+
+

अमेरिकाले संगीतलाई कूटनीतिको माध्यमको रुपमा उपयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १३:०६
संगीत कूटनीति अभियानको घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन

काठमाडौं । अमेरिकाले शान्ति र लोकतन्त्र प्रवर्द्धनमार्फत विदेश नीतिलाई सघाउन संगीतलाई कूटनीतिको माध्यमको रुपमा प्रयोग गर्ने भएको छ । विदेश मन्त्रालयमा आयोजित समारोहमा विदेशमन्त्री एन्टोनी ब्लिंकनले विश्व कूटनीतिका लागि सांगीतिक पहल अभियानको घोषणा गरे ।

वृहत्तर अमेरिकी विदेश नीतिका लक्ष्यलाई हासिल गर्न संगीत कूटनीति प्रभावकारी माध्यम हुने विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । उक्त अभियानले आर्थिक उन्नति र रचनात्मक अर्थतन्त्रलाई विस्तार गर्ने, सामाजिक अवसर र समावेशीकरण सुनिश्चित गर्ने, शिक्षामा पहुँच बढाउन सांगीतिक इको–सिस्टम सिर्जना गर्न सार्वजनिक–निजी साझेदारीको लाभ उठाउने लक्ष्य राखेको छ ।

संसारभरका मान्छेसँग सम्पर्क स्थापित गर्न र पहुँच बढाउन संगीत कूटनीति महत्वपूर्ण हुने आशा अमेरिकाले लिएको छ । ‘संगीत र कूटनीतिको संयोजन गर्ने आजको रातको अवसरलाई मैले गुमाउन सकिनँ । नयाँ विश्व संगीत कूटनीतिक पहलको शुभारम्भ गर्न पाउँदा खुसी लाग्यो,’ विदेशमन्त्री ब्लिंकेनले ट्वीट गरेका छन् ।

उक्त अभियानको घोषणा गर्न विदेशमन्त्री ब्लिंकेनले गितार बजाउँदै स्टेजमा सांगीतिक प्रस्तुति दिएका थिए । उक्त अवसरमा विदेशमन्त्रीले अमेरिकन म्युजिक मेन्टरसिप प्रोग्राम, कला र विज्ञानमा फुलब्राइट केनेडी अवार्डको घोषणा गर्दै अमेरिकी म्युजिक र रचनालाई अंग्रेजी भाषा सिकाइने संसारभरका कक्षाकोठामा पुर्‍याइने समेत उल्लेख गरेका छन् ।

संगीत कूटनीतिको उक्त कार्यक्रम घोषणाको अवसरमा बाइडेन–ह्यारिस प्रशासनका अधिकारीहरु, दुवै संसदका सांसद, संगीत उद्योगका हस्ती, संगीत कूटनीति डिपार्टमेन्टका अधिकारी पनि उक्त अवसरमा सहभागी रहे । उक्त अवसरमा अमेरिकी र अन्तर्राष्ट्रिय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

अमेरिकाले घोषणा गरेको म्युजिक मेन्टरसिप प्रोग्राम अन्तर्गत संगीतमा भविष्य बनाउन खोजिरहेका प्रतिभाले आवेदन दिन सक्नेछन् । यो कार्यक्रमअन्तर्गत ती प्रतिभाले मेन्टरसिप र नेटवर्किङको अवसर पाउनेछन् । सन् २०२४ को फल सिजनमा पहिलो अमेरिकी म्युजिक मेन्टरसिप कार्यक्रम हुँदैछ ।

अमेरिकी शैक्षिक कार्यक्रम फुलब्राइटसँगको सहकार्यमा केनेडी सेन्टरले विदेशी अध्येतालाई पर्फमिङ आर्ट्स अध्ययनका लागि नयाँ फेलोसिप सिर्जना गर्ने जनाएको छ । संगीत, नृत्य र नाटक विधालाई समेटेर घोषणा हुने अवार्डको आयोजना सन् २०२३ को फल सिजनमा हुनेछ । २०२४ देखि २०२५ सम्म केनेडी सेन्टरले पहिलो स्कोलरको होस्ट गर्नेछ ।

विदेशमा अंग्रेजी भाषा सिकाइको रणनीतिक महत्वलाई मान्यता दिंदै अमेरिकाले विशेषगरी युवा र सेवाविहीन समुदायका लागि अंग्रेजी भाषामा पहुँच प्रदान गर्न पाठ्यक्रम र छात्रवृत्तिमार्फत अंग्रेजी-भाषा सिकाइमा हालको ४० मिलियन डलरको डलरको उक्त कार्यक्रममा संगीत पनि समावेश गर्नेछ ।

अमेरिकाले संगीत राजदूतहरुलाई मध्यपूर्व र चीनको भ्रमणमा समेत पठाउने जनाएको छ । १० अमेरिकी ब्याण्डले अक्टोबरदेखि ३० देशको भ्रमण गर्नेछन् । अन्तर्राष्ट्रिय कलाकारलाई अमेरिकामा बोलाएर द्वन्द्व रुपान्तरणबारे सिकाइने भएको छ । नोभेम्बरमा ६० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको उपस्थितिमा भर्चुअल संगीत सम्मेलन गर्ने समेत अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?