+
+

अन्तरिक्षमा फोहोर गर्ने कम्पनीलाई पहिलोपटक जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १०:०६

अन्तरिक्षमा पृथ्वीको कक्षमा फोहोर छाडेबापत अमेरिकी सरकारले पहिलोपटक एउटा कम्पनीमाथि जरिवाना गरेको छ ।

अन्तरिक्षमा आफ्नो पूरानो स्याटेलाईटलाई नयाँ स्याटेलाइटभन्दा पर्याप्त रुपमा टाढा लैजान असमर्थ भएको भन्दै अमेरिकाको संघीय सञ्चार आयोगले डिस नेटवर्कलाई डेढ लाख डलर जरिवाना गरेको हो ।

डिस नेटवर्कले पनि आफ्नो EchoStar-7 का विषयमा बहन गर्नुपर्ने दायित्व स्वीकार गर्दै संघीय सञ्चार आयोगले तोकेको जरिवाना रकम तिर्न सहमत भएको छ ।

अन्तरिक्ष फोहोर अर्थात् स्पेस जंक भनेका प्रविधिका टुक्राहरु हुन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् । ती टुक्राहरु काम नलाग्ने हुन्छन् र अन्यसँग ठक्कर खाने जोखिममा रहेका हुन्छन् ।

आधिकारिक रुपमा अन्तरिक्ष फोहर भनिने यी चिजहरुमा पुराना स्याटेलाइट तथा अन्तरिक्षयानका पाटपुर्जाहरु पर्दछन् ।

अमेरिकी संघीय सञ्चार आयोगका अनुसार डिस नेटवर्कको उक्त पूरानो स्याटेलाइटका कारण पृथ्वीको कक्षमा घुमिरहेका अन्य स्याटेलाइटमाथि खतरा पैदा भएको छ ।

पहिलोपटक सन् २००२ मा प्रक्षेपण गरिएको डिस नेटवर्कको EchoStar-7 पृथ्वीभन्दा २२ हजार माइल उचाइमा अवस्थित जियोस्टेसनरी कक्षमा रहेको थियो ।

सन् २०२२ मा यसको अवधि सकिएसँगै डिस नेटवर्कले यो स्याटेलाईटलाई पहिले भन्दा थप १८६ माइल टाढा पठाउने योजना बनाएको थियो तर यसको इन्धन सकिएसँगै त्यसलाई केवल ७६माइल मात्रै सार्न सकियो ।

संघीय सञ्चार आयोगको कानून कार्यान्वयन ब्युरो प्रमुख लोयान इगाल भन्छन्- स्याटेलाइटहरुको सञ्चालन तीव्र बन्दै गएको र अन्तरिक्ष अर्थतन्त्र बढ्दै गएको अवस्थामा सञ्चालकहरुले आफ्नो प्रतिबद्धता पालना गरेको कुरामा हामीहरु विस्वस्त हुनु पर्दछ । यो निर्णायक सम्झौता हो र यसले के कुरा प्रष्ट पारेको छ भने संघीय सञ्चार आयोग निकै शक्तिकाली कानून कार्यान्वयन निकाय हुनुका साथै आफ्नो अति महत्वपूर्ण अन्तरीक्ष फोहरसम्बन्धी नियमको कार्यान्वयन गर्न सक्षम छ ।

यद्यपि डिस नेटवर्कलाई लगाइएको डेढ लाख डलरको जरिवाना उसको वार्षिक आम्दानीको निकै सानो हिस्सा हो । डिस नेटवर्कले सन् २०२२ मा १६ अर्ब ७० करोड डलर आम्दानी गरेको थियो ।

तथापि जरिवाना रकम सानो भएपनि अन्तरिक्षमा आफूले सिर्जना गर्ने फोहरको व्यवस्थापन नगर्ने कम्पनीमाथि नियामक निकायले गरेको उक्त सजायले अन्य स्याटेलाइट अपरेटरहरुका लागि नजीर स्थापित गरेको विज्ञको भनाइ छ ।

सन् १९५७ यता अन्तरिक्षमा १० हजारभन्दा धेरै स्याटेलाइट प्रक्षेपण भएका छन् र त्यसमध्ये आधाजसो अहिले काम नलाग्ने भैसकेका छन् ।

नासाका अनुसार हाल अन्तरिक्षमा १० सेन्टिमिटर भन्दा ठूलो आकारका २५ हजारवटा अन्तरिक्ष फोहरका टुक्रा रहेका छन् ।

बीबीसीसँग गत जुलाइमा कुराकानी गर्दै नासाका प्रमुख बिल नेल्सनले अन्तरिक्ष फोहर एउटा मुख्य समस्याको रुपमा रहेको भन्दै कक्षमा तीव्र गतिमा घुमिरहेका फोहोरका टुक्राका कारण स्पेस स्टेशनलाई नै आफ्नो बाटोबाट बाहिर ल्याउनु परेको बताएका थिए ।

उनका अनुसार १७ हजार ५ सय माइल प्रतिघण्टाको अर्बिटल स्पीडको गतिमा विपरीत दिशाबाट आएको एउटा सानो पेन्ट चिप अन्तरिक्ष यात्रीसँग ठोक्किने हो भनेपनि त्यो घातक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?