एक साताकै अन्तरालमा मुगु जिल्लाका दुई जना कलिला किशोरीले आत्महत्या गरे । त्यस्तै, मुगुकै अर्का एक युवा विद्यार्थीले काठमाडौँस्थित आफू बस्ने होस्टेलको कोठाबाट लाइभ भिडियो कल गर्दै आत्महत्या गरेको खबर सार्वजनिक भयो । यी प्रतिनिधिमूलक घटनाले हाम्रो समाजको अनुहारमा एउटा डरलाग्दो ऐना तेर्स्याइदिएका छन् ।
तीन वर्षमै मुगु जिल्लामा मात्र दुई दर्जनभन्दा बढी २० वर्षमुनिका युवायुवतीले आत्महत्या गर्नु सामान्य संयोग होइन । यो हाम्रो सामाजिक संरचना, राज्य संयन्त्र, शिक्षा प्रणाली र सामाजिक चेतनाको सामूहिक असफलताको ज्वलन्त प्रमाण हो ।
हामी यस्ता घटनालाई आवेग, अपरिपक्व प्रेम सम्बन्ध वा व्यक्तिगत कमजोरीको परिणाम भन्दै सामान्यीकरण गरिरहेका छौँ । यसरी एउटा गम्भीर सामाजिक समस्यालाई बेवास्ता गरिरहेका छौँ । जब कुनै युवाले क्यामेराअगाडि जीवन त्याग्छ, जब किशोरीले जीवनको अर्थ बुझ्न नपाउँदै आत्महत्याको बाटो रोज्छिन्, त्यो मृत्यु उनीहरूको मात्र हुँदैन; त्यसले हाम्रो सामाजिक चेतना, नेतृत्व र समग्र प्रणालीको असफलतालाई पनि उजागर गर्छ ।
यस्ता घटनाबारे चर्चा हुँदा समाजका अधिकांश अगुवा र शिक्षित भनिएकाहरू समेत भन्ने गर्छन्, ‘हामीले यति धेरै दुःख सहेर पनि बाँच्यौँ, अहिलेका युवामा धैर्य र सहनशीलता छैन ।’ विगतको समाजमा चरम गरिबी र अभाव थियो होला, तर त्यहाँ एउटा महत्त्वपूर्ण कुरा थियो, जुन आज विस्तारै हराउँदै छ । त्यो हो– सामूहिक आडभरोसा । हिजो मानिसहरू आफ्ना दुःखसुख एकअर्कासँग बाँड्थे । परिश्रम कठिन थियो, तर थकान मेटाउने आत्मीयता पनि थियो ।
आजको परिवेश भने फरक छ । गाउँघर विस्तारै रित्तिँदै छन् भने सहर थप क्रूर बन्दै छन् । दुर्गम गाउँबाट सहर पसेका हुन् वा गाउँमै बसेर ठूला सपना देखिरहेका युवा, उनीहरू सामाजिक अलगावको शिकार भइरहेका छन् । उनीहरूका सपना र लक्ष्य जति ठूला छन्, ती पूरा गर्ने अवसर र संरचनात्मक आधार नेपालमा त्यति नै कमजोर छन् । यही असन्तुलनले उनीहरूलाई गहिरो निराशा र शून्यतातर्फ धकेलिरहेको छ ।
यस्ता घटनापछि अभिभावकलाई दोष दिनुअघि हामीले एउटा कुरा इमानदारीपूर्वक स्वीकार गर्नुपर्छ । हाम्रा गाउँघरका धेरै अभिभावकका लागि डिप्रेसन, एन्जाइटी र मानसिक स्वास्थ्यजस्ता शब्द अझै नौला छन् । छोरी दिनभरि किन बोल्दिनन्, छोरा किन कोठाभित्रै लुकेर बस्छ वा सानोतिनो कुरामा रिसाउँछ भन्ने प्रश्नलाई उनीहरू ‘रिसाएकी होली’, ‘लाज मानेको होला’ भन्दै टारिदिन्छन् । किनभने, यसको वैज्ञानिक व्याख्या र जानकारी उनीहरूसम्म पुगेकै छैन ।
यो अभिभावकको मात्र कमजोरी होइन । यो राज्य संरचना र शिक्षा प्रणालीले वर्षौँदेखि सम्बोधन गर्न नसकेको जानकारी र चेतनाको खाडल हो । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण जिम्मेवारी अभिभावकको काँधमा थोपर्नु अन्यायपूर्ण हुन्छ । यो खाडल पुर्ने जिम्मेवारी राज्य, विद्यालय र समग्र समाजको हो ।
विकासात्मक व्यवहारजन्य स्नायु विज्ञानका अनुसार किशोरावस्था र प्रारम्भिक युवावस्था मस्तिष्कको विकासका दृष्टिले संवेदनशील समय हो । यस उमेरमा निर्णय क्षमता र आवेग नियन्त्रणसँग सम्बन्धित मस्तिष्कको भाग ‘प्रिफ्रन्टल कोर्टेक्स’ पूर्ण रूपमा परिपक्व भइसकेको हुँदैन । अर्कोतर्फ, भावना र डरलाई सञ्चालन गर्ने ‘एमिग्डाला’ तुलनात्मक रूपमा बढी सक्रिय हुन्छ ।
यस्तो अवस्थामा युवाहरूले प्रेम सम्बन्धमा आउने असमझदारी, असफलता वा पारिवारिक मनमुटावजस्ता परिस्थितिलाई अत्यन्त गम्भीर रूपमा लिन सक्छन् । क्षणिक पीडालाई समेत असह्य ठान्ने यस्तो अवस्थालाई मनोविज्ञानमा ‘एक्युट इमोसनल डिस्ट्रेस’ भनिन्छ । यसले संकटको क्षणमा आवेगपूर्ण निर्णय गर्ने जोखिम बढाउन सक्छ।
यस्तो संवेदनशील मनोवैज्ञानिक अवस्थामाथि आजको डिजिटल दुनियाँले थप चुनौती सिर्जना गरेको छ । सामाजिक सञ्जालले युवाको आत्मसम्मानलाई लाइक, भ्युज र कमेन्टसँग जोडिदिएको छ । अरूको देखावटी र फिल्टर गरिएको खुसीसँग आफ्नो वास्तविक जीवन तुलना गर्ने प्रवृत्तिले उनीहरूमा हीनताबोध र निराशा बढाउन सक्छ ।
अर्कोतर्फ, मनोविज्ञानमा ‘वेर्थर इफेक्ट’ वा ‘सुसाइड कन्ट्याजन’ भनेर चिनिने अवधारणाले आत्महत्याका घटनाको असंवेदनशील र सनसनीपूर्ण प्रस्तुतिले जोखिममा रहेका अन्य व्यक्तिमा नकारात्मक प्रभाव पार्न सक्ने देखाउँछ ।
आत्महत्याको समाचार, दृश्य वा विस्तृत विवरणको अनुकरण गर्ने प्रवृत्तिले यस्ता घटनाको जोखिम थप बढाउन सक्छ । हाम्रो समाजमा यस्ता घटनाको समाचार र दृश्यको अनियन्त्रित प्रसारण हुनु गम्भीर चिन्ताको विषय हो ।
दिनानुदिन बढिरहेका यस्ता घटनाप्रति हाम्रो राज्य संयन्त्र आखिर कसरी यति मौन रहन सक्छ ? आर्थिक वृद्धि, उद्योग–व्यवसाय, सेवा प्रवाह, राजनीति र भ्रष्टाचारका विषयमा सक्रिय देखिने सरकारी निकाय, नागरिक समाज र बुद्धिजीवीले युवायुवतीको खस्कँदो मनोविज्ञान र आत्मविश्वासका विषयमा पर्याप्त चासो दिएको देखिँदैन । यो मौनता सामान्य लापरवाही मात्र होइन, राज्य र समाजको संवेदनहीनताको डरलाग्दो संकेत हो ।
आफ्नै बालबालिका र युवाको मनभित्र चलिरहेको आँधी र पीडालाई बेवास्ता गरेर हामी कस्तो समृद्धिको जग बसाल्दै छौँ ? के जीवन र संवेदना नै नभएको कङ्क्रिटको सहरलाई हामीले समृद्धिको गन्तव्य मानेका हौँ?
मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटनाको जोखिम न्यूनीकरण गर्न तत्कालै नयाँ संरचना वा ठूलो जनशक्ति आवश्यक नहुन सक्छ । हाम्रै विद्यमान संरचनाबाट पनि प्रभावकारी पहल गर्न सकिन्छ । हरेक वडा र बस्तीमा परिचालित महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्यकर्मी समुदायले वर्षौँदेखि चिनेका र विश्वास गरेका व्यक्ति हुन् ।
उनीहरूलाई मानसिक तनावका प्रारम्भिक लक्षण कसरी पहिचान गर्ने र गम्भीर निराशामा रहेका व्यक्तिसँग कसरी संवाद गर्ने भन्ने विषयमा छोटो तथा व्यावहारिक तालिम दिन सकिन्छ । आवश्यक परे सम्बन्धित स्वास्थ्य संस्था वा विशेषज्ञकहाँ कसरी पठाउने भन्ने जानकारीसमेत दिन सकिन्छ ।
यसो गर्न सके उनीहरू मानसिक स्वास्थ्य सेवाको पहिलो सम्पर्कविन्दु बन्न सक्छन् । कसैको कुरा ध्यानपूर्वक सुनिदिने, भरोसा दिलाउने र आवश्यक सहयोगसँग जोड्ने सानो प्रयासले पनि संकटमा परेको व्यक्तिको जीवन जोगाउन मद्दत गर्न सक्छ ।
प्रहरी प्रशासनको भूमिका पनि प्रायः घटना भइसकेपछि मात्र देखिने गरेको छ । घटनापछि मुचुल्का उठाउने, साक्षीको हस्ताक्षर गराउने र पोस्टमार्टमको प्रक्रिया पूरा गर्ने काममा मात्र सीमित हुनु पर्याप्त हुँदैन । मुगुजस्तो कम जनसंख्या भएको र भौगोलिक रूपमा विकट जिल्लामा अस्वाभाविक रूपमा आत्महत्याका घटना शृङ्खलाबद्ध रूपमा भइरहनु राज्यका लागि गम्भीर अनुसन्धानको विषय बन्नुपर्छ । किन युवायुवती बाँच्नुभन्दा मर्नुलाई सहज ठानिरहेका छन् भन्ने विषयमा समाजशास्त्रीय अध्ययन र सार्वजनिक बहस आवश्यक छ ।
त्यस्तै, बजारमा सहजै बिक्री भइरहेका घातक विषादीको नियन्त्रणमा पनि ध्यान दिनुपर्छ । विषादी बिक्री गर्दा खरिदकर्ताको सामान्य अभिलेख राख्ने, खरिदको प्रयोजन खुलाउने र अत्यन्त घातक विषादीलाई सर्वसाधारणको सहज पहुँचबाट टाढा राख्ने व्यवस्था गर्न सकिन्छ ।
यस्ता प्रशासनिक उपायले आत्महत्याको जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । किनभने, संकट र आवेगको क्षणमा घातक साधनमा सहज पहुँच नहुँदा व्यक्तिले आफ्नो निर्णय बदल्ने अवसर पाउन सक्छ । आत्महत्या रोकथामका विश्वव्यापी जनस्वास्थ्य अभ्यासले पनि घातक साधनमा पहुँच सीमित गर्नुलाई प्रभावकारी उपाय मानेका छन् ।
हाम्रा विद्यालय र समग्र शिक्षा प्रणाली पनि यो समस्याबाट अलग छैनन् । विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान र करिअर निर्माणका लागि मात्र तयार पार्ने होइन, जीवनका कठिन परिस्थितिसँग जुध्न सक्ने बनाउनु पनि उत्तिकै आवश्यक छ । असफलतालाई कसरी स्वीकार गर्ने, तनावसँग कसरी जुध्ने, भावनालाई कसरी व्यक्त गर्ने र संकटमा पर्दा कसरी सहयोग माग्ने भन्ने जीवनोपयोगी सीप सिकाउने अभ्यास विद्यालयमा पर्याप्त देखिँदैन ।
शिक्षक र अभिभावकले पनि बालबालिकाको व्यवहारमा देखिने परिवर्तन, निराशा, शून्यता र एक्लोपनलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ । विद्यालयको पाठ्यक्रमले केवल करिअर निर्माणमा जोड दिएर पुग्दैन । मानसिक स्वास्थ्य, भावनात्मक सबलता र जीवनोपयोगी सीपलाई पनि शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्छ । शिक्षाको बृहत्तर उद्देश्य बालबालिकालाई जीवन जिउन सिकाउनु हो, जीवनबाट भाग्न बाध्य बनाउनु होइन ।
अर्कोतर्फ, सञ्चारमाध्यम र सामाजिक सञ्जालका प्रयोगकर्ताको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । कुनै समाचारको शीर्षक लेख्दा वा सामाजिक सञ्जालमा भिडियो साझा गर्दा हामी सबैले आफूलाई एउटा प्रश्न सोध्नुपर्छ, ‘के म कसैको जीवनको सबैभन्दा पीडादायी क्षणलाई सस्तो क्लिक र भ्युजको व्यापारमा बदल्दै त छैन?’
विश्व स्वास्थ्य संगठनले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणका लागि सुझाएका आधारभूत अभ्यास पालना गर्न कुनै विशेष प्राविधिक ज्ञान आवश्यक पर्दैन । आत्महत्याको तरिका र स्थानको विस्तृत विवरण नदिने, मृत शरीर वा शोकाकुल आफन्तका तस्बिर तथा भिडियो प्रयोग नगर्ने, आत्महत्यालाई एउटै कारणसँग जोडेर सरलीकरण नगर्ने र समाचारमा सहयोग उपलब्ध हुने सेवा तथा सम्पर्क विवरण समावेश गर्ने अभ्यास अपनाउन सकिन्छ ।
यस्ता सामान्य सम्पादकीय अभ्यासले पनि जोखिममा रहेका व्यक्तिलाई नकारात्मक प्रभावबाट जोगाउन मद्दत गर्न सक्छन् । त्यसैले स्मार्टफोन प्रयोग गर्ने सामान्य नागरिकदेखि सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व र सञ्चारकर्मीसम्म सबैले जिम्मेवारी बोध गर्न जरुरी छ । कसैको मृत्यु वा पीडादायी अवस्थाको भिडियो र तस्बिरमा ‘सेयर’ बटन थिच्नुअघि एकछिन रोकिनु नै डिजिटल युगको महत्त्वपूर्ण सामाजिक जवाफदेहिता हो । त्यो एक क्षणको विवेकले हाम्रो मर्दै गएको मानवीय संवेदनालाई पनि जोगाउन सक्छ ।
अन्त्यमा, हाम्रा बालबालिका जीवनबाट हार मानिरहेका छैनन्, बरु उनीहरू समाज र प्रणालीबाट निराश भइरहेका छन् । उनीहरूलाई आफूले भोगिरहेको पीडाबाट बाहिर निस्कने बाटो देखाउन र आवश्यक सहयोग उपलब्ध गराउन हामी असफल भइरहेका छौँ । एकछिन रोकिएर सोचौँ, तपाईं–हाम्रै छिमेक, कक्षाकोठा वा घरमा कोही व्यक्ति यस्तै मौन पीडासँग एक्लै जुधिरहेको त छैन?
आज पनि जनप्रतिनिधि, शिक्षक, प्रहरी, अभिभावक र नागरिक समाज मूकदर्शक बनिरहने हो भने भोलि यस्ता घटनाको पीडाले हाम्रै घरपरिवारलाई पनि छुन सक्छ । यो कुनै एक व्यक्तिको मृत्युको विषय मात्र होइन, हाम्रो सिंगो समाजको परीक्षा हो । र, हामी यसमा नराम्ररी असफल भइरहेका छौँ । तर परीक्षा अझै सकिएको छैन । यसको नतिजा बदल्ने अवसर हामीसँग अझै छ ।
तपाईं वा तपाईंको वरपर कोही व्यक्ति चरम निराशा, एक्लोपन वा आत्महत्याको सोचबाट गुज्रिरहेको छ भने उसलाई एक्लै नछाड्नुहोस् । उसको कुरा ध्यानपूर्वक सुन्नुहोस् र विश्वासिलो व्यक्ति तथा स्वास्थ्यकर्मीको सहयोग लिन प्रेरित गर्नुहोस् । आत्महत्याको सोच संकटको अवस्थामा उत्पन्न हुन सक्छ, तर उचित सहयोग र उपचारबाट त्यसलाई सम्बोधन गर्न सकिन्छ । तत्काल जोखिम देखिएमा नजिकको अस्पताल वा आपत्कालीन सेवामा सम्पर्क गर्नुहोस् । मानसिक स्वास्थ्यसम्बन्धी हेल्पलाइन तथा पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र नेपाल प्रहरीका सम्बन्धित सेवाबाट पनि सहयोग लिन सकिन्छ ।
हाम्रो सानो पहलले कसैको जीवन, एउटा परिवारको खुसी र समाजको महत्त्वपूर्ण अङ्ग जोगाउन सक्छ ।
प्रतिक्रिया 4