+
+

प्रहरीले बुझायो सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान फाइल, कम्तीमा ८ वर्ष कैद गर्न राय

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज १६ गते १९:५५

१६ असोज, पोखरा । प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको ठगीसम्बन्धी घटनामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीले वचतकर्ताले संकलन गरेको रकम फिर्ता नगरेर १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्षसहित मंगलबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

सूर्यदर्शन सहकारीमा सर्वसाधरणको बचत रकम हिनामिना गरेको भन्दै पदाधिकारी तथा पूर्व सञ्चालकविरुद्ध १ हजार ३६ जनाले उजुरी दिएका छन् । सहकारीका साना ठूला १८ हजार ७ सय जना बचतकर्ता रहेको देखिए पनि १ हजार ३६ जनालेमात्र उजुरी दिएको र त्यसैको आधारमा ठगी भएको रकमको निकालिएको प्रहरीको भनाइ छ ।

सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको पाइएको प्रहरीले जनाएको छ । कुन सञ्चालकले कति पैसा अपचलन गरेको भन्ने नै नखुलेकाले सबैलाई समान दायित्व पर्ने गरी बचतकर्ताको उजुरीको आधारमा १ अर्ब ११ करोड १ लाख बिगो दाबी गरिएको प्रहरीले जनाएको छ ।

सहकारी ऐनअनुसार ठगी मुद्धामा प्रहरीले १९ जनालाई बिपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको छ । सो ऐनमा सहकारी ठगी मुद्दामा १ अर्बमाथि जतिसुकै बिगो भए पनि ८ वर्ष भन्दा बढी कैद सजाय हुने व्यवस्था छ ।

पोखरा महानगरले गरेको विज्ञको विश्लेषणमा सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको भए पनि बचतकर्ताले दाबी गरेको रकम मात्र सञ्चालकले अपचलन गरेको आधारमा सोही बराबर १ अर्ब ११ करोड १ लाख रुपैयाँ बिगो माग्न राय दिएको प्रहरीको भनाइ छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निश्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।

बचतकर्ताको उजुरीको आधारमा प्रहरीले गत भदौ २४ गते जीबीसहित ७ जनालाई पक्राउ पुर्जी भएको २ दिनपछि सूर्यदर्शनका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । रम्तेल पक्राउ परेको २४ औं दिनमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको कास्की प्रहरी प्रवक्ता डिएसवी श्रवणकुमार विकले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्धा अगाडि बढाउने छ । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले १९ जनालाई पक्राउ पुर्जी जारी गरेको छ । त्यसमा १८ जना अझै फरार छन् ।

सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढालाई प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु फरार छन् ।

यसैगरी पक्राउ पुर्जी जारी भएका वर्तमान तथा पूर्व सञ्चालक शिवबहादुर (महेन्द्र भोटे), कैलाश दर्लामी, धिरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले फरार भएको जनाएको छ । यीमध्ये महेन्द्र भोटे र आइस्मा तामाङ मादी–६ भाचोककै हुन् भने ललिता तामाङ र सुरज श्रेष्ठ लेखनाथ, बुद्धि गुरूङ मादी–९ मिजुरेडाँडाका हुन् भने बाँकी सबै कास्की बाहिरका रहेको प्रहरीले जनाएको छ ।

सुरुमा सहकारीको व्यवस्थापक भएका थानबहादुर पछिल्लो कार्यकालमा अध्यक्ष बनेका थिए । सहकारीको संकट बाहिर नजओस् भन्नका लागि पनि थानबहादुरले नै अध्यक्ष र व्यवस्थापकको काम गर्दै आएका थिए ।

पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत भदौ १० गते विशेषज्ञ नियुक्त गरेको थियो । सो विज्ञको विश्लेषणलाईसमेत आधार बनाएर प्रहरीले मंगलबार फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले जानकारी दिए ।

जीबी राई समूहले २०६५ सालमा पोखरामा खालेको सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ ।सहकारीबाट सबैभन्दा धेरै जीबी राईको दाजुभाइकै कार्यकालमा अपचलन भएको निश्कर्ष छ ।

जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख र जीबीलगत्तै दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाखको हिसाब देखिएको छैन । संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ भने थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ अपचलन भएको देखिएको प्रहरीले जनाएको छ ।

गुण्डागर्दी पृष्ठभूमिबाट व्यवसाय हुँदै सक्रिय राजनीतिमा छिरेका महेन्द्र भोटेले पनि ८ करोड रुपैयाँ लगेको देखिएको छ । पोखरामा सहकारी खोल्ने ताकाबाटै जीबी र महेन्द्र भोटेले विभिन्न व्यवसायिक सहकार्यसमेत गर्दै आएका थिए । उनीहरुले पोखरामा रेस्टुरेन्ट, होटल, डिस्कोलगायतमा लगानी गरेका छन् भने जीवी–महेन्द्र सहकार्यमै फेरि अर्को डिस्को खोल्ने तयारीमा थिए ।

सहकारीबाट रकम हिनामिना भएको घटना बाहिरिएसँगै हिसाब मिलाउने प्रयत्न गर्दा गर्दै असफल भएपछि उनीहरु अहिले फरार छन् । युवा संघ नेपालका उपमहासचिवसमेत रहेका महेन्द्र भोटे अहिले गण्डकी प्रदेश अधिवेशनमा प्रतिनिधिसमेत छन् । तर, उनी फरार रहेको प्रहरीको दाबी छ ।

देशभर नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको जीबी राइ समूहले पोखरामा पनि कागजातबिनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको देखिएको छ । जीबी राई समूहले पोखराको सूर्यदर्शन सहकारीबाट पनि नेकवर्किङ कम्पनीदेखि मिडियासम्ममा लगानी गरेको पाइएको छ ।

नेचर हर्ब्स इन्टरनेसनल, नेचर नेष्ट, स्प्रिङ उड, ग्रिजी स्पोन, गोर्खा ग्रुप अफ कम्पनी, गोरखा मिडिया नेटवर्कजस्ता सहायक कम्पनीमार्फत यो समूहले सहकारीको रकम चलाएको पाइएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?