+

‘मधुमेहमा आलु, चामल र गुलियो खानै नहुने होइन’

२०८० असोज  ५ गते १८:०३ २०८० असोज ५ गते १८:०३
‘मधुमेहमा आलु, चामल र गुलियो खानै नहुने होइन’

काठमाडौं । मधुमेह भएकाले ‘यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन’ भनेको धेरै सुनिन्छ । मधुमेहको समस्या देखिने बित्तिकै बिरामीलाई खानेकुरा बार्नुपर्छ भन्ने चिन्ताले सताउँछ ।

चामल खान हुँदैन, आलु खान हुँदैन, चिनी खान हुँदैन र मैदाबाट बनेको खानेकुरा खान हुँदैन अब खाने चाहिं के त ? यो कुराले बिरामीलाई मानसिक तनाव दिइरहेको हुन्छ । यस्तोमा मधुमेह भएकाले चामल, आलु खानै हुँदैन ? युवाहरूमा मधुमेहको समस्या बढ्नुको कारण के हो ? लगायत विषयमा मधुमेह तथा हार्मोनरोग विशेषज्ञ डा. दीपक मल्लसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :

मधुमेह भएकाले चामल, आलु खानै हुँदैन भन्ने सुनिन्छ । यस्तै हो ?

कुनै चिकित्सकले बिरामीलाई आलु, चामल खाँदै नखाऊ भनेकै हुँदैनन् । मधुमेह नियन्त्रण गर्नका लागि खानासँगै जीवनशैली परिवर्तन गर्नुपर्छ । कुनै दिन थोरै आलु खाँदैमा बिरामीको अवस्था बिग्रिहाल्ने भन्ने हुँदैन । आलु खाएको दिन अरू कार्बोहाइड्रेटयुक्त खानेकुरा नखाने प्रोटिन र फाइबरयुक्त खाना खायो भने ब्यालेन्स मिल्छ ।

मधुमेहको समस्या भएका व्यक्तिले आलु, चामल र गुलियो खानेकुरा खानै नहुने होइन । कहिलेकाहीं थोरै मात्रामा खान मिल्छ । आलु नै आलुले बनेको परिकार खान हुँदैन । एकदमै कम मात्रामा आलु मिसिएको खानेकुरा भने खान मिल्छ । तर सुगर लेभल नापेर खानु राम्रो हुन्छ ।

खानै नहुने कुरा पनि छन् कि ?

मधुमेहका बिरामीले खानै नहुने कुराहरू पनि छन् । खानै नहुने कुरामा चुरोट, जाँड, रक्सी र सुर्ती आदि हुन् । साथै चामल, आलु र गुलियो खानेकुरा त खान मिल्दो रहेछ भनेर दैनिक आलुको परिकार, जेरी रसबरी भने खान हुँदैन, कहिलेकाहीं थोरै मात्रा खान मिल्छ ।

गुलियो खानेकुरा र बाहिरको खानेकुरा खानै हुन्न ?

कुनै चाडपर्व, पारिवारिक जमघटको बेला घरमा गुलिया खानेकुरा बनेका हुन्छन् । त्यो बेला परिवारका अन्य सदस्यले मज्जाले खाने अनि मधुमेहका बिरामीलाई भने यो पनि नखाऊ त्यो पनि नखाऊ भनिन्छ । यस्तोमा बिरामीलाई मैले खान पाइनँ भन्ने चिन्ताले सुगर बढ्छ । त्यसैले कहिलेकाहीं एकदमै थोरै गुलियो खानेकुरा पनि खान मिल्छ ।

घरमा कसैको जन्मदिन मनाएको छ, सबैले केक खाएका छन् भने मधुमेहको समस्या भएका व्यक्तिले पनि एक टुक्रा केक खाएर एक छिन नाचेर र खुसी भएर क्यालोरी खर्च सुगरलाई बढ्न नदिन सक्छन् । तर सबैले केक खाए मैले खान पाइन भन्ने तनाव लिएर सुते भने भोलिपटक झन् सुगर बढ्न सक्छ ।

मधुमेहको समस्या भएका व्यक्तिले घरबाहिर बनेको खानेकुरा पनि बार्नु राम्रो हुन्छ । घरमा पाकेको ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । घरबाहिर बनेको मिठाइ तथा प्याकेट बन्द खानेकुरामा के-के मिसाइएको छ कसरी बनेको छ भन्ने कुरा थाहा हुँदैन । तर घरमै बनेको खानेकुरामा त के-के मिसाइएको छ भन्ने कुरा थाहा हुन्छ र यो खानेकुरा यति मात्रामा खाँदा सुगर बढ्दैन भन्ने कुरा आँकलन गर्न पनि सकिन्छ ।

फलफूल खानै हुन्न ?

मधुमेहका बिरामीले सबैखाले फलफूल खान मिल्छ तर मात्रा भने मिलाउनुपर्छ । तर उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्त्व) भएको फलफूल आँप, केरा, खरबुजा, भुँइकटहर धेरै मात्रामा खाँदा सुगर लेभल बढ्छ । त्यसैले यस्ता फलफूल कम खाँदा बिरामीलाई लाभदायक हुन्छ । फलफूल खानै हुन्न भन्ने चाहिं भ्रम मात्र हो ।

चामलको साटो रोटी खानु लाभदायक हो र ?

मधुमेहका समस्या भएका अधिकांशले चामल वा भात छाडेर रोटी खाने गर्छन् । खानामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने हो । भात र रोटीमा लगभग उत्ति नै सुगर हुन्छ, यसले मधुमेह नियन्त्रण गर्न सहयोग गर्ने होइन ।

भात, रोटी, ढिंडो जे खाए पनि मात्रा मिलाएर थोरै खानुपर्छ । भात नखाने तर एक छाकमा ५-६ वटा रोटी खाँदा मधुमेह नियन्त्रण हुनुको साटो बढ्छ । त्यसैले जे खाए पनि क्यालोरी मापन गरेर खानुपर्छ । भात, रोटी कम खानुपर्छ सागसब्जी सलाद बढी मात्रामा खानुपर्छ ।

खैरो र उसिना चामल त मधुमेहका बिरामीका लागि राम्रो भनिन्छ नि ?

सेतो चामलको तुलनामा खैरो र उसिना चामलको ग्लाइसेमिक इन्डेक्स अलि कम हुन्छ । त्यसैले सेतोको तुलनामा खैरो र उसिना चामल केही मात्रामा राम्रो हो । तर घरमा सेतो चामल मात्र छ खैरो छैन भने सेतो नै खान सकिन्छ कम मात्रामा । खैरो चामल राम्रो हो भनेर धेरै मात्रामा खान मिल्दैन,त्यो पनि  ठिक्क मात्रामा खानुपर्छ ।

दैनिक सुगर लेभल जाँच गर्नु कति जरुरी छ ?

मधुमेहका बिरामीहरूले दैनिक रूपमा आफ्नो सुगर लेभल जाँच गर्ने बानी गर्नुपर्छ । यदि दैनिक सुगर लेभल जाँच गरियो भने नियन्त्रण गर्न सजिलो हुन्छ । सुगर जाँच गर्दा सुगर लेभल बढेको बेला खाना अलि धेरै बार्न सकिन्छ ।

खाना बारेर व्यायाम नगर्दा पनि हुन्छ ?

मधुमेह नियन्त्रण गर्न खाना मात्र बारेर हुँदैन, व्यायाम गर्नैपर्छ । दैनिक ४५ मिनेट फटाफट हिंड्नुपर्छ, हप्तामा पाँच दिन हिंड्नुपर्छ । दुई दिन घरभित्रको काम वा अन्य व्यायाम गर्न सक्छन् । यसो गर्दा मोटोपन नियन्त्रण हुन्छ र मधुमेह पनि ।

मधुमेह भएकाले जीवनशैली परिवर्तन र औषधि खाएर आँखा, मिर्गौला र मुटुको समस्याबाट जोगिन जरुरी छ ।

अहिले २०२२ वर्षको उमेरदेखि नै मधुमेहको समस्या देखिन थालेको छ भनिन्छ नि ?

पछिल्लो समय युवाहरूमा २०-२२ वर्षको उमेरदेखि नै मधुमेहको समस्या देखिने गरेको छ । पहिले मधुमेह भन्ने बित्तिकै ४०–५० वर्ष कटेपछि देखिने रोग भनिन्थ्यो ।

कोरोनाका कारण लकडाउन भएर दुई वर्ष स्कुल बन्द भए । विद्यार्थीहरू स्कुल जान पाएनन् । घरमा एक ठाउँमा बसेर खाने, पढ्ने, सुत्ने गरे । जसले गर्दा मोटोपनको समस्या एकदमै धेरै बढेको छ । यस कारण युवाहरूमा मधुमेहको समस्या बढेको छ ।

युवाहरूमा मधुमेहको समस्या बढ्नुको अर्को कारण वैदेशिक रोजगारी हो । विदेश गएपछि खानपान र वातावरण फरक, परिवारसँगको बिछोड, ऋणको तनाव हुन्छ । त्यसले पनि मधुमेहको समस्या बढेको छ । कति जना त मधुमेह बढेर फर्किएका पनि छन् ।

अल्छीपनको कारण पनि मधुमेह बढेको छ । अहिले घरमै बसेर काम गर्ने, कतै जानु परे सवारी साधनको प्रयोग गर्ने र मोबाइलमा नै खेल खेल्ने आदिको कारण शारीरिक गतिविधि कम छ जसको कारण पनि युवामा मधुमेहको जोखिम बढेको छ ।

पहिले मधुमेहका कारण आँखा, मिर्गौला र मुटुको समस्या लिएर आउनेहरू धेरै थिए । तर अहिले मधुमेहको जाँच गर्न पहुँच छ जसले गर्दा मधुमेहको कारण निम्तने जटिलता भने कम छ ।

जीवनशैली परिवर्तन गरेर औषधि छोड्न सकिन्छ ?

केही म त जाँड, रक्सी, चुरोट केही खाँदिन, मोटो पनि छैन मलाई मधुमेह कसरी भयो भन्दै दुखेसो गर्छन् । तर यी सबै कारणबाहेक वंशाणुगत कारणले पनि मधुमेह हुन सक्छ । कुनै समयमा जस्तो गर्भावस्थामा मधुमेह देखिएको थियो भने पनि मधुमेह हुन सक्छ । मुटु, कोलेस्टेरोल र उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरूमा पनि यो समस्या आउन सक्छ ।

औषधि सुरु गर्‍यो भने जीवनभर खानुपर्छ त्यसैले औषधि नखाने भन्ने बिरामी पनि हुन्छन् । सुरुमा देखिनेबित्तिकै औषधि सुरु गर्नु पर्दैन, जीवनशैली परिवर्तन गरेर पनि मधुमेह नियन्त्रण गर्न सकिन्छ । सुरुमै सुगर लेभल ३०० देखि ४०० छ भने त औषधि सुरु गर्नैपर्छ । औषधिले मधुमेहको कारण हुन सक्ने अन्य जोखिमलाई कम गर्छ । औषधि र जीवनशैली परिवर्तन गरेर सुगरको मात्रा कम भयो भने औषधि छोड्न पनि सकिन्छ ।

औषधि बन्द गरेर फेरि जथाभावी खाने, व्यायाम नगर्ने पुरानै जीवनशैली अपनाउने र चिकित्सकलाई फलोअप नगर्ने हो भने सुगर लेभल बढेर पुन: औषधि खानुपर्ने हुन सक्छ ।

मधुमेह हुनै नदिन के गर्ने ?

मधुमेह हुनै नदिन उचाइअनुसार तौल कायम गर्ने, स्वस्थ खानपानमा ध्यान दिने, धुम्रपान-मद्यपान नगर्ने र दैनिक व्यायाम गर्ने गर्नुपर्छ । साथै तनाव कम लिने, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेसादार खानेकुरा खाने गर्दा मधुमेहको जोखिम कम हुन्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

आलु चामल मधुमेह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय