 
																			२३ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)को आवेदन खुलाउँदै छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाउन लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको ८ लाख ५९ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यो आईपीओमा २३ देखि २६ असोजसम्म आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशतले हुने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएर निष्कासन गरी बाडफाँट गरिसकेको छ । तर, आयोजना प्रभावितलाई छुट्याएको ४ लाख कित्तामध्ये १ लाख ९५ हजार ३०० कित्ता सेयर बिक्री नभएपछि उक्त सेयर थप गरी सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासनका लागि स्वीकृति पाएको सेयरमध्ये स्थानीयलाई निष्कासन गरेपछि बाँकी रहेको ८ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुने ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ ।
यस्तै, कम्पनीले ४० हजार कित्ता सेयर सामूहिक लगानी कोष र १६ हजार कित्ता कर्मचारीलाई पनि बाँडफाँट गरिसकेको छ । यसरी बाँडफाँटपछि बाँकी रहेको ६ लाख ६४ हजार कित्ता सेयरमा स्थानीयले नकिनेको १ लाख ९५ हजार ३०० कित्ता थप गरी सार्वसाधारणलाई निष्कासन गर्न लागिएको हो ।
कम्पनीले निष्कासन गर्ने सेयर सर्वसाधारणले आवेदन नदिएको खण्डमा उक्त सेयर खरिद गर्ने प्रत्याभूति नागरिक लगानी कोषले गरेको छ ।
कस्तो छ कम्पनी ?

कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । उक्त लागतमा २०७७/७८ सम्मको सम्पत्तिहरूको ह्रासकट्टी गरिसकेपछिको रकमलाई कुल लागतमा देखाइएको कम्पनीले जनाएको छ ।
विद्युत खरिद सम्झौता गर्दाको बखत अनुमान गरिएको आयोजनाको लागत ९१ करोड १२० रुपैयाँ मात्रै भए पनि कोरोनाले २ वर्ष लगातार काम गर्न नपाएको, आयोजनाको निर्माण समय बढेको, वर्षातको समयमा निर्माण सामाग्री आयोजना स्थलमा ढुवानी गर्न नसकिएको तथा वषर्ातको समयमा काम नभएको र रसिया र युक्रेनको युद्धले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि भएको कारणले गर्दा लागत बढेको कम्पनीको दाबी छ ।
आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि १० फागुन २१०८ सम्म रहनेछ । कम्पनीको सेयर पुँजीमा साधारण लगानी फिर्ता ७.३९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ ।
आधारभूत सेयरधनी र सञ्चालक समितिमा को छन् ?
कम्पनीमा सञ्चालक समितिमा १० जना छन् । कम्पनीको सञ्चालक समिति अध्यक्षमा रामेछापका गेल्जे लामा छन् । यस्तै, भोजपुरका दीपक राई, केदार कार्की र डम्बरबहादुर कार्की सञ्चालकको रुपमा छन् ।
अन्य सञ्चालकहरूमा रामेछापका आङदोर्जी लामा, संखुवासभाका वीरबहादुर राई, झापाका गणेशमानसिंह कार्की, काठमाडौंका दावाजाङ्मु श्रेष्ठ, संखुवासभाका पहाड श्रेष्ठ र काठमाडौंका प्रचेतकुमार श्रेष्ठ छन् ।
कम्पनीमा हाल १२० जना संस्थापक सेयरधनी रहेका छन् । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीअनुसार जारी पुँजीको ७० प्रतिशत संस्थापक सेयर, १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र २० प्रतिशत सर्वसाधारण सेयरधनीहरूका लागि छुट्याइ बाँडफाँट गर्ने व्यवस्था रहेको छ ।
आधारभूत सेयरधनीमा सबैभन्दा ठूलो सेयरधनी अध्यक्ष गेल्जे लामा हुन् । उनको ३ लाख ३८ हजार ४८९ कित्ता सेयर छ । यस्तै दीपक राईको ७८ हजार ९०१ कित्ता सेयर छ । केदार कार्कीको ८८ हजार ७९२ कित्ता सेयर छ भने डम्बरबहादुर कार्कीको १ लाख ६ हजार ३१० कित्ता र आङदोर्जी लामाको १ लाख ८८ हजार ४७० कित्ता सेयर छ ।
यसबाहेक गणेशमानसिंह कार्कीको १ लाख ३३ हजार ३१६ कित्ता, दावाजाङ्मु श्रेष्ठ लामाको ८० हजार ८८४ कित्ता, गणेश बुढाथोकीको ६६ हजार ६४७ कित्ता, दिनेश थापाको ६९ हजार ८२६ कित्ता, शर्मिला बस्नेतको ४० हजार ६२७ कित्ता सेयर रहेको छ ।
यस्तै प्रल्हाद कार्कीको ३८ हजार ९१४ कित्ता, जगदिशलाल वैद्यको ४१ हजार १५१ कित्ता, निरा श्रेष्ठ वैद्यको ८८ हजार ३०८ कित्ता, श्री गेल्जे लामाको २ लाख ४८ हजार ५६ कित्ता, आङमाया लामाको २ लाख २० हजार १६ कित्ता, विनय श्रेष्ठको ५६ हजार ५१६ कित्ता, विजय श्रेष्ठको ५६ हजार ३४९ कित्ता सेयर स्वामित्व रहेको छ ।
कम्पनीमा गोरखा हाइड्रो एण्ड इन्जिनियरिङको ५९ हजार ९ कित्ता, आङकुङ्गा लामाको १ लाख ९३ हजार ६९ कित्ता, आङटेण्डी लामाको ५० हजार ९१६ कित्ता, प्रचण्डकुमार मल्लको ४२ हजार ९४१ कित्ता, राजेश्वर श्रेष्ठको ३८ हजार ५२६ कित्ता, विष्णुप्रसाद अधिकारीको २८ हजार कित्ता सेयर छ ।
कम्पनीमा व्यवस्थापकीय नेतृत्व प्रबन्ध सञ्चालकको रुपमा दीपक राईले गरेका छन् । यस्तै कम्पनी सचिवमा धान्यप्रसाद तिम्सिना छन् भने व्यवस्थापक रविन बुढाथोकी र लेखा अधिकृत शुभलक्ष्मी श्रेष्ठ छन् । कम्पनीमा स्थायी ५४ जना र अस्थायी ८ जना गरी ६२ जना कर्मचारी कार्यरत छन् ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

व्यावसायिक उत्पादन सुरु नगरेको हुँदा हाइड्रोपावर कम्पनीको अन्य आम्दानी हुँदैन । कम्पनीले निर्माण अवधिको सम्पूर्ण खर्च कुल लागतमा जोड्ने गर्दछ भने निर्माण अवधिमा सम्पत्तिहरूको ह्रासकट्टी गरिसकेपछिको रकमलाई लागतमा जोडेको छ ।
त्यसैले यस्ता कम्पनीको उत्पादन सुरु हुनुअघिको वित्तीय विवरणले लगानीमा निर्णय गर्न सहज हुँदैन । तर, आयोजनाको लागत र वाषिर्क विद्युत् उत्पादन क्षमताले भने कम्पनीले कस्तो प्रतिफल दिन सक्छ भनेर मूल्यांकन गर्न सकिन्छ ।
कम्पनीको प्रक्षेपित वित्तीय विवरणमा आर्थिक वर्ष २०७९/८० मा नै ८२ लाख ८२ हजार नाफा आर्जन गर्ने प्रक्षेपण गरेको थियो । तर, विद्युत उत्पादन सुरु नभएकाले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा कम्पनीले नाफा नोक्सानमा हिसाब देखाएको छैन । नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको कम्पनीको प्रक्षेपित वित्तीय विवरणमा भने गत आर्थिक वर्षमा नै विद्युत बिक्री आम्दानी १ करोड ६२ लाख ९६ हजार हुने उल्लेख थियो ।
कम्पनीको उक्त आर्थिक वर्षको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७ पैसा हुने प्रक्षेपण गरेको थियो । तर, उत्पादन नै सुरु नगर्दा कम्पनीको नाफा नोक्सान हिसाबमा कुनै लेखांकन छैन ।
चालु आर्थिक वर्षमा ४ करोड ५६ लाख ९३ हजार नाफा आर्जन गर्दा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीले १५ करोड २१ लाख २८ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीबाट १५ करोड ६६ लाख ९२ हजार आम्दानी गर्ने प्रक्षेपण गरेको छ । कम्पनीले उक्त वर्ष ५ करोड २४ लाख ५६ हजार रुपैयाँ मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १०८.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
कम्पनीको विवरणपत्रमा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट नै लाभांश बाँड्नेसक्ने उल्लेख गरिएको छ । तर, उत्पादन नै सुरु हुन बाँकी रहेकोले चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश बाँड्ने सम्भावना भने कमजोर छ ।
नेपाल विद्युत प्राधिकरणले वषर्ायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद बिक्री सम्झौता गरेको थियो । व्यापारिक उत्पादन शुरु हुने मितिबाट एक वर्ष पुगेको महिनाको लगत्तै पछिको महिनादेखि लागू हुने गरी प्रत्येक वर्षको लागि ३ (तीन) प्रतिशतका दरले ५ -पाँच) पटकसम्म साधारण मूल्यवृद्धि हुनेछ ।
यसरी वृद्धि भएर ६१ औं महिनादेखि सम्झौता अवधिभर सुख्खायाममा प्रतियुनिट ९ रुपैयाँ ६६ पैसा र वर्षायामको ५ रुपैयाँ पैसा पुग्ने गरी प्राधिकरणसँग पीपीए भएको हो ।
जोखिमको अवस्था
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
जलविद्युत् आयोजना निर्माण गर्दा हुने जोखिमहरूमध्ये भूकम्प, बाढीपहिरो जस्ता कारणले हुने क्षति र यसवाट विद्युत उत्पादनमा पर्ने प्रभावलाई न्यूनीकरणका लागि परियोजनाको सम्पूर्ण सम्पत्तिलाई खाम्ने गरी बीमाको व्यवस्था गरिएको जनाएको छ ।
जलवायु परिर्वतनबाट खोलामा पानीको बहावमा थपघट हुन गई विद्युत् उत्पादनमा घटबढ हुनसक्ने कम्पनीले जनाएको छ । यसका लागि विद्युत् उत्पादनमा कमी आएमा हर्जाना मिनाहा हुने व्यवस्था कायम रहेको जनाएको छ । तर, उत्पादनमा आउने कमीबाट कम्पनीको आम्दानीमा हुने जोखिम भने यथावत रहन्छ । देशको राजनैतिक अस्थिरताबाट आउन सक्ने जोखिमहरू पुँजीबजारको अवस्थामा आउने उतार-चढावबाट पर्न सक्ने जोखिमहरू भने रहेको कम्पनीले जनाएको छ ।
तर, परियोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भइसकेको हुनाले परियोजनाको आय निश्चित भएकाले उक्त जोखिम भने नरहेको कम्पनीले जनाएको छ ।
प्रशारण लाइनमा हुन सक्ने प्राविधिक वा यान्त्रिक गडबडीका कारण उत्पादित विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने साथै विद्युत केन्द्रमा जडित मेसिन तथा यान्त्रिक उपकरणहरूमा हुने खराबीका कारण विद्युत उत्पादन तथा आपूर्ति अवरुद्ध हुन सक्ने जोखिम पनि रहन्छ ।
यस्तै, जलविद्युत् कम्पनीहरूको सेयर सार्वजनिक निष्कासन भएको ३ वर्षपछि संस्थापक सेयर पनि कारोबार गर्न सकिने भएकाले संस्थापकको लकइन अवधि खुल्दा सेयरको आपूर्ति बढ्न गई मूल्यमा प्रभाव पर्नसक्ने विषयलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ ।
नेपाल धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका संस्थापकलाई व्यवसायिक उत्पादन सुरु नगरी सेयर बेच्न रोक लगाउन तयारी गरेकोले संस्थापक तत्कालै बाहिरिएर आयोजना अलपत्र पर्ने जोखिममा भने कमी आउने विश्वास गर्न सकिन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4