+
+
Shares
ब्लग :

कोठा र कोटाको बहसलाई क्रिकेटले दिएको जवाफ

खेलकुद र कला यस्तो क्षेत्र हो जहाँ परम्परागत रूपमा संरचनागत लाभ लिएका समुदायहरूलाई थोरै लाभ भएतापनि त्यसमा उत्कृष्टता हासिल गर्ने अवसर विना मिहिनेत, लगन तथा सीप नभई पाइँदैन ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० भदौ २५ गते १३:३४

प्रधानमन्त्री हुनुअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले पत्रकार भुषण दाहाललाई दिएको अन्तर्वार्ताले त्यतिबेला सामाजिक सञ्जालमा खूबै चर्चा कमायो । उक्त अन्तर्वार्ताका केही अंश अहिले पनि फाट्टफुट्ट देख्न पाइन्छ ।

त्यो अन्तर्वार्तामा उनले कटाक्ष गर्दै भनेका छन्, ‘एउटा ८०/९० प्रतिशत अंक ल्याएर पास गर्ने र ५०/६० प्रतिशत अंक ल्याएर पास गर्ने बीच कसरी तुलना गर्न मिल्छ ? धन्न हामीले पौडीखेलमा पनि आरक्षणको व्यवस्था गरेका छैनौं । यदि त्यहाँ आरक्षण दिएको भए कतिको ज्यान जान्थ्यो !’

पछिल्लो पटक उनी प्रधानमन्त्री हुनुभन्दा करीब दुई महिना अगाडि उनको किचन क्याबिनेटमा भएका सबै दलबलका सदस्य सहित काठमाडौंको एउटा पाँचतारे होटलमा नेपालकै प्रबुद्ध ठानिएका करीब १५ जना व्यक्तिहरूसँग उनले दुई घण्टा जति बिताएका थिए । संयोगले त्यो १५ जनाभित्र म पनि परेको थिएँ ।

उनले हामीलाई सम्बोधन गर्ने क्रममा भने, ‘मैले आफ्नो कुनै रोगको शल्यक्रिया गर्नुपर्‍यो भने कुनै पनि हालतमा समावेशी कोटाबाट भएको डाक्टरबाट गराउँदिनँ ।’ तर उनले केही कुरा बिर्सिए । नाम, दाम र काम दिने नेपालको उच्च प्राविधिक शिक्षामा तीन प्रकारका विद्यार्थीको प्रवेश हुन्छ ।

पहिलो चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेका प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने, दोस्रोमा समावेशी कोटाभित्र उत्कृष्ट अंक ल्याउने र तेस्रो केवल पास हुने । पहिलो र दोस्रो तरिकाले पास गर्नेहरू प्रायः सबै छात्रवृत्तिमा पढ्छन् भने अन्त्यको केवल पास मात्रै हुनेले आफ्नै लगानी अर्थात् सेल्फ फाइनान्समा ।

न त केपी ओलीले न त अन्य समावेशी तथा आरक्षण विरोधी जमातले यस्ता सेल्फ फाइनान्स विद्यार्थीको विरोध गर्छन् । उनीहरूले कतिपय अवस्थामा प्रवेश परीक्षा समेत उत्तीर्ण नगरी पछाडिको ढोकाबाट भर्ना भएकाहरूको कहिल्यै विरोध गरेको सुनेको छैन । उनीहरूको योग्यतामाथि कहिल्यै प्रश्न उठ्दैन न त बहस नै हुन्छ ।

माथि उल्लेखित दुइटा अभिव्यक्तिबाट केपी ओली वर्गीय मुक्तिको सिद्धान्तमा विश्वास गर्ने कम्युनिष्ट दर्शनबाट प्रशिक्षित भएता पनि आरक्षण र समावेशी शब्दलाई कति घृणा गर्दा रहेछन् भन्ने थाहा हुन्छ ।

उनकै त्यो विचारलाई अस्त्र बनाउँदै उनकै पालामा लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाको लागि खोलेको साढे ९ हजारको विज्ञापनलाई टुक्र्याएर प्रकाशित गर्‍यो, समावेशी कोटामा दलितले मात्रै करीब ३०० कोटा पाउने अवस्था हुँदाहुँदै टुक्र्याउँदा त्यो १५० मा सीमित भयो ।

यस्तो आरक्षणबाट लाभान्वित अन्य समुदायहरू जसमा महिला, आदिवासी जनजाति, थारू, मधेशी, अपांगता भएका तथा पिछडिएको क्षेत्र समेत पर्दछन् । यसमा महिलावादी बाहेक सबै क्षेत्रले महिनौं आन्दोलन गरे तर त्यसमा सुनुवाइ नै भएन ।

लोकसेवा आयोगका तत्कालीन अध्यक्ष उमेश मैनाली आफ्नो निर्णयमा पुनरावलोकन गर्ने मामिलामा टसमस भएनन् । त्यसमा खस–आर्य समुदायकै महिला सबैभन्दा लाभान्वित भएको महिला कोटा, खसआर्यकै अपांगता भएका व्यक्तिहरू लाभान्वित हुने अपांग कोटा तथा खसआर्यबाटै आउने कर्णाली पिछडिएको क्षेत्रको कोटालाई कटौती गरिछाडे ।

पत्रकार तथा अधिकारकर्मी रूपा सुनारले काठमाडौंमा डेरा पनि नपाई अपमानित समेत भएको समाचार धेरै ठूलो चर्चाको विषय बन्यो । घरधनी केही समय हिरासतमा समेत बस्नुपर्‍यो ।

उनलाई छुटाएर ओली क्याबिनेटकै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो गाडीमा राखेर लगे । जुन काम संविधानको धारा २४ को छुवाछूतको हक तथा छुवाछूत र कसुर सजाय ऐन २०६८ को विरुद्ध थियो ।

यी दुवै संवैधानिक तथा कानुनी प्रावधानले निजी क्षेत्रमा समेत छुवाछूत गर्न नपाइने मात्र भनेको छैन, आशय छुवाछूत समेत गर्न नपाइने भनेको छ । त्यो बेला केही गैरदलित युवाहरूले रूपा सुनार विरुद्ध आक्रोश पनि पोखे र उनीहरूले एउटा ट्रोल नै चलाए— ‘तिमीहरूलाई कोटा पनि चाहिने अनि कोठा पनि, कोटा चाहिने भए कोठा छोड ।’

यहाँ कोठा र कोटाको कुनै सम्बन्ध थिएन, रूपा सुनारलाई ती घरपट्टी महिलाले पहिले जात थाहा नपाउँदा डेरा दिने सहमति गरे पनि जात थाहा पाएपछि बहाना गरेर नदिने सुनाएकी थिइन् । अहिलेका युवा आरक्षणको नीतिले आफ्नो भाग खोसिएको जस्तो सोच्छन् र दलितलाई अपमानित गर्न पछि पर्दैनन् ।

उनीहरूको तर्क हुने गर्दछ- ‘इतिहासको कुनै कालखण्डमा दलित तथा सीमान्तकृत समुदायहरूलाई विभेद भयो होला तर त्यो विभेदको दण्ड अहिलेको पुस्ताले किन तिर्नुपर्ने ?’

तर उनीहरूले के कुरा बिर्सन्छन् भने त्यही जात व्यवस्थाको संरचनागत लाभले गर्दा उनीहरूले राम्रो वातावरणमा पढ्न–लेख्न पाएका हुन् जुन वातावरणबाट दलित तथा सीमान्तकृत समुदाय अहिले पनि वञ्चित छन् ।

माथि उल्लेख गरिएको केपी ओलीले भने झैं धन्न हामीले पौडी खेलमा आरक्षण दिएका छैनौं नत्र कैयौं व्यक्ति डुबेर मर्थे भन्ने कुरा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हेर्दा कस्तो देखिन्छ भन्ने चर्चा गरौं ।

अहिले नेपालका खसआर्य समुदायलाई राज्य संयन्त्रमा पुग्न तथा त्यसलाई विभिन्न बहानामा दोहन गर्नको लागि प्रशस्तै संरचनागत लाभ मिलेको छ । यसलाई मेरिटोक्र्यासी भनिएतापनि त्यो कुनै न कुनै रूपमा गरिएको अप्रत्यक्ष तथा प्रत्यक्ष आरक्षणको परिणाम हो भन्नलाई कुनै रकेट विज्ञान बुझ्नुपर्दैन ।

तर खेलकुद र कला यस्तो क्षेत्र हो जहाँ परम्परागत रूपमा संरचनागत लाभ लिएका समुदायहरूलाई थोरै लाभ भएतापनि त्यसमा उत्कृष्टता हासिल गर्ने अवसर विना मिहिनेत, लगन तथा सीप नभई पाइँदैन । त्यसै कारणले हुनुपर्छ राष्ट्रिय क्रिकेट टिममा दुई जना दलित समुदायका पर्न सफल भएका छन् ।

साँचो अर्थमा भन्ने हो भने विना आरक्षण वा कोटाको सुविधाबाट जुन राष्ट्रिय टिम बनेको छ, त्यसले साँच्चिकै नेपालको भौगोलिक तथा जातीयका साथसाथै धार्मिक विविधताको समेत प्रतिनिधित्व गरेको छ ।

साँचो अर्थमा हामीले खोजेको समावेशी नेपाल त्यही हो जहाँ सबै जात, धर्म, भूगोलका व्यक्तिहरूले आफ्नो नितान्त मिहिनेत, लगन र कौशलका कारण आफ्नो स्थान बनाउन सक्छन् ।

मैले पाकिस्तान विरुद्ध खेल्नको लागि घोषित भएको क्रिकेट टिमको सूची हेरेको थिएँ । त्यसमा खसआर्यलाई प्रतिनिधित्व गर्ने रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, श्याम ढकाल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी छन् भने मधेशीलाई प्रतिनिधित्व गर्ने गुल्शन झा, किशोर महतो र सन्दीप जोरा, मुस्लिमलाई प्रतिनिधित्व गर्ने आसिफ शेख छन् भने दलितलाई प्रतिनिधित्व गर्ने सोमपाल कामी तथा भीम सार्की छन् ।

भूगोलको कुरा गर्ने हो भने पनि कर्णालीलाई छोड्ने हो भने पहाड, मधेश तथा सुदूरपश्चिम मज्जाले अटाएका छन् । यहाँ पनि १७ जनाको टिममा ९ जना अर्थात् ५० प्रतिशत भन्दा बढी खसआर्यबाट आउनु केवल संयोग मात्रै होइन केही संरचनागत लाभको कारणले पनि हो तर बाँकी अन्य भूगोल, धर्म तथा जातबाट आउनु उनीहरूको प्रतिस्पर्धात्मक क्षमताले हो भन्न कन्जुस्याईं गर्नुपर्दैन। गुल्मी ओलीथुमतिरका सोमपाल कामी अहिले क्रिकेटका राष्ट्रिय हिरो भएका छन् ।

पाकिस्तान विरुद्धको खेलमा नेपालले त्यति राम्रो प्रदर्शन गर्न नसके पनि भारत विरुद्धको खेलमा जुन सम्मानजनक प्रस्तुति भयो त्यसले संसारभर रहेका नेपालीहरूको शिर गर्वले उँचो भयो ।

भारतलाई आजकाल क्रिकेटको मक्का मदिना भनिन्छ, किनभने संसारभरका उत्कृष्ट खेलाडीहरू भारतको आईपीएलमा खेल्न लालायित हुन्छन् । त्यसमा पैसा, सम्मान र ख्याति सबै छ ।

भारतका कप्तान विराट कोहलीसँग यति अकुत सम्पत्ति छ कि अहिले उनी आफ्नै निजी जेट विमानमा यात्रा गर्छन्, क्रिकेटको अवकाश पछिको जीवनलाई सुनिश्चित गर्न आफ्नै ब्राण्डको रेस्टुरेन्ट समेत खोलिसके । अन्य खेलाडीहरू पनि मालामाल छन् ।

यस्तो टिमसँग नेपाली टिमले जुन खालको प्रदर्शन गर्‍यो त्यसमा त्यहाँ खेल्ने खेलाडीलाई कुनै जात र धर्मको सीमित परिधिभित्र राखेर कसैले सोचेन । त्यसले हाम्रो राष्ट्रवादलाई समेत प्रवद्र्धन गरेको मान्नैपर्छ ।

यसरी नेपालीको शिर उँचो बनाउने दुई नेपाली क्रिकेटका हस्तीहरू थिए, आरिफ शेख र सोमपाल कामी । आरिफ शेख जसले ओपनरको रूपमा ५८ रन बनाएका थिए भने अलराउण्डर सोमपाल कामीले ४८ रन जोडेका थिए ।

क्रिकेट खेलमा अलराउण्डर हुनु आफैंमा सुखद संयोग हो । भारतीय खेलाडीहरू मार्फत यी राष्ट्रिय हिरोहरू आरिफ सेख, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीहरूलाई प्रशिक्षक मोन्टी देसार्ईको पहलमा मेडल समेत लगाइएको थियो ।

सोमपाल कामीले देशको इज्जत राख्ने कुरामा जुन योगदान गरेका छन् त्यसबाट केपी ओली जस्ता व्यक्तिहरूलाई गतिलो जवाफ मिलेको होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

हामी सांस्कृतिक राष्ट्रवादमा समेत अत्यन्त कमजोर भइरहेको वेलामा खेल राष्ट्रवादको झण्डा नेपालको यो बहुआयामिक समावेशी टोलीले उठाइरहोस्, लाखौं लाख शुभकामना !

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?