+
+

बीपी साहित्य महोत्सवमा शेखर–शशांक–सुजाताको मन माझामाझ

बीपी कोइरालाको परिवारबाट कांग्रेस राजनीतिलाई निरन्तरता दिइरहेका शेखर, शशांक र सुजातालाई एकठाउँ जुटायो बीपी साहित्य महोत्सवले । पछिल्लो समय एकअर्कासँग टाढिएका यी नेताहरुले बुधबार मन माझामाझ गरे ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० असोज ३ गते २०:५९

३ असोज, काठमाडौं । परिवार र पार्टी एउटै हुँदैमा मन मिल्छ भन्ने कहाँ हुँदो रहेछ र ! नेपाली कांग्रेसका नेताहरु डा.शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालालाई हेर्‍यो भने अधिकांशको मनमा यस्तो प्रश्न उठ्दो रहेछ ।

उनीहरुको बीचमा चिसोपना छ भन्ने बुझ्नलाई पछिल्लो दिनमा पातलिंदै गएको उनीहरुको भेटघाटबाट मात्रै पनि लख काट्न सकिन्छ । अझ विराटनगरमा पिताजी कृष्णप्रसाद कोइरालाले बनाएको, अनि बीपी, मातृका, गिरिजाप्रसादहरु हुर्के–बढेको घरमा हिजोआज बार र पर्खाल लागेका छन् । पर्खाल नाघेर भेटघाट गर्ने माहोल जुटिसकेको थिएन ।

यसैगरी पातलिएको भेट र सम्पर्कबीच आइपुग्यो बीपी साहित्य महोत्सव, जसले कोइराला परिवारका तीन सदस्यलाई एकठाउँ जुटाइदियो । नत्र त १४औं महाधिवेशनयता यी तीन नेतालाई एउटै मञ्चमा समेत विरलै देख्न पाइन्थ्यो ।

११०औं बीपी महोत्सवको अन्तिम सत्रमा ‘परिवारले बुझेका बीपी’ विषयमा बोल्ने क्रममा शेखर, शशांक र सुजाता मञ्चमा भलाकुसारी गरिरहेका थिए ।

परिवारको सदस्यको दृष्टिकोणबाट बीपीप्रतिको निकटता, उनीसँगको संगत, परिवारका सदस्यमा बीपीले गर्ने व्यवहार, बीपीको साहित्यप्रतिको लगाव, पारिवारिक सम्बन्ध सुन्नका लागि लालायित नेता–कार्यकर्ता हलमा भरिभराउ थिए ।

तीन नेताले बाल्यकाल, अध्ययनका लागि बीपीले दिएको प्रेरणा, बीपीका निर्देशनसँगै पछिल्लो अवस्थामा आफूहरु बीचको सम्बन्धका बारेमा बोले ।

कोइराला परिवारका तीन नेताले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्तिमा उनीहरुको मन नमिलेको स्पष्ट देखाउँथे । १४औं महाधिवेशनमा शशांक र सुजाताको कारणले नै आफू पराजित हुनुपरेको गुनासो शेखरले राखे ।

‘१४औं महाधिवेशनमा त उहाँहरुले प्रयास गर्नुभएन । मैले के भन्नुपर्ने हो’ शेखरले भने, ‘कसैले कसैलाई सपोर्ट गर्नुभयो । कसैले कसैलाई सपोर्ट गर्नुभयो । मलाई त सपोर्ट गर्नुभएन ।’ शशांक र सुजाताले एक ठाउँ उभिन्छौं भनेर अहिले भने त्यसका लागि १५औं महाधिवेशन प्रतीक्षा गर्नुपर्ने उनले सुनाए ।

कार्यकर्ताले तपाईंहरु किन एकठाउँमा उभिन नसकेको भनी प्रश्न तेर्स्याएपछि नेता शशांकले भने, ‘हामी एकठाउँमा छौं भनेर मैले मात्रै भनेर हुँदैन । सुजाताले भन्नुपर्‍यो । शेखरदाले भन्नुपर्‍यो ।’ आफू तीन नेताहरु मिल्न नसके पार्टी कसरी मिलाउन सक्छौं भन्दै उनले शेखर–सुजातालाई प्रतिप्रश्न तेर्स्याए ।

शशांक गत महाधिवेशनमा तटस्थ बसेका थिए । सभापति शेरबहादुर देउवा र शेखरतिर नखुलेका उनले खुला केन्द्रीय सदस्यमा निर्वाचन जिते । तत्कालीन समयमा आफूले क्याटलिष्टको भूमिका निर्वाह गरेको कार्यकर्तालाई बताए ।

शशांकले भने, ‘क्याटालिष्ट भनेको तपाईंहरुलाई थाहा छ । यसले दुइटा धातुलाई मिलाउने काम गर्छ ।’ देउवा र शेखरलाई मिलाउन आफूले उत्प्रेरकको भूमिका निर्वाह गरे पनि सम्भव नभएको सुनाए । सभापति उम्मेदवारको आकांक्षामा रहेका शशांकले देशभर घुमेर कार्यकर्ताको सुझाव अनुसार निर्णय लिने सुनाए ।

गत महाधिवेशनमा सुजाता उपसभापतिमा नेता प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरिन् । पराजित भइन् । बीपीले आफ्नो बाबु केशवलाई लेखेको पत्रको मर्मलाई भाइबहिनी शशांक र सुजाताले आत्मसात् नगरेको गुनासो महाधिवेशनको केही समय पछि शेखरले गरेका थिए ।

तीन जना मिल्नुपर्ने चाहना भएको बताएकी सुजाताले कसको पक्षमा खुल्ने सार्वजनिक गरिनन् । ‘तपाईंहरु किन नमिलेको धेरै जनाले भन्नुहुन्छ । तपाईंहरु मिल्नुभएन, पार्टीको यो दुर्दशा भयो भन्ने फोन गरेर धेरैले भन्नुहुन्छ’ सुजाताले भनिन्, ‘यसपटक कोइराला परिवारको एक जनालाई चान्स दिऔं न त सभापति बनाएर । म सहयोग गर्छु ।’

परिवारभित्रको कुरा हुँदै नेता शेखर अलि बढी समय वर्तमानको परिवेशमा फर्किए । आफ्नो पराजयले कांग्रेस कमजोर भएको उनको निचोड थियो । खचाखच भरिएको हलतिर कार्यकर्ताले हेर्दै शेखरले भने, ‘मैले त जति पाउनु हो पाइसकेको छु । दुःख त तपाईंहरुले पाउनुभएको छ नि ।’ पार्टीमा समस्या आउनुमा शशांक र सुजाता कारण रहेको शेखरले दोहोर्‍याए ।

तीन नेताहरुले बीपीसँगको सम्बन्धमा विभिन्न आयाममाथि चर्चा गरे । शेखरले बीपीसँग आफ्नो संगत धेरै हुन नपाएको सुनाए । बाल्यकालमा उपचार गर्न आफू काठमाडौं आएको बेला बीपी अस्पतालमा भेट्न गएको तत्कालीन समय स्मरण गराए । भारतमा पढ्न बसेको बेला भारतीय नेता चन्द्रशेखरले लेखेको पत्र ल्याएर काठमाडौंमा बीपीलाई हस्तान्तरण गरेको सम्झे । बीपीले दलका विभिन्न नेतालाई भेट्न पठाउने गरेको उनले बताए ।

बीपी पुत्र भएकाले स्वाभाविक रुपमा शशांकको स्मरण बढी हुनेभयो । बीपीको व्यक्तित्व आफूले भारतमा दुई कक्षा पढ्दा मात्रै बुझ्न सकेको शशांकले सुनाए । एक दिन शशांकलाई उनका साथीहरुले सोधेछन्, ‘तिम्रो बाबु कहाँ छन् ?’ शशांकले सहपाठीसँग भनेछन्,‘जेलमा हुनुहुन्छ ।’

त्यो सुनेर उनलाई साथीहरुले शशांकलाई ‘ठगको छोरा’ भन्न थालेछन् । त्यो कुरा उनले शिक्षकलाई सुनाए । शिक्षकले शशांकलाई भने, ‘तिम्रो बुबा त तिम्रो अधिकारका लागि जेल पर्नुभएको हो ।’ शशांकले त्यसपछि आफ्नो बाबुको व्यक्तित्व बुझेको सम्झना महोत्सवमा सुनाए ।

बुबा बीपीले आफूलाई पढ्नका लागि सधैं प्रेरित गरेको शशांकले सुनाए । कपडा किनिदिन बुबाले आनाकानी गरेको र भारतबाट काठमाडौं आउन ६० रुपैयाँ भाडा दिएको स्मरण उनले गरे ।

सुजाताले आफूलाई चिठी लेख्दा सुन्दरीजलको कपुरको बोटमुनि बसेर चराचुरुङ्गीको विम्ब दिएको सम्झना सुनाइन् । प्रस्तोता जगत नेपालले सुजाताले बीपीलाई लेखेको पत्रमा मिति विनाको हुने गरेको आफूले अध्ययन गर्दा प्राप्त गरेको सुनाए । बीपीपत्नी सुशीलालाई नृत्य विद्यालय सञ्चालन गर्ने ठूलो धोको भए पनि तत्कालीन पञ्चायत अवरोधक बन्न पुगेको सुजाताले सुनाइन् ।

कोइराला परिवारको पुरानो परम्पराको विषयमा समेत महोत्सवमा चर्चा भयो । कोइराला परिवारका सबै सदस्य बिहान सबेरै एक स्थानमा भेला भएर चिया खाने प्रचलन बीचमा टुटेकोमा शेखरले आफू विराटनगरमा हुँदा त्यसलाई निरन्तरता दिइरहेको सुनाए । परिवारका सदस्यहरु बढेको र कोही कता कोही कता भएको तथा आ–आफ्नो काममा व्यस्त हुनु परेकाले चियाका लागि पारिवारिक जमघट कम हुने गरेको सुजाताले बताइन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?