+
+

कोशीमा केदार कार्कीको विद्रोह अनुमोदन

हरि अधिकारी हरि अधिकारी
२०८० कात्तिक १ गते २१:२६

‍१ कात्तिक, विराटनगर । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए ।

बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा उनले ८६ मत प्राप्त गरे । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले विश्वासको मत दिए ।

उनको विपक्षमा राप्रपा मात्रै उभिएको छ । राप्रपाका ६ मध्ये पाँच सांसदले विपक्षमा मतदान गरे । एक सांसद अनुपस्थित रहे ।

विश्वासको मत पाएसँगै कांग्रेसभित्र कार्कीले गरेको विद्रोहको अनुमोदन भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि सत्तारुढ गठबन्धन दलले मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सारेको थियो ।

तर कांंग्रेसको डा. शेखर कोइराला समूहका ८ जना सांसद लिएर कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र हस्ताक्षर सनाखत गरेपछि शनिबार प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेशसभामा विश्वासको मत माग्दा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मुख्यमन्त्री बन्न उनलाई समर्थन गर्ने दल एमालेबाट विश्वासको मत पाए ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा पार्टीले निर्णय गरेर कार्कीलाई विश्वासको मत दिएपछि विद्रोहको च्याप्टर क्लोज भएको बताउँछन् ।

‘विश्वासको मत दिने र सरकारको पक्षमा बस्ने भनेर पार्टीले परिपत्र गरेपछि विद्रोहको कुरा सकियो’, अनलाइनखबरसँग उनले भने, ‘उहाँ नेपाली कांग्रेसको मुख्यमन्त्री, सहमतीय सरकारको मुख्यमन्त्री ।’

बुधबार प्रदेशसभाको बैठकमा उनले विद्रोह गरेका सांसदसँग आफूहरुले गला मिलाएको बताए । ‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो’, उनले भने, ‘युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत गर्‍यौं ।’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनको मर्म र भावना अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताए ।

‘साढे तीन महिनाअघि आजका मुख्यमन्त्रीज्यूले यही संसदमै गठबन्धनको मर्म अनुसार माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन आग्रह गर्नुभएको थियो’, उनले भने, ‘संसदबाट फर्किएर हामी दुई (माओवादी र जसपा) कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न तयार भएका थियौं, त्यो सफल हुन सकेन, पछिल्लो समय गठबन्धनले जे निर्णय गरेको थियो, त्यो पनि कार्यान्यन हुन सकेन ।’

पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रकुमार राई केदार कार्कीले कुनै बहादुरीको काम नगरेपनि गठबन्धनको मर्म अनुसार विश्वासको मत दिएको बताउँछन् ।

यसअघि एमालेले आफूहरुलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको संकेत गर्दै राईले भने, ‘यसरी मुख्यमन्त्री हुने हो भने शायद केदार कार्की माननीयज्यूलाई भन्दा पहिला हामीलाई प्रस्ताव आएको थियो होला । दशौं पटक आएको थियो होला’, उनले भने, ‘उहाँको यो कुनै बहादुरीको कुरा होइन ।’

आफूहरुले सत्तारुढ गठबन्धनप्रतिको प्रतिवद्धताका कारण एमालेको प्रस्ताव स्वीकार नगरेको उनको आशय थियो । ‘हामीले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर त्यो प्रस्ताव स्वीकार गरेनौं, त्यसकारण हामी मुख्यमन्त्री भएनौं’, राईले भने ।

राजनीतिक विश्लेषक मणि दाहाल मुख्यमन्त्री कार्कीको विद्रोहलाई गरेको अनुमोदनले दलहरुमा दण्डहीनता बढ्ने बताउँछन् । दलभित्र विद्रोह कारबाहीको विषय हुनुपर्ने उनको भनाइ छ । ‘दलीय राजनीतिमा निर्दलीय अभ्यास भयो, यो कांग्रेसभित्रको आन्तरिक मामिला हो’, उनले भने,‘ आज विद्रोहलाई अनुमोदन गरेको पनि देखियो ।’

सरकार गठनका लागि संविधानको धारा १६८ (५) को विशेष सुविधाको गलत अभ्यास भएको उनको भनाइ छ । ‘दलको निर्णयलाई नमानेर विद्रोह गर्ने कुराले अहिलेको त संकट टर्‍यो, तर यसले दलहरु कमजोर हुन्छन्, दलको मूल्य नरहने अवस्था आउनसक्छ’, उनले भने, ‘सत्ता पक्ष प्रतिपक्ष र सम्बन्धित दलले अनुमोदन गर्ने कुराले उनको विद्रोह ठीक थियो भन्ने देखियो ।’

‘दलहरुको संस्थागत निर्णय लागु हुन नसक्ने अवस्था आयो’, उनले अगाडि भने, ‘यो कांग्रेसको सवाल मात्रै होइन, भोलि एमालेमा पर्न सक्छ, माओवादीमा पनि पर्न सक्छ ।’

अब सहमतीय सरकार कि गठबन्धनको ?

बुधबार विश्वासको लिएपछि मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि प्रयास गर्ने बताए । ‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ’, उनले भने, ‘पावर सेयरिङका विषयमा सम्वाद र सहमति गरेर अघि बढ्छौं ।’

कांग्रेस नेता उद्धव थापाले हिक्मत कार्कीलाई गठबन्धनको सरकारमै बस्न आग्रह गरे । अघिल्लो बैठकमा एमाले संसदीय दलका नेता कार्कीले केन्द्रमा जे निर्णय भए पनि प्रदेशको हितमा निर्णय गर्न आफू सक्षम रहेको बताएका थिए ।

उक्त भनाइ स्मरण गराउदै थापाले कार्कीलाई भने, ‘त्यो हामीले बिर्सिएका छैनौं । अब यहाँको निर्णय यो सरकारमा लागू होस्, पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले भने जस्तो हिम्मत गरौं, यो सरकारलाई निरन्तरता दिऊँ र सम्भावित मध्यावधिबाट यो प्रदेशलाई जोगाऊँ ।’

तर एमाले भने सहमतिको सरकारको पक्षमा छैन । एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतीय सरकारमा एमालेको रुचि नरहेको बताए ।एमाले–कांग्रेसको सरकार बनाउने कि सत्ता गठबन्धनको सरकार बनाउने हो भन्ने अब मुख्यमन्त्रीको हातमा रहेको उनको भनाइ छ ।

बुधबार गठबन्धन दलको बैठकमा मुख्यमन्त्री कार्कीले गठबन्धनको सरकार बनाउने बताएका थिए । बजेट अध्यादेश पास गर्दा एमालेको साथ चाहिने भएका कारण उनले सार्वजनिक रुपमा बोलेका छैनन् ।

कांग्रेससहित गठबन्धन दलहरु एमालेलाई सत्ता बाहिर राख्न चाहन्छन् । तर कार्कीले आइतबार सपथग्रहण गर्दा एमाले सांसद राम रानालाई सरकारमा सहभागी गरासकेका छन् ।

‘गठबन्धन कहाँ छ यहाँ सरकारमा ? हामीले समर्थन गरेर सरकार बनाएका छौं, गठबन्धन हुन्छ ?’ गठबन्धनले एमालेलाई बाहिर राख्न खोजिरहेको छ नि भन्ने प्रश्नमा एमाले दलका नेता कार्कीले भने, ‘हामीलाई कसैले निकाल्न सक्दैन, हामी आफैं निस्कन्छौं निस्कन पर्दा ।’

उनले केन्द्रीय गठबन्धनसँग आफूहरु कहिल्यै पनि सँगै नहुने उनको भनाइ छ ।

एमालेले बनाएको सरकार भएका कारण सहमतिको सरकार सम्भावना नरहेको कार्कीले दाबी गरे । शक्ति बाँडफाडका विषय मुख्यमन्त्रीसँग केन्द्रित रहेकाले छलफलबाट टुङ्गोमा पुगिने उनले बताए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो एमाले सरकारमा बसेको हेर्न चाहदैनन् । उनी कार्की नेतृत्वको सरकारबाट बाहिएर एमाले प्रतिपक्षमा बस्नुपर्ने बताउँछन् ।

‘गठबन्धनको कमजोरी र संविधानको केही प्रावधानलाई ख्यालमा राखेर जबरजस्ती एमाले गठबन्धनभित्र घुसेको छ’, आङ्बोले भने, ‘एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस् ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?