+
+

राष्ट्रपतिबाट आममाफी पाएका व्यक्ति रकम असुली र धम्कीको आरोपमा पक्राउ

सुवास पण्डित सुवास पण्डित
२०८० कात्तिक १५ गते ७:३९

१५ कात्तिक, चितवन । गणतन्त्र दिवसका अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्तिलाई अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको छ ।

९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन भन्दै कैद सजाय छुट पाएर जेलबाट निस्केका भरतपुर महानगरपालिका वडा नं.९ का ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापामाथि २५ लाख रुपैयाँ नदिए भरतपुर महानगरपालिका-१ का सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ ।

सुवेदीले भरतपुर १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार आरोपित थापाले हिन्दी भाषामा बोलेर सुवेदीलाई धम्क्याएका थिए । ‘थापाको विगत हेर्दा पटक-पटक अपराधमा संलग्न भएको र गणतन्त्र दिवसका दिन आममाफी पाएर जेलबाट छुटेको देखिएको छ,’ प्रहरी प्रवक्ता पण्डितले भने ।

सुवेदी पैसा दिन जाँदा समातिएका थिए थापा

थापा र सुवेदीको चिनजान पुरानो थियो । सुवेदीको औषधि पसलका ग्राहक पनि थिए थापा । उनले हिन्दी भाषामा बोलेर सुवेदीसँग रकम माग गरेका थिए ।

गत कात्तिक ८ गतेदेखि थापाले सुवेदीलाई निरन्तर फोन गरेर रकम मागेका थिए । कात्तिक १० गते फेरि फोन गरेर थापाले पैसा लिएर विभिन्न ठाउँमा आउन भने । पैसा जुटाउँदै छु भनेर टारे । फेरि ११ गते पैसा के भो भनेर थापाले सोधे । कात्तिक १२ गते पैसा जुटाएर दिने निश्चित भएपछि सुवेदीलाई थापाले नारायणगढको सब्जी मण्डीमा बोलाए ।

आफूलाई धम्काएको र रकम मागेको जानकारी सुवेदीले जिल्ला प्रहरी कार्यालयमा गराइसकेकाले प्रहरीले सुवेदीलाई निगरानी गर्दै हिँडिरहेको थियो । सब्जी मण्डीमा रकम नलिई थापाले बौद्ध गुम्बा बसेनी चोक नजिकै बोलाए । सुरुमा २५ लाख माग गरे पनि थापालाई २० लाखमा सुवेदीले राजी गराएका थिए ।

२० लाख बोकेर हिँडेका सुवेदीसँग फरक-फरक ठाउँ भन्दै पैसा ल्याउन भनेका थापाले प्रहरीलाई पनि सँगै ल्याए बाबु-छोरालाई नै ‘सुट’ गरिदिने धम्की दिए ।

कात्तिक १३ गते दिउँसो १२ बजे उनले सुवेदीलाई फोन गरी भरतपुर अस्पतालको नयाँ गेट अगाडि पैसा लिएर आउन भने । पैसा लिंदै गर्दा प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहको विषेश टोलीले थापालाई पक्राउ गर्न सफल भयो ।

सुवेदीले रकम माग्ने व्यक्ति थापालाई देख्दा आफू दंग परेको बताए । थापा आपराधिक गतिविधिमा संलग्न भएर जेल बसेको थाहा भए पनि आफूसँग ज्यान मार्ने धम्की दिएर अपहरण गर्छु भनेर रकम माग्ला भन्ने नसोचेको सुवेदी बताउँछन् ।

पटक-पटक आपराधिक गतिविधिमा संलग्न भई नौ वर्ष कैद सजाय पाएका थापा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद छुट पाई जेलबाट रिहा भएका थिए ।

जेलबाट छुटेको पाँच महिना नपुग्दै अपहरण गरी ज्यान मार्ने धम्की दिने घटनामा थापा संलग्न भएका हुन् । प्रहरीका अनुसार उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ घर भई भरतपुर बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले यसअघि २०७५ मंसिर १३ गते उनीविरूद्ध डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्योभन्दा अगाडि २०७३ साल वैशाख २२ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरले लागूऔषधसम्बन्धी र २०६६ असार ३ गते चितवन प्रहरीले अवैध हातहतियार देखाई डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै, २०६६ जेठ २७ गते चितवन प्रहरीले नै उनीविरूद्ध चोरीसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?