+
+

सेयर बजारमै लगानी गर्ने हाथवे इन्भेष्टमेन्टको आईपीओ, कम्पनी लगातार नाफामा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १५:२८

२२ भदौ, काठमाडौं । विशिष्टीकृत रुपमा सेयरबजारमै लगानी गर्ने कम्पनीको पहिचान बनाएको हाथवे इन्भेष्टमेन्ट कम्पनी आफैंले प्राथमिक निष्कासन गरिरहेको छ । इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडपछि सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन गर्ने यो तेस्रो इन्भेष्टमेन्ट कम्पनी बनेको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरीसकेको छ । अब दोस्रो चरणमा २१ भदौ सोमबारदेखि सर्वसाधारणलाई आईपीओमा आवेदन माग गरेको हो ।

नेपालमा सार्वजनिक निष्कासन गर्ने कम्पनीले सामान्यतः १ सय रुपैयाँ अंकित मूल्य राख्ने प्रचलन छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमा सोल्टी होटल बाहेक सबै कम्पनीको अंकित मूल्य १०० रुपैयाँ छ भने सोल्टी होटलको प्रतिसेयर अंकित मूल्य १० रुपैयाँ छ । हाथवे इन्भेष्टमेन्टको सेयरको अंकित मूल्य ५० रुपैयाँ प्रतिकित्ता रहेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ ।

त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुला गरेको हो ।

कस्तो कम्पनी हो हाथवे ?

कम्पनीले १४ चैत २०६५ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीले पूँजी बजारको अतिरीक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वः पूँजीको क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।

कम्पनीको हाथवे स्टक डिलर नामको सहायक कम्पनी पनि सञ्चालनमा रहेको छ । उक्त स्टक डिलर १ साउन २०७८ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो कारोबार गर्दै आइरहेको छ । यस कम्पनीले हाल दोस्रो बजारमार्फत सूचीकृत धितोपत्रहरु खरीद तथा बिक्री गर्दै आइरहेको छ ।

कम्पनीको संस्थापक लगानीकर्ता को हुन् ?

कम्पनीको आधारभूत सेयरधनीमा आईएमई समूहमा आबद्ध लगानीकर्ताहरु छन् । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल कम्पनीको संस्थापक सेयरधनीमा छन् । यस्तै आईएमई ग्रुपको विभिन्न व्यवसायमा साझेदार रहेको सेयर लगानीकर्ता अम्बिका पौडेल पनि कम्पनीको आधारभूत सेयरधनी हुन् । हेमराज ढकालसँग मात्रै कम्पनीको ३०.१२ प्रतिशत अर्थात् ६१ लाख ६७ हजार ७६१ कित्ता सेयर रहेको छ । कम्पनीमा अम्बिका पौडेलको ८.६९ प्रतिशत अर्थात् १७ लाख ८० हजार २०० कित्ता सेयर रहेको छ ।

यस्तै कम्पनीको अर्को आधाभूत सेयरधनी निमिषा इन्भेष्टमेन्ट कम्पनी हो । निमिषा इन्भेष्टमेन्टको ५.६५ प्रतिशतले हुने ११ लाख ५७ हजार ८३० कित्ता सेयर छ । निमिषा इन्भेष्टमेन्टको सञ्चालक अञ्जली अर्याल हुन् । कम्पनीमा रुपन्देहीका कुमार पौडेलको २.३० प्रतिशत, काठमाडौंका सुमिति प्रधानको १.२६ प्रतिशत र काठमाडौंकै अम्बिका शर्मा लामिछानेको २.०९ प्रतिशत सेयर हिस्सा रहेको छ ।

यस्तै सुशील अर्यालको १.१८ प्रतिशत, गौरी श्रेष्ठको २.०९ प्रतिशत र प्रभु क्यापिटलको १.२२ प्रतिशत सेयर हिस्सा छ । मनिष ढकालको १.२१ प्रतिशत, लिना विष्टको १.४७ प्रतिशत, गौतमप्रसाद खनालको १.०५ प्रतिशत र शिवकुमार श्रेष्ठको १.६८ प्रतिशत सेयर हिस्सा छ । कम्पनीमा अध्यक्ष योगेश्वर शर्मा ढकालको १.०५ प्रतिशत सेयर हिस्सा छ ।

यस्तै एस. आर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिको २८.०८ प्रतिशत सेयर छ । एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिका सञ्चालकहरुमा धादिङका नवराज नेपाल र उत्तमकुमार नेपाल छन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा योगेश्वर शर्मा ढकाल छन् । सञ्चालक समितिका सदस्यहरुमा निमिष इन्भेष्टमेन्टका प्रतिनिधि सुरजकुमार श्रेष्ठ, कुमार पौडेल र जयराम नेपाल छन् । नेपाल एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिका तर्फबाट सञ्चालक हुन् ।

कम्पनीको व्यवस्थापनको नेतृत्व भने सन्दिप शाहले गरेका छन् । यस्तै सहायक प्रबन्धक तथा कम्पनी सचिव सुधा अर्याल र अनुसन्धान प्रमुख सुधिल श्रेष्ठ छन् । संस्थामा कुल ११ जना कर्मचारी छन् ।

कस्तो छ कम्पनीको अवस्था ?

कम्पनीले प्रकाशित गरेको विवरणपत्र अनुसार कम्पनी सञ्चित नाफामा सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा लेखापरीक्षण भएको वित्तीय विवरणमा कम्पनीको नाफा १९ करोड ५७ लाख ६७ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाा ५६ पैसा र प्रतिसेयर नेतवर्थ ९५ रुपैयाँ ९ पैसा छ । यस्तै कम्पनीको सञ्चित नाफा ३८ करोड १७ लाख ८१ हजार छ । गत आर्थिक वर्ष २०७९/७८० को अपरिस्कृत वित्तीय विवरणमा कम्पनीको सञ्चित नाफा बढेर २७ करोड ९४ लाख ६ हजार र प्रतिसेयर आम्दानी १७ पैसा मात्रै छ । यस्तै प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ ६३ पैसा छ ।

आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको नाफा २ करोड ३४ लाख १ हजार हुँदा प्रतिसेयर नेटवर्थ ६४ रुपैयाँ १३ पैसा र प्रतिसेयर आम्दानी १ रुपैयाँ ४३ पैसा थियो । यस्तै कम्पनीको सञ्चित नाफा ३ करोड २८ लाख १४ हजार रहेको थियो । कोभिडपछि बढेको सेयर बजारले आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सफल भयो । कम्पनीले उक्त आर्थिक वर्षमा ५६ करोड २ लाख ६५ हजार मुनाफा आर्जन गरेको थियो, जसले गर्दा उक्त आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ५५ पैसा पुगेको थियो । साथै सञ्चित नाफा पनि ६३ करोड ६४ लाख ६४ हजार पुगेको विवरणपत्रमा उल्लेख छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ १७ र प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा हुने प्रक्षेपण गरेको छ । साथै सञ्चित नाफा ४४ करोड १३ लाख ८४ हजार पुग्ने कम्पनीको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चित नाफा ६१ करोड ९ लाख ४० हजार पुग्दा कम्पनीको प्रसेयर नेटवर्थ ९९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर आम्दानी ७ रुपैयाँ २४ पैसा हुने प्रक्षेपण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० मा २ करोड ६८ लाख ९ हजार मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेपनि प्रक्षेपण अनुसारको नाफा आर्जन गर्न सकेन । चालु आर्थिक वर्षमा १३ करोड ५१ लाख ६९ हजार र आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ९५ लाख ५६ हजार मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको हो ।

आईपीओबाट संकलित रकम कहाँ लगानी हुन्छ ?

कम्पनीले विवरणपत्रमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न आईपीओ जारी गरेको उल्लेख गरेको छ । सार्वजनिक निष्काशनमार्फत संकलित पूँजीको अधिकतम् सदुपयोग गरी आफ्नो लगानी विस्तार तथा व्यवसायको क्षमता बढाउन आवश्यक पर्ने पूँजीको व्यवस्था गर्नेसमेत कम्पनीले जनाएको छ । कम्पनीले आईपीओबाट संकलन हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँमध्ये ६ करोड जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने कम्पनीहरुमा लगानी गर्ने बताएको छ ।

यस्तै ८ करोड ६२ लाख ५० हजार रुपैयाँ कम्पनीले आर्थिक पूर्वाधार, यातायात तथा सञ्चारसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरमा लगानी गर्ने विवरणपत्रमा उल्लेख गरेको छ ।

सेयर बजारमा लगानी

कम्पनीको लगानीको प्रमुख हिस्सा सेयरमा देखिएको छ । कम्पनीले विवरणपत्रमा प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार २ अर्ब २५ करोड ४० लाखको कुल सम्पत्तीमा कम्पनीले १ अर्ब ७४ करोड ६३ लाख रुपैयाँ सेयरमा लगानी गरेको छ । यस्तै ३१ करोड ६१ लाख ५ हजार अन्य वित्तीय सम्पत्ति छ । कम्पनीले सेयरपूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार र जगेडा कोष ६२ करोड ७१ लाख ९४ हजार छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको दायित्व ४२ करोड ४० लाख ४८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको लगानीमा विविधिकरण भन्दा पनि सेयरमा ठूला लगानी रहेकोले सेयर बजार बढ्दा कम्पनीबाट प्रतिफल आउने र सेयर बजार घट्दा कम्पनीका प्रतिफल पाउने सम्भावना पनि कमजोर देखिन्छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था ईक्रा नेपाल ‘इस्यूअर रेटिङ इक्रा एपी–आईआर त्रिपल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको आईपीओमा लगानी गर्नु मध्यमस्तरको क्रेडिट जोखिम रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?