+
+

मिडिया, महिला र म (भिडियो)

अमृता लम्साल अमृता लम्साल
२०८० कात्तिक १ गते ११:३६

मैले ‘हजुरआमाका कथा’ नामक पहिलो किताब लेखेकी थिएँ । दोस्रो किताब ‘मिडिया, महिला र म’ मा ५० को दशकमा महिला हकका लागि भएका कानुनी र सडक संघर्ष सबै समेटेकी छु । कानुनहरू बनाउने क्रममा महिला समूहहरू कस्ता खालका विभेदका चरणहरूबाट गुज्रिए भन्ने सबै विवरणलाई दस्तावेजका रूपमा अघि सारेकी छु । लैंगिक तथा सामाजिक अध्ययनका लागि काम लागोस् भनेर यो किताब तयार पारेकी हुँ ।

म आफैं मिडियामा भएका कारण मिडियामा महिलाका इस्यु ल्याउन कतिको सजिलो–अप्ठेरो थियो भन्नेबारे मैले किताबमा मसिनो गरी लेखेकी छु । २०४६ को आन्दोलन सफल भएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग कार्यपालिका र व्यवस्थापिका दुवैको नेतृत्व थियो । महिलाबारे भेदभावपूर्र्ण व्यवहार विरुद्धको सन्धि सिड (महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९) मा उहाँले हस्ताक्षर गरेर आउनुभयो । अन्तरिम सरकारले अनुमोदन पनि गर्यो । नेपाली महिला आन्दोलनका लागि त्यो कोसेढुंगा थियो ।

त्यसका बारेमा सर्वोच्च अदालतमा मुद्दा समेत पर्यो । यी सबै किन भयो भन्ने बारेमा विस्तृत कुराहरू इतिहासको पानाबाट मैले सम्झाएकी हुँ । महिला समूह, व्यक्तिहरू समेतको पहलमा मुद्दा पर्दै गएपछि सर्वोच्चले आदेशहरू गर्यो । महिलाहरूले सदन र सडकमा आवाज उठाए ।

किताबमा बेइजिङ सम्मेलन बारे पनि चर्चा छ, जुन सम्मेलन विश्वकै महिलाहरूका लागि ठूलो आन्दोलन र अभियानको महत्वपूर्ण विन्दु थियो । १२ वटा क्षेत्रमा महिलाहरूलाई राष्ट्रसंघ सदस्य राष्ट्रहरूले बेइजिङमा गएर बोल्ने, नीति बनाउने कामहरू गरेका थिए । किताबमा यस्ता संकलनहरू पनि छन् । नेपालले गरेका प्रगतिहरू पनि यसमा छन् ।

सन् १९७५ देखि नै नेपालमा महिला अधिकारका लागि कामहरू भइरहेका थिए । तीमध्ये कतिपय देखाउनका लागि भइरहेका थिए, कतिपय चाहिं साँच्चैका पहल पनि थिए होलान् । मैले त्यसको अन्तर्यबारे पनि किताबमा लेखेकी छु । किनभने ‘मिडिया, महिला र म’ भन्ने किताब लेख्नुको उद्देश्य नै नेपाली प्रेसमा महिलाको चित्रण, महिला उपस्थिति अनि नेतृत्वमा आउनका लागि भोग्नुपर्ने चुनौती आदिको वर्णन छ ।

माओवादी सशस्त्र युद्धका बेला महिलाहरूले गरेका रिपोर्टिङ, अनि युद्धबारे लेखिने गरेका समाचारको स्थिति के–कस्तो थियो भन्नेबारे रोल्पा, रुकुममा पुगेर स्थलगत रिपोर्टहरू लेख्यौं । त्यसरी युद्धग्रस्त इलाका गएबापत विभिन्न प्रश्न उठाइए । हामीमध्ये कतिपयले जागिर नै गुमाउनु परेको थियो । मेरो पुस्तक ती दुःख–सुखका दिनहरूको सम्झना अभिलेख पनि हो ।

पहिलेभन्दा नेपाली प्रेसमा महिला सहभागिता कता हो कता राम्रो भएको छ । आशाप्रद रूपमा हेर्नुपर्ने धेरै कुरा छन्, तर अझै पनि नेतृत्वमा महिला आउनका लागि चुनौती छन् । ती चुनौती अझै पनि सम्हाल्न कठिन जस्ता लाग्छन् । मैले आगामी बाटो के कस्तो होला, हुनुपर्ला भन्ने आफ्ना धारणा सहित पुस्तक तयार गरेकी हुँ । स्वास्थ्य संवेदनशीलताको बाबजुद पनि निकै कडा परिश्रमवश यो किताब तयार भएको छ । अक्षर क्रियशन्सले यसलाई मिहिनेतपूर्वक पुस्तकको रूप दिने काम गरेको छ । नेपाली महिला, पुरुष अनि पत्रकार बन्न चाहने, पत्रकारिताको बारेमा सोच्नेहरूले यो किताब हेरिदिनुभयो भने म आफ्नो प्रयासमा सफल भएको ठान्नेछु ।

(विस्तृत भिडियोमा हेर्न सक्नुहुन्छ ।)

भिडियो : शंकर गिरी

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?