+
+

विश्वप्रकाशको सहरमा गगन थापा पुग्दा

लिलु डुम्रे लिलु डुम्रे
२०८० भदौ १७ गते २०:२७

१७ भदौ, काठमाडौं । मेचीनगरका कांग्रेस सभापति सुवेशकुमार पनेरुले पार्टीको नगर सम्मेलनमा प्रमुख अतिथिमा आमन्त्रण गर्ने व्यक्तिका सन्दर्भमा महामन्त्री विश्वप्रकाश शर्माको राय बुझे । पनेरुले महामन्त्री शर्मासँग परामर्श लिनु स्वभाविकै थियो, किनभने विश्वप्रकाश यसै नगरका बासिन्दा हुन् ।

नगर सम्मेलनको प्रमुख अतिथिमा दुई महामन्त्री मध्येमा एकलाई निम्त्याउन पनेरु चाहन्थे । शर्माले दुई महामन्त्रीबाट एक जना सम्भव नभए अर्को व्यक्तिको विकल्प खोज्नुपर्ने राय पनेरुलाई दिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशमध्ये एक जना नगर सम्मेलनमा उपस्थित हुनैपर्ने अड्डी पनेरुले कसे । महामन्त्री गगनलाई आफ्नो नगरको सम्मेलनमा पु¥याउने चाहना शर्मालाई पनि थियो ।

पनेरुलाई शर्माले जवाफ फर्काए, ‘गगनलाई आग्रह गर्छु ।’ शर्माले गरेको आग्रहअनुसार नगर सम्मेलनमा प्रमुख अतिथि बन्न थापा राजी भए । विद्यार्थी राजनीतिमा गगन र पनेरु समकालीन थिए । गगन त्रिचन्द्रको स्ववियू सभापति हुँदा पनेरु पाटन क्याम्पसमा स्ववियु उपसभापति थिए । नेविसंघको राजनीतिका समकालीन नेतालाई नगर सम्मेलनमा उभ्याउन पाउँदा पनेरु शनिबार प्रफुल्ल देखिए ।

एउटाको क्षेत्रमा अर्को महामन्त्री उपस्थित हुँदा त्यसबाट नगर, क्षेत्र, जिल्लामा फैलिने सन्देशले पनि अर्थ राख्छ । स्थानीय नेताहरुका अनुसार झापाको राजनीतिमा प्रभाव बढाउने अभिप्रायले शर्माले थापालाई जोडबल गरेरै नगर सम्मेलनमा पुर्‍याएका हुन् ।

यतिबेला दुई महामन्त्रीको गठजोड कांग्रेसमा बलियो देखिएको छ । त्यसो त, केही नेतालाई भिडियो सन्देशमार्फत चुनावमा मत माग्दा शर्मालाई संसदमा देख्न चाहेको उतिबेलै बताएका थिए । सोही कुरालाई थापाले शनिबार झापामा नेता कार्यकर्तालाई सुनाए ।

‘विश्वप्रकाश शर्मालाई संसदमा देख्न चाहन्छौं भनेर मत मागेका थियौं । विश्वप्रकाशलाई दिएको मतबाट तपाईंहरुले पछुतो मान्नु पर्नेछैन,’ थापाले भने,‘संसद कहिलेकाहीँ उत्तेजनाले भरिएको देखिन्छ । नयाँ सांसद विश्वप्रकाशमा जोश छ । उत्तेजनाको भिडमा चेतनाको आवाज बोलिरहेको भेट्छु ।’

क्षेत्रका समस्याका रुपमा रहेको जंगली हात्ती, सुकुम्बासीका समस्या संसदमा शर्माले उठाइरहेको थापाले स्थानीय नेता कार्यकर्तालाई सुनाए ।

केन्द्रीय समिति बैठक सकिएपछि कांग्रेसले तल्लो संरचनाको सम्मेलन क्रमशः गरिरहेको छ । झापामा वडा तहको सम्मेलन सकेर पालिका र क्षेत्रको सम्मेलन भइरहेको छ । यसै क्रममा मेचीनगरको सम्मेलन १६ भदौका लागि तय गरिएको थियो ।

मेचीनगरको वडा नं ९ स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानको भवनमा सम्मेलनको स्थान तय भएको थियो । यो त्यही भवन हो, जसलाई २०५७ सालमा परराष्ट्रमन्त्री हुँदा कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाले उद्घाटन गरेका थिए । महामन्त्री शर्मा यसै वडाका मतदाता हुन् ।

जेसीज प्रतिष्ठान भवन ।

प्रतिनिधि सभाको निर्वाचन आफू अनुकूल बनाएका शर्माले नगरमा भने कांग्रेसलाई जिताउन सकेनन् । शर्माका लागि थप दुखद पक्ष यसअघि कहिले पनि नहारेको कांग्रेस उनैको वडामा पराजित भयो । ‘कांग्रेस हारेको होइन, कांग्रेसलाई आफ्नैले हराएका हुन्’, स्थानीय सञ्जय शर्मा भन्छन् ।

नगर सभापति पनेरुको दाबी अनुसार मेचीनगरमा कांग्रेस पहिलो दल हो । तथापि, नतिजा आफ्नो पक्षमा पार्न सकेन । विधि र पद्धति अनुसार पार्टी सञ्चालन गरिरहेको र विधान अनुसार निर्णय गरेर पार्टी गतिशील बनाएको पनेरुले सम्मेलनमा सुनाए ।

पार्टीभित्रको आन्तरिक समस्या हल भए कांग्रेसको शक्तिमा क्षय नआउने उनी सुनाउँछन् । ‘कम्युनिस्ट पार्टीले जनतालाई भुलभुलैयामा राखेर भोटको राजनीति गर्ने पुरानै परम्परा यथावत छ । नयाँ भनेका दलहरुको प्रहार कांग्रेस लक्षित छ’, नगर सभापति पनेरु भन्छन् ।

भदौको उखरमाउलो गर्मीमा हलभरि भरिएका कार्यकर्ता माझ स्थानीय नेताहरुले प्रश्न पार्टी केन्द्रतिर उठाए । ठूलो दल भएर पनि कांग्रेसले सरकारको नेतृत्व गर्न नसकेकोप्रति झापा–१ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी नेतृत्वप्रति असन्तुष्ट छन् ।

‘ठूलो दल भएर पनि सरकारको नेतृत्व लिन कांग्रेसले सकेन । कसको सरकार छ भनेर कार्यकर्ताले भेउ पाउन सकेका छैनन्’, बुढाथोकी भन्छन् । गत निर्वाचनमा बुढाथोकी मेची नगरको प्रमुखमा पराजित भएका थिए ।

बुढाथोकीलाई उम्मेदवार बनाउन महामन्त्री शर्माले अडान लिएका थिए । जिल्ला उपसभापति केशवराज पाण्डेले पाएको टिकट खोेसेर आफू निकटलाई दिलाएको भन्दै महामन्त्री शर्माको आलोचना भएको थियो । आफ्नो टिकट खोसिएको प्रति असन्तुष्टि पोख्ने मञ्च पाण्डेले शनिबारको सम्मेलनलाई बनाए ।

महामन्त्रीद्वयलाई संकेत गर्दै उनले उत्तेजना सिर्जना नगर्न सुझाव दिए । ‘बीपीले कहिले पनि उत्ताउलो कुरा गर्नुभएन । उत्तेजना सिर्जना गर्नु पनि पार्टी कमजोर हुनु हो’, पाण्डेले भने, ‘हामी बलियो छौं र पनि आरोप प्रत्यारोपले कमजोर हुन पुगेका छौं ।’

भ्रष्टाचार काण्डमा नेपाली कांग्रेसका नेताहरुप्रति प्रतिशोध राखिएको उनको बुझाइ थियो । प्रधानमन्त्री बनेपछि फरक दलको पूर्वप्रधानमन्त्रीलाई प्रतिशोध साँध्ने काम पाकिस्तानमा हुने गरेको उदाहरण सुनाए ।

युवा पुस्ता पुराना दलप्रति आकर्षित नभएको चर्चाले पछिल्लो समय व्यापकता पाइरहेको छ । युवालाई पार्टीप्रति आकर्षित गर्ने उद्देश्यले नै अन्तर्राष्ट्रिय युवा दिवस पारेर कांग्रेसले गरेकोे पोलीसी ह्याकाथन ९ भदौमा सकिएको छ । तर, पनि पार्टीहरुको सभामा युवा उमेर समूहको संख्या घट्दै गएको छ ।

शनिबार मेचीनगरमा भएको सम्मेलनमा उपस्थितिमा युवा उमेर समूहका न्युन थिए । रोजगारी र अध्ययनका लागि विदेशिनेहरुको संख्या बढ्दै जाँदा त्यसको असर दलका कार्यक्रमहरु पनि देखिएको छ । युवालाई देशमा रोक्न नसकेको महामन्त्री थापा स्वीकार्छन् ।

युवा उमेर समूहको जनसंख्या उल्लेख्य रहेको यही समयमा देशले लय लिन नसके दुर्भाग्य हुने उनी बताउँछन् । युवा पुस्ताको संख्या कम हुने र प्रौढ उमेर समूहका नागरिककोे संख्या बढ्दै जाने अवस्था नजिक आएको उनले सुनाए ।

‘आज हामीसँग युवाहरुको जनसंख्या २३.५ प्रतिशत छ । प्रत्येक दिन सयौं तन्नेरीहरु नेपाल छोडेर गइरहेका छन् । पढेर आएर यही समाजमा केही गर्छु भन्ने विश्वास गुमाउँदै गएका छन्’, थापा भन्छन् । नैराश्यको व्यापार गर्नेहरुबाट बचाएर जनतामा आशा कांग्रेसले जगाउन सक्नुपर्ने उनी बताउँछन् । अन्य दलले ‘मिसन ८४’ मा लागिरहँदा त्यसअघिको जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनले बताए ।

झापाको कांग्रेस राजनीतिमा महामन्त्री शर्मा र नेता कृष्णप्रसाद सिटौलाको समानान्तर अभ्यास छ । जिल्ला सभापति देउकुमार थेबे देखि कार्यसमितिका अधिकांश सदस्य सिटौला पक्षधर छन् । केन्द्रीय तहमा गुटबन्दी नभएर तलको स्वतः निमिट्यान्न हुने बुझाई जिल्ला तहका नेताहरुको छ ।

मेचीनगरको सम्मेलनमा बोल्ने क्रममा जिल्ला सभापति थेबेले महामन्त्रीसँग पार्टीका विषयमा गर्नुपर्ने कुरा धेरै भएपनि कार्यक्रममा नराख्ने बताए । ‘महामन्त्रीलाई एयरपोर्टमा रिसिभ गर्न र छोड्न जाँदा पार्टीको कुरा उहाँलाई त्यहीँ राखौंला’, थेबेले भने, ‘यो कार्यक्रममा उहाँका कुरा धेरै सुन्न चाहन्छौं । मेरो समय पनि उहाँलाई ।’

स्थानीय नेताहरु गुटबन्दीलाई प्रश्रय दिने कार्य केन्द्रबाट भएको निचोडमा देखिए । नगर सभापति पनेरुलाई केन्द्रको गुटबन्दीले बन्द गर्न सुझाव दिए । उनी भन्छन्, ‘माथि मिलिदिनुस् । तल हामी मिलाउँछौं । गुटकै कारणले पार्टीका साथीहरुमा विचलन देखेको छु ।’ पार्टी संस्थागत हुन नसकेको चिन्ता झापा–१ का सभापति बुढाथोकीलाई छ । व्यक्तिगत पहुँचलाई आधार बनाएर पार्टी संरचनालाई वेवास्ता गर्ने प्रवृत्ति रहेको उनले सुनाए ।

एक पक्षले अर्को पक्षलाई खेद्ने परम्परा बसेको भन्दै केन्द्रदेखि तल्लो तहसम्म चिन्ता व्यक्त हुँदै आएको छ । तर, पार्टीका कार्यक्रम तथा सामाजिक सञ्जालमा एकले अर्काको विरुद्धमा अभिव्यक्ति दिन छोड्दैनन् । मेचीनगरमा भएको सम्मेलनमा एक अर्का विरुद्ध स्थानीय नेताहरु खनिने कार्य गरेनन् ।

पार्टी रुपान्तरण भए गुट स्वतः अन्त्य हुने महामन्त्री थापा दाबी गर्छन् । गुट अन्त्यका लागि उम्मेदवार छनोटको विधि परिवर्तन गर्नुपर्ने उनले सुनाए । पार्टी संरचना अनुसार तत् तत् समितिलाई उम्मेदवार छनोटको अधिकार दिए नेता कार्यकर्ता तिर फर्कने उनले बताए ।

‘वडाको पार्टी सभापति तपाईहरुले छान्न सक्नुहुन्छ भने वडाको अध्यक्षको उम्मेदवार किन छान्न नपाउने ?’ तल्लो तहलाई नै टिकट वितरणको अधिकार दिनुपर्ने थापाको भनाइबाट सबैभन्दा कार्यकर्ता खुसी देखिए । उनको सोहीले बोलीले सर्वाधिक ताली पायो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?