+
+
नयाँ पुस्ताको देश– ५ :

युवालाई निराशावादबाट निकाल्न ‘आइडिया अफ नेपाल’

अहिले चर्चामा रहेको शक्तिशाली शासकको कल्पना क्षणिक आवेग मात्रै हो । सामाजिक, राजनीतिक रूपमा युवा एउटा उदार समाज नै चाहन्छन्। 

सचिन तिमल्सेना  सचिन तिमल्सेना 
२०८० असोज १६ गते ११:४३

नेपालमा ‘आइडिया अफ नेपाल’बारे पर्याप्त छलफल नै भएन। कस्तो नेपाल बन्यो भने सबै खुसी होलान् ? संयुक्त राज्य अमेरिकाको डेक्लेरेसन अफ इन्डिपेन्डेन्समा लेखिएको छ– लाइफ, लिबर्टी एन्ड पर्सुट अफ ह्यापिनेस। अर्थात् त्यो देशको जनतालाई जीवन, स्वतन्त्रता र खुसीको खोजको अधिकार संविधानले संरक्षण गरेको छ।

त्यस्तै भारतमा पनि बहुलवाद, विविधता, लोकतन्त्र लगायत विषय समेटेर देश कता जाने भन्ने विषयमा पर्याप्त छलफल भएको छ। सुनिल खिल्नानीले यसमा किताबै लेखेका छन्। आधुनिक चीनको पनि एउटा विचार  छ। तर नेपाल भनेको के हो ? यो देश कस्तो बन्दा एउटा आदर्श देश बन्ला ?

समाज राज्यले नियन्त्रण गर्ने हो कि खुल्ला छोड्ने ? के बोल्ने, के लाउने, के खाने, कति बेला खाने, कसले गीत गाउने, कस्तो गीत गाउने, राहदानी पाउने कि नपाउने, सम्भोग बिहे अगाडि कि पछाडि जस्ता महत्वहीन विषय पनि राज्यले निर्धारित गर्ने कि व्यक्तिमा छोड्ने ? पश्चिमा संसारमा त आत्महत्याको अधिकार सम्बन्धी पनि छलफल चल्दैछ। स्वतन्त्रताको हद के ?

त्यस्तै हामीले संविधानको प्रस्तावनामै समाजवाद उन्मुख राष्ट्र लेख्यौं। एक त समाजवादको ठूलो भाँडामा नेपाली विद्वान नर्वे, डेनमार्कदेखि उत्तरकोरिया समेतलाई अटाउँछन्, त्यसैमाथि हाम्रो त उन्मुख राज्य। फेरि प्रश्न आउँछन्, अर्थतन्त्र राज्यले हाँक्ने कि बजारले ? उद्योग राज्यले चलाउने कि व्यक्तिले ? हुनत संविधानको अन्तरवस्तुमा यी विषय केलाइएका छन् तर हाम्रो बहस अझ यिनै प्रश्नमा अड्केका छन्।

तुलनात्मक रूपमा सबैभन्दा बढी शिक्षा र सूचनाको पहुँच पाएको अहिलेको पुस्ता पनि यिनै प्रश्नको वरिपरि अल्झिएको पाइन्छ।

यो प्रश्नलाई संविधान निर्माणको बखत गहिरिएर छलफल गर्नै पर्थ्यो। तर राजनीतिक सहमति खोज्ने नाउँमा हामीले त्यो बहसलाई सदनदेखि सडकसम्म पुर्‍याउन सकेनौं। मस्यौदा सङ्कलन पनि फास्ट-ट्रयाकमा गर्दा धेरै संवाद अधुरा रहे। अहिलेको अवस्थामा जुन सामूहिक निराशा प्रकट हुँदैछ, त्यसलाई यिनै प्रश्नका आधारमा  छलफल गर्न सकिन्छ।

अहिलेका पहिलो पुस्ताका नेताको प्रासङ्गिकता संविधान निर्माण पछि नै सकिएको हो। तर उहाँहरू राजनीतिक रूपमा भेन्टिलेटरमा बसेर शासन गर्दै हुनुहुन्छ। जनता आजित भइसकेको नदेखेको जसरी सत्ताको आयु थप्दै हुनुहुन्छ। यो उहाँहरूको अन्तिम भोज हो भन्ने पनि थाहा छ। अब प्रश्न आउँछ, नेपाली युवाले चाहेको देश कस्तो ?

भिटेन भन्ने र्‍यापरलाई प्रहरीले छाडा गीत निकालेको भनेर पक्राउ गर्‍यो। यो मुद्दामा समाज विभाजित थियो। धेरै युवामाझ नै मत बाँडिएको थियो। यसले समाजलाई अराजक बनाउँछ, जसले जस्तो गीत पनि गाउँछ भनियो। त्यस्तै अर्को प्रसङ्ग आयो कमेडियन अपूर्व क्षितिजको जसलाई एक समुदायको भावना माथि खेलबाड गरेको आरोपमा थुनियो। यसमा पनि समाज विभाजित थियो। त्यही समुदायकै कतिपयले भने युट्युबको कमेन्ट सेक्सनमा लेखेका छन्- ‘नेवार बट नट अफेन्डेड’। त्योभन्दा अगाडि प्रनेश गौतमलाई एउटा नेपाली चलचित्रलाई दिएको नकारात्मक प्रतिक्रियाको लागि थुनियो जसमा समाजले अविभाजित रूपमै प्रनेशलाई साथ दियो।

अब एक पटक सोचौं, हाम्रा अधिकांश युवाको सपनाको देशमा के हुन्छ ? भिटेनको भन्दा फोहोरी र्‍याप गीत आउँछन्। कुनै समुदाय माथि नै मजाक भए पनि सामान्य रूपमा लिइन्छ। चलचित्रलाई जति पनि झुर भन्न पाइन्छ। नेपालमै जसरी भिटेन, अपुर्वा र प्रनेशलाई थुन्ने देश पनि छन् त। तर ती किन हाम्रा युवाको सपनाको मुलुक बन्दैनन् ? उल्टो हाम्रो युवाहरू त्यस्तै छाडा देशमा परिवार सहित स्थायी बसाइँसराइ गर्न तयार छन्।

आफू र आफ्नो सन्ततिको सम्पूर्ण भविष्य राजीखुसी सुम्पिन तयार देश चाहिं अश्लील हुँदा हुने अनि हाम्रो नेपालमा चाहिं बोलेकै भरमा पक्रिनुपर्ने ?

आवेग, रिस र अहिलेको बेथितिले गर्दा धेरै युवाले भनेको सुनिन्छ, ‘यो देशमा फलानो जस्तो शासक, ढिस्कानो जस्तो नायक चाहिन्छ।’ तर यथार्थ के हो भने संस्कृति र स्वभावले नै नेपाली स्वतन्त्रता प्रेमी हुन्। हामी यस्तो सभ्यताबाट आएका छौं जहाँ भगवान् हो भन्ने थाहा हुँदाहुँदै पनि कृष्णलाई अर्जुनले प्रश्न गर्छन् र नाथे मानव हो भन्ने जान्दाजान्दै अर्जुनलाई कृष्णले आदेश नदिएर बुझाउँछन्। हाम्रो सभ्यता नै पालनामुखी नभएर खोजमुखी छ। जहाँ सत्य कुनै ग्रन्थबाट मात्रै होइन सन्यासबाट पाइन्छ भन्ने विश्वास छ। आफ्नै सत्य खोज्न पाउने सभ्यता संसारमै विरलै पाइएला।

शक्तिशाली शासकको कल्पना युवाहरूको क्षणिक आवेग मात्रै हो। सामाजिक-राजनीतिक रूपमा युवाहरू एउटा उदार समाज नै चाहन्छन् जस्तो लाग्छ।

आर्थिक पाटोमा विषय अलिक जटिल देखिन्छ। हाम्रा छिमेकी चीन, भारत, भुटान, श्रीलंका या पश्चिमाले गरेको विकासमध्ये हामीले कुन बाटो लिंदा ठीक भन्ने बहस पनि पर्याप्त हुँदैन। समाजवादी शक्तिहरू पूर्ण रूपमा हावी भएको नेपाली राजनीतिमा समाजवादलाई मानिस या समूहको पवित्रताको मानकको रूपमा लिइएको छ। कसैले सार्वजनिक रूपमा म पूँजीवादी हुँ भन्दा अझै पापको रूपमा हेर्ने परिपाटी छ। सरल भाषामा भन्दा निजी क्षेत्रले कमाउनु अझै फटाइको रूपमा हेरिन्छ।

हामीलाई हाम्रो अन्तर्राष्ट्रिय इज्जत भएन भनेर ठूलो गुनासो छ। यो गुनासोको कारणबारे भने पर्याप्त छलफल हुँदैन। कुनै राजालाई इतिहासको कुनै कालखण्डमा दिएको स्वागतलाई देखाएर नेपाली विगतमा सम्मानित थिए भन्ने भाष्य बनाउन खोजिन्छ। अनि सम्मान पाउन फेरि कोही न कोही राजा नै हुनुपर्छ भन्ने भ्रम फैलाउन खोजिंदैछ। अझै पनि हाम्रो कर्म, पौरख र सफलताले मात्रै हामीलाई इज्जत दिलाउन सक्छ भन्ने छलफल भएको सुनिंदैन

यसको गहिरो प्रभाव हाम्रो सामूहिक चेतनामा परेको छ। अझै पनि आम नेपालीको बुझाइमा निजीकरण गलत थियो भन्ने भान छ। तथ्यले यो दावीलाई सजिलै चिर्न सकिन्छ किनकि पञ्चायतको उत्तरार्धमा १२ अर्ब बजेट रहेको नेपालले घाटामा सञ्चालित सरकारी उद्योगको ऋण मात्रै २ अर्ब तिर्थ्यो। तर समाजवादको ह्याङओभरले हाम्रो समाजलाई जकडेको छ। तथ्य र तमाम उदाहरणका बीच पनि सरकारले उद्योग चलाउन हुँदैन भनेर युवा पनि बुझ्न चाहँदैनन्। चीन, भारत, जापान, दक्षिणकोरिया, तत्कालीन पश्चिम जर्मनी लगायत देशहरूको आर्थिक विकासमा एउटा कुरा साझा छ- आर्थिक उदारीकरण। नेपाल जस्तै भारत, चीन र रुसले समेत हजारौं उद्योग निजीकरण गरेका हुन्। नेपालमा निजीकरणको प्रक्रिया त्रुटिविहीन थिएनन् तर सैद्धान्तिक तवरमा निजीकरण सही नीति थियो।

युवा बसाइ सर्न चाहेको सपनाको मुलुकहरूमा पनि उद्योग सरकारले चलाउँदैनन्। निजी क्षेत्रले राम्रो आर्जन गर्छ र सरकारलाई कर तिर्छ। युवाको सपनाको नेपाल बरु उद्यमशील हुनुपर्छ, व्यापार गर्न पाउनुपर्छ, कर सीमित हुनुपर्छ र आफ्नो बलबुतामा धनी बन्न पाउने आधार र अवसर सबैलाई हुनुपर्छ। यद्यपि निमुखा जनतालाई कम्तीमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधा र अन्य सहुलियत हुनुपर्छ। कम्तीमा आर्थिक दृष्टिकोणबाट हेर्दा मेरो सपनाको देश यस्तो हुन्छ।

हाम्रो सार्वजनिक संवादहरू परम्परागत समाजवादी लाइनबाट अब बाहिर निस्कनुपर्छ। हाम्रो अपेक्षा धेरै वितरणमुखी हुँदा हामीले हाम्रो मानव क्षमताको पत्तो गुमाउने हौं कि भन्ने डर पनि छ। हाम्रो नीतिनिर्माताको सोच्ने ढाँचा पनि यसरी नै बनेको छ। उदाहरणको लागि कृषिका कार्यक्रममा अनुदानको नाममा भएको राज्यको स्रोतको नाश, नयाँ बजार सृजनामा खर्च भएको भए त्यसले धेरै ठूलो परिणाम दिन्थ्यो। नेपाली अलैंचीको नेपाली मूल्य भन्दा पश्चिमा मूल्यमा १५ गुणाको अन्तर छ। स्वीस कन्ट्याक्टले बजार पत्ता लगाउने, ढुवानी गर्नेदेखि लिएर ब्रान्डिङ गर्ने काममा किसान र व्यवसायीलाई सघाउँदैछ। यो काम सरकारको हुन सक्थ्यो। साढे ६ अर्बको नेपाली अलैंचीको निर्यातबाटै हामीले तीन गुणा धेरै कमाउने थियौं। तर अर्थविहीन अनुदानमै हाम्रो लगानी नाश हुँदैछ। नीतिनिर्मातालाई बाध्यता पनि छ। प्रत्यक्ष वितरण नगरी काम गरेको मान्दैनन् मतदाताले पनि।

नेपाली युवा आजित भएको अर्को विषय सार्वजनिक सेवा झन्झटिलो भएर पनि हो। केही सुधार देखिए तापनि प्रविधिको भरपुर प्रयोगबाट सेवाग्राहीको काम अझै छिटो गराउन सकिन्छ। मेरो विवाह दर्ता गर्न जाँदा, पहिले छेउको पसलमा अनलाइन फारम भर्न लगाएर फेरि कार्यालयमा हातले फारम भराइयो। दुइटै फारम भर्नुको कुनै अर्थ बन्दैन। युवाहरू विदेश अध्ययनमा जान एनओसी लिनुपर्ने बाध्यताको पनि गतिलो तर्क भेटिंदैन। एनओसी आवेदन भर्दा सूचीमा नराखिएका धेरै विषय र विद्यालय हुन्छन्। विदेशी शैक्षिक संस्थाको मापन शिक्षा मन्त्रालयले कसरी गर्छ भन्ने आधार छैन र विद्यार्थीले देश छोड्ने बेला पनि दुःख पाउँछन्। निजामती कर्मचारीको क्षमता वृद्धिमा पनि व्यापक काम गर्नुपर्नेछ।

युवाले चाहेको सुदृढ पब्लिक डेलिभरी सिस्टम भएको देश हो। फेरि नेपाली युवा भन्ने बित्तिकै सबैलाई एउटै डालोमा हालेर हेर्न मिल्दैन। आर्थिक रूपमा मात्रै नभएर ऐतिहासिक र सांस्कृतिक रूपमै विभेदमा परेका समुदायका युवालाई हामीले सम्मान दिन नसक्ने हो भने उनीहरूले पनि नेपाल किन रोज्थे  र ? हामीकहाँ अझै जातको आधारमा छुवाछूत र हिंसा हुने गर्छ।  छाउपडी अझै हाम्रो देशको यथार्थ हो जसले हाम्रो सामूहिक चेतलाई गिज्याइरहेछ।

जबसम्म हरेक नेपालीले आत्मसम्मान सहित देशभित्र बाँच्न पाउने अधिकारको प्रयोग गर्न पाउँदैन, तबसम्म न देश शान्त रहन्छ न युवाले चाहेको जस्तो देश बन्छ।

संविधानका केही मुद्दामा एकथरी युवाको विमति पनि देखिन्छ। विमति राख्न पाउनु लोकतन्त्रले ल्याएको अधिकार हो, पाउनुपर्छ। विशेषगरी पहाडी क्षेत्री-बाहुन समुदायमा संघीयता विरोधी नारा बिक्छ। तर के हामी फेरि २०७२ सालअघिको अन्योल र हिंसामा फर्किन तयार हो ? मधेश र आदिवासी- जनजातिबाट प्रतिकार हुने थाहा हुँदाहुँदै पनि त्यो बाटो हिंड्नु सही हो ? संघीयतालाई व्यवस्थापन गर्न सकिन्छ। हामीसँग अर्को विकल्प छैन।

त्यस्तै हिन्दु राष्ट्र हटाएको प्रक्रिया पारदर्शी भएन भन्ने वास्तविक गुनासो छ। तर के हिन्दु धर्म बचाउन हिन्दु राष्ट्र हुनुपर्छ ? इतिहासले भन्छ पर्दैन। भारतमा मुगल र बेलायतीले क्रमशः ३०० र १०० वर्ष शासन गरेर, हतियारै लगाएर धर्म परिवर्तन गराउन खोज्दा पनि भारतमा ९६ करोड र संसारमा १.२ अर्ब हिन्दु छन्। हाम्रो योग, ध्यान र जीवनशैली अहिले संसारकै आकर्षण बनेका छन्। हाम्रो बहुलवाद र सहिष्णुतालाई  जीवित राख्न सके हाम्रो सभ्यता मर्दैन। यसभित्र विकास गरिएका विकृतिलाई भने सुधार गर्नै पर्ने हुन्छ ।

अब राजा ल्याउने विषय चाहिं विशुद्ध राजनीतिक हो र केही व्यक्तिको चुनाव जित्न नसक्ने तर सत्ता चाहिने बाध्यताको उपज हो। तर युवाले बुझ्नुपर्ने दुई वटा कुरा छन्। त्यो भ्रम फैलाउनेहरू हिजोका दिनमा दरबारसँग नजिक रही मस्ती गर्न पाउने र यो जुनीमा आफ्नै बलबुतामा चुनाव जित्न नसकेर फेरि पुरानै व्यवस्थामा फर्काउँदा सत्ताको स्वाद पाइन्छ कि भन्ने हुन्। नत्र राजा चाहिं संवैधानिक मात्रै चाहिने हो भने शासन त यिनै नेता या चुनाव जितेकैले गर्ने होला नि ? अहिलेको बेथितिको समाधान भयो त त्यसरी ? उहाँहरूको नियत नै फेरि संवैधानिक राजसंस्थाको नाममा राजा ल्याएर, विस्तारै प्रत्यक्ष शासन गराई मन्त्री पद खाने हो ।

यो व्यवस्था भित्रै पनि अहिलेका शासक ठीक हुन् कि होइनन् भनेर युवामाझ सर्वेक्षण गर्ने हो भने नतिजा के आउँछ ती नेतालाई पनि थाहा छ। यो उहाँहरूको अन्तिम भोज हो भन्ने कुरा सर्वविदित छ। तर नेपालको इतिहासमा पहिलो पटक अहिलेका युवालाई विना सङ्घर्ष, विना रक्तपात, विना जेलनेल, मात्रै मतदान गरेर शासक फेर्ने सुविधा छ

अर्को हामीलाई हाम्रो अन्तर्राष्ट्रिय इज्जत भएन भनेर ठूलो गुनासो छ। यो गुनासोको कारणबारे भने पर्याप्त छलफल हुँदैन। कुनै राजालाई इतिहासको कुनै कालखण्डमा दिएको स्वागतलाई देखाएर नेपाली विगतमा सम्मानित थिए भन्ने भाष्य बनाउन खोजिन्छ। अनि सम्मान पाउन फेरि कोही न कोही राजा नै हुनुपर्छ भन्ने भ्रम फैलाउन खोजिंदैछ। अझै पनि हाम्रो कर्म, पौरख र सफलताले मात्रै हामीलाई इज्जत दिलाउन सक्छ भन्ने छलफल भएको सुनिंदैन।

यसै वर्ष नेपालले पहिलो पटक एसीसी एसिया कप खेल्यो। पाकिस्तानसँग साधारण प्रदर्शन गरेको नेपाल सेप्टेम्बर ४ का दिन भारतसँग भिड्दै थियो। भाग्यवश त्यो खेल अवलोकन गर्न म पनि क्यान्डी पुगेको थिएँ। जब रवि शास्त्रीले दुई रोहित टसलाई तयार छन् भनेर उद्घोष गरे, म आफैंलाई चिमोट्न बाध्य भएँ। के यो साँच्चै विपना हो ? जब राष्ट्रगान बज्न थाल्यो, मेरा आँसु रोकिएनन् । त्यो ३०-४० सेकेन्डको दौरानमा मलाई भारतमा नेपाली भन्दा नचिनेको अनुभव स्मरण भयो, ट्रान्जिटमा कतारमा विना कारण दुःख दिएको, थाइल्यान्डले अनअराइभल भिसा नदिएको, मलेसियामा नेपाली कामदारलाई त्यहाँका प्रहरीले विना कारण गाली गरेको सबै याद आउँदै थियो।

मेरो जीवनकालमा पर्वतारोहणमा बाहेक पहिलो पटक नेपाल संसारको उत्कृष्टसँग प्रतिस्पर्धा गर्दै थियो । र त्यो अवसर नेपाली क्रिकेटरले आफ्नै पौरखले हासिल गरेका थिए। त्यो मञ्चमा पुग्नु नै हाम्रो उपलब्धि मानिरहेका हामीलाई नेपाली खेलाडीको सम्मानजनक प्रदर्शनले साँच्चै गौरवान्वित बनायो। स्टार स्पोर्टसका सबै कमेन्टेटरले नेपालको प्रदर्शन र हिम्मतको दिल खोलेरै तारिफ गरे। अझै जब महमद शिराजको एक बाउन्सरलाई कुशल भुर्तेलले आफ्नो प्रभुत्व स्थापित गर्दै ९० मिटरको छक्का प्रहार गरे, तब मैदानमा उपस्थित १५०० र टेलिभिजनमा क्रिकेट हेरिरहेका लाखौंलाई लाग्यो, हामी यही मञ्चका हकदार हौं। वार्षिक ६ हजार ५५८ करोड भारतीय रुपैयाँ आम्दानी गर्ने भारतीय क्रिकेटलाई जम्मा २२ करोडको वार्षिक बजेट भएको नेपाली क्रिकेटले नजिते पनि स्वयं भारतीयहरूको मन भने जित्यो।

प्रेम गीत-३ ले भारतमा १२०० ब्यानर टाङ्न सफल भयो, कबड्डी-४ पीभीआर सिनेमामा लाग्यो। नेपाली चलचित्र क्षेत्रको लागि बलिउडमा एउटा बाटो खुल्यो। तर के नेपाली चलचित्र क्षेत्र तयार छ त पुरानै बकवास पटकथाबाट बाहिर निस्किन ? सिसन बानियाँले अनमोल केसीको छड्के फिल्मको खुलेरै आलोचना गरे। उनले लेखेका थिए म तयार हुँदैछु, सिक्दैछु। निश्चल बस्नेतले यसरी नै २०१२ मा लुट मार्फत नेपाली चलचित्र पनि गतिलो बन्न र व्यापार गर्न सक्छ भनेर प्रमाणित गरे। हामीलाई सयौं निश्चल र सिसन चाहिएको छ। राजामौलीको बाहुबलीले बलिउडमा एउटा छुट्टै विधा स्थापित गर्‍यो। त्यस्तै कुनै नेपाली चलचित्रले १४० करोडको भारतीय बजारमा आफ्नो विधा स्थापित गर्न सक्छ। तर कुनै त्यस्तो युवा छ जसले यो सपना देख्छ ?

नाइजेरियन गायक रेमाको ‘बेबी काम डाउन’ भन्ने गीतले संसार हल्लायो। पिड्गिन अंग्रेजीमा आएको उक्त गीतको युट्युबमा ६५ करोड भन्दा बढी भ्युज छ। गीतको लय मिठो छ तर शब्द साधारण छन्। त्यस्तो गीत हाम्रा युनिक पोएट र साकारहरूले सजिलै बनाउन सक्छन्। प्रिज्मा र प्रिन्सीले टिकटक मार्फत नेपाली गीतलाई भारत, पाकिस्तान हुँदै संसारभरि चर्चित बनाए। पब्जीमा नेपालले सफलतामाथि सफलता हासिल गरेको छ। भारतीय टेलिभिजन कार्यक्रममा नेपाली बिबोयिङले एउटा छुट्टै पहिचान स्थापित गरेको छ। धेरै यस्ता विधा छन् जहाँ नेपालले क्रिकेट जसरी नै अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सक्छ। हामीलाई अन्तर्राष्ट्रिय सम्मान दिलाउने पनि यस्तै सफलता हुन्।

अहिलेको अवस्था निराशाजनक बिल्कुल छ। हामीलाई सपना देखाउनेहरूकै सपना आफू र आफ्नो परिवारमा केन्द्रित हुँदा नेपालले सोचेको प्रगति गर्न नसकेकै हो। यही निराशाको फाइदा उठाउँदै युवामाझ झुटको सहाराले हिजोका दिनमा सुनै फल्थ्यो भनेर अफवाह पनि फैलाइँदैछ। युवा अवस्थामा कुहिनोले पहरा फोड्ने जोस हुनुपर्छ । नत्र के युवा ? एउटा स्वार्थी समूहले हाम्रो युवालाई अहिलेको बेथितिसँग लडेर पाएका अवसरको भरपुर फाइदा उठाएर काविल बनी देश बनाउन होइन, खालि गनगन गर्दै, अर्को एउटा व्यवस्था ढाल्न उत्प्रेरित गर्दैछ।

यो व्यवस्था भित्रै पनि अहिलेका शासक ठीक हुन् कि होइनन् भनेर युवामाझ सर्वेक्षण गर्ने हो भने नतिजा के आउँछ ती नेतालाई पनि थाहा छ। यो उहाँहरूको अन्तिम भोज हो भन्ने कुरा सर्वविदित छ। तर नेपालको इतिहासमा पहिलो पटक अहिलेका युवालाई विना सङ्घर्ष, विना रक्तपात, विना जेलनेल, मात्रै मतदान गरेर शासक फेर्ने सुविधा छ। यो व्यवस्था पनि नटिकेमा हाम्रो जस्तो विविधतापूर्ण समाजमा अर्को सर्वमान्य संविधान बनाउन कम्तीमा २० वर्ष लाग्छ।

युवाले चाहेको नेपाल अहिले देश हाँकिरहेका पात्रबाट असम्भव छ। यो सत्य हो। तर ती पात्र फेरेर यो व्यवस्थालाई प्रयोग गरी सपनाको नेपाल बनाउन सकिन्छ ? बिल्कुल सकिन्छ। आखिर हामीले चाहेको सामाजिक रूपमा न्याय र स्वतन्त्रता, उदार अर्थतन्त्र सहितको कल्याणकारी राज्य र आफ्नो पेशामा अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न योग्य हुने वातावरण न हो।

युवाले सोच्ने र रोज्ने यही हो ? अब समुन्नतिको यात्रा कि फेरि व्यवस्था परिवर्तन गरी अर्को २० वर्ष खेर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?