+
+

चितवन मेडिकल कलेजमा स्तन क्यान्सरको निःशुल्क परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १६:०७

२७ असोज, चितवन । चितवन मेडिकल कलेजमा क्यान्सर इन्ष्टिच्युटमा स्तन क्यान्सरसम्बन्धी निशुल्क परीक्षण गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले अक्टोबर महिनाभरि नै स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने अभियान चलाइरहेको छ । त्यसै सन्दर्भमा कलेजले स्तन क्यान्सरको बहिरंग टिकट र परीक्षण निःशुल्क गरेको जनाएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार अक्टोबर महिनाभर प्रत्येक शुक्रबार विद्यालय र क्याम्पसमा विद्यार्थीहरुलाई स्तन क्यान्सरको आफैंले कसरी परीक्षण गर्ने भन्ने बारेमा जानकारी गराइएको छ ।

नौ कक्षाभन्दा माथिका छात्रा र विद्यालय, क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाहरुको पहिचान कसरी गर्ने, कसरी आफैंले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको उनले बताए ।

अस्पतालका अंकोलोजिष्ट डा. सुवास ठाकुरले महिलामा स्तन क्यान्सरको जोखिमलाई कम गर्न बेला बेलामा परीक्षण गराउन समुदायमा चेतना फैलाउन आवश्यक भएको बताए ।

उनका अनुसार स्तन क्यान्सरको दर नेपालमा क्यान्सरका कुल बिरामीको तेस्रो स्थानमा रहेको छ । ४० देखि ६० बर्षको उमेर समूहमा महिलाहरुलाई बढी स्तनको क्यान्सर हुने गरेको पाइन्छ ।

‘स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो या होइन भन्ने यकिन गर्नुपर्छ’, डा. ठाकुरले भने, ‘बेलैमा यसको पहिचान भए निको भएर पूर्ववत जीवन जिउन सकिन्छ ।’ मेमोग्राम र युएसजी गरेर स्तन क्यान्सर भएको वा नभएको पत्ता लगाउन सकिने डा. ठाकुरले बताए ।

विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?