगो छ, उचित सहयोग भए धेरैले यसकै कारण अकालमा ज्यान गुमाउँदैन थिए,’ उनले आग्रह गरिन् ।

क्यान्सरलाई जितेपछि देविकाको आत्मविश्वास अरु मजबुत भएको छ । आफूले मनले खोजेको र श्रोता-दर्शकले रोजेको सांगीतिक कोसेली ल्याइरहने उनको अठोट छ । भन्छिन्, ‘क्यान्सरलाई जितेपछिको जीवन अझ स्तरीय संगीतका लागि दिनेछु ।’

गायिका देविका वन्दनासँगको अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ :

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?