
१५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोलाबाट बालुवा निकाल्ने एक जना सवारी धनीलाई कारबाही गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ स्थित मनोहरा खोलाबाट बालुवा निकाल्न प्रयोग भएको बा.३ ख ९४६१ नम्बरको गाडी धनीलाई कारबाही स्वरुप १० हजार जरिवाना गरेको महानगरले जनाएको छ ।
उक्त गाडी प्रयोग गरी मनोहरा खोलाबाट बालुवा निकाल्ने गरेको पाइपछि गाडी धनी सुमन तामाङलाई जरिवाना गरिएको महानगरले जनाएको छ ।
महानगर प्रहरी निरीक्षक राजन कार्कीका अनुसार कोटेश्वरको नेपाल प्रहरीले खोला उत्खनन गरिरहेको अवस्था गाडी भेटेपछि सवारी चालक र अन्य मजदुरहरु गाडी छोडेर भागेका थिए । त्यसपछि नेपाल प्रहरीले नगर प्रहरीलाई जरिवाना गर्न बुझाएको थियो । ‘पुनः सोही कार्य नगर्ने सर्तमा जरिवाना गरेर हाम्रो तर्फबाट छोडेको छौं, बाँकी मुद्दा नेपाल प्रहरीले अगाडि बढाउँछ,’ कार्कीले भने ।
प्रतिक्रिया 4