+
+

बिथोलियो ब्रोइलर कुखुरा उत्पादन चक्र

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असोज १० गते १९:१०

१० असोज, काठमाडौं । नुवाकोट विदुरका प्रेम कुमाल आफ्नो घर छेउँको बारीमा खोर बनाएर ब्रोइलर कुखुरा पालन गर्थे । पछिल्लो चार वर्षदेखि यो व्यवसायमा रहेका उनलाई प्रत्येक छिमलमा आउने कुखुरा बिक्रीबाट राम्रै लाभ थियो । घर परिवारको खर्च र बालबच्चाको पढाइ यही व्यवसायबाट धानिरहेका प्रेम व्यापार खस्किँदै गएपछि तीन महिना अघि कतार उडे ।

‘कुखुराको मासुको मूल्य घट्न थाल्यो । दानाको मूल्य आकासियो । बजारमा मासु बिक्न छाड्यो भन्नुहुन्थ्यो,’ प्रेमका भाइले अनलाइनखबरसँग भने, ‘गुनासो गर्दागर्दै उहाँले चल्ला हाल्न छाड्नु भयो । फर्म बन्द गर्नुभयो । अहिले त विदेश नै हिँड्नु भयो ।’

काठमाडौं, गोकर्णेश्वरका अञ्जन घिमिरेले पनि बर्डफ्लुका कारण २०७९ सालमा ठूलो क्षति भोगे । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीमा १० हजार कुखुरा पालेका उनी झण्डै ४ करोड रुपैयाँ बराबरको कुखुरा व्यवसायका मालिक थिए ।

जेठमा केही दिनकै फरकमा उनका २ हजार ३०० कुखुरा फार्ममै मरे । २५ जेठमा बर्ड फ्लु देखियो । त्यसपछि आएको सरकारी टोलीले फार्मका बाँकी ७ हजार ६२५ वटा कुखुरा नष्ट गरेको थियो । उनले आफ्नो क्षतिको राहतका लागि सरकारका धेरै निकाय धाए । उनले व्यवसाय गर्न लिएको ऋणको लिलामी निस्कियो तर सरकारले राहत दिएन । उनी कुखुरा व्यवसायकै कारण समस्यामा परे ।

केही वर्ष अघिदेखि धमाधम समस्यामा परेका कुखुरा किसान र व्यवसायीहरुका प्रतिनिधि कथाहरु मात्रै हुन् यी । अहिले किसानले व्यवसायबाट हात धुनु परेपछि हरेक दिन यो क्षेत्रको उत्पादन र मूल्य शृंखलाको समस्या मात्रै बाँकी छन् ।

असोज ६ गते शनिबार कुखुराको मासुको मूल्य लगातार दुई साता अवधिमा चौथो पटक बढ्यो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार बजारमा माग अनुसारको कुखुरा उत्पादन हुन नसक्दा मासुको मूल्य बढ्न पुग्यो । संघले ६ असोजमा ब्रोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्य २९० रुपैयाँ प्रतिकिलो तोकेको छ ।

यो मूल्य पछि अब ब्रोइलरको तयारी मासुको मूल्य कम्तीमा ४०० रुपैयाँ प्रतिकिलोदेखि अधिकतम् ४४० रुपैयाँसम्म पुगेको संघका अध्यक्ष जंगबहादुर बिसी बताउँछन् । उनकाअनुसार गत असार २५ मा ३१० रुपैयाँसम्म पुगेको कुखुराको कोल्डस्टोर खरिद मूल्य पुनः घटेर अहिले बढेको हो । बजारमा उत्पादन ह्रास भइरहेको र मासुको माग बढीरहेका कारण अझै समस्या आइरहेको अध्यक्ष बिसीको भनाइ छ ।

संघका सचिव वेदकुमार गिरीकाअनुसार भदौ २४ गते किलोमा १० रुपैयाँले बढेर २६० रुपैयाँ प्रतिकिलो पुगेको कुखुराको कोल्ड स्टोर खरिद मूल्य शनिवारसम्म चौथो पटक बढेर २९० रुपैयाँ कायम भएको छ । मासुको मूल्य अझै बढ्न सक्ने व्यवसायीहरु दाबी गर्छन् ।

बजारको माग

राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालका १७ लाख ९९ हजार किसानका घरमा ४ करोड ५१ लाख १८ हजार कुखुरा छन् । कुल कुखुराको संख्या मध्ये ५५ प्रतिशत उन्नत जातको गिरीराज, लेयर्स र ब्रोइलर छन् ।

२०६८ सालमा नेपालमा कुखुरा पालन गर्ने किसानको संख्या १८ लाख ९ हजार मात्रै थियो । विगत १० वर्षमा कुखुरा पालन गर्ने सख्या थोरैले घटे पनि कुखुराको उत्पादन भने दुई गुणाले बढेको छ ।

त्यसमध्ये पनि केन्द्रीय राजधानी रहेको बागमती प्रदेशमा सबैभन्दा धेरै कुखुरा पालन गरिएको छ । त्यसमा पनि काठमाडौं जिल्ला कुखुरा पालनका लागि पहिलो नम्बरमा छ ।

धेरै कुखुरा पाल्ने काठमाडौं सहित देशैभरको मागको तथ्याङ्क भने सरकारसँग छैन । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको तथ्याङ्कअनुसार नेपालमा अहिले दैनिक ७ लाख किलो कुखुराको मासुको खपत हुन्छ । त्यसमा पनि उपत्यकामा मात्रै ३ लाख किलो मासुको दैनिक खपत छ ।

अण्डाको मूल्य पनि उकालो

चैत २०७९ देखियता अण्डाको प्रतिगोटा मूल्य औसत १५ रुपैयाँ हाराहारी थियो । तर, १४ असारमा चितवनको संघले अण्डाको मूल्य प्रतिगोटामा २ रुपैयाँले बढाएर १७ रुपैयाँ तोकेको थियो । २ भदौमा पुनः संघले पुरानै मूल्य सार्वजनिक गरेको थियो ।

अहिले काठमाडौं उपत्यका लगायतका खुद्रा बजारमा प्रतिगोटा अण्डा २१ रुपैयाँमा बिक्री भइरहेको छ । केही दिन अघिसम्म ४८० रुपैयाँ प्रतिक्रेटमा पाइने अण्डाको मूल्य काठमाडौंको संघले नयाँ मूल्य तोकिदिएपछि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

‘अहिले उपभोक्तालाई बिक्री गर्दा प्रतिगोटा अण्डाको मूल्य २१ रुपैयाँ पर्छ,’ एक व्यापारीले भने, ‘यसअघि अण्डाको उपभोक्ता मूल्य १७ रुपैयाँ मात्रै थियो ।’

कहाँ हो संकट ?

बजारमा कुखुराको मासु र अण्डाको मूल्य सम्बन्धमा देखिएको समस्या पछिल्लो ४ वर्षदेखिको संकटको कारण भएको व्यवसायीहरुको दाबी छ । कोभिड महामारी र पोष्ट कोभिड एवम् आर्थिक मन्दीका कारण समग्र कुखुरा व्यवसाय क्षेत्र समस्यामा परेको र त्यसको असर अहिले बजारमा देखिन थालेको ह्याचरी (कुखुराको चल्ला उत्पादक) व्यवसायी टीकाराम पोखरेल बताउँछन् ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्षसमेत रहेका उनी कोभिड महामारी पछिको आर्थिक मन्दीको चपेटामा यस क्षेत्र परेको दाबी गर्छन् । तीन वर्ष अघिसम्म ३४० वटा रहेको देशभरका ह्याचरी उद्योग अहिले १२० वटामा सीमित भएको पोखरेल बताउँछन् । ‘देशभरका २२० बढी ह्याचरी बन्द भए, व्यवसायी पलायन भए,’ पोखरेल भन्छन्, ‘चल्ला उत्पादन पनि आधा बढीले घटेको छ । चल्ला उत्पादक र चल्ला नै कम भएपछि साना किसान त यो पेशामा रहने कुरै भएन ।’

एक सातामा करिब ५५ लाख गोटा चल्ला उत्पादन हुनेमा अहिले यस्तो उत्पादन २० लाखमा सीमित भएको संघले जनाएको छ । अध्यक्ष पोखरेल एक खर्ब ६० अर्ब लगानीको पोल्ट्री क्षेत्र र यसमा आश्रित ५ लाख जनाको रोजगारीमा धक्का परेको छ । व्यवसायबाट हात धोएर ठूलो संख्या निस्किएपछि बाँकी रहेको व्यवसायीको ब्यापार केही राम्रो देखिए पनि यसको दिगोपन र निरन्तरतामा आशंका रहेका संघ बताउँछ ।

कुखरा व्यवसायमा लामो समय बिताएका व्यवसायी हरिकृष्ण रावल आर्थिक संकटका कारण यस क्षेत्रको लगानी र जनशक्ति पलायन भएको बताउँछन् । कोभिडका कारण हल्लिएको बजारमा आर्थिक संकटले गाँज्दा लगानी पलायन भएको उनी बताउँछन् । ‘ह्याचरी र साना किसान एकैपटक पलायन भए,’ रावल भन्छन्, ‘न सरकारको उनीहरुलाई रोक्ने नीति भयो । नत उनीहरुको लगानी सुरक्षा गर्ने बजारको माग नै रह्यो ।’

साना किसान पलायन

कोभिडले समस्यामा परेको यस क्षेत्रलाई आर्थिक संकटका कारण थप धरासायी बनाएको कृषि तथा पशुपंछी विकास मन्त्रालयका अन्तर्गतको पशुसेवा विभागको बुझाइ छ । विभागका महानिर्देशक डा. उमेश दाहाल खपत, उत्पादन र मूल्यका शृखंलामा अहिले विचलन देखिएको बताउँछन् ।

आर्थिक संकटका कारण ठूला उद्योगीले केही हदसम्म आफूलाई थेग्न सके पनि साना किसान भने पलायन नै भएको पाइएको र यसको स्वतन्त्र अध्ययन भने भइनसकेको विभागको भनाइ छ । ‘ठूला किसान व्यवसायिक रुपमा बलियो भएको तर साना किसान व्यवसायिक हुन नपाउँदै यो क्षेत्रबाटै पलायन भएको पाइयो,’ महानिर्देशक दाहाल भन्छन्, ‘यसमा केही न केही हात बजार र उत्पादकको बीचमा रहने अर्को वर्गको पनि हुनसक्छ । उनीहरु मोटाए, तुलनात्मक लाभ किसानलाई कम भयो ।’

विभागले साना किसानहरु पलायन हुनुमा विभिन्न समयमा देखिएको पंछीजन्य संक्रामक रोग र त्यसको राहत तथा उपचार किसानले बेलैमा नपाउनु पनि एक कारण रहेको जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?