+
+

घुँडाको शल्यक्रिया गर्दा डाक्टरले शरीरभित्रै कपडा छाडेको भेटियो

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० भदौ १७ गते १५:४३
बिरामीको अपरेसन भएको नवजीवन अस्पताल ।

१७ भदौ, जनकपुरधाम । जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ ।

महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज) छाडेको भेटिएको हो ।

शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि बिरामीले पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै कपडा भेटिएको पीडित परिवारले जनाएको छ ।

५ भदौमा जनकपुरधाम बाह्रबिघाको उत्तरी पूर्वकुना नजिकको नवजीवन हस्पिटलमा डा. मुकुन्द झाले मन्दीपको घाउको शल्यक्रिया गरेका थिए ।

४ साउनमा मोटरसाइकल दुर्घटना भएर चोट लागेपछि मन्दीपले ३२ साउनमा नारायण इएनटी एण्ड प्लास्टिक सर्जरी सेन्टरमा कन्सलटेन्ट प्लास्टिक, रिकन्सट्रक्टिभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झासँग जाँच गराएका थिए ।

उनले शल्यक्रिया गरे घाउ निको हुने आश्वासन दिएर नवजीवन हस्पिटलमा भर्न हुन आग्रह गरे । त्यसै दिन साँझ ४ बजे शल्यक्रिया गरे । आठ वटा टाँका लगाए । एक सातापछि डिस्चार्ज गरे, शल्यक्रिया र अस्पताल शुल्क गरी ६५ हजार रुपैयाँ लिएको मन्दीपका दाइ सन्तोष यादवले बताए ।

दुई/तीनदिन घरमा ड्रेसिङ गर्दा घाउबाट पीप आउन थाल्यो, फोन गर्दा डा. झाले उठाउन छाडेको सन्तोषले बताए ।

घुँडा निको नभएपछि १२ भदौमा मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । अर्थोपेडिक सर्जन डा. सन्दीप शर्माले पुनः शल्यक्रिया गर्दा घाउमा कपडा भेटिएको हो ।

बिरामी मन्दीप यादव ।

‘अन्यत्र कतै अप्रेसन गराउनुभएको थियो । तर निरन्तर घाउबाट पिप आयो भन्नुभयो । शंका लागेर टाँका खोलेँ । भित्र केही वस्तु छ जस्तो लाग्यो’ उनले भने, ‘भित्र गज रहेछ, निकालेर फेरि सरसफाइ गरी टाँका लगाइदिएको छु ।’

भित्र छाडिएको वस्तु धेरै दिन ननिकालेको भए घाउ अझै जटिल हुन सक्ने डा. शर्मा बताउँछन् ।

चिकित्सकको लापरबाहीले आफ्नो स्वास्थ्य झण्डै जोखिममा परेको बिरामी मन्दीपले बताए ।

‘केहीदिन चेक नगराएको भए त मेरो खुट्टा गुम्न पनि सक्थ्यो’, मन्दीपले भने, ‘उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनुपर्छ ।’

डा. मुकुन्द झाको क्लिनिक हिजोआज बन्द छ । साइनबोर्डमा लेखिएको मोबाइल स्वीच अफ छ ।

डा. मुकुन्द झाको क्लिनिक

नवजीवन हस्पिटलका म्यानेजर सञ्जीव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको तर्क गरे ।

‘डिस्चार्ज भएर गएपछि बिरामी हाम्रो सम्पर्कमा आएको छैन । त्यसपछि के भयो हामीलाई थाहै भएन’ उनले भने ‘केही समस्या भएपछि हाम्रो सम्पर्कमा आउनुपर्थ्यो नि ।’

शल्यक्रिया गरेपछि डा. मुकुन्द झा आफ्नो शुल्क लिएर गएको र उनी आफूहरुको सम्पर्कमै रहेको बताए ।

मन्दीपका दाइ सन्तोष यादवले उपचारका नाममा ठगी र बिरामीको जीवनसँग खेलबाड गरेको भन्दै चिकित्सक र हस्पिटललाई कारबाही गर्न नेपाल मेडिकल एशोसिएसन (एनएमसी) समक्ष उजुरी गरेका छन् ।

‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भीर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपूर्ति भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’, सन्तोषले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?