+
+

बालिकासँगको प्रेमका कारण अजिमको हत्या

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असोज १५ गते ११:३२
पोखरीमा फेला परेको शव राखेकाे बोरा र अजिमको पुरानो तस्वीर ।

१५ असोज, जनकपुरधाम । सप्तरीको खडक नगरपालिका- ११ बनौलीमा प्रहरीले पोखरीमा फेला पारेको शव १८ वर्षीय मोहम्मद अजिम मुद्दिनको रहेको पुष्टि भएको छ ।

शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोराभित्र फेला परेको शव अजिमकै रहेको परिवारका सदस्यले पुष्टि गरेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बताए । अजिम स्थानीय मोहम्मद समिउल्लाका छोरा हुन् ।

प्रहरी स्रोतका अनुसार अजिमको एक  बालिकासँगको प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ ।

भदौ २१ गते दिउँसो कृष्ण अष्टमीको दिन गाउँमा लागेको मेला हेर्न अजिम घरबाट निस्केका थिए । साँझ ६ जना साथीसँगै मेला हेरेर रमाइलो गरे । साँझमा चार जना साथी घर फर्किए, अजिमसँगै रहेका अर्का साथीले घर फर्किन आग्रह गरे । अजिमले आफू प्रेमिका भेटेर आउने भन्दै ती साथीलाई घर फर्किन आग्रह गरेका थिए ।

त्यसै बेलादेखि अजिम बेपत्ता भएका थिए । परिवारका सदस्यले राति र भोलिपल्ट खोजे । तर फेला परेनन् । तेस्रो दिन प्रहरीलाई जानकारी गराए ।

प्रहरीले लामो समयसम्म खोज्यो, तर फेला पार्न सकेन । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार मेलाबाट अन्तिममा छुटेका साथीबाट पाएको सूचनाका आधारमा अनुसन्धान थालेपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

त्यसपछि प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सुरुमा  उनीहरूले भारततर्फ घुमफिर गर्न गएको हुन सक्छ भनेर संलग्नता अस्वीकार गरिरहे । अन्तमा शव पोखरीमै कतै हत्या गरेर लुकाएको निष्कर्षसहित प्रहरीले गाउँको तीनवटा पोखरीमा शुक्रबार खोजी गरेको थियो ।

त्यही क्रममा शुक्रबार साँझ एउटा पोखरीमा ट्याक्टरको रिङ भेटियो । रिङ फेला परेपछि पोखरीको पानी घटाइयो । त्यसपछि एउटा बोरा फेला पर्‍यो । भोलिपल्ट शनिबार बिहान  रिङको तल दुईवटा बोरामा सिमेन्टको पिलरमा बाँधेर शव राखिएको भेटिएको प्रहरीको भनाइ छ ।

शव पोस्टमार्टमका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । युवकको हत्या गरेको घटना नखुलोस् भनेर लुकाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार हत्यामा संलग्नको आरोमा स्थानीय बिना यादव, ३४ वर्षीय रामप्रगास यादव, छिमेकी ३५ वर्षीय डम्बरनारायण साह, ४० वर्षीय  छोटेलाल भन्ने धर्मेन्द्र साह र रामप्रगास मुखिया छन् । अन्यको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

‘हत्यामा संलग्नको आशंकामा पाँचजनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान हुँदैछ । आज दिउँसो प्रेस रिलिज गरेर घटनाको विस्तृत जानकारी दिन्छौं’, डीएसपी न्यौपानेले भने ।

पक्राउ परेका रामप्रगास मुखिया यसअघि हातहतियार खरखाजा र शरीर बन्धक मुद्दामा पक्राउ परेर कारबाही भोगेको खुलेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार हत्या भएका अजिमले गाउँकै हिरा फेकनी निम्न माध्यमिक विद्यालय, बनौलीबाट एसईई दिएका थिए । उनी त्यही विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकासँग चार महिनादेखि प्रेममा रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?