 
																			एप्पलको लोकप्रिय उत्पादनको रुपमा रहेको आइफोन संसारमा सबैभन्दा धेरै माग हुने स्मार्टफोन मध्येको एक हो ।
हरेक वर्ष जब नयाँ संस्करणको आइफोन सार्वजनिक हुन्छ तब मानिसहरू यो फोन खरिद गर्नका लागि लालायित हुन्छन् ।
यो वर्ष गत सेप्टेम्बर १२ मा आइफोन १५ सिरिज लञ्च भयो भने त्यसको एक हप्तापछि अर्थात् सेप्टेम्बर २२ देखि फोनको बिक्री सुरु भयो । नयाँ आइफोनप्रति मानिसहरुको आशक्ति यतिधेरै देखियो कि विभिन्न देशमा एप्पल स्टोर बाहिर मानिसहरुको ठूलै लाइन लाग्यो अघिल्ला वर्षहरुमा झैं ।
आखिर मानिसहरू हरेक वर्ष नयाँ आइफोन किन्नका लागि किन यतिधेरै मरिहत्ते गरिरहेका छन् ? हालै एप्पल कम्पनीका सीईओ टिम कुकुलाई एउटा प्रश्न सोधियो- के एप्पल कम्पनीका लागि हरेक वर्ष एउटा नयाँ आइफोन ल्याउनु आवश्यक छ ?
एक अन्तरवार्ताका क्रममा टिम कुकुलाई बर्सेनी नयाँ आइफोन ल्याउनुका पछाडिको कारणका बारेमा पनि सोधियो ।त्यसको जवाफमा टिम कुकले भनेका छन्, ‘मलाई लाग्छ कि ती मानिसहरु जसले आइफोन मन पराउँछन् उनीहरुका लागि हरेक वर्ष एउटा नयाँ आइफोन हुनु निकै ठूलो कुरा हो ।’
डेनमार्कस्थित एप्पलको डाटा सेन्टरमा कुराकानी गर्दै कुकले एप्पलमा हुने निरन्तरको पुनर्आविष्कार निकै ठूलो विषय रहेको भन्दै निरन्तर नयाँ फोनले पुराना फोन विस्थापित भैरहनुका बाबजुत कम्पनीले कसरी दिगोपनालाई जोड दिइरहेको छ भन्ने बारेमा पनि बताएका छन् ।
कुकले एप्पलको उक्त नीतिका विषयमा पनि चर्चा गरेका छन् जसमा प्रयोगकर्ताहरुलाई आफ्नो पुरानो आइफोनसँग नयाँ आइफोन साट्ने अनुमति दिइन्छ।
अनि त्यो पुरानो आइफोनलाई के गरिन्छ त ? यो प्रश्नको जवाफ दिंदै टिम कुकले यदि पुरानो त्यो आइफोनले काम गरिरहेको भए त्यसलाई पुनः बजारमा बेच्ने गरिएको बताए । त्यस्तै बिग्रेर काम गर्न छाडेका पुराना आइफोनलाई चाहिं छुट्टाइने र नयाँ आइफोन बनाउका लागि त्यसका पाटपुर्जा उपयोग गरिने पनि उनको भनाइ छ ।
एप्पलले पछिल्लो ५ वर्षमा आठवटा नयाँ आइफोन मोडेल बजारमा ल्याएको छ । त्यसमा सन् २०१८ को सेप्टेम्बरमा आइफोन एक्स एस र एक्स एस म्याक्स, २०१८ मै एक्स आर, तथा सन् २०१९ मा आइफोन ११ सिरिज रहेका छन् । त्यसैगरी एप्पलले सन् २०२० मा आइफोन १२ सिरिजका साथै एस इ टू मोडेल ल्याएको थियो ।
अर्को वर्ष सन् २०२१ मा आइफोन १३ सिरिज बजारमा ल्याएको एप्पलले गत वर्ष सन् २०२२ मा एस ई ३ का मोडेलका साथै आइफोन १४ सिरिज ल्यायो भने यो वर्ष आइफोन १५ सिरिज बजारमा ल्याएको छ ।
टिम कुकले आगामी २०।३० वर्षमा आइफोन पूर्णरुपमा कार्बन न्युट्रल हुनेतर्फ संकेत गर्दै अहिल्यै नै त्यसका विषयमा गोप्य कुरा नखोल्ने बताएका छन् । वातावरणमैत्री प्रविधिको दिशामा एप्पल रोड मोडल बन्ने र त्यसले यस क्षेत्रमा ठूलो तरंग पैदा गर्ने उनको दाबी छ ।
उनका अनुसार एप्पलले आफ्नो नयाँ एप्पल वाचमा ३० प्रतिशत पुनः चक्रणीय वस्तुहरु प्रयोग गरेको छ । साथै त्यसमा प्याकेजिंग र प्लास्टिकको प्रयोग पनि घटाइएको र ढुवानीका लागि हवाई जहाजको साटो पानी जहाजको प्रयोग गरिएको उनले बताएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4