+
+

टीआरसीमा प्रधानमन्त्रीले मागे एमाले अध्यक्ष ओलीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १७:३२

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा नेकपा एमालेका अध्यक्ष ओलीको सहयोग मागेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएका थिए । दुई नेताबीच भएको भेटमा प्रचण्डले टीआरसी टुंग्याउन एमालेको सहयोग आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री कार्यालय र एमाले नेताहरुका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘टीआरसीमा तपाईंको सहयोग चाहियो ।’ जवाफमा अध्यक्ष ओलीले असहयोग गर्ने आफूहरुको चाहना नरहेको बताए । नेताहरुका अनुसार ओलीले प्रचण्डलाई जवाफ फर्काएका छन्, ‘हाम्रो सहयोग छ कहिले पो असहयोग थियो र !’

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भन्दै ओलीले ‘थप सुधारका लागि तयार हुनुपर्ने’ पनि बताएका छन् ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने सन्दर्भमा खुला छलफल गर्न तयार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलको सहयोगमा मात्रै विधेयक अगाडि बढाउने चाहना रहेको बताएका छन् ।

मंगलबार नै बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले टीआरसी सम्बन्धी विधेयकमाथि छलफल जुटाउन गठित संसदीय उपसमितिको म्याद सात दिन थप गरेको छ ।

जेठ ५ गते २१ दिनको समय दिएर गठन भएको उपसमितिको म्याद असार ५ गते १५ दिन थपिएको थियो । फेरि पनि काम नसकाएको भन्दै उपसमितिले समय मागेपछि एक साता थपिएको हो ।

प्रधानमन्त्रीलाई भेट्न जानु अगाडि एमाले अध्यक्ष ओलीले कानुन न्याय तथा मानवअधिकार समितिमा रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत छलफल गरेका थिए । दुई नेताबीच सिंहदरबारमै छलफल भएको थियो ।

छलफलपश्चात् अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय गएका थिए भने उपाध्यक्ष नेम्वाङ कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुन गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?