+

उच्च रक्तचापले मुटुमा पार्न सक्ने ६ घातक असर

२०८० कात्तिक  २ गते १२:५८ २०८० कात्तिक २ गते १२:५८
उच्च रक्तचापले मुटुमा पार्न सक्ने ६ घातक असर

उच्च रक्तचाप भएका व्यक्तिलाई मुटुरोग हुने सम्भावना अधिक हुन्छ । किनकि शरीरमा रक्तचाप बढेको बेला मुटुले बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यसले मुटुमा घातक असरहरु गर्न सक्छ ।

हृदयघातको जोखिम

हृदयघात भनेको मुटुको मांसपेशीलाई असर गर्छ । शरीरमा शुद्ध रगत पुर्‍याउन मुटुको मांसपेशीमा रहेका कोरोनरी धमनीहरूमा केही कारणले अवरोध पुगेमा मांसपेशी मर्ने अवस्थालाई हृदयघात भनिन्छ ।

रक्तचाप निरन्तर बढिरहँदा लामो समयसम्म रगतले रक्तनलीको भित्तामा दबाब दिन्छ । यसले गर्दा मुटुको धमनीको भित्रीपत्र इन्डोथेलियम क्षतिग्रस्त भई उक्त भागमा कोलस्टेरोल जम्मा भई साँघुरो हुन्छ । यसले हृदयघात हुने जोखिम हुन्छ । वा प्लाक बन्ने प्रक्रिया तीव्र गतिमा हुन पुग्छ ।

मुटुको मांसपेशीभित्र हुने रक्तवाहिनी नलीहरूमा यसरी निरन्तर अवरोध रहिराखेमा मुटु क्षीण हुँदै जान्छ । यस्तो समयमा छातीकोबीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम चढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नुजस्ता लक्षण देखा पर्छन् ।

मुटुको बायाँ भेन्ट्रिकल सुन्निने समस्या

मुटुका चार खण्डमध्ये मुटुको पम्पको मुख्य काम बायाँ भेन्ट्रिकलले गर्छ । रक्तचाप बढेको बेला बायाँ भेन्ट्रिकलले बढी दबाबमा काम गर्नुपर्दा यसमा मोटोपन र कडापन हुन पुग्छ । यसले गर्दा बायाँ भेन्ट्रिकलको भित्ता बढी बाक्लो र कम लचक भएर जान्छ । यसैलाई मुटुको बायाँ भेन्ट्रिकल सुन्निने अवस्था भनिन्छ । जसलाई ईसीजी वा इकोकार्डियोग्राम गरेर पत्ता लगाउन सकिन्छ । सुरुकै बेलामा उपचार गरे यो सामान्य अवस्थामा फर्किन सक्छ । तर पछि बढ्दै गएमा हृदयघात हुने सम्भावना बढेर जान्छ ।

मुटुको बायाँ भेन्ट्रिकलमा मोटोपन र कडापन भएमा मुटुको चाल अनियन्त्रित र अनियमित हुन सक्छ । मुटुभित्रका स-साना रक्तनलीहरू आवश्यक परेको बेलामा फुक्न नसक्ने हुँदा हृदयघातको जोखिम झन् बढ्ने गर्छ । यस्तो अवस्थामा मानिसको अकस्मात मृत्यु  हुन पनि सक्छ ।

मुटुको पम्प कमजोर हुने समस्या

मुटुको पम्प कमजोर हुने अवस्थालाई मुटु फेल भनिन्छ । लगातार मुटुको पम्पले बढी दबाबमा काम गरिरहँदा पछि गएर मुटु थाक्ने र काम गर्ने क्षमता घटने समस्या देखिन्छ । यस्तो समस्या देखिएमा बिस्तारै हिंड्दा पनि श्वास बढ्ने, खुट्टा सुन्निने र थकाइ बढी लाग्ने हुन्छ ।

मुटु फुक्न वा फैलिन नसक्ने समस्या

मुटु खुम्चिने र फुक्ने प्रक्रिया निरन्तर चलिरहन्छ । खुम्चिएको बेलामा मुटुले रगत पम्प गरिरहेको हुन्छ भने फुकेको बेलामा रगत ग्रहण गरिरहेको हुन्छ, जसबाट मुटुमा रगत भरिन्छ । त्यसरी फुकेको बेलामा जम्मा भएको रगत हरेक धड्कनले अगाडि धकेलिरहेको हुन्छ ।

रक्तचाप बढी रहिरहेमा मुटुमा कडापन बढ्ने तथा लचकता घट्ने गर्छ, जसलाई डायस्टोलिक संकुचन भनिन्छ । यस्तो भएमा मुटु फुकेको बेला रगत ग्रहण गर्ने क्षमता घट्न जान्छ ।

रक्तनली फैलिने खतरा

मुटुको वरिपरि ठूला तथा मध्यम खालका रक्तनलीहरू हुन्छन् । ती रक्तनलीहरू उच्च रक्तचापका कारण कडा हुने र लचकता कम हुने समस्या देखा पर्छ । जसबाट रक्तप्रवाहमा नकारात्मक असर पर्छ । रक्तनलीहरूका भित्तामा बोसोजन्य पदार्थ जम्ने तथा रक्तनलीहरू साँघुरिने हुन्छन् । त्यसले गर्दा रक्तनलीहरूमा उच्च रक्तचापका कारण मांसपेशीहरू कमजोर भई तन्किने तथा च्यातिने खतरा पनि हुन्छ । जुन समस्या अति नै जोखिमयुक्त हुने हुनाले मानिसको अकस्मात मृत्यु हुन सक्छ ।

त्यस्तै मस्तिष्क तथा मुटुका रक्तनलीहरू साँघुरिंदै जाने र पछि मस्तिष्क पक्षघात तथा हृदयघातको जोखिम बढ्छ ।

मुटुको चालमा गडबडीको समस्या

उच्च रक्तचापले गर्दा दायाँ भेन्ट्रिकल सुनिएको छ भने चालमा गडबडी हुने जोखिम थप बढेर जान्छ । मुटको चाल अनियन्त्रित तथा अनियमित हुन सक्छ । यस्तो अवस्थामा मानिसको अकस्मात मृत्यु हुन पनि सक्छ । रक्त लामो समयसम्म बढिरहँदा वा एक्कासी धेरै नै बढ्दा मुटुको चालसम्बन्धी समस्या बल्झिने गर्छन् ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. म्साल ओम अस्पतालका कार्यरत छन उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

उच्च रक्तचाप मुटुरोग
लेखक
डा. कमल लम्साल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चर्को घामबाट भित्र पस्नेबित्तिकै धेरै चिसो पानी पिउनु हुँदैन किन  ? ५ कारण

चर्को घामबाट भित्र पस्नेबित्तिकै धेरै चिसो पानी पिउनु हुँदैन किन ? ५ कारण

परदेशको तनाव : मानसिक अस्पतालमा बढ्दै युवाको भीड

परदेशको तनाव : मानसिक अस्पतालमा बढ्दै युवाको भीड

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

४० कटेसी रमाउने होइन, जीवनशैली सुधार गर्ने हो

४० कटेसी रमाउने होइन, जीवनशैली सुधार गर्ने हो

तनावले शरीरका कुन–कुन अंगमा कसरी असर गर्छ ?

तनावले शरीरका कुन–कुन अंगमा कसरी असर गर्छ ?

नेपालमा पहिलो पटक ‘जिन्सा २०२६’ : पोषणको भविष्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालमा पहिलो पटक ‘जिन्सा २०२६’ : पोषणको भविष्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै