+
+

नेपालमा पहिलो पटक हाइड्रोजनबाट बल्यो चुलो

नेपालमा हाइड्रोजनबाट खाना बनाउने चुल्हो बलेको छ । वैज्ञानिकहरुले यो प्रयोग नेपालमा पहिलो पटक भएको भनी दावी पनि गरेका छन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ ३१ गते २०:४६

३१ भदौ, काठमाडौं । घरमा खाना पकाउने इन्धनको रुपमा हाइड्रोजनको प्रयोग गर्न नेपाल सफल भएको छ । नेपाल, बेलायत र स्वीट्जरल्याण्डका एक दर्जनभन्दा बढी वैज्ञानिकहरुले १८ महिनादेखि गरिरहेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ । नयाँ ढंगबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन इन्धन प्रयोग गरेर ७ मिनेटमा खाजा पकाइएको विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए ।

नेपाल इनर्जी फाउण्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौं विश्वविद्यालय, बेलायतको इनर्जी क्याटलिस्ट कार्यक्रम र लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्वीट्जरल्याण्डको सहयोगमा आइतबार सफल परीक्षण भएको उनको भनाइ छ ।

‘नेपालमा डेढ वर्षदेखि भइरहेको अध्यायनले हाइड्रोजन इन्धनको प्रयोगमा ‘ब्रेक थ्रु’ भएको छ । सम्भवतः हामी पहिलो पटक नेपालमा हाइड्रोजन स्टोभ बनाउन पनि सफल भएका छौं’ थापाले भने, ‘नेपालमा अथाह सम्भावना भएको हाइड्रोजन अब घरमै खाना पकाउने ग्याँसको विकल्पमा प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन अध्ययन सफल भएको छ ।’

डा. थापाकाअनुसार आइतबार विश्वविद्यालयका उपकुलपति र परियोजनाका अधिकारीहरु एवम् दर्जन वैज्ञानिकहरु सहभागी कार्यक्रममा ५ प्याकेट चाउचाउ परीक्षणको रुपमा पकाइएको थियो । हाइड्रोजन इन्धनको चुल्होमा पहिले कराही बसालेर पानी हालिएको थियो भने त्यसमा पछि चाउचाउ राखिएको थियो । उक्त चाउचाउ ७ मिनेटमा पाकेको थापाले बताए ।

‘नेपालमा हाइड्रोजनबाट खाना पकाउन सकिन्न कि भन्ने यसअघिको भाष्य अब बदलिएको छ, यो नयाँ इतिहास हो’ थापा भन्छन्, ‘हाइड्रोजन भान्सामा प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित भयो अब यसको व्यावसायिक मूल्य शृङ्‍खला बनाउन लगानी र थप अनुसन्धानको आवश्यकता छ ।’

नेपालमा ग्रीन हाइड्रोजन ऊर्जालाई घरायसी ऊर्जामा रुपान्तरण गर्न गरिरहेको काम एक कदम अघि बढेको नेपाल इनर्जी फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेले नेपालको भान्सामा हाइड्रोजनबाट खाना पकाउने व्यावसायिक कामका लागि ठूलो खुड्किलो पार भएको बताए ।

‘ग्रीन हाइड्रोजनलाई खाना पकाउने इन्धनमा कसरी लैजान सकिन्छ भन्ने ध्येय थियो’ घिमिरेले अनलाइनखबरसँग भने, ‘हामी पहिलो पटक परीक्षणमा सफल भएका छौं । यसमा केही सुधार र प्रयोग अवश्य गर्नुपर्नेछ । अब यसलाई व्यावसायिक आकार दिन हामीले थप काम अघि बढाउनेछौं ।’

नेपालमा लघु जलविद्युतबाट उत्पादित बिजुली खेर गइरहेको र त्यसलाई उपयोग गरेर फाइदा लिने उद्देश्यले सुरु भएको परियोजना अब व्यावसायिक बनाउने उनले बताए । ‘लघु जलविद्युत् परियोजनाबाट उत्पादन भएर खेर गएको बिजुलीबाट हाइड्रोजन बनाएर उपयोग गर्न हामी डेढ वर्ष देखि काम गरिरहेका थियौं’ व्यवस्थापक घिमिरेले भने, ‘आज चुलो बलेपछि हौसला उच्च भयो ।’

अझै पनि कतिपय उपकरणहरु परीक्षणकै क्रममा रहेको र यसका लागत पनि अझै बताउन नसकिने अवस्थामा रहेको फाउण्डेसनले जनाएको छ । परियोजनामा बेलायती कम्पनी इनर्जी क्याटलिस्ट कार्यक्रमले आर्थिक सहयोग र परियोजनाको नेतृत्व गरेको छ ।

यस्तै, लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्वीट्जरल्याण्डका वैज्ञानिकले चुलो विकासमा प्राविधिक सहयोग गरेको फाउण्डेसनले जनाएको छ । काठमाडौं विश्वविद्यलय उक्त परियोजनाको नलेज पार्टनर हो । समग्र परियोजनामा नेपाली र विदेशी गरेर ५ वटा संस्थाहरु संलग्न रहेको फाउण्डेसनका व्यवस्थापक घिमिरेले जानकारी दिए ।

बागलुङका १५ घरमा हाइड्रोजन परियोजना

आइतबारको प्रयोग सफल भएसँगै फाउण्डेसनले अघि बढाएको बागलुङमा समुदायस्तरमै हाइड्रोजनबाट खाना पकाउने इन्धनको व्यवस्था गर्न कार्यक्रम सुरु गर्न सकिने सम्भावना बढेको घिमिरेले बताए ।

बागलुङको बडिगाडमा रहेको गिरिन्दीखोला लघु जलविद्युत आयोजनाको खेर गइरहेको बिजुली प्रयोग गरेर ग्रीन हाइड्रोजन निकाल्ने कार्यक्रम फाउण्डेसनले अघि सारेको छ । ७५ र ३० किलोवाटका दुई वटा लघु जलविद्युत् परियोजनाको १०५ किलोवाटको विद्युत् परियोजना मार्फत एउटा गाउँका १५ परिवारमा हाइड्रोजन चुल्हो मार्फत खाना पकाउने कार्यक्रम डेढ वर्षभित्रै सम्पन्न गर्न अब काम अघि बढ्ने उनले बताए ।

ती परियोजनाबाट दिउँसो ६० देखि ७० किलोवाट बिजुली खेर जाने गरेको र त्यसलाई स्टोरेज गरेर गाउँबाट खाना पकाउन ग्याँस र दाउरा विस्थापन गरिने घिमिरेले बताए । ‘१५ घर धुरीलाई खाना पकाउने गरी हाइड्रोजन बाल्ने तयारी छ’ उनले थपे, ‘हिउँदमा परियोजना क्षेत्रमा पूर्वाधार बनाउँछौं । १८ महिना भित्रै काम सक्छौं ।’ लघु जलविद्युतबाट उत्पादन भएको हाइड्रोजनलाई सिलिण्डरमा स्टोरेज गरेर गाउँमा वितरण गर्ने फाउण्डेसनले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?