
२४ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड भन्दा बढी) क्लाइमेट फन्डको ऋण लिने भएको छ । स्वच्छ ऊर्जामा लगानी गर्न उक्त ऋण लिन लागेको बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको हो । दुईपक्षबीच यससम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको बैंकले जनाएको छ ।
उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ।
जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आईएमई बैंकलाई ऋण प्रदान गरेको हो । वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरुमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति खुशी व्यक्त गरे ।
उनले ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र उर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जा क्षेत्रमा प्रभावकारीता एवम् दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास दुवै पक्षले लिएका छन् ।
प्रतिक्रिया 4