 
																			१४ असोज, पोखरा । नेकपा एमालेको पहिलो गण्डकी प्रदेश अधिवेशन सोमबारबाट पोखरामा हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनको तयारीबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
प्रदेश अध्यक्ष नवराज शर्माले निर्वाचन हुने स्थिति भए मेसिनबाट मतदान हुने र १७ गतेसम्म नतिजा आइसक्ने जानकारी दिए । ‘१ हजार जनाभन्दा बढीलाई पोखरामा राखेर ढिलो गर्दा बढी खर्चालु पनि हुन्छ । मेसिनबाटै भोटिङ गर्ने भएकाले सकेसम्म १७ गते साँझसम्म रिजल्ट आउन सक्छ’, उनले भने ।
गण्डकी प्रदेश अधिवेशनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै छ । पत्रकार सम्मेलनमा पनि गुरुङ र अधिकारीबीचको टकराव प्रष्ट देखिन्थ्यो । सम्मेलनमा पत्रकारले प्रश्न गरे, ‘अहिलेसम्मको स्थिति हेर्दा चुनाव हुने करिब निश्चितजस्तै देखियो । केन्द्रीय नेतृत्वले प्यानलअनुसार नै चुनाव हुने देखेको हो ?’
जवाफमा गण्डकी प्रदेश इन्चार्जसमेत रहेका पार्टी सचिव गोकर्ण विष्टले पनि नकार्न सकेनन्, बरु आन्तरिक लोकतन्त्र र जनवादलाई स्थापित गर्ने पार्टी भएकाले त्यसलाई अन्यथा नबुझ्न आग्रह गरे ।
‘हाम्रो पार्टी नै त्यस्तो पार्टी हो, जसले पार्टीभित्र आन्तरिक जनवादलाई सबैभन्दा पहिले स्थापित गर्यो । पार्टीको जीवनमा आन्तरिक लोकतन्त्रलाई, जनवादलाई संस्थागत गर्ने हिसाबले नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छ’, विष्टले भने, ‘त्यसकारण कतिपय प्रदेशमा भएका निर्वाचनका आधारमा पार्टीभित्र भयानक समस्या आए कि भनेर ठान्नुहुँदैन ।’
तर, अन्तिम समयसम्म आकांक्षीबीच सहमतिकै आधारमा नेतृत्व चयन गर्ने विषयमा छलफल चलिरहेको विष्टले जानकारी दिए । ‘अन्तिम अवस्थासम्म इन्चार्जको नाताले यसको लागि प्रयत्न गर्नेछु’, उनले भने, ‘…कमरेडहरुका भावना, कमरेडहरुका सुझावहरुलाई सुन्ने पनि छौं । हामीले अधिकतम भन्दा अधिकतम अन्तिम अवस्थासम्म प्रयास गर्नेछौं ।’
प्रतिस्पर्धा नै भए पनि प्यानल नै खडा गरेर प्रतिस्पर्धामा जाने स्थिति भने आफूहरुले बन्न नदिने विष्टको भनाइ छ । ‘त्यो छुट रहँदैन । हामीले कदापि प्यानल खडा गरेर जाने स्थितिलाई आँखा चिम्लेर बस्ने अवस्था रहँदैन’, उनले भने ।
विष्टले पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारबीच धुव्रीकरण छ भनेर सञ्चार माध्यमहरुले अनावश्यक प्रचार गरेको आरोप लगाए । ‘मलाई इन्चार्जको नाताले त्यस्तो लागिराखेको छैन । केही समयअगाडि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारीसहित लामै, घन्टौंसम्म संवाद गरेका छौं’, उनले भने, ‘…मैले उहाँहरुसँग छलफल गर्दा कहीं अन्तरविरोध, नमिल्ने त्यो प्रकारको अवस्था देखेको छैन । उहाँहरुको बीचमा हार्दिकता नै देखेको छु ।’
उनले यसो भनिरहँदा गुरुङ विष्टको दाँयातर्फको कुर्सीमा बसेर सुनिरहेका थिए भने खगराज अधिकारी भने आएका थिएनन् । ढिलो आएका अधिकारीको सिट विष्टको बाँयातर्फ थियो ।
अधिकारी पत्रकार सम्मेलनमा प्रवेश गर्दा पृथ्वीसुब्बा गुरुङ मोबाइल चलाइरहेका थिए । खगराज पनि कुर्चीमा बस्ने बित्तिकै मोबाइल चलाउन थाले । त्यतिबेलै प्रदेश इन्चार्ज विष्ट भने गुरुङ र अधिकारीबीच टकराव नभएको र हार्दिक सम्बन्ध भएको स्पष्टीकरण दिइरहेका थिए ।
‘हजारौं पार्टी कार्यकर्ता पंक्ति छ, दशकौंको योगदान र नेतृत्व पंक्ति छ । र, नेतृत्व पंक्तिले आफूलाई जिम्मेवारी प्राप्त गर्नका लागि इच्छा जाहेर गर्नु अन्यथा होइन’, विष्टले भने, ‘म फेरि भन्छु उद्घाटन सत्र अगाडिसम्म अधिकतमभन्दा अधिकतम् सहमतिका आधारमा जाने गरी हामी जानेछौं । जब प्रक्रियामा गइन्छ, त्यसलाई लामो बनाउने पक्षमा रहने छैनौं ।’
पार्टीभित्र प्यानल बनाएर उम्मेदवार खडा गर्ने नीति नभएकाले गण्डकीमा पनि त्यस्तो स्थिथि नआउने दाबी गरे । ‘मिडियामा यो प्यानलको यो मान्छे भनेर बुझ्ने कुरा बेग्लै होला ! कुनै हिसाबले त्यो मनोविज्ञान पाल्ने बेग्लै कुरा होला !’, उनले भने, ‘तर, देखिने गरी प्यानल कहीं पनि हुँदैन ।’
पत्रकारले विष्टको दायाँबायाँ बसेका पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीलाई एकआपसमा बोल्न आग्रह गरे । तर, दुवैले कुनै प्रतिक्रिया दिएनन् । जवाफ विष्ट आफैंले दिए, ‘ठीक छ उहाँहरु बोल्नुहोला ! उहाँहरु बोल्नुहुन्छ । तर, अहिले जिम्मेवारीको हिसाबले उहाँहरु दुवैको पक्षबाट बोल्ने जिम्मा मेरो हो’, उनले भने, ‘…उहाँहरुका हिसाबमा सबै कार्यकर्ता समान छन् । उहाँहरु कसैलाई काखा, कसैलाई पाखा बनाउनुहुन्छ भन्ने लाग्दैन ।’
पत्रकार सम्मेलनको अन्तिममा विष्ट आफैंले खगराज र पृथ्वीसुब्बालाई आआफ्नो भनाइ राख्न आग्रह पनि गरे । तर, फेरि पनि दुवैले कुनै प्रतिक्रिया नै दिएनन् । ‘म उहाँहरुको अनुमतिले नै बोलेको हुँ । अब बेसी कोट्याउने कुरा नगरौं’, दुवै नेता बोल्न नमानेपछि अवस्थालाई सहजीकरण गर्न विष्ट आफैंले जवाफ दिँदै भने ।
‘प्यानल बनाएर नवौं महाधिवेशनमा गल्ती गर्यौं’
नेकपा एमाले सचिव गोकर्ण विष्टले प्यानल बनाएर आन्तरिक प्रतिस्पर्धामा जाँदा पार्टीमा फुट आएको बताए । नवौं महाधिवेशनमा प्यानलै बनाएर जाँदा त्यसको असर पार्टीले भोग्नु परेको उनको भनाइ थियो ।
‘नवौं महाधिवेशनमा दुइटा नेतालाई ध्रुवमा राखेर त्यो मतपत्रमै दायाँ र बाँया प्यानल खडा गर्ने ऐतिहासिक गल्ती गर्यौं’, विष्टले भने, ‘त्योबेला सके सहमति, नसके स्वस्थ प्रतिस्पर्धा गर्नेगरी हामी अगाडि बढेको भए सम्भवतः नेकपा एमालेको जीवनमा विभाजनको दुर्घटना आउने थिएन ।’
नवौं अधिवेशनबाट नेकपा एमालेले ठूलो पाठ सिकेको विष्टले दाबी गरे । ‘त्यो गल्ती अब दोहोर्याउन चाहँदैनौं । कोही नेताको मनमा फलानो कोही भए हुन्थ्यो भन्ने लाग्न पनि सक्छ, काल्पनिक हिसाबले यो (गुट) छँदै छैन पनि भन्न सक्दिनँ । तर, फेरि पनि अस्वस्थ अवस्था पैदा गर्ने गरी, प्यानल खडा गर्ने गरी, पार्टीको आफ्नो एकतामा खल्बल पैदा हुने गरी कोही नेताहरु त्यो प्रकारको भूमिका निर्वाह गर्नुहुन्न भन्ने हाम्रो विश्वास छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4