+
+

प्लास्टिकका फूलमाला : नीतिमा प्रतिबन्ध, बजारमा छ्याप्छ्याप्ती

पोखराका १२ पसल अनुुगमन, १ लाख १० हजार रुपैयाँ बराबरको माला जफत

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १९:११

२० कात्तिक, पोखरा । नेपाल सरकारले ०७९ साउन १२ गते राजपत्रमै सूचना प्रकाशन गर्दै प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा रोक लगायो । सोही सूचनाअनुसार कात्तिक १ गतेदेखि आयातित सयपत्री मालामा पनि प्रतिबन्ध गरेको छ ।

सोही सूचनाका आधारमा पोखरा महानगरले पनि कात्तिक १६ गते एक सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला र आयातित सयपत्री फूलगुच्छा प्रतिबन्ध गरेको छ । तर, सरकारले आयातित प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध गरे पनि बजारमा भने बिक्री वितरण घटेको छैन ।

महानगरले अघिल्लो वर्ष पनि प्लास्टिकका फूलमाला पूर्ण निषेध गर्ने निर्णय सूचना जारी गरेको थियो । पटकपटक सूचना जारी गर्दा पनि व्यापारीले अटेरी गरेपछि तिहारलगायत चाडबाडलाई लक्ष्य गरी पोखरा महानगर सोमबार अनुगमनमा निस्कियो । अनुगमनका क्रममा बजारभरि प्रतिबन्धित फूलमाला छ्याप्छयाप्ती भेटिएका छन् ।

महानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजकसमेत रहेकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलमा अनुगमन गरिएको थियो । जसमा ७ वटा पसल कारबाहीको दायरा आएका छन् ।

उपप्रमुख गुरुङले अनुगमनका क्रममा ७ वटा पसललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको जाानकारी दिइन् । उनका अनुसार ७ वटा पसलबाट १ लाख ९ हजार हजार रुपैयााँ बराबरको मालासमेत जफत गरिएको छ ।

अनुुगमनका क्रममा पोखरा वडा ९ मा रहेको जयमा पूजा सामग्री भण्डारबाट १० हजार जरिवाना र ९० हजार बराबरको प्लास्टिकको फूलमाला जफत, पोखरा महानगर ३ को माता मनकामना पूजा सामग्री भण्डारलाई ५ हजार जरिवाना र ७ हजार बराबरको फूलका माला जफत गरिएको महानगरले जनाएको छ ।

पोखरा महानगर ३ कै किरण ट्रेड लिंकलाई ५ हजार जरिवाना र ८ हजार ५ सय बराबरको माला जफत, महेन्द्रपुलमा रहेको सुधा साहुुको पूजा सामग्री भण्डारलाई ५ हजार जरिवाना र ३ हजार मूल्य बराबरको माला जफत गरिएको सहकारी शाखा अधिकृत ऋषि सापकोटाले जानकारी दिए ।

अनुगमनकै क्रममा पोखरा ३ को खाल्सा गिफ्ट हाउसलाई ५ हजार जरिवाना र ६ सय ५० रुपैयाँ मूल्य बराबरको माला जफत, नमोः शिवाय पूजा सामग्री भण्डारलाई ५ हजार जरिवाना गरिएको महानगरले जनाएको छ । अन्य ५ पसलहरुलाई सचेत गराइएको थियोे ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले प्लास्टिकजन्य सामग्रीले वातावरणमा असर परेको पर्ने भएकाले अनुुगमन गरिएको बताइन् । ‘अघिल्लो वर्ष धेरै व्यवसायीले गुनासो गर्नुभएको थियो । तर, यो वर्ष धेरैले आफैं हटाउनु भएछ,’ उनले भनिन् ।

प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउँदा स्थानीय फूलले बजार पाउने र यसले वातावरणमा पार्ने नकरात्मक प्रभावलाई कम गर्ने महानगरकोे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?