+
+
प्रा.डा. केली हृवाइटसँग अन्तर्वार्ता :

‘आदिवासी समुदायसँग भएको ज्ञानलाई संस्थागत गर्न जरूरी छ’

नसना बज्राचार्य नसना बज्राचार्य
२०८० कात्तिक ८ गते १४:०६

जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दाहरूमा विपन्न र आदिवासी समुदायहरू सबैभन्दा बढी मर्कामा परिरहेको तथ्य सार्वजनिक भइरहेका हुन्छन् । तर त्यसको प्रभाव न्यूनीकरणमा उनीहरूको भूमिकालाई लिएर प्रायः बेवास्ता गरिने भन्दै आलोचना पनि उत्तिकै हुन्छ ।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दाहरूलाई आदिवासी समुदायसँग जोडेर हेर्नुपर्ने र उनीहरूको पुस्तैनी ज्ञानबाट सम्बन्धित समस्याको हल खोज्न सकिने बताइरहेका छन् । जलवायु परिवर्तन र यसका प्रभावहरूलाई न्यूनीकरण गर्न उनीहरूको योगदान विशेष हुनसक्नेमा अनुसन्धानकर्ताहरू आशावादी छन् ।

अमेरिकाको मिसिगन विश्वविद्यालयका प्राध्यापक डा. केली हृवाइट उल्लिखित मुद्दालाई मुखर ढंगले उठाइरहेका अनुसन्धाता हुन् । पर्यावरणीय न्यायका विशेषज्ञ उनी विश्वविद्यालयको सामाजिक न्याय र वातावरणका लागि टिशमान केन्द्रका संस्थापक निर्देशक समेत हुन् ।

झण्डै एक दशकदेखि आदिवासी र जलवायु परिवर्तनका मुद्दामा अनुसन्धान गरिरहेका प्राध्यापक हृवाइट वातावरणीय न्यायको पक्षमा वकालत गर्दै आएका छन् । ऊर्जा क्षेत्रमा विपन्न र आदिवासी समुदायहरूले सामना गर्नु परेका असमानताका विषयमा अनुसन्धानरत हृवाइट नेपाल भ्रमणमा रहेको बेला हालै अनलाइनखबरले गरेको कुराकानी : 

नेपाल भ्रमणमा हुनुहुन्छ । यसक्रममा जलवायु परिवर्तन र आदिवासी समुदायमा यसले पारेको प्रभाव कस्तो पाउनुभयो ?

यहाँ मैले धेरै महत्वपूर्ण अन्तर सांस्कृतिक विषयमा छलफल र विचार आदानप्रदान गर्ने अवसर पाएँ । यसर्थ मेरा लागि यो एक हप्ता धेरै महत्वपूर्ण रहृयो ।

अमेरिकामा सयौं आदिवासी जनजाति, विभिन्न संस्कृति र समुदायहरू छन् । हामीले वातावरणीय र जलवायु सम्बन्धी मुद्दाहरूमा अनुसन्धान गर्दा उनीहरूको सहयोग लिएका छौं । यहाँ पनि धेरै नै आदिवासी तथा जनजाति समुदाय छन् । मलाई उनीहरूबाट सिक्ने र आफूले अमेरिकामा गरिरहेका कामबाट प्राप्त सफलताका कथाहरू सुनाउन पाउँदा आनन्दानुभूति भएको छ ।

अमेरिकाका आदिवासीहरू आफ्नो परम्परागत अभ्यासहरू पुनर्स्थापित गर्दा के हुन्छ भनेर प्रश्न गरिरहन्छन् । राज्यले गैरकानुनी बनाएका आदिवासी समुदायका पुराना मूल्य, मान्यता र अभ्यासहरू पुनस्र्थापित गर्ने विषयमा उनीहरूको चासो हुन्छ । नेपालमा पनि आदिवासी समुदायले श्याग्या परम्परा संरक्षण ऐन होस् वा अन्य मुद्दामाथि प्रश्न गर्दै आएका छन् । आफ्ना परम्परागत अभ्यासहरूले जलवायु परिवर्तनलाई कम गर्न सक्छ भन्नेमा उनीहरूले चासो व्यक्त गरिरहेका छन् । विशेषगरी वनको संरक्षण गर्ने सन्दर्भमा उनीहरू बढी चिन्तित देखिन्छन् ।

त्यसैले नेपाल र अमेरिकामा यहाँका आदिवासीका परम्परागत अभ्यासहरूले कसरी समाधान दिनसक्छ भन्ने विषयमा भएको छलफलले उत्साहित बनाएको छ । तर हामीले उनीहरू कत्तिको जोखिममा छन् भनेर बुझ्नको लागि अनुसन्धान गर्न आवश्यक छ । त्यसपछि उनीहरूलाई अझ राम्रोसँग बसोबासको व्यवस्थापन गर्नुपर्छ र उत्पन्न भइरहेका खतराबाट जोगाउन आवश्यक छ ।

जलवायु परिवर्तनका असरहरूबाट आदिवासी जनजातिहरू कत्तिको जोखिममा छन् र उनीहरूले यसको सामना कसरी गरिरहेका छन् ?

अमेरिकासँग सम्बन्धित मेरो आफ्नै अनुसन्धानमा जलवायु परिवर्तनको असर सबैभन्दा बढी आदिवासी समुदायमा परेको देखिन्छ । बदलिंदो मौसम, बढ्दो तापक्रम लगायत विभिन्न समस्याले आदिवासी समुदायहरू सबभन्दा बढी गम्भीर खालका जोखिमको सामना गरिरहेका छन् । यस्ता विपत्तिहरू प्रायः मानवीय कारणले सिर्जना भइरहेका छन् ।

अमेरिकामा जलवायु परिवर्तनजन्य वातावरणीय प्रकोपका कारण स्थायी रूपमा पुनर्वास गर्नुपर्ने पहिलो समुदाय आदिवासी नै हुन् । कतिपयले अहिले आफ्नो बसोबास क्षेत्रसँगै आफ्नो संस्कृति र भाषाहरू समेत गुमाउँदै गएका छन् ।

गैर-आदिवासी समुदायहरू पनि भविष्यको विषयमा चिन्तित छन् । तर उनीहरूले यी चीजहरू अनुभव गरे पनि आफैंले भोग्नु परेको भने छैन । नेपालको सन्दर्भमा पनि यहाँका आदिवासी समुदायका मानिसहरूले जलवायु परिवर्तनबाट हुने उच्च जोखिम र क्षतिको सामना गरिरहेका छन् ।

मेरो अनुसन्धानले जलवायु परिवर्तनको प्रभाव आदिवासीहरूमा बढी पर्नुको कारण उनीहरू गलत ठाउँमा बस्नु होइन भन्ने देखाउँछ । बरु जमिनको क्षेत्रफल संकुचित भएको कारण यी समुदायहरू त्यस्ता स्थानमा बसोबास गर्नु परेको हो । आर्थिक अभावसँगै जलवायु परिवर्तन र वातावरणीय समस्याहरूको सामना गर्न स्रोतको अभाव भएका कारण पनि उनीहरू त्यस्ता ठाउँमा बसोबास गर्न बाध्य छन् ।

सरोकारवाला पक्षले समुदायको अधिकारलाई यथोचित सम्मान गरेको पाइँदैन । यसले जलवायु परिवर्तनका गम्भीर असरहरू आदिवासी समुदायमा बढी परेको देखिन्छ । नेपालमा उनीहरू पहिलेदेखि नै प्रविधि, सूचना र स्रोतको पहुँचभन्दा बाहिर छन् । यसले पनि थप असर गरेको हुनसक्छ ।

आदिवासी जनजातिका समस्यालाई अगाडि ल्याउन कसरी प्रोत्साहित गर्न सकिन्छ ?

आदिवासी तथा जनजाति समुदाय र जलवायु परिवर्तन सम्बन्धी प्रकाशित सामग्रीहरू हेर्ने हो भने कतै पनि उनीहरूको अनुभवलाई समेटिएको भेटिंदैन । त्यसको ट्रेन्डलाई हेर्दा जलवायु परिवर्तनका विषयमा विशेष भूगोल र राज्यको विषय उठाइएको हुन्छ, तर आदिवासी समुदायलाई समेटिएको हुँदैन ।

विशिष्ट स्थानसँग जोडिएका जलवायु सम्बन्धी पर्याप्त तथ्याङ्क हुन आवश्यक छ । जसले फरक ट्रेन्डलाई देखाउन सकिन्छ । त्यो समुदायका मानिसहरूका लागि स्थानीय सन्दर्भमा जलवायु परिवर्तनको अर्थ के हो भन्ने कुरा बुझ्ने एक मात्र महत्वपूर्ण तरिका पनि यही हो ।

मेरो आफ्नै पोटावाटोमी समुदायका आदिवासीहरूको आफ्नै ऐतिहासिक शैक्षिक र अनुसन्धान संस्थानहरू छन् । हामीले त्यहाँ अनुसन्धानबाट ज्ञान उत्पादन गर्‍यौं र त्यसलाई भावी पुस्ताहरूमा हस्तान्तरण गर्‍यौं । उक्त ज्ञानलाई हामीले सम्पूर्ण उत्तर अमेरिकाका अन्य आदिवासी समुदायहरूसँग आदानप्रदान मात्रै होइन, आर्थिक उपार्जनका लागि पनि उपयोग गर्‍यौं ।

अमेरिकाको राष्ट्रिय जलवायु मूल्याङ्कनले आदिवासी जनजातिहरूमा केन्द्रित अध्ययन गरेको छ । त्यसका अधिकांश लेखक आदिवासी हुन् । उनीहरू प्राज्ञिक शिक्षा लिएका भन्दा पनि बढी आफ्नै स्थानीय ज्ञान भएका व्यक्तिहरू हुन् । यसले उनीहरूको वास्तविक समस्या उठाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ । त्यसका लागि हामीले स्थानीय आदिवासी समुदायसँग विभिन्न कार्यशालाहरू समेत गरिरहन्छौं ।

त्यसकारण हामीलाई के विषयमा अनुसन्धान गर्ने, स्थानीय परिवेश अनुसार कस्ता अनुसन्धान विधिहरू अपनाउने र त्यसको भाषिक अनुवाद कसरी गर्ने भन्ने उचित जानकारीका लागि पनि आदिवासी समुदायको ज्ञानको आवश्यकता पर्दछ ।

विभिन्न कारणले धेरै वैज्ञानिक/अनुसन्धानकर्ताहरू आदिवासी समुदायसँग अपरिचित छन् । उनीहरू ती समुदायका कुनै पनि पुस्ता सँगसँगै बसेका छैनन् । यदि सर्वोपरि हितमा हुने गरी जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान गर्ने हो भने हामीले आदिवासी समुदायसँग आइडिया लिएर काम गर्न जरूरी छ ।

तपाईंले भने जस्तो अनुसन्धानका लागि लक्षित समुदायको सहभागिता पक्कै पनि महत्वपूर्ण छ । तर छलफलको दायरा बढाउनका लागि अनुसन्धानमा उनीहरू सहजै सहभागिता जनाउँछन् त ?

नेपालमा मैले धेरै युवासँग भेट गरें । उनीहरू यो क्षेत्रमा संघर्ष गर्न खोजिरहेका छन् भन्ने मलाई लाग्यो ।

उनीहरू जलवायु परिवर्तन र संरक्षणमा अनुसन्धान गर्न चाहन्छन्, समुदायसँग प्रत्यक्ष रूपमा काम गर्न चाहन्छन् । तर उनीहरूले काम गर्न पाइरहेका छैनन्, अर्थात् काम नै छैन ।

यहाँ काम नभएपछि उनीहरू गैरसरकारी संस्थाहरूको लागि काम गर्दैछन् । उनीहरू आफूले समाधान गर्न चाहेको विषयभन्दा फरक विषयमा सरकारसँग काम गरिरहेका छन् ।

त्यसैले हामी विगतमा जस्तै आदिवासीहरूलाई समर्थन गर्ने तरिकाहरू पत्ता लगाउन चाहन्छौं । जहाँ हाम्रा आफ्नै अनुसन्धान संस्थाहरू हुनेछन् र समुदायमा बस्ने मानिसहरू अनुसन्धानकर्ता हुनेछन् । अमेरिकामा विगत दुई-तीन दशकमा हामीले धेरै प्रगति गरेका छौं । हामीले स्थानीयको नेतृत्वमा अनुसन्धान गर्नुपर्ने विषयमा वकालत गर्दै आएका छौं । जहाँ हामी आफैंले योजना निर्माण गरेर कार्यान्वयन गर्छौं ।

एक जनजाति समुदायको सदस्यको हैसियतमा म मेरो विश्वविद्यालय वा राज्यले आहृवान गरेको भन्दा बढी आदिवासी नेता र जनजाति समुदायले आहृवान गरेका जलवायु परिवर्तनका असरबारे अनुसन्धान गर्छु ।

म ती परियोजनाहरू निर्माण गर्न जनजाति समुदायहरूसँग काम गर्छु र हामीले ती जानकारीहरू प्रकाशित गर्न सक्ने तरिकाहरू पत्ता लगाउँछौं । तर हामीले धेरै काम गर्नुपर्ने क्षेत्र भनेको शिक्षा हो । हामी आदिवासीहरूले अनुसन्धानका लागि प्रश्नहरू सोधिरहने र गैर-आदिवासीहरूले विधिहरू लागू गरून् भन्ने चाहँदैनौं । हामी आदिवासी समुदायकै युवाहरू यस्ता योजनाहरूमा प्रभावशाली हुन चाहन्छौं ।

विश्वभर जलवायु परिवर्तन र यसको प्रभाव बारे व्यापक विमर्श हुने गरेको छ । तर नेपालको सन्दर्भमा आदिवासी समुदायका मानिसहरूमा यस विषयमा कस्तो बुझाइ रहेको पाउनुभएको छ ?

यो विषय यहाँका धेरै छलफलमा उठेको पाएको छु । धेरै छलफलहरूमा आदिवासीहरूले नै जलवायु अनुकूलनको बारेमा कुरा गर्न चाहेको देखिन्छ, न कि समस्याको न्यूनीकरण, स्थानान्तरण वा विकासको बारेमा ।

तर केही अत्यन्तै अनुत्पादक जार्गनहरूका कारण नेपाल लगायत विभिन्न ठाउँका आदिवासी जनजातिहरूले आफ्नो समुदायमा के भइरहेको छ भन्ने बारेमा थोरै मात्रै बोल्न सक्छन् । छलफलमा चर्चा गरिने यसको विशाल अवधारणाले आदिवासी समुदायलाई फाइदा गर्दैन । उनीहरूले एकअर्काबाट सिक्ने गरी हामीले सहभागीबीच विचारको आदानप्रदान गर्न प्रोत्साहित गर्नुपर्छ ।

जस्तो कि भर्खरै हामीले यहाँ आयोजना गरेको सम्मेलनलाई ‘आदिवासीको नेतृत्वमा अनुसन्धान र शिक्षा’ भनेर शीर्षक राखिएको थियो । तर त्यो वातावरण र जलवायु सम्बन्धी मुद्दाहरूमा मात्रै केन्द्रित भयो ।

रोचक कुरा के छ भने आदिवासी समुदायका व्यक्तिहरू आफ्ना समृद्ध विवरणहरू लिएर आएका थिए । उनीहरूले आफ्नो समुदायमा के अनुभव गरिरहेका छन् भनेर सुनाए । त्यसले अब यहाँ भएका समस्याको समाधान के हुनसक्छ भनेर विकल्पहरू दिन मद्दत गर्नेछ ।

नेपालमा आदिवासी समुदायका बारेमा बाहिरका अनुसन्धानकर्ता र दाताहरूले चासो दिइरहेका हुन्छन् । यो मुद्दामा नेपालले केही प्रगति पनि गरेको पाउनुभयो ?

यसपटक हामीले जलवायु परिवर्तन लगायत मुद्दामा आदिवासीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे अन्तर्राष्ट्रिय दाता र एजेन्सीहरूलाई सिफारिस गरेका छौं । यसले छलफलबाट निष्कर्षमा पुगेका समाधानका ती उपायहरूले सरकार, गैरसरकारी संस्था, स्कलर र दाताहरूलाई एउटा सन्देश दिएको छ ।

सुखद् कुरा के हो भने धेरै विद्वान् यो मुद्दामा आदिवासी समुदायलाई मद्दत गर्न इच्छुक देखिएका छन् । नेपालका आदिवासी समुदायको क्षमता निर्माण र आदिवासी समुदायका युवालाई सशक्तीकरण गर्नका लागि विभिन्न एजेन्सीसँग छलफल भएको छ । विशेषगरी आफ्नो समुदायलाई उनीहरूले कसरी सूचित गर्न सक्छन् भन्ने कुरालाई प्राथमिकतामा राखेका छौं ।

यसका लागि दीर्घकालीन कोषको प्रबन्ध गर्ने र विभिन्न कार्यक्रम मार्फत आदिवासीहरूले एकअर्कालाई सूचित गरेर समाधानका उपाय सुझाउने बारे पनि छलफल गर्न सक्छन् ।

तर जबसम्म हामीले समुदायमा गहिरो गरी जरा गाडेका आदिवासी जनजातिहरूको भावी पुस्ता प्रश्न सोध्न, अनुसन्धान गर्न र त्यसलाई व्यापक बनाउन सक्षम हुँदैन, तबसम्म हामीले गर्नुपर्ने प्रगति हासिल गर्न सक्दैनौं ।

त्यसैले यो अर्को जोड दिनुपर्ने क्षेत्र हुनुपर्छ । हामीले जलवायु संकटको पूर्व अस्तित्वमा रहेका आदिवासी परम्परागत अभ्यासहरूलाई पुनस्र्थापित गर्न र यसका नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्नका लागि उनीहरूको योगदानलाई श्रेय दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?