२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमले पछिल्लो समय एसिया कप क्रिकेट खेलेर फर्कियो । एसिया कपमा नेपालले मुल्तानमा घरेलु टोली पाकिस्तानसँग र श्रीलंकामा भारतसित खेल्यो ।
भारत र पाकिस्तानसँग नेपालले खेलेको टेलिभिजनमा हेर्ने तस्वीर सार्वजनिक गर्ने र टोलीलाई शुभकामना दिनेमा राष्ट्रपतिसहित सरकार र विभिन्न राजनीतिक दलमा आवद्ध नेताहरुबीच होड नै चल्यो ।
खेल जितेमा मात्र होइन, चौका छक्का र विकेटमा पनि पुरस्कार दिने घोषणा निजी क्षेत्र र व्यक्तिहरुले गरे ।
खेल्न हेर्न श्रीलंका पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा स्टेडियमको अभाव रहेको भन्दै संघीय सरकारले १०० रोपनी जग्गा उपलब्ध गराए महानगरले स्टेडियम बनाउने घोषणा गरे । उनलाई छाड्ने हो भने नेपालले ठूलो प्रतियोगिता खेलिरहँदा पूर्वाधार र खेल सुविधामा कसैको ध्यान गएको पाइएन ।
एसिया कपमा नेपालले जुन देशसँग प्रतिस्पर्धा गरेको थियो । ती देशको खेल पूर्वाधारसँग तुलना गर्दा नेपालसँग भएको पूर्वाधार र सुविधा केही होइन ।
हामीसँग अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न त्रिवि क्रिकेट मैदान र केहीअघि अन्तर्राष्ट्रिय खेल आयोजनाको मान्यता पाएको मुलपानी मैदानबाहेक अरु कुनै क्रिकेट स्टेडियम छैन । भएका यी दुई स्टेडियममा पनि कुनै सुविधा छैन ।
खेलाडीलाई अभ्यासका लागि पनि समस्या छ । त्यसैले अब हामीले संरचनात्मक विकासमा ध्यान दिनुपर्छ भन्छन् कप्तान रोहितकुमार पौडेल । ‘नयाँ अनुभव लिएका छौं, अब पूर्वाधारमा लगानी गर्नुपर्छ,’ श्रीलंकाबाट फर्किएपछि उनले पत्रकारसित भने, ‘एउटै ठाउँमा सबैले अभ्यास गरिरहनुपरेको छ ।’
नेपाल विश्वकप छनोटमा चयन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान अघि बढाउन निर्देशन दिएका थिए । तर लाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषदले निकालेको टेण्डर प्रक्रिया नमिलेका कारण रद्ध भएको छ । अर्को टेण्डर कहिले निस्किने हो टुंगो छैन ।
कुनै बेलामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिएको मुलपानीको जमिन २०६० सालमा राष्ट्रिय खेलकुद परिषद् राखेप मातहत ल्याउर क्रिकेट मैदान बनाउने योजना अघि सारियो । त्यहाँ दुई वटा मैदान बनाउने भने पनि काम कछुवा गतिमा छ । २० वर्षमा पनि निर्माण पूरा नभएको रंगशालामा चार महिनाअघि एसीसी प्रिमियर कप आयोजना गरेको थियो ।
सरकारले कीर्तिपुर र मुलपानीका मैदान स्तरोन्नती गर्ने भने पनि काम सुरु हुन सकेको छैन । गत बजेटमा विराटनगर, बैतडी, कैलाली र काठमाडौंको गाम्चामा क्रिकेट रंगशाला बनाउने घोषणा त गरेको छ तर काम कहिले सुरु हुने केही टुंगो छैन ।
फरक फरक सुविधा र विशेषता भएका पिच र मैदान भएमा तयारी गर्न सहज हुने र जस्तोसुकै बलियो टिमसँग पनि खेल्न सकिने उनको भनाइ ।
बलिया टोलीविरुद्ध प्रशंसनीय प्रदर्शन
एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा ३०–३५ ओभरसम्म नेपालले गरेको बलिङ र भारतविरुद्धको खेलमा गरेको ब्याटिङ प्रशंसनीय रह्यो ।
क्रिकेटमा शक्तिशाली मानिएका र पूर्वाधार सम्पन्न राष्ट्रविरुद्ध प्रशंसनीय प्रदर्शन गर्दै नेपाल खेलाडीले विश्वको ध्यान तान्ने प्रयास गरेका छन् । र खेलाडीमा अब जस्तोसुकै विपक्षी र खेलाडीसँग पनि डटेर खेल्छौं भन्ने आत्मविश्वास बढेको छ । ‘भारतसँग ब्याटिङ गर्दा डग आउटमा विश्वास थियो । धेरै सट बल ट्याकल ग¥र्यौ,’ कप्तान रोहित भन्छन्, ‘उत्कृष्ट बलरले बल फाल्दा पनि हामीले खेल्न सकिरहेका थियौं ।’
विश्वका नम्बर वान ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरु कुनैपनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको पनि बुझाइ छ ।
टिम म्यानेजर प्रदीप मजगैंयाले भने, ‘भारत र पाकिस्तानसँगको जुन हिच्किचाहट थियो । त्यो सकिएको छ ।’
नेपाललाई यहाँसम्म ल्याउन पूर्व क्रिकेटरहरको ठूलो हात रहेको भन्दै युवा कप्तान रोहितले अग्रजलाईए सम्झिए, ‘नेपाललाई डिभिजन ५ देखि यहाँसम्म ल्याउन हाम्रो अग्रज क्रिकेटर पारस दाइ, शक्ति दाइ बसन्त दाइहरुको निकै ठूलो योगदान छ ।’
उनले हालका युवा पुस्ताका खेलाडीको मेहनत र प्रशिक्षकहरुको प्रयासले नेपाल यहाँसम्म आइपुगेको बताए । ‘हामी त आएदेखि नै एकदिवसीय खेलिरहेका छौं,’ उनले भने, ‘तर हाम्रो मेहनत प्रशिक्षक र व्यवस्थापनको प्रयासले पनि यो सम्भव भएको हो ।’
भारतविरुद्धको खेलमा ओपनर आशिफ शेखले ५८ रन बनाएका थिए । उनी राम्रो टिमसँग खेलेर राम्रो स्कोर बनाउँदा आत्मविश्वास बढेको बताउँछन् ।
मेडलले बढ्यो हौसला
नेपाली क्रिकेट टिमको प्रशिक्षणको जिम्मेवारी सम्हालेदेखि नै मोन्टी देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारण अघि सारको छन् । यो अवधारणमा उनले खेलाडीको हौसला बढाउन विभिन्न उपायहरु अपनाउँदै आएका छन् । यसै क्रममा यसपालि भारतसँगको खेलपछि उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई भारतीय खेलाडीबाट मेडल लगाइदिने चाँजोपाँचो मिलाएका थिए । जसले खेलाडीको हौसला बढेको छ ।
ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महशुस भएको आसिफले बताए । उनलाई भारतीय क्रिकेटर विराट कोहलीले मेडल लगाइदिएका थिए । खेलका क्रममा आसिफको क्याच मिस गरेका कोहलीले मेडल लगाइँदिँदै ‘एउटा मेडल त मलाई पनि दिनु है, मैले क्याच छाँडे नि’ आसिफले पत्रकारलाई सुनाए ।
भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो । अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए ।
खेलपछि नेपाली खेलाडीले भारत र पाकिस्तानका खेलाडीसँग खुलेरै कुराकानी गरेका थिए । ‘बाबर आजमले आफ्नो अनुभव सुनाउनु भयो । नेपाली खेलाडीहरुले उहाँसँग जसरी अन्तरक्रिया गर्नुभयो, त्यो निकै सकरात्मक थियो’, व्यवस्थापक मजगैँयाले भने । उनी यो प्रतियोगिता व्यवस्थापनले पनि सिक्ने अवसर बनेको बताए ।
प्रतिक्रिया 4