२८ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै ठूलो टोली पठाउँदैछ ।
सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६-२३) सम्म हुने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाउने छन् ।
नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी संख्या टुंगो लगाए पनि शिक्षक, म्यानेजर र अन्य अफिसियलको संख्या अझै टुंगिएको छैन ।
हान्झाउमा जाने खेलाडीलाई बिहीबार एक कार्यक्रम गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाइ पनि गरेका छन् ।
एसियन गेम्स उद्घाटन हुने बेला चीन भ्रमणमै रहने प्रचण्ड उद्घाटन समारोहमा पनि सहभागी हुने छन् ।
‘यस पटक नेपालले राम्रो गर्ने विश्वास राख्न सकिन्छ,’ बालुवाटारमा खेलाडीलाई सम्बोधन गर्दै उनले भने, ‘म आफू समेत यस पटक प्रतियोगिता हेर्न र त्यसको उद्घाटन सत्रमा सहभागी हुन चीन भ्रमणमा जाँदैछु । यो मेरो लागि पनि रोमाञ्चक समय हुनेछ ।
टिम खेलमा मात्रै १०५ खेलाडी
एसियाडमा नेपालले सकेसम्म धेरै खेल र खेलाडी सहभागी गराउँदै आएको छ । एसियाड खेल्नका लागि कुनै छनोट चरण पार गर्नुपर्दैन । आफ्नो तयारी र बजेट अनुसार जति खेलाडी पनि सहभागी गराउन पाइन्छ ।
त्यसैले पनि नेपालले सकेसम्म धेरै खेलाडीलाई अवसर दिने नीति अनुसार खेलाडी सहभागी गराउने गरेको छ ।
त्यसै क्रममा यसपटक २९ खेलमा २५३ खेलाडी चीन जान लागेका हुन् ।
नेपालले केही नयाँ खेललाई पनि सहभागी गराउँदै छ । महिला भलिबल, महिला फुटबल, महिला कबड्डी, महिला ह्याण्डबल, पुरुष रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । यस्तै डान्स स्पोर्ट्समा पनि नेपाली खेलाडी सहभागी हुँदैछन् ।
२४ खेलाडी सहभागी गराउने भलिबल (पुरुष र महिला गरी) बाहेक सबैभन्दा धेरै खेलाडी सहभागी गराउनेमा ई-स्पोर्ट्स दोस्रो स्थानमा छ । ई-स्पोर्ट्सका पाँच इभेन्टमा नेपालका २३ खेलाडी सहभागी हुने छन् ।
यसअघि ई-स्पोर्ट्समा ५ खेलाडी मात्र गणना गरेर राखेपले २३४ खेलाडी सहभागी हुने बताए पनि २३ खेलाडी सहभागी हुने भएपछि नेपालबाट सहभागी हुने कुल खेलाडी २५३ पुगेका हुन् ।
पहिलो पटक एसियाड खेल्न लागेको महिला फुटबल टिममा २२ खेलाडी छन् ।
भारोत्तोलनमा यसअघि ४ खेलाडी सहभागी हुने भनिएकोमा अहिले बढेर ५ भएको छ ।
यस बाहेक नेपालबाट आर्चरीमा ४, एथलेटिक्समा ८, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २, फेन्सिङमा ६, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।
सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियन गेम्समा नेपालबाट सबैभन्दा धेरै २०३ खेलाडी सहभागी थिए । त्यसबेला नेपालले २५ खेलमा सहभागिता जनाएको थियो ।
त्यसपछि २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए । अहिले केही खेल थप घट हुँदा खेलाडी संख्या बढेको छ । नेपालबाट टिम खेलमा मात्रै १०५ खेलाडी सहभागी हुँदैछन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको भाषामा यसपालि नेपाली खेलाडीको सहभागिताको साइज राम्रै हो । ‘यसपटक हाम्रो राम्रै साइजमा सहभागिता हुँदैछ । यसलाई ठूलो भन्ने कि सानो भन्ने ?’ श्रेष्ठले बुधबार नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको २८औं स्थापना दिवस र पत्रकार सम्मान कार्यक्रममा भने ।
उनले सहभागिता र नतिजा कुनलाई ध्यान दिने भन्ने विषय मुख्य रहेको बताए ।
२०२२ मै एसियाड हुने तय भए अनुसार हाइपर्फरमेन्स कमिटीको सिफारिस अनुसार नेपालले २३ खेल छानेको थियो ।
तर कोभिड-१९ का कारण अन्तिम समयमा एसियाड स्थगित भएपछि नेपालबाट ई-स्पोर्ट्स, ब्रेकिन (डान्स स्पोर्ट्स), कायकिङ, रग्बी, टेनिस र स्क्वास थप गरिएको हो ।
सहभागिता ठूलो कि पदक ?
ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ एसियाडमा नेपालको सहभागितालाई दुई दृष्टिकोणले हेर्नुपर्ने बताउँछन् ।
उनले रिजल्ट मात्र नभई नेपाल जस्तो देशका लागि सहभागितालाई पनि महत्व दिनु पर्ने बताए । खेलाडीलाई खेलमा टिकाउनकै लागि उनीहरुलाई सहभागी गराउनु पर्ने उनी बताउँछन् । ‘नेपालको खेलकुद क्षेत्रलाई टिकाउनको लागि, हाम्रो खेलाडीलाई खेलमै टिकाउनका लागि पनि सहभागिताको अप्रोचलाई सकरात्मक ढंगले नलिने हो भने गाह्रो छ भन्ने मलाई लाग्छ’, श्रेष्ठ भन्छन् ।
एसियन गेम्स नै नेपालले सहभागिता जनाउने सबैभन्दा ठूलो मञ्च हो । श्रेष्ठले ओलम्पकिमा पुग्नु नेपालका लागि कठिन भएको र साउथ एसियन गेम्सको कुनै टुंगो नहुँदा एसियन गेम्स नै नेपाली खेलाडीलाई सहभागी गराउने उपयुक्त ठाउँ भएको बताए ।
श्रेष्ठ सदस्य सचिव हुँदा सन् २००६ को एसियाडमा ५१ खेलाडी मात्र सहभागी भएका थिए । त्यतिबेला नेपालले तेक्वान्दोबाट ३ कास्य जितेको स्मरण गराउँदै उनले त्यसपछि नेपालले हरेक संस्करणमा एक-एक पदक मात्र जित्न सकेको बताए ।
यसपटक भने जम्बो टोलीबाट केही पदक आउँछ कि भन्नेमा उनी आशावादी छन् । ‘अहिले अलि धेरै होला कि भन्ने आशा गरेका छौं । त्यो हिसाबमा हामी आशावादी छौँ ।’
पदक जित्ने लक्ष्यले तयारी नै गरिँदैन
खेलाडीको बिदाइ कार्यक्रममा नेपाली टिमका सेभ द मिसनसमेत रहेका राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ नेपाललाई संसारसामु आफ्नो स्वभिमानलाई उच्च बनाउनका लागि एउटै मनका साथ, एउटै मुटुका साथ प्रतियोगितामा सहभागी हुने बताए ।
उनले भने, ‘हामी जित्नको लागि जानेछौं । हामी इमान्दार पूर्वक हामी जित्नका लागि जानेछौं । हामी जित्नका लागि खेल्नेछौं ।’

उनले जित्नका लागि खेल्ने भने पनि नेपाल हरेक खेल जित्ने स्थितिमा छैन । एसियन गेम्स होस् वा नेपालले भाग लिने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता, नजिकै आएपछि मात्र तयारी थालिन्छ ।
उदाहरणका लागि गत वर्ष नै एसियाली खेलकुद हुने तयार थियो । जसअनुसार नेपालले खेलाडी छनोट गरेर तयारी पनि थाल्यो । तर एसियाली खेलकुद सरेपछि सबै तयारी रोकियो र फेरि प्रतियोगिता नजिक आएपछि दुई तीन महिनाअघिबाट तयारी थालियो ।
ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ सरकारले समयमै बजेट निकासा नगर्दा समयमै तयारी गर्न नसकिएको स्वीकार गर्छन् । खेलाडीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा श्रेष्ठले भने, ‘बजेट विनियोजन समयमै गर्न सकियो भने, खेलाडीलाई मनोवैज्ञानिक रुपमा ठुक्क भएर आनन्द हुने अवस्था हुन्छ । अहिले पनि विनियोजन त भएको छ । तर ढिला सुस्तीले खेलको तयारीमा असर पार्ने गरेको छ ।’
खेलकुदमा सफल भएका देशले एउटा प्रतियोगिता सकिएको भोलिपल्टैदेखि आगामी प्रतियोगिताको तयारी गर्छन् । अर्थात चार-चार वर्षमा हुने ओलम्पिक तथा एसियाडका लागि उनीहरुको तयारी चार वर्षको हुन्छ, तर हाम्रोमा चार महिनाको ।
श्रेष्ठ भन्छन्, ‘ओलम्पिक हुने ४ वर्ष अगाडिबाट तयारीमा जुट्ने, अर्को एसियन गेम्स हुनु अगाडि अब फर्कने बित्तिकै तयारीमा जुट्ने हो भने हाम्रो खेलाडीले राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने मलाई विश्वास छ ।’

पहिलो एसियाली खेलकुददेखि नै सहभागी हुँदै आएको नेपालले अहिलेसम्म जम्मा २ रजत र २२ काश्य गरेर २४ पदक मात्र जित्न सकेको छ । नेपालले जितेका अधिकांश पदक मार्सल आर्टस गेममा नै आएका छन् । यसपालि पनि राष्ट्रिय खेलकुद परिषद राखेपले तेक्वान्दो, कराते र बक्सिङलाई पदक जित्ने खेलभन्दै प्राथमिकताको सूचीमा राखेको छ ।
दक्षिण एसियाली खेलकुद सागको १० हजार मिटर दौडमा स्वर्ण जितेको सन्तोषीले एसियाडमा पनि पदकको लक्ष्य राखेकी छिन् । इथियोपियामा ६ महिना तयारी गरेर फर्केकी उनले भनिन् ‘पदकको आश गरेको छु । हुन त एसियन क्षेत्र निकै प्रतिस्पर्धी क्षेत्र हो । तर पनि आफ्नो उत्कृष्ट दिएर मेडलको लागि प्रयास गर्ने छु ।’
एसियाडमा सहभागिता नै ठूलो मान्ने खेलाडीले समुहगत खेलमा नेपालले कम्तीमा केही खेल जित्ने, व्यक्तिगत खेलहरुमा नयाँ व्यक्तिगत तथा राष्ट्रिय कीर्तिमान सुधार गर्ने र वरीयता सुधार गर्ने लक्ष्य राखेका छन् । प्रधानमन्त्रीबाट सफलताको शुभकामना पाएका खेलाडीको हौसला बढेको छ । उनीहरु प्रतियोगितामा आफूले सकेको राम्रो गर्ने बताउँछन् ।
‘हाम्रो तयारी त राम्रो भएको छ । हामी हाम्रो वेष्ट दिन्छौं,’ सुटिङ खेलाडी श्लिषा भण्डारीले बिदाइपछि अनलाइनखबरसँग भनिन्, ‘हाम्रो लागि पदक त अलि गाह्रै होला, तर हामी राष्ट्रिय रेकर्डहरु भने सुधार गर्ने प्रयास गर्ने छौं ।’
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
 
                    










 २०८० भदौ  २८ गते २०:२५
                        २०८० भदौ  २८ गते २०:२५                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4